Friday, August 8, 2014

चुपचाप अन्तर्मनको यात्रातिर

चुनावी दौडाहामा व्यस्त नेताहरू नरहरि आचार्य, ईश्वर पोखरेल र गगन थापा शुभेच्छुकले लगाइदिएका माला र अबिर पुछेर आर्यघाट दगुरे।पछिल्ला दिनमा जतिसुकै ठूला घटना भए पनि तिनले मिडियामा छाइरहेका चुनावी खबरलाई प्रभाव पार्न सकेका थिएनन् । देशका एक लेखकले सबैको ध्यान आफूतिर खिचे। - See more at: http://nagariknews.com/feature-article/story/9400#sthash.0mf3qqQz.VX8R0vp1.dpuf

चुनावी दौडाहामा व्यस्त नेताहरू नरहरि आचार्य, ईश्वर पोखरेल र गगन थापा शुभेच्छुकले लगाइदिएका माला र अबिर पुछेर आर्यघाट दगुरे।
पछिल्ला दिनमा जतिसुकै ठूला घटना भए पनि तिनले मिडियामा छाइरहेका चुनावी खबरलाई प्रभाव पार्न सकेका थिएनन् । देशका एक लेखकले सबैको ध्यान आफूतिर खिचे।
छ वर्षअघि 'अन्तर्मनको यात्रा' नामक आत्मालापको पुस्तक लेखेर चर्चित भएका लेखक जगदीश घिमिरेले आफ्नो नश्वर चोला बिसाएका दिन पशुपति आर्यघाटमा सानोतिनो शक्ति प्रदर्शनजस्तै भयो ।

मृत्युको सम्मुख लोलाइरहेका ६८ वर्षे यी लेखकलाई वास्तवमा २०६२ सालको आखिरी महिनातिरै आफ्नो समयसीमा थाहा भइसकेको थियो । क्यालेन्डरमा मृत्युका दिन गन्दै जीवनका खुट्किला चढ्नु कति पीडादायी होला ! जगदीशमा भने पटक्कै मृत्युबोध झल्कँदैनथ्यो ।

बुधबार राति । पत्नी दुर्गा, छोरा हिमाल र छोरी जूनसँग लूलो ज्यान अघिल्तिर राखेर जगदीशले दही खाने इच्छा व्यक्त गरे । हिमालले खुवाइदिए । छोरी जूनले माड खुवाइदिन खोजिन् । 'मल्टिपल माइलोमा' क्यान्सरग्रस्त पिताले कतै सन्निकट मृत्युको पाश्र्वछाया देखिसकेका त थिएनन् ? भने, 'भैगो, मेरो मुखलाई जुठो नबनाइदेओ ।'

बागी नेताको भाग्यचक्र

सातदोबाटो–खुमलटार मार्ग। विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अघिल्तिरको सानो पक्की बाटो केही पर गएर बायाँ मोडिन्छ। भव्य निवासको माथिल्लोपट्टि सुनसान बैठक कोठामा कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला दीर्घ निःश्वास लिइरहेका छन्। उनको यो एकान्तबास एक वर्षयता निरन्तर छ।


बिपी कोइरालाको वैचारिक भट्टीमा खारिएका यी ७० वर्षे बौद्धिक नेतालाई पोहोर पुसको दोस्रो साता मस्तिष्कघात भएको थियो। त्यसयता सहाराविना जिउ चल्दैन। यो एकान्तबास त्यसपछि मात्रै सुरु भएको भने होइन। एघारौं महाधिवेशनपछि यिनी कांग्रेस राजनीतिको पर्दाभन्दा पर कतै चुपचाप छन्। भर्खरै सम्पन्न नयाँ संविधानसभा चुनावमा उनको दल पहिलो बन्दै सत्तारोहणको तयारीमा छ। समकालीन नेताहरूले बालुवाटारतिर आँखा बिछ्याइरहेका बेला यी खतरनाक 'किङमेकर' यसबेला गुमनाम छन्।

मस्तिष्कघातबाट थलिएयताका एक वर्ष चक्र जीवनमा दोस्रोपल्ट फेरि बालक बनेका छन्। पत्नी कुसुम उनको रेखदेख, स्याहारसुसारमा अहोरात्र खट्छिन्। चक्रले सम्पूर्ण रेखदेख उनीबाटै पाउँछन्। जस्तो, एउटा नवजात शिशुले आमाबाट पाउँछ।

सक्रिय जीवनकालका यी आक्रामक बाघ अहिले चुइँक्क बोल्न सक्दैनन्। बिछ्यौनामा लेटिइरहन्छन्। हेर्न आउने शुभचिन्तकलाई कताकति चिनेझैं गर्छन्। आँखा र शरीरका माध्यमबाट अलिअलि अन्तर्क्रिया गर्छन्। खुसी, पीडा, दुखाइ, वेदना, उत्साह बुझ्न एकमात्रै शक्तिशाली भाषा बनेको छ, इशारा। खुसी हुँदा आँखीभौं तन्किन्छन्। दुःखी हुँदा आँखाको कोश रसाउँछ। चेपचेपबाट आँशु तर्किन्छ। यदाकदा आंैला उठाउन खोज्छन्। त्यत्ति हो।

'कमरेड पास देखाउनुस् ?'

एमाले नवौं महाधिवेशनस्थलको गेटमा पास जाँच्न उभिएकी 'बारकोड-रिडर' मदन भण्डारीकी छोरी हुन् भन्ने थाहा पाउँदा प्रतिनिधिहरू आश्चर्यमा पर्न सक्छन् । उनी एमालेकी निवर्तमान उपाध्यक्ष विद्या भण्डारी र मदनकी जेठी छोरी उषाकिरण हुन् ।
एमालेको मजदुर संगठन जिफन्टको निर्देशनमा खटिएकी यी स्वयंसेवक बिहानदेखि रातिसम्मै प्रतिनिधि र पर्यवेक्षक 'कमरेड' का छातीमा 'बारकोड रिडिङ मेसिन' छुवाउँछिन् । गेटमाथिको स्क्रिनमा जसको अनुहार मिल्यो, त्यो भित्र छिर्न पायो । जसको अनुहार देखिएन, उनी मुस्कानसहित फर्काउँछिन् ।
बहुदलीय प्रजातन्त्रकालका लोकपि्रय तथा जबजका निर्माता भण्डारीकी छोरीलाई 'लो-प्रोफाइल' मा बसेर पार्टीको काम गर्नुपर्दा पटक्कै अप्ठ्यारो लागेको छैन । 'पार्टीले अह्राएको काम इमानदारीसाथ खटेर गर्ने हो,' सुरुमा कुरा गर्न नमाने पनि एकछिनपछि उनले खुलेर भनिन्, 'बुवा र आमाको हैसियतका आधारमा मैले काम गर्ने होइन । आफैं सक्रिय हुने हो ।'
एमालेको भ्रातृ संगठन युवासंघ नेपालको विदेश विभाग सदस्य रहेकी उषाकिरण जिफन्टमा आबद्ध भएर श्रमिकहरूको विषयमा अनुसन्धान गरिरहेको बताउँछिन् । जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उषाकिरणको धारणा छ, 'अब एक पटक फिल्डमा जमेर काम गर्ने हो । त्यहाँबाट पाएको अनुभवका आधारमा फेरि अध्ययन अघि बढाउने योजना छ ।'

दर्शनको दोबाटोमा एमाले

२०४९ सालमा आयोजित नेकपा एमालेको पाँचौं महाधिवेशनमा नेता रघु पन्तले साम्यवादको लक्ष्य छाडी समाजवादी बाटो समाउनुपर्ने प्रस्ताव पेस गरेका थिए तर त्यसको व्यापक आलोचना भयो । अन्ततः उनी आफैंले प्रस्ताव फिर्ता लिए ।
    तित्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी एमाले मुख्यालय बल्खु जाँदा माक्र्स र लेनिनको तस्बिर झिकेको भनी एउटा कोणबाट एमालेको खुब आलोचना गरियो ।
-    पार्टीको नाम, झन्डा बदल्नुपर्ने विषय पनि एमालेमा बेलाबखत उठिरहन्छ । वामपन्थी जनमत विकषिर्त हुने देखेर एमालेले त्यस्तो निर्णय भने लिन नसकिरहेको चर्चा चल्छ ।
-    एमालेको वैचारिक, दार्शनिक छटपटी यस्तै ठूला-साना घटनाहरूबाट प्रकट हुने गर्छ । जस्तो कि, आठौं महाधिवेशनबाट पारित विधानको प्रस्तावनामा पार्टीको लक्ष्य 'साम्यवाद' छापिनुपर्नेमा समाजवाद छापिन पुग्यो । केन्द्रीय कमिटीमा हंगामा मच्चिएपछि पुनः मुद्रण ग साम्यवाद नै छापियो ।
-    जारी नवौं महाधिवेशनको उद्घाटनमा जताततै मदन भण्डारी, मनमोहन अधिकारी, पुष्पलालका तस्बिर टाँगिँदा माक्र्स र लेनिन छुटाइएको भनी व्यापक टिप्पणी भयो । स्पष्टीकरण दिइयो, प्राविधिक कारण र हतारोले छुट्न गएको हो । पर्सिपल्टदेखि माक्र्स, एंगेल्स र लेनिन बन्दसत्रका भित्तामा फेरि मुस्काए ।
-    कम्युनिस्ट दर्शन छाडी सामाजिक लोकतन्त्रवादी पार्टी बन्नुपर्ने आवाज यसपटक पनि एमालेमा उठ्यो, उसै गरी विरोध भयो । भीम रावललगायत केही नेताहरूको यो प्रस्तावले प्रतिनिधि र नेता स्वयंबीच द्विविधा उत्पन्न भएपछि अध्यक्ष झलनाथ खनालले एमालेको साम्यवादी लक्ष्य बाँकी नै रहेको, तात्कालिक गन्तव्य भने समाजवाद रहेको प्रस्टीकरण दिनुपर्‍यो ।

आँखाभरि बिझाइरहेछन् शरणार्थी

कुनै समयका 'भुटानी मन्डेला' टेकनाथ रिजाल काठमाडौं वा झापाका सडकमा एक्लै हिँडिरहेको भेटिए भने आश्चर्य मान्नु पर्दैन । २५ वर्षअघि एक लाख भुटानी शरणार्थीका 'निर्विकल्प विकल्प' यी अधिकारकर्मी नेता केही समययता गुमनाम छन् । यी यस्ता नेता हुन्, जससँग आज कुनै आन्दोलन छैन । ६७ वर्षीय यी नेताको नाम लिनेबित्तिकै झापा र मोरङका सात शिविरमा बाँकी शरणार्थी भने दुई धारमा विभाजित हुन्छन् ।
एकथरी भन्छन्, 'रिजालले गर्दा नै भुटानी शरणार्थी आन्दोलनले अन्तर्राष्ट्रिय आयाम पाएको हो, उनको जोडा अर्को छैन ।' अर्काथरी भन्छन्, 'शरणार्थी नेता भएर पनि रिजाल कहिल्यै शिविरमा बसेनन् । आत्मकेन्दि्रत भए, कूटनीतिक पहल लिन सकेनन् ।' रिजाल आफैं भने यसो भन्छन्, 'मलाई नेता हुन्छु भन्ने कहिल्यै लागेन । भुटानी राजाविरुद्ध एकदिन उभिनुपर्ला भन्ने झन् थिएन । दैवको खेल हो यो, परिस्थितिले आफैं बाटो देखायो ।'
सिकिस्त छन् रिजाल । हात थर्थराउँछन् । मधुमेह भएको छ । प्रोस्टेटका रोगी हुन् । पिसाबमा समस्या छ । आँखा धमिलो देख्छन् । चस्माको पावर पुग्न छाडेको छ । दिन-दिनको जाँच, छिन-छिनको औषधि । यही हो, टेकनाथ रिजालको यतिखेरको दैनिकी । एउटा भयानक दुस्वप्नजस्तो केही हुन्छ, अनि थामिन्छ । अस्थिर मन र धमिला आँखाभरि शरणार्थीका निरीह अनुहार बिझाउन आउँछन् । मन भरिएर आउँछ । १० वर्ष जेलनेल र यातना खपेका यी ६७ वर्षीय योद्धा भन्छन्, 'अब ती दिन सम्झँदा पनि डिप्रेसनमा जान्छु कि जस्तो हुन्छ । मनस्थिति पहिलेजस्तो ठीक छैन ।'
हरेक वर्ष जुन २० विश्व शरणार्थी दिवस भएर आउँछ । तर रिजालको क्यालेन्डरमा कुनै धर्को छैन । शरणार्थी दिवसको अघिल्लो बिहान अर्थात् बिहीबार रिजाललाई भेट्न कान्तिपुर प्रतिनिधि पुग्दा उनी ललितपुर, हरिसिद्धिस्थित माउन्ट भ्यु रेसिडेन्सको फेस-२, ५९ नम्बर ब्लकमा एक्लै धुम्धुम्ती बसिरहेका थिए । लामो समयदेखि एकान्तवासमा रहेका यी नेतासँग ५७ वर्षीया जीवनसंगिनी कौशिला छिन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले उनका तीन छोरालाई तेस्रो मुलुक पुनर्वासको क्रममा क्यानडा लगेको छ । शारीरिक रूपमा कुँजिँदै गरेका रिजाललाई हरक्षण साथ दिइरहने कौशिलाको सेलफोनमा घरिघरि रिङटोन बज्छ-
तेरा साथ है तो, मुझे क्या कमी है,
अँधेरोँ से भी मिलरही रोशनी है..

'सुखानीको रगत भुल्यौ कि ?'

 एमाले महाधिवेशन : झापा विद्रोहको सम्झना

सुखानीमा मारिएका झापा विद्रोही रामनाथ दाहालकी जेठी पत्नी जानुका भन्छिन्, 'मेरो घरमा जब नयाँ-नयाँ मान्छे आउन थाल्छन्, तब मलाई थाहा हुन्छ, फेरि फागुन २१ गते आएछ ।'
झापा-इलाम सीमास्थित सुखानी जंगलमा तीन सहकर्मीसँगै २०२९ फागुन २१ गते मारिएका थिए उनका पति । चन्द्रगढीबाट इलाम जेल सार्ने भन्दै लगिएका रामनाथ, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नेत्रलाल अभागीलाईर् पञ्चायती प्रशासनले बाटैमा हत्या गरेको थियो । मार्न त झापालीहरूले पनि 'सामन्त र सुराकी' का नाममा ९ जना मारेकै हुन् । तर आज झापा विद्रोहका नाइकेदेखि कार्यकर्तासम्म स्वीकार्छन्, त्यो माक्र्सवादको नाममा नजानीकन गरिएको व्यक्ति हत्याको राजनीति थियो । यसो भन्नेमा एमाले नेता केपी ओली, माले महासचिव सीपी मैनाली, नेताहरू मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, नरेश खरेललगायत एकमत देखिन्छन् । सीपी भन्छन्, 'त्यो उचित विद्रोह थियो, तर शैली उग्रवादी भयो ।'
झापा विद्रोहकै परिणामस्वरूप ०३२ सालमा कोअर्डिनेसन केन्द्र, ०३५ मा नेकपा माले हुँदै आजको दोस्रो ठूलो दल एमाले निर्माण हुन सकेको हो । त्यही एमाले अहिले नवौं महाधिवेशन गरिरहँदा उम्मेदवार र प्रतिनिधिका रूपमा झापा विद्रोहका हस्तीहरूसमेत सामेल छन् । तर ती असंख्य गुमनामहरू, जो राजनीतिमा स्थापित हुन सकेनन्, आज कहाँ छन् त ?

सीपीको एकान्तबास

चार दशकअघि आफैंले बीज रोपेको झापा आन्दोलन, त्यसबाट हुर्केको नेकपा मालेले एमालेका रूपमा 'हाइटेक' नवौं महाधिवेशन गर्दैगर्दा संस्थापक महासचिव सीपी मैनाली माले संसदीय दलको कार्यालयमा बिहीबार बिहान चुपचाप एक्लै बसिरहेका थिए । सिंहदरबारस्थित संसद् सचिवालयको भवन नं. २, चौथो तलामा सीपीको कार्यालय भन्नु यत्ति छ- रित्तो दराज, टेबुल, एक लाइन टेलिफोन, रित्ता कुर्सीहरू, चकमन्न कोठा । करिब दुई घन्टा उनीसँग कुराकानी गर्दासमेत बीचमा कुनै पनि आगन्तुक आएर 'डिस्टर्ब' गरेन ।
पञ्चायतको उत्कर्षका दिनहरूमा दन्त्यकथाका रहस्यमयी नायकझैं थिए सीपी मैनाली । ५२ टुक्रामा विभाजित कम्युनिस्ट समूहहरू एकीकृत गरी बागडोर सम्हाल्ने उनको योजना कालान्तरमा नेकपा एमालेका नाममा विस्तारित भयो । इतिहासको संयोग, कालान्तरमा उनी आफैं भने सानो कोटरीका घरमूली हुन पुगे । अर्थात्, सीपीको एमाले फैलिँदै गयो, उनी खुम्चिँदै गए ।
यस्तो किन भयो ?
माले-एमालेबेत्ताहरू भन्छन्- सीपीमा संकीर्णता थियो । उनी आत्मकेन्दि्रत थिए ।
सीपी प्रतिवाद गर्छन्- मेरा शैलीगत कमजोरी थिए, तर ती मुख्य कुरा थिएनन् । मुख्य त राजनीति नै थियो, जहाँ ममाथि अन्याय गरियो ।
माले-एमालेबेत्ताहरू भन्छन्- सीपीले 'क्लासिकल माक्र्सवाद' को गहिरो अध्ययन  त गरेका थिए, विचारमा भने अद्यावधिक थिएनन् । व्यवहारमा चरम यान्त्रिकता र परम्परावाद हावी थियो ।
सीपी स्वीकार्छन्- मैले आफ्नै साथीहरूलाई कुरा बुझाउन सकिनँ । अधैर्य भएर भावनात्मक निर्णय लिने हुँदा झन्-झन् 'आइसोलेसन' मा पर्दै गएँ ।