Tuesday, May 28, 2013

खै त श्रीमान गम्भीर?

संविधानसभा बितेको हिजो मंगलबार एक वर्ष पुग्यो। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आफ्ना आदर्श मान्दै बनेको 'नेपाल अधिराज्यको संविधान–२०४७' को पहिलो गोडा सक्रिय बन्दैगर्दा अर्को गोडा पक्षाघातग्रस्त भयो। २०६२ सालमा जनताले १९ दिने आन्दोलन गरे। त्यो आन्दोलनले गणतन्त्र ल्यायो। अघिल्लो संविधानसभामार्फत् गणतन्त्र स्थापना भएको मंगलबार नै पाँच वर्ष पुग्यो। दुर्भाग्य! संविधान भने बनेन।

डुब्दो संविधानसभाका साक्षी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अर्को संविधानसभाका लागि चुनाव गराउने प्रतिबद्धता जनाए। चुनाव गराउने छाँट भने देखाएनन्। त्यसैले उनको राजीनामासँगै अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएको हो। चुनावको मितिसमेत घोषणा गर्ने फेरि पनि छाँटकाँट छैन। देश अन्तरिम संविधानका मृतप्रायः धारा उपधाराबाट शासित हुन अभिशप्त छ।

Sunday, May 26, 2013

मुस्ताङ : केही जम्पकट

मुस्ताङ जाँदा आफूसँगै लगेको डायरी कतै हराएको छु। अब मसँग सम्झनाहरूमात्र बाँकी छन्। कुनै सिलसिला छैन।

'सेन्ट अफ वुमन' मुभीका बुढा अल प्याचिनोझैं देखिने कवि श्यामल सिटमा सँगै बसेका छन्। उनलाई लाग्छ, 'यो नेरुदा क्याप लगाउँदा म कवि पाब्लो नेरुदाजस्तै देखिन्छु।'

श्यामलका लागि मुस्ताङ जानुको अर्थ विशेष लाग्छ। जति हामीलाई लाग्छ।

श्यामल दाइ कवि भूपि शेरचनको जन्मघर हेर्न जाँदैछन्। नोस्टाल्जिया दोहोर्‍याइरहन्छन्, …भूपि भन्नुहुन्थ्यो– श्यामलजी, हामी देवकोटा र रिमालका स्वस्थ सन्तान हौं।'

२०६९ मंसिरको पहिलो साता। हामी मुस्ताङको घँासाबाट उकालिँदैछौं।