Monday, July 30, 2012

घुम्ने मेचमाथि बाबुराम भट्टराइ

अर्थमन्त्री छँदा बलियो छवि बनाएका बाबुराम भट्टराईको प्रधानमन्त्रित्व कमजोर देखिएको छ। संविधान सभा अवसान भएपछि कामचलाउ हैसियतमा रहेका उनले मंसिर ७ का लागि तोकेको चुनाव नहुने भइसकेको छ। पूर्ण बजेट ल्याउन असफल उनी अध्यादेशबाटै अगाडि बढ्ने मुडमा देखिन्छन्। तत्काल सिंहदरबार छाड्ने मनसायमा उनी देखिँदैनन्। नागरिकसँगको लामो कुराकानीमा उनले थुप्रै विवादास्पद लाग्ने कुरा गरे। प्रधानमन्त्री बाबुराम भट्टराईसँग गरेको कुराकानी :

अन्डरअचिभर प्रधानमन्त्री

अमेरिकाबाट निस्कने टाइम म्यागजिनले तीन साताअघि भारतका प्रधानमन्त्री मनमोहन सिंहको फोटो आफ्नो आवरणमा छाप्यो र मुन्तिर लेख्यो– द अन्डरअचिभर।

त्यसको दुई साता बित्दा नबित्दै भारतबाट प्रकाशित हुने म्यागजिन आउटलुकले गत हप्ता अमेरिकाका राष्ट्रपति बाराक ओबामाको फोटो उसैगरी आवरणमा छाप्यो। उसैगरि मुन्तिर लेख्यो– द अन्डरअचिभर।

अंग्रेजी शब्दकोशमा अन्डरअचिभरको साधारण अर्थ हुन्छ :  अपेक्षा गरिएभन्दा थोरै नतिजा दिएको व्यक्ति। नेपालका ३६ औं प्रधानमन्त्री बाबुराम भट्टराईलाई अन्डरअचिभर भन्दिए फरक नपर्ला– डिक्सनरीका शब्दहरूले उनकै लागि भनेर आफ्नो अर्थ बदल्दिएनन् भने। 

Sunday, July 22, 2012

घुम्ने मेचमाथि झलनाथ खनाल

अहिलेको राजनीतिक स्थिति, मधेसी तथा जनजाति मुद्दाका साथै सरकारका विषयमा केन्द्रित रहेर नागरिकका बसन्त बस्नेतले एमाले अध्यक्ष झलनाथ खनालसँग गरेको वार्ता :

संविधान सभा चुनावपछि जब महासचिव हुनुभयो, एमालेको पुनर्गठन र पुनर्निमाण गर्ने भन्नुहुन्थ्यो। त्यो अभियान कहाँ पुग्यो?
संविधान सभा चुनावमा गम्भीर धक्का खाएको तीतो इतिहास एमालेसँग छ। हामी किन पराजित भयौं भन्ने विश्लेषण गर्दा विचार, संगठन र कार्यशैलीमा पुनर्गठन गर्ने सोच आयो। त्यसपछि राष्ट्रिय कार्यकर्ता भेला र आठौं महाधिवेशनले पुनर्गठनमा महत्वपूर्ण उचाई लिएर आयो।

घुम्ने मेचमाथि केबी गुरुङ

१९९१ मंसिर ८ गते इलाममा जन्मेका कुलबहादुर गुरुङ नेपाली कांग्रेसका वयोवृद्ध नेता हुन्। बीपी कोइरालाको मेलमिलाप नीति कार्यान्वयन गर्दै पहिलो पटक नेपाल आउन तयार हुने कार्यकर्तामध्ये एक थिए उनी। गुरुङलाई इलामेलीहरु केबी सर भनेर आदर गर्छन्। जनजाति पृष्ठभूमिका नेता गुरुङ जातीय कुरा गर्दा भावुक भए। गुरुङसँग नागरिकका बसन्त बस्नेतले गरेको कुराकानीः

उनमा त्यस्तो के जादु थियो

साप्ताहिक अन्तर्वार्ता स्तम्भ 'घुम्ने मेचमाथि' मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि एमाले अध्यक्ष झलनाथ खनालसम्मलाई पंक्तिकारले सोध्यो- 'तपाईंलाई सबैभन्दा बढी प्रभाव पार्ने नेता को हुन्?'
उनीहरूले एउटै जवाफ फर्काए- 'बीपी कोइराला।'
बीपीले खोलेको कांग्रेसलाई प्रधान शत्रु मान्नेदेखि बीपीलाई सम्झौपरस्त मान्ने शक्तिसमेत आज अरु कसैको होइन, बीपीकै नाम पुकार्छन्। इतिहासमा दर्जनौं नेताले स्पेस बनाए। मानिसहरू १८ महिनामात्रै शासन गरेका बीपीलाई नै दोहोर्‍याइ-दोहोर्‍याई सम्भि्करहन्छन्। बीपीमा त्यस्तो के थियो, जसले नेपालको राजनीतिमा उनी सबैभन्दा बढी उल्लेख गरिने व्यक्ति बन्न पुगे?

Friday, July 20, 2012

मैले अटोग्राफ लिएकोमा रिसाएका साथीहरुलाइ

उपेन्द्र यादवसँग मैले अटोग्राफ लिएकोमा केही साथीहरुले कडा प्रश्न र टिप्पणी गर्नुभएको छ। उहाँहरुलाई धन्यवाद छ। यादव नेतामात्रै होइनन्, बौद्धिक उचाइ भएका लेखक पनि हुन्। उनले थुप्रै स्तरीय िकताब लेखेका छन्। मैले नेताको होइन, लेखकको अटोग्राफ त्यो पनि उनकै किताबमा लिएको हो। जहाँसम्म "नेपालका नेतासँग अटोग्राफ लिनेले 'घुम्ने मेचमाथि' का लागि लिएको अन्तर्वार्ता के पढ्नु र खै" भन्ने सवाल छ, प्रश्नहरु त यो भन्दा अघिल्लो लिंकमा छँदैछन्। नपत्याए हेर्नूभए हुन्छ। म त्यति पुरानो पत्रकार त होइन, तर कति निर्मम र संवेदनशील भएर सोध्नुपर्छ भन्ने हेक्का मलाई छ। वास्तवमा म नेताहरुसँग मेरा प्रश्न होइन, तपाईंहरुका प्रश्न र गुनासा सोधिरहेको हुन्छु। जे होस्, फेसबुकमा रमाइलो गर्दागर्दै कहिलेकाहिँ गम्भीर बहस हुन्छ। त्यसमै त रमाइलो छ, होइन? हुन पनि 'ह्वाट्स अन् योर माइन्ड' भनेर सोध्छ। दिमागमा जे छ त्यही त भन्दिने हो। anyway, thanks to all.

Ghumne Mechmathi Upendra Yadav

भन्नेहरु भन्छन्, मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव राजनीतिको केन्द्रभागमा ह्वात्तै आए, स्वात्तै हराए। उनीचाहिँ त्यसलाई ठाडै अस्वीकार गर्छन्। एनजिओलाई पार्टी बनाएर मधेस आन्दोलनसमेत हाँक्न सफल उनी बौद्धिक छवि बनाएका नेता मानिन्छन्। मधेसी नेताहरुमध्ये तुलनात्मक रुपमा कम विवादित पनि उनै हुन्। उनी यसअघि उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री पनि भइसकेका छन्।  यादवले बनाएको र हुर्काएको ठूलो 'फोरम' आज छिन्नभिन्न भइसकेको छ। उनी विचार, संगठन र मधेसी जनताको विश्वास आफ्नै दलसँग रहेको दाबी गर्छन्। नागरिकका बसन्त बस्नेतले उनीसँग गरेको कुराकानी-