Monday, June 24, 2013

'गुडिया'


गुडिया

उपेन्द्र सुब्बा

बिहानै–
ओछ्यानबाट उठ्दै
छोरीले गुडिया किनी मागिन्–

'पापा, बाबी डल!'
घरबेटीकी नानीको जस्तै बाबी डल।

यसो खल्ती छामें, सुको भेटिनँ
बरु भित्री गोजीमा एउटा कविता भेटें
र सोचें–
'किन यही कविताको गुडिया नबनाउँ्?'

Saturday, June 22, 2013

किन चाहिन्छ स्ववियु?

सुरुमा केही अवाञ्छित दृश्य प्रस्तुत छन्।
 
एक : मंगलबार दिउँसो नेविसंघको झन्डा बोकेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्रदर्शन गर्न जाँदै गरेका युवाले बसको छतमा बसेर बल्खु चोकमा 'भिसी कार्यालय जलाउछौँ, स्ववियु चुनाव गराउछौँ' भन्दै नारा लगाए। पंक्तिकारसहित वरपरका सवारी र पैदलयात्रुले तिनका अश्लील इसारा र वचन खपे। छाता ओढेर बाटो काट्दै गरेकी युवतीलाई तिनले हाकाहाकी दुर्व्यवहार गरे। 'स्ववियु चुनाव स्थगनमार्फत् खोसिएको हक फर्काउन हिँडेका' तिनको कसैले प्रतिवाद गर्ने हिम्मत गरेन।
 
दुई : विद्यार्थी संगठनका नेता चन्दा 'बार्गेनिङ' गर्न क्याम्पस प्रमुख वा विभागाध्यक्षकहाँ जान्छन्। प्रमुखले सर्त राख्छन् – 'पैसा दिन्छु, तिमीहरू प्रतिविद्यार्थी एकसय रुपियाँ भर्ना शुल्क बढाउन तयार हुन्छौ भने।' नेता कायल हुन्छ। संगठन अस्तित्वमा भएकै कारण विद्यार्थी मारमा पर्छन्।

तीन :
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा मध्यरातमा आगजनी हुन्छ। छानबिन गर्न कोही तयार छैन। त्यहाँ कुनै न कुनै संगठनको हात छ भन्ने प्रशासनलाई थाहा छ। प्रशासक खतरा उठाउन चाहँदैनन्।

चार :
शैक्षिक संस्थाभित्रै जथाभावी लेखिएका नाराले कक्षाकोठाका कुनै भित्ता बाँकी छैनन्। नारामा सहिष्णुता कतै झल्किँदैन।

पाँच :
मास्टर्स सकेको व्यक्तिसँग आफ्नो बुतामा जागिर खाने हुति छैन। ऊ स्ववियु र संगठनको नेताको चाकरी गर्न थाल्छ। जागिर पायो भने ऊ प्राज्ञिक कामतिर होइन, संगठन, गुट, उपगुटको स्वार्थप्रति बफादार हुन्छ। विद्यार्थी नेता उसको 'बोस' हुन्छ।

छ :
स्ववियु चुनाव कहिले आउला र टिकट पाउँला भन्ने आशामा एउटा युवा ढुकेर बस्छ। सधैँ क्याम्पसका प्रशासनदेखि क्यान्टिनसम्म भेटिन्छ। विद्यार्थीसँग हात मिलाउँछ। दैनन्दिन काममा सघाउँछ। टिकट भने उपरवाले नेताले आफ्नो चम्चालाई दिलाउँछ। नतिजा, परिश्रमी कार्यकर्ताको नाम बागी उम्मेदवारको सूचीमा भेटिन्छ। विद्यार्थी राजनीतिको भाग्य क्याम्पस बाहिरको 'प्रभु'ले लेखिदिन्छ। लाग्छ, विद्यार्थी नेताको भविष्य एउटा यस्तो खाली चेक हो, जहाँ विद्यार्थी स्वयंले सही गर्न पाउँदैनन्। अनि त्यसको मूल्य पनि पार्टी वा गुटले तोकिदिन्छ।

सातौं तथा अन्तिम दृश्य : स्ववियुलाई लघु संसद्/संविधानसभा भन्दै दलीय महŒवाकांक्षाको विषय बनाइन्छ। दलका नेता दस काम छाडेर क्याम्पस भाग लगाउँछन्। आफ्नो भागमा परेको क्याम्पसमा जसरी पनि आफ्नो भ्रातृसंगठन जिताउन लागिपर्छन्। वर्षौंदेखि पद ढुकेर अनेक संकाय चहार्दै भर्ना भएका विद्यार्थी नेता तिनका 'निमित्त नायक' बन्छन्। चुनाव नामको नाटक रचिन्छ। चुनिएर जाने अनुहारमा विद्यार्थी खोज्दा बिरलै भेटिन्छ।

एक फकिरको व्यक्तिचित्र

नेपाली साहित्यको केन्द्र काठमाडौं हो भन्यो भने धेरैलाई मन पर्दैन। दुर्गाप्रसाद श्रेष्ठलाई पनि मन पर्दैन।
'नेपाली साहित्यका केन्द्र धेरै छन्,' मोटो फ्रेमभित्रका एकजोर आँखा चम्काउँदै उनी टेबल ठोक्छन्, 'जस्तो कि, बनारस पनि एउटा केन्द्र हो।'
. . .
photo : Bijay Gajmer/Nagarik
७५ वर्षअघि जनकपुरको सबेलामा जन्मेका दुर्गाप्रसाद पिता काशीबहादुर श्रेष्ठको नेपाली साहित्य सेवालाई आजसम्म निरन्तरता दिइरहेका छन्।
पाँच वर्षको छँदा बनारस हिँडेका उनी एकैचोटि २०१८ सालमा काठमाडौं आए। त्यसबेला नारायण बाँस्कोटा 'प्रगति' पत्रिकाका सम्पादक थिए। नारायणको उत्साह पाएर दुर्गाप्रसादले कविता लेख्न सिके। साथीकी छोरीको बिहे खान काठमाडौं पसेका उनी त कवि पो हुन पुगे, घच्चीका कवि।
नारायणले प्रस्ताव गरे, 'तिमी प्रेसको काम पनि जान्दा रहेछौ, अब यहीँ काम गर।'
त्यसपछि उनले लगातार दस वर्ष 'प्रगति'का लागि काम गरे।
उनले त्यसबीचमा पहिले नेपाली कथानक फिल्म 'आमा' का लागि संवाद लेखे। हीरा सिंहको निर्देशनमा बनेको त्यो फिल्मको प्रिमियर शो हेर्न राजा महेन्द्र जय नेपाल सिनेमा हल आए। पहिलोपटक फिल्मका लागि स्त्रि्कप्ट लेख्नेले राजाबाट दुई हजार रुपियाँ बकस पाए। बस्, दुर्गाप्रसाद यत्तिले काठमाडौंको कुलीन वृत्तमा चर्चित भए।

भूतघरजस्तै सेडा

४२ वर्षअघि राष्ट्रिय आर्थिक योजना तर्जुमा गर्न खुलेको 'आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र' (सेडा) अहिले भूतघरजस्तै बनेको छ।
अमेरिकी अनुसन्धान संस्था फोर्ड फाउन्डेसनको अनुदानले अत्याधुनिक शैलीमा बनेका दुई भवन त्रिभुवन विश्वविद्यालय परिसरमा छन्। घाँसैघाँसले भरिएको चउर पार गरेपछि पुगिने माथिल्लो भवनमा अँध्यारो व्याप्त छ। ‰याल–ढोका उघार्दा थोत्रा कम्प्युटर, धुलो र माकुराको जालो लागेका, भाँचिएका फर्निचर देखिन्छन्। वर्षायाममा छतबाट तपतप पानी चुहिन्छ।
तल्लो भवनमा ५५ जनाको संख्यामा कर्मचारी बस्छन्। ३३ वर्षयता सेडामा कार्यरत डा. हरिध्वज पन्त भन्छन्, 'हामी सबै कर्मचारी पसल खोलेर बसेका व्यापारीजस्ता भएका छौं, पसलमा केही छैन।'
पन्तका अनुसार त्रिविले तलबबाहेक अन्य बजेट कटाइदिएपछि सेडा निस्त्रि्कय बनेको हो। बजेट शीर्षकमा वार्षिक एक करोड १० लाख प्राप्त हुन्छ।
अनुसन्धान योजनाका लागि बजेट माग्दै त्रिविलाई चिठी पठाइरहेको पन्त बताउँछन्। सेडाको पूर्व निमित्त कार्यकारी निर्देशक रहिसकेका पन्त आक्रोश व्यक्त गर्छन्, 'त्रिवि केन्द्रीय कार्यालय भने थाहा नपाएझैं गरिरहेको छ।'
सन् १९६९ मा अहिलेका राप्रपा नेता पशुपतिशमशेर राणाले पहिलो कार्यकारी निर्देशकका रूपमा नेतृत्व गरेको सेडाकै आसपासमा सिनास (समाज अध्ययन र विदेश मामिलासम्बन्धी), सेरिड (शिक्षा सम्बन्धी) र रिकास्ट (विज्ञान र प्रविधि सम्बन्धी) नामक तीन अनुसन्धान संस्था छन्। सेडामा अर्थशास्त्र, व्यवस्थापन र राजनीतिशास्त्रबाट प्राध्यापक अनुसन्धानकर्ताका रूपमा प्रवेश गर्छन्। सेडाले मुख्यतः तीन काम गर्छ। त्यसमा अनुसन्धान, तालिम र विशेष मुद्दामा प्रवचन पर्छन्।

पञ्चायतकाल र बहुदलको समयमा सरकारलाई उपयोगी हुने महŒवपूर्ण अनुसन्धान सेडाले गर्थ्यो। पर्याप्त दक्ष जनशक्ति र सुविधासम्पन्न भवन तथा पूर्वाधार हुँदाहुँदै पनि यो संस्था मृतप्रायः छ।

लडाइँ मोफसलको, सेना काठमाडौंका

Photo : Bijay Rai/Nagarik
साहित्य महोत्सव भनेपछि कुनै बेला नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय संगोष्ठी ठानिन्थ्यो। हिजोआज भने  साहित्य संगोष्ठी/महोत्सव हुँदैनन्, 'लिटरेचर फेस्टिभल' हुन्छन्।

पानस बाल्ने, रिबन काट्ने, किस्तीमा राखेर ब्याज वितरण गर्ने परम्परालाई मञ्चमा आवश्यक वक्तामात्रै राखेर दर्शकदीर्घासँग अन्तर्क्रिया गराउने चलनले प्रतिस्थापित गर्दैछन्। एकोहोरो वक्तव्य र कार्यपत्रलाई तिखा बहसले छायाँमा पारेका छन्।

नेपाली साहित्य सम्मेलनको ब्यानरमा एउटै देवनागरी अक्षर नराखेको भन्दै गत वर्ष सहभागीले …नेपाल लिटरेचर फेस्टिभल' आयोजक बुकवर्म ट्रस्टलाई दप्काए। बुकवर्मले साहित्यिक महोत्सव गर्ने परम्परा, विषय, शैली र प्रस्तुतिमा नयाँपन भने भिœयाएको थियो। 

दुई वर्षयता फेस्टिभल आयोजना गरिरहेको बुकवर्मको शैली अनुकरण गर्दै पहिलो वर्ष अर्को समूहले पाटनमा 'काठमान्डु लिटरेरी जात्रा' आयोजना गर्‍यो। काठमाडौंबाहिरका आयोजकले पनि बुकवर्मको बाटो पछ्याए। एकैनासका विषय, प्रस्तुति र वक्ताका कार्यपत्र सुन्दासुन्दै निदाउने बानी परेका सहभागी सक्रिय भए। हात उठाउँदै बहस, संवाद र प्रतिवाद गर्न थाले। छलफलमा सजीवता आयो।

नयाँ कुरा थाल्न गाह्रो। त्यसपछि त अरूले देखासिकी गर्न थालिहाल्छन्। पहिलोपटक पांग्रा बनाएजस्तो। त्यसपछि त्यसैलाई हेरेर नयाँ नयाँ नाप र डिजाइनका टायर बनाउन सबै अघि सर्छन्। यो 'नयाँपन'बाट साहित्य पनि बाहिर छैन।

Tuesday, June 11, 2013

SLC रिजल्टसँगै आत्महत्या

हरेक वर्ष SLC रिजल्टसँगै आत्महत्या गर्नेहरुको खबर आउन थाल्छ। यो वर्ष पनि सुरु भइसकेको छ। एसएलसीलाई फलामे ढोका मान्दै जीवनमरणको प्रश्न बनाउनेहरु, छोराछोरी र विद्यार्थीमाथि आफ्ना अतिमहत्वाकांक्षा लाद्नेहरु यसका जिम्मेवार छन्। एकपटक सोचौं, कतै हामी त्यही अपराधका भागिदार भइरहेका त छैनौं। शिक्षा भनेको प्रेरक, मनोरञ्जक र रुचिकर हुनुपर्छ। पेलेर, थोपरेर पनि कहीँ शिक्षा हुन्छ?

Friday, June 7, 2013

My Poem... बन्दरगाह

केही मालबाहक डिब्बाहरू छन्
जहाजमा
विचारबाहक दिमागहरू पनि छन्
जहाजमा
जहाज आइरहेछन् गइरहेछन्
 गइरहेछन् आइरहेछन्
म छु यी सब नियालिरहेको एक टक
बन्दरगाहमा।

Tuesday, May 28, 2013

खै त श्रीमान गम्भीर?

संविधानसभा बितेको हिजो मंगलबार एक वर्ष पुग्यो। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आफ्ना आदर्श मान्दै बनेको 'नेपाल अधिराज्यको संविधान–२०४७' को पहिलो गोडा सक्रिय बन्दैगर्दा अर्को गोडा पक्षाघातग्रस्त भयो। २०६२ सालमा जनताले १९ दिने आन्दोलन गरे। त्यो आन्दोलनले गणतन्त्र ल्यायो। अघिल्लो संविधानसभामार्फत् गणतन्त्र स्थापना भएको मंगलबार नै पाँच वर्ष पुग्यो। दुर्भाग्य! संविधान भने बनेन।

डुब्दो संविधानसभाका साक्षी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अर्को संविधानसभाका लागि चुनाव गराउने प्रतिबद्धता जनाए। चुनाव गराउने छाँट भने देखाएनन्। त्यसैले उनको राजीनामासँगै अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएको हो। चुनावको मितिसमेत घोषणा गर्ने फेरि पनि छाँटकाँट छैन। देश अन्तरिम संविधानका मृतप्रायः धारा उपधाराबाट शासित हुन अभिशप्त छ।

Sunday, May 26, 2013

मुस्ताङ : केही जम्पकट

मुस्ताङ जाँदा आफूसँगै लगेको डायरी कतै हराएको छु। अब मसँग सम्झनाहरूमात्र बाँकी छन्। कुनै सिलसिला छैन।

'सेन्ट अफ वुमन' मुभीका बुढा अल प्याचिनोझैं देखिने कवि श्यामल सिटमा सँगै बसेका छन्। उनलाई लाग्छ, 'यो नेरुदा क्याप लगाउँदा म कवि पाब्लो नेरुदाजस्तै देखिन्छु।'

श्यामलका लागि मुस्ताङ जानुको अर्थ विशेष लाग्छ। जति हामीलाई लाग्छ।

श्यामल दाइ कवि भूपि शेरचनको जन्मघर हेर्न जाँदैछन्। नोस्टाल्जिया दोहोर्‍याइरहन्छन्, …भूपि भन्नुहुन्थ्यो– श्यामलजी, हामी देवकोटा र रिमालका स्वस्थ सन्तान हौं।'

२०६९ मंसिरको पहिलो साता। हामी मुस्ताङको घँासाबाट उकालिँदैछौं।

Tuesday, April 23, 2013

लोकतन्त्रको ह्याप्पी बर्थ डे

लोकतन्त्र कहिले आयो?

आज लोकतन्त्र दिवस। नेपाली लोकतन्त्रको पछिल्लो संस्करणले सात वर्ष पार गर्दैछ। नेता र पार्टीपिच्छे लोकतन्त्रका व्याख्या छन्। झुपडीसम्म लोकतन्त्र पुगेकै छैन। झुप्रो राजमार्गदेखि धेरै तल छ। हाम्रो लोकतन्त्र हिँडेर जान सक्दैन। विदेशीले किन्दिएको गाडी झुपडीसम्म पुग्दैन।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकतन्त्रका लागि नयाँ परिभाषा र 'कन्टेन्ट' बनाउने उद्घोष गरेका छन्। उनीसँग लामो समय सँगै रहेका एमाओवादी पोलिटब्युरो सदस्य राम कार्की भने नेकपा स्थापना दिवसको छेक पारेर सोमबार राजधानीमा बोल्दैथिए, 'समाजवाद आएको झुपडीले थाहा पाउनुपर्छ। काठमाडौंका दुई सम्भ्रान्त महिलाले नोकरीमा बढुवा पाएर हुँदैन।'
कमरेड, यहाँ समाजवाद त के, लोकतन्त्र आइसकेको सात वर्ष भइसकेछ। तपाईंहरु सरकारमा पुगेको त झुपडीलाई थाहा छ। लोकतन्त्र आइपुगेको भने अझै थाहा छैन।

कम्युनिस्टहरू 'नरकको बाटोमा'

बसन्त बस्नेत, काठमाडौं, वैशाख १० - वामनेता तथा बुद्धिजीवीले नेपालका कम्युनिस्टहरू 'स्वर्गको गन्तव्य तय गरेर नरकको बाटो हिँडिरहेको' आरोप लगाएका छन्।
पार्टीगत स्वार्थमा विभाजित हुने र पछि मूलबाटो नै बिर्सने रोग कम्युनिस्ट पार्टीहरुमा झ्यागिंएको उनीहरुको टिप्पणी छ।

नेपाल कम्युनिस्ट पार्टीको ६५औं स्थापना दिवसका अवसरमा वामविचारकहरुको संस्था 'आजको मार्क्सवादी विमर्श' ले सोमबार राजधानीमा गरेको अन्तर्क्रियाका वक्ताले कम्युनिस्ट विचारधारा सबै दलले बाटो बिर्सेकोमा चिन्ता जनाए।
ठूला कम्युनिस्ट पार्टीहरुमा सैद्धान्तिक धरातल कमजोर भएको जिकिर गर्दै उनीहरुले नयाँ पार्टी बन्नसक्ने छनकसमेत दिए। 'संकट त पहिले पनि थियो, तर क्रान्तिको सपनाले ऊर्जा दिन्थ्यो,' एकीकृत माओवादी नेता राम कार्कीले शिर निहुराए, 'आज तिनै सपनाहरुको हत्या भइरहेको छ, नेपाली कम्युनिस्टमा अहिले अभूतपूर्व संकट छ।'

Saturday, April 20, 2013

राजेन्द्र खगेन्द्रको खेलौना–जुहारी

राजेन्द्र थापाले 'खेलौना' उपन्यास लेखेपछि खगेन्द्र संग्रौला र उहाँबीच जुहारी जारी छ। नागरिक दैनिकको शनिबारे साहित्य परिशिष्टांक 'अक्षर' बाट साभारित उहाँहरुका धारावाहिक टिप्पणी–प्रतिटिप्पणी...

Sunday, April 14, 2013

के शहीद पनि पार्टीपिच्छे अलग अलग हुन्छन् ?

शहीदको रगतलाई 'ग्लोरिफाई' गर्ने चलन संसारभर छ। वीर रसमा लिखित काव्य र भाषण पढ्दा/सुन्दा यही भेटिन्छ। युगपिच्छेका आन्दोलनले जनतासँग मुक्तिका लागि रगतको मूल्य तिर्न आह्वान गरेका छन्। जस्तो कि, सुवासचन्द्र बोसको भनाई प्रख्यात् छ, 'तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिन्छु।' मार्टिन लुथर किङ जुनियर भन्छन्, 'मान्छेले कहिल्यै स्वतःस्फूर्त जित्दैन। न्यायको लडाइँमा बलिदान अनिवार्य छ।' भूपि शेरचन लेख्छन्, 'बन्दैन मुलुक दुई चार सपुत मरेर नगए।' माओवादीले सशस्त्र संघर्षताका देशभरका भित्ता रंगायो, 'शहीदको पंक्तिमा लामबद्ध होऔं।'
परिवर्तनको प्रक्रिया शान्तिपूर्ण बाटोबाट अघि बढ्छ भन्ने विश्वास अघिल्लो युगका मनिषीहरूमा देखिएन। अहिलेकालाई झन् हुने कुरो भएन। बुद्ध र गान्धीका वचनहरू विश्वविद्यालयमा पढाउन र चियापसलमा बुद्धिविलास गर्न खुबै उपयोग गरिए। सडकमा 'शहीदको रगतका टाटा आलै छन्' भनेर आन्दोलनकारीका नशामा पाइन भरियो। तिनै आह्वानको सनकमा इतिहासमा थुप्रै योद्धा 'बलिदानको कोटा चुक्ता गर्न' शहीदको पंक्तिमा चाहेर/नचाहेर, जानेर/नजानेर लामबद्ध पनि भए। छँदाखाँदाको करिअर छाडेर आन्दोलन गर्न हिँडेका उनीहरू इतिहास भइसके।

Tuesday, April 9, 2013

एक कुकुरको डायरी


म अरुजस्तो सामान्य कुकुर होइन। असामान्य भएकैले निरन्तर दुःख पाइरहेको छु। सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छिरेयता म चर्चामा छु।
मैले फस्ट डिभिजनमा एमए पास गरेको छु। ट्रान्सक्रिप्ट हेर्नलायक छ। तर कुकुर भएकै निहुँमा मलाई युनिभर्सिटीले दीक्षान्त समारोहमा टोपी लगाउन दिएन।
दीक्षान्तमा जान राष्ट्रिय पोशाक अनिवार्य गर्यो् सरकारले। मसँग कहाँबाट हुनु दौरासुरुवाल? त्यही भएर गेटपालेले छिर्न दिएन। त्यसो त यो मैले पाएको पहिलो दुःख होइन। कुकुरको जुनी भनेको दुःखैदुःखको एल्बम रहेछ।

Sunday, March 31, 2013

गुडबाई अचेबे : अफ्रिकाको लोकबोली

Chinua Achebe
सन् १९९९। अमेरिकाको बोस्टनमा अर्नेष्ट हेमिङ्वेको जन्मशताब्दी उत्सव चल्दै थियो। 'लेखनमा अफ्रिका' विषयक सत्रमा एक प्रौढ बोले, 'हेमिङ्वेले अफ्रिकाको परिवेश उतारेका कृति पढ्दा मैले मेरो अफ्रिका भेटिनँ, किनकि हेमिङ्वेका अफ्रिकीहरू मैलेझैं बोल्दैनथे, व्यवहार गर्दैनथे।'
विख्यात अमेरिकी आख्यानकारमाथि अफ्रिकाबाट आएको कालो वर्णको बूढोले गरेको कटाक्ष हेमिङ्वे–उपासकहरूलाई कसरी पचोस्! हलमा खासखुस सुरु भयो, खिसिट्युरीमा पुगेर टुंगियो। छलफलका लागि फ्लोर ओपन भएपछि एक महिलाले सोधिन्, 'अफ्रिकामा त्यस्तो के नै छ र, गतिलो साहित्य लेख्नलाई?'
छिटफुट संख्यामा आएका अफ्रिकीहरू प्रश्नकर्ताविरुद्ध हुटिङ बर्साउन थाले। शालीन विद्रोही छवि बनाएका बाबैले चर्को प्रतिवाद गर्ने कुरै थिएन। थपक्क माइक्रोफोननेर गए। प्रत्येक शब्दका अघिल्ला अक्षरमा दबाब दिँदै फगत यत्ति बोले, 'रिड, वर्, बुक्स।' (प्रश्न गर्नुपहिले हाम्रा किताब पढ्नूस्।'
'त्यही त, म तपाईंलाई प्रश्न सोधिरहेकी छु।'
'त्यही त, म तपार्ईंकै प्रश्नको जवाफ फर्काइरहेको छु। पहिले हाम्रा किताब पढ्नुस्, अनि टिप्पणी गर्नूस्।'
हेमिङ्वे, जोसेफ कोन्राडलगायत महामनिषीका किताबमा वर्णित अफ्रिका भनेको असभ्य, पशुतुल्य मानिसहरूको जंगला मुलुक हो। कुनै मानवीय मूल्य नभएकाहरू भनी चित्रित अफ्रिकीबारे पहिलोपल्ट कसैले यति बुलन्द प्रतिवाद गरिरहेको थियो।
उनी चिनुआ अचेबे थिए, जो अघिल्लो बिहीबार बिते।
अचेबे, जसको उपन्यास 'थिङ्स फल अपार्ट' एक करोड प्रतिभन्दा बढी बिक्री भयो। विश्वका ४५ भाषामा अनुवाद भयो। अचेबे, जो अंग्रेजी भाषामा अफ्रिकी लोकबोली उतार्थे। नोबेल पुरस्कारको सर्टलिस्टमा कयौंपल्ट चुनिए पनि 'हार्ट अफ् डार्कनेस' का उपन्यासकार जोसेफ कोन्राडविरुद्ध तिख्खर आलोचना गरेकै कारण अस्वीकृत भए। नोबेलको दुर्भाग्य! अचेबे सबै महादेशका पाठकबाट धुमधाम पुरस्कृत भए।

Thursday, March 28, 2013

'वाचपोस्टबाट खसिरहेको हात्ती'

झापा– भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट वर्षेनि प्रभावित झापाको सीमावर्ती गाविस बाहुनडाँगीका बासिन्दा चैनले बस्न, निदाउन पाउँदैनन्। स्कुले बालबालिका ध्यानले पढ्न पाउँदैनन्। कुन बेला हात्ती आएर ज्यान लिने हो, उनीहरूलाई डर भइरहन्छ।

हात्ती आतंकले ग्रस्त बाहुनडाँगीमा आइतबार राति नौ बजेसम्म काठमाडौंबाट आएका लेखक पत्रकारहरू जम्मा भएर गाउँलेका पीडामा मलम लगाए। सान्त्वना दिए, दुःखी भए। स्थानीयहरूले पीडा सुनाएर हलुंगो महसुुस गरे। त्यसपछि सुरु भयो रमाइलो।
त्यहाँ थिए– खगेन्द्र संग्रौला, नारायण ढकाल, राजव, नयनराज पाण्डे, बुद्धिसागर, युग पाठक, मनु मन्जिल, भूपिन, ब्रजेशलगायत लेखक। त्यसैगरी थिए– नारायण वाग्ले, केदार शर्मालगायत मूलधारका पत्रकार।

जनाब, इलेक्सन कब होगा?

एक पाकिस्तानी कथाको सार यस्तो छ :  खस्रो दाह्री भएको एक शासक हजामकहाँ जान्छ। हजामलाई उसका कडा दाह्री काट्न सधैं हम्मे पर्छ। एकदिन दाह्री काट्दा काट्दै हजामले सोध्छ, 'जनाब, इलेक्सन कब होगा?' (महाशय, चुनाव कहिले हुन्छ?' चुनाव शब्द सुन्नेबित्तिकै शासकको गालाका रौं ठाडा हुन्छन्। हजामलाई दाह्री काट्न सजिलो हुन्छ।
यो देशको शासन हाँकिरहेका शासकहरूको दाह्री कस्तो प्रकारको छ, पंक्तिकार अनभिज्ञ छ। तर जे गर्न कुर्सीमा गएका हुन्, त्यही गर्न अनिच्छापूर्ण अन्योल जारी राखेपछि उनीहरूलाई एकपल्ट माथिको कथाको हजामलेझैं सोध्नुपर्ने भएको छ, 'जनाब, इलेक्सन कब होगा?'
राष्ट्रपति रामवरण यादवका सुपुत्र तथा कांग्रेस नेता चन्द्रमोहन यादव र धनुषास्थित उनकै क्षेत्रबाट उठ्ने तयारी गरिरहेका त्यसै क्षेत्रका पूर्वसभासद् तथा एमाले नेता रघुवीर महासेठले आफ्नो विजयको सुनिश्चितताका लागि ढालेका खसीबारे सुनेपछि जोकोहीले भन्न सक्छ, अब यो देशमा छिट्टै चुनाव हुन्छ।

रेफ्री मैदानमा, दलहरू बाहिर?

यो देशमा जम्मा दुई खालका नागरिक छन्– एक प्रचण्डले प्रधानमन्त्री बनाइसकेका। अर्को, प्रचण्डले प्रधानमन्त्री बनाउन बाँकी।
प्रचण्ड डिजाइनअनुरुपको प्रधानमन्त्री–दौडमा केही शीर्षस्थ नेता छँदैथिए। स्वच्छ छविको व्यक्ति खोजिएको हास्यास्पद विगतको हुबहु सिको गर्दै 'स्वतन्त्र व्यक्ति' लाई प्रधानमन्त्री बनाउने प्रचण्ड प्रस्तावले यो देशका प्रत्येक नागरिकलाई आफूभित्र स्वतन्त्र व्यक्तित्व का अंशहरू कति प्रतिशत छन् भनी घोत्लिन विवश तुल्यायो। यद्यपि फाइनल दौडमा भने रेफ्रीलाई सामेल हुन 'बाध्य' बनाइएको छ। रेफ्री, अर्थात्, प्रधानन्यायाधीश खिलराज रेग्मी (आइन्दा उनलाई यस्तो सम्बोधन नगर्नु भनी सर्वोच्च अदालतले फर्मान जारी गरेको छ। त्यसैले यो अन्तिम सम्बोधन) यो दौडको अन्तिम रेखाको रिबन नाघ्ने पहिलो व्यक्ति हुन पुगेका छन्।

Saturday, March 9, 2013

केही खस्रा कुराहरु.. (कुरा खस्रा मिठा- 2)


जय नेपाल बन्द

नेकपा–माओवादीसहित पाँच दल मिलेर बुधबार नेपाल बन्द गरे। भोलिपल्टै मधेसी जनअधिकार फोरम नेपाललगायत पाँच दलले 'हामी पनि छौं है' भन्ने हिसाबकिताबले अलिअलि नेपाल बन्द गरे।
जुनसुकै दल, धर्म, वर्ण, रंग र लिंगका भए पनि बन्दकर्ताले सर्वसाधारणको भेट्ने भनेको गाली नै हो। एक मित्र बन्दकर्तालाई उडाउँदै थिए, 'म नेपालमै छु भन्ने बल्ल महसुस भयो।'

बन्दकर्तालाई गाली गर्नेहरूले पनि पुनर्विचार गर्ने बेला भने आएकै छ। बन्दले ९५ प्रतिशत सास्ती दिए पनि पाँच प्रतिशत फाइदा गर्छ। सकारात्मक सोच्न सिकाउनेहरू कहाँ गए भन्या!
बन्द शहरको खुला सडकमा हात हल्लाउँदै हिँड्नुको मजै अर्को। फुटबल र क्रिकेट खेलिरहेका बच्चाको प्रहारबाट टाउको जोगाउन सकियो भने अरुबाट 'प्रोब्लम' छैन। हिँड्दा यताउति नियाल्नुभयो भने वर्षौं नभेटेका साथीहरू उसैगरि हावामा हात हल्लाइरहेका भेटिन्छन्। दुःखसुखका कुरा गर्ने मेलो बन्दले दिएन त? उसमाथि बन्दको दिन अफिसतिर हिँडाएर वैद्यले निःशुल्क आयुर्वेदिक उपचार पनि गरिदिए, शारीरिक व्यायाममार्फत्। उनलाई पनि साधुवाद। अशक्त, रोगीहरू हिँडेरै अस्पताल पुगे। उनीहरूले दुःख पाए त के भयो! त्यति पनि नभएको बन्द के बन्द?
बरु दोस्रो दिनका बन्दकर्ताप्रति पंक्तिकारको असन्तुष्टि छ। सडकमा यतिविधि गाडी कुदिरहेथे, बाटो काट्नै मुस्किल। यो त बन्दकै बेइज्जती भयो। त्यसमाथि हुँदै नभएका प्रधानमन्त्री खिलराज रेग्मीको अहिल्यै राजीनामा माग्न बन्द गर्नु पनि के गर्नु, कसो उपेन्द्र यादवज्यू? मानिसहरू त भन्दैछन्, वैद्यले रोगको जरो कहाँ छ, डाइग्नोसिस गर्नै सकेनन्। कसो वैद्य बा?

भाकपा (फ्युजनवादी)?

तस्बिर आफैं बोल्छ। दुई साताअघि कोलकाता जाँदा शरत बोस रोडमा पंक्तिकारले गज्जबको दृश्य देख्यो। तस्बिरमा के छ – भत्किन लागेको छाप्रो छ। सँगै 'ओम' लेखिएको मन्दिर जोडिएको छ। फोहोर सडकको छेउमा निम्न वर्गका महिला लुगा धोइरहेछन्। छाप्रो र मन्दिर दुवैलाई जोडेको छ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को साइनबोर्डले।
Photo: Basanta
धर्म भनेको त अफिम हो भन्थे 'सर्वहाराका गुरु' कार्ल मार्क्सले। मार्क्सको नाममा खोलिएको पार्टीको बोर्ड र हिन्दु धर्मको मन्दिरको यो 'फ्युजनवाले' तस्बिरले चाहिँ के भन्न खोजेको होला! खुट्याउन नसकेर पंक्तिकार अलमल्ल पर्‍यो। अनि अर्थ लगाउने जिम्मा विद्वान पाठकलाई सुम्पिनु उचित ठान्यो।

Saturday, March 2, 2013

कोलकातामा सानो नेपाल

Ma pani. hehehe

कोलकातामा नेपालीका नाममा खुलेका सानाठूला गरी ५२ वटा राजनीतिक/गैरराजनीतिक संगठन छन्। तीमध्ये २६ वटाको चहलपहल बढी छ। त्यहीबीचमा ५३ औं संस्था खुलेको छ, जसका सदस्य कुनै पनि दलका भ्रातृ संस्थासँग आबद्ध छैनन्।
'भोलिका लागि आजका हातहरू' त्यस संस्थाको नाम हो, जसका सदस्यले फेसबुकको माध्यमबाट एकअर्कालाई भेटे। अब्राहम लिंकनको लोकतन्त्रसम्बन्धी परिभाषाको नक्कल गर्दै उनीहरूले नारा सिर्जेका छन्, 'नेपालीले, नेपालीको, नेपालीलाई।'

ठेला तानिरहेको कोलकाता

मिथिला एक्सप्रेस हावडा रेल स्टेसनमा रोकियो। बि-१ लेखिएको डिब्बाबाट बाहिरिनेबित्तिकै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दायाँ हात हल्लाएर हामीलाई स्वागत गरिन्। लगत्तै नियोन लाइट जडेको होर्डिङ बोर्डभित्र सुत्त पसिहालिन्।
फागुन पहिलो साता। बिहान साढे पाँच बजे। हामी भारतको पुरानो राजधानी कलकत्ता (कोलकाता) आइपुगेका छौं। भारत-नेपाल जनमैत्री साँस्कृतिक मञ्च कोलकाताले 'नेपाली लिटरेरी सिम्पोजियम' मा भाग लिन हामीलाई डाकेको छ।

मसीको शहरमा (जयपुर लिटरेचर फेस्टिभल)

नयाँ दिल्लीबाट पाँच घण्टा बस यात्रापछि पुगिने जयपुर गुलाबी शहर (पिंक सिटी) नामले चर्चित छ। राजस्थान प्रान्तको राजधानी जयपुरका दरबार, किल्ला र घरहरू प्रचलित गुलाबी रंगले पोतिएका छन्। डिग्गी प्यालेस तीमध्ये एक हो जहाँ सात वर्षयता वर्षेनी साहित्यको कुम्भ आयोजना हुन्छ। यही पिंक सिटी वर्षारम्भ अर्थात् जनवरी छेक मसीको शहर (इंक सिटी) मा अनुदित हुन्छ।
छेउछाउका देशहरू हिउँदको चिसोले कठ्यांग्रिइरहेका बेला जयपुर अघिल्लो बिहीबार (जनवरी २४) देखि पाँच दिन लगातार गर्मियो- विवादास्पद अभिव्यक्ति, उत्तेजक वादविवाद र छेडखानीले।