Monday, November 17, 2014

आँखाभरि बिझाइरहेछन् शरणार्थी

कुनै समयका 'भुटानी मन्डेला' टेकनाथ रिजाल काठमाडौं वा झापाका सडकमा एक्लै हिँडिरहेको भेटिए भने आश्चर्य मान्नु पर्दैन । २५ वर्षअघि एक लाख भुटानी शरणार्थीका 'निर्विकल्प विकल्प' यी अधिकारकर्मी नेता केही समययता गुमनाम छन् । यी यस्ता नेता हुन्, जससँग आज कुनै आन्दोलन छैन । ६७ वर्षीय यी नेताको नाम लिनेबित्तिकै झापा र मोरङका सात शिविरमा बाँकी शरणार्थी भने दुई धारमा विभाजित हुन्छन् । एकथरी भन्छन्, 'रिजालले गर्दा नै भुटानी शरणार्थी आन्दोलनले अन्तर्राष्ट्रिय आयाम पाएको हो, उनको जोडा अर्को छैन ।' अर्काथरी भन्छन्, 'शरणार्थी नेता भएर पनि रिजाल कहिल्यै शिविरमा बसेनन् । आत्मकेन्दि्रत भए, कूटनीतिक पहल लिन सकेनन् ।' रिजाल आफैं भने यसो भन्छन्, 'मलाई नेता हुन्छु भन्ने कहिल्यै लागेन । भुटानी राजाविरुद्ध एकदिन उभिनुपर्ला भन्ने झन् थिएन । दैवको खेल हो यो, परिस्थितिले आफैं बाटो देखायो ।'
सिकिस्त छन् रिजाल । हात थर्थराउँछन् । मधुमेह भएको छ । प्रोस्टेटका रोगी हुन् । पिसाबमा समस्या छ । आँखा धमिलो देख्छन् । चस्माको पावर पुग्न छाडेको छ । दिन-दिनको जाँच, छिन-छिनको औषधि । यही हो, टेकनाथ रिजालको यतिखेरको दैनिकी । एउटा भयानक दुस्वप्नजस्तो केही हुन्छ, अनि थामिन्छ । अस्थिर मन र धमिला आँखाभरि शरणार्थीका निरीह अनुहार बिझाउन आउँछन् । मन भरिएर आउँछ । १० वर्ष जेलनेल र यातना खपेका यी ६७ वर्षीय योद्धा भन्छन्, 'अब ती दिन सम्झँदा पनि डिप्रेसनमा जान्छु कि जस्तो हुन्छ । मनस्थिति पहिलेजस्तो ठीक छैन ।'

गणेशमान जागेका बेला

-२०४६ चैत १६ गते ।वीर अस्पताल । पहिलो तला । कोठा नम्बर १४ ।

जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह साँझको मधुरो उज्यालोमा बसिरहेका थिए । कोठाको दक्षिण र पूर्वपट्टकिा ठूला झ्यालबाट उज्यालो द्रुत गतिमा हराउँदै गइरहेको थियो । बत्ती बाल्ने बेला भइसकेको थियो, तर गणेशमानले बत्ती नबाल्नु भनेर आफ्ना सहयोगीलाई भनेका थिए । किनभने, सात बजेदेखि ब्ल्याकआउट (बत्ती निभाउने कार्यक्रम) सुरु हुनेवाला थियो ।

सात बज्न केही मिनेट बाँकी नै थियो । बाहिर निस्कन र सार्वजनिक समारोहमा उपस्थित हुन रोक लगाइएका गणेशमानले अरू केही नसके पनि आफ्नो कोठाको बत्ती अरूले भन्दा पहिल्यै निभाएर ब्ल्याकआउट थाल्ने निर्णय गरे ।

जापानी पत्रकार कियोको ओगुराले लेखेको 'जनता जागेका बेला' पुस्तकबाट माथिको प्रसंग उद्धृत छ । गणेशमान र उनको पुस्ताले लडेको २००७ सालको क्रान्ति सम्झाउने दिन अर्थात् ०४६ फागुन ७ बाट जनआन्दोलन सुरु गरिएको थियो । बिस्तारै आन्दोलनको ज्वरो ओर्लंदै जान थालेपछि कांग्रेस र वाममोर्चाले हरेक घरका जनता जगाउने उपायको रूपमा 'ब्ल्याकआउट' रोजेका थिए । गणेशमानले नजरबन्दमा बस्नुभन्दा बिरामी भएको नाटक गरी अस्पताल बसे सहरको चहलपहलसँग अभ्यस्त हुन पाइने परिपञ्च रचिएको थियो । त्यसैबमोजिम उनी पत्नी मंगलादेवीसहित चैत १४ गते वीर अस्पताल भर्ना भइदिएका थिए । यसका रणनीतिकार थिए, उनका धर्मछोरा पीएल सिंह, जसले गणेशमानका अतिशय अप्ठयारा दिनहरूमा उनको र सिंगो परिवारको भरथेग गरिदिएका थिए । मंगलादेवीले आफ्नो पुस्तक 'नारी संघर्षका पाइलाहरू' को आखिरी पृष्ठमा लेखेकी छन्, 'एउटा पीएल नहुँदो हो त हामी बूढाबूढीको सायद पहिल्यै मृत्यु भइसक्थ्यो !'

-नागरिक अगुवा देवेन्द्रराज पाण्डेलाई बन्दी अवस्थामा रहेकै बेला संकटकालीन अवस्थाको मन्त्री पद खाइदिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आग्रह गरे । पाण्डेले ठाडै नकारे । भलाद्मी स्वभावका पञ्च प्रधानमन्त्री चन्दले मन्त्री नखाइदिए पनि एकपटक गणेशमानसँग राजा वीरेन्द्र र आफ्नो भेट गराइदिन आग्रह गरे । पाण्डेले भने, 'वार्ता गर्ने तपाईंको कुरा मलाई त स्वीकार्य भएन भने गणेशमानजीले के मान्नुहोला ? तैपनि म सन्देश पुर्‍याइदिउँला ।' वीर अस्पतालको वार्डमा पुगेर पाण्डेले चन्दको सन्देश के सुनाएथे, गणेशमान गर्जे, 'बहुदलीय व्यवस्था स्थापना भएको घोषणा सार्वजनिक नगरुन्जेल म राजालाई भेट्दै भेट्दिनँ । प्रधानमन्त्रीसँग पनि कुरा गर्दिनँ ।' रोचक कुरा, पाण्डेले गणेशमानको आँधीसरी प्रत्युत्तर के सुनाएथे, अघिसम्म मन्त्री खाइदिन अनुनय गर्ने प्रधानमन्त्रीले उनलाई फेरि जेल फर्काइदिए ।

लेखक कारखाना

सिर्जनात्मक लेखनको बारेमा एउटा भनाइ छ- प्रतिभाशालीलाई सिकाउनु पर्दैन । अनि, प्रतिभा नभएको मानिसलाई जति सिकाए पनि काम छैन ।

विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहमा हिजोआज 'क्रिएटिभ राइटिङ' र 'क्रिटिकल रिडिङ/थिंकिङ' का कक्षा सञ्चालन हुने गर्छन् । नेपालमा यस्ता कक्षा हिजोआज विश्वविद्यालयबाहिर पनि चल्न थालेका छन् । 'क्रिएटिभ राइटिङ' का ती कक्षाले लेखन-लडाइँमा होमिन निश्चित सूत्र र सीप हस्तान्तरण गरेको सहभागीहरू बताउँछन् । र, उहिलेदेखिको बहस फेरि एकपटक सतहमा आएको छ- के सिर्जनशील लेखनका लागि तालिम आवश्यक छ ?

त्रिभुवन विश्वविद्यालयमा सिर्जनात्मक लेखनको पहिलो पाठयक्रम डिजाइन गरेका प्राध्यापक मोहनराज शर्मा ठान्छन्, 'एकदमै आवश्यक छ । जोसँग खुट्टा छ, यो कोर्सले उसलाई हिँड्न सिकाउँछ । जो हिँड्न सक्छ, उसलाई शानसँग हिँड्न सिकाउँछ । जो पहिल्यैदेखि शानले हिँड्न सक्थ्यो, उसलाई दौडन सिकाउँछ ।' शर्मा आफ्नो पालामा त्यस्तो कोर्स पढ्न नपाएकामा थकथकी मान्छन् । क्रिएटिभ राइटिङ पढेर साहित्यमा चम्केका केही नाम लिँदै थप्छन्, 'यो कोर्सले प्रतिभाको विकास गराउँछ । लेखनमा देखा पर्ने अलमल समाधान गर्छ ।'

शर्मासँग कुनै समय लेखन-साधना सिकेका लेखक/सम्पादक अविनाश श्रेष्ठ सही थाप्छन्- 'यो कसैलाई गुरुज्ञान दिने कक्षा होइन, परिष्कार भने दिन्छ । यो अभ्यास हो, जानेको मानिसलाई अझै जान्ने बनाउँछ ।'

Wednesday, November 5, 2014

एक प्राध्यापकको पेन्सन

समाजशास्त्री चैतन्य मिश्र त्रिभुवन विश्वविद्यालयको ३५ वर्षे सेवाबाट शुक्रबार निवृत्त भए । विमर्शको खोजीमा तिर्खाइरहेको समकालीन नेपाली समाजका लागि यो 'समाचार' हो । साँच्चै, यो समाचार किन हो ?
किनभने, विश्वविद्यालयलाई आफू बाँचेको समाज र दुनियाँसँग जोड्न सक्ने विरलै विद्वान्मध्ये एक प्राध्यापक कीर्तिपुरको डाँडोबाट बिदा भए । जस्तो कि, उनका विद्यार्थी तथा एमाले नेता घनश्याम भुसालका शब्दमा, 'एउटा राम्रो अभिभावक' घर छाडेर कतै टाढा गएको छ ।
किनभने, 'फुलब्राइट स्कलरसिप' पाएर विदेश पढ्न गएका, उतै बसेका प्रायः बौद्धिकझैं मिश्र पनि उतै बस्न सक्थे । तर उनी नेपाल फर्के । 'हाई' र 'लो प्रोफाइल'को तौल जोखेर बसेनन् । मार्कर र डस्टरलाई जीवनशैली बनाए । हाइटबोर्डमा घोट्टएि ।
किनभने, उनी नेपालबारे नेपालीले लेखेको कुरालाई पाठयक्रममा राख्नुपर्छ भनी जोड गर्ने विभागका प्रमुख थिए । 'हामी पहिलो विभाग हौं, जसले नेपाली समाज पाठ्यक्रममा छुट्नुहुन्न भनी अड्डी लियौं,' मिश्र जिकिर गर्छन्, 'प्राज्ञिक हिसाबले सबल नमानिएका कतिपय पुस्तकमा हामीले नेपाली समाजको ऐना देख्यौं । अन्ततः हाम्रो बुझाइ सही निस्कियो ।'
किनभने, 'विकासे विषय' मानिने समाजशास्त्रलाई हेर्ने आफ्नै अध्ययन पद्धति विकास गरे । 'समाजशास्त्रीले मात्रै बुझ्ने समाजशास्त्रको काम छैन, जनताले बुझ्ने हुनुपर्‍यो,' उनी भन्छन्, 'विश्वविद्यालयको चार दिवारमा मात्रै सीमित ज्ञानले केही चल्दैन ।' विकासको अर्थराजनीतिक पाटोमाथि मुखर मिश्र आफू पनि यदाकदा विकासे मार्गको पेटीपेटी हुँदै हिँडे । तर एउटै कक्षामा गयल परेनन् ।
किनभने, इतिहासको प|mेममा नेपाली समाजलाई राखेर व्याख्या गर्ने परिपाटी थाले । नेपाली समाजलाई पुष्पलालको व्याख्याका आधारमा बुझ्ने बानी परेको एमालेका केही नेता '५० को दशकमा उनको विचारनजिक उभिए । 'अर्धऔपनिवेशिक र अर्धसामन्ती मुलुकमा हतियारमुखी क्रान्ति निर्विकल्प' ठान्ने माओवादीले कालान्तरमा आफूलाई अद्यावधिक गर्‍यो । मिश्रको 'संशोधनवादी/सुधारवादी' बुझाइलाई ढिलोछिटो दुवै 'क्रान्तिकारी पार्टीहरू' ले सदर गरे ।
किनभने, पुग्दो आर्थिक हैसियत बनाएका राजधानीका रैथाने मास्टर गाडी किनेर गुड्न सक्थे । तर उनी सधैं साझाबस र माइक्रोमा कोचिएर चाबहिलदेखि कीर्तिपुर, सडकदेखि सेमिनार धाइरहे । 'बसमा चढदा एउटा वर्गको जीवनसँग अभ्यस्त भइन्छ । मानिसहरू के कुरा गरिरहेका छन् भन्ने थाहा पाइन्छ,' मिश्र जोड्छन्, 'त्यसैले समाजशास्त्रीहरूले बस चढ्नु आवश्यक छ । गाडीवाला समाजशास्त्रीले पनि हप्तामा कमसेकम एक दिन बस चढेको राम्रो ।'