Thursday, December 25, 2014

झन्डाबाहिरका कमान्डर

पञ्चायतका हक्की-झोंकी अर्थसचिव देवेन्द्रराज पाण्डे 'टप करिअर' हापेर बहुदलवादी संघर्षको काँडाघारीमा हाम फाले । काठमाडौंको खानदानी पाण्डे वंशमा जन्मे-हुर्केर १९ वर्ष सरकारी सेवा गरेका ४० वर्षे प्रशासकले पेन्सन पर्खने धैर्य देखाएनन् । सम्भ्रान्तको दैलोबाट निक्लेर भुइँका मानिसहरूसँग संवाद थाले । खिलराज रेग्मी सरकार बन्नपूर्व आएको प्रधानमन्त्री प्रस्ताव सीधै नकारे । यस्तै 'अफबिट' निर्णय गर्ने बानीले उनको उच्चवर्गीय आकांक्षालाई पुनःपरिभाषित गरिदियो । उनले जीवनलाई नयाँ बाटो दिए ।
पाण्डे अहिले पार्टीभन्दा पर, नागरिक आन्दोलनका नेताका रूपमा परिचित छन् । यो नागरिक अगुवा भन्ने यस्तो 'पद' छ, जहाँ कुनै झन्डा छैन । अफिस, नेमप्लेट छैन । तलब छैन, अवकाश, उपदान केही छैन । पाण्डेको नामसँग यस्तो नैतिक बल छ । हेर्दा कहीं छैन, तर सबैतिर छ ।
ट्वीटरमा झुन्डिबस्छन् पाण्डे । राजनीतिक, आर्थिक टिप्पणी गर्दागर्दा दिक्क लाग्यो भने टाइमलाइनमा तन्नेरीसँग भिड्न थाल्छन् । उनको लाइभ ट्वीट सुरु भयो भने बुझे हुन्छ, आज क्रिकेट म्याच छ ।

Thursday, December 4, 2014

जीवन : एक विश्वविद्यालय

केदारभक्त माथेमा तीनपटक त्रिभुवन विश्वविद्यालयबाट निकालिए। पहिलोपटक- २०२७ सालमा त्रिचन्द्र क्याम्पसबाट, जहाँ उनी अंग्रेजी साहित्य पढाउँथे। चार्ल्स डिकेन्सको 'अ टेल् अफ् टु सिटिज्' उपन्यास पढाउँदा क्रान्तिको चर्को आह्वान गरेको आरोप केही पञ्चका छोराहरूले लगाए। उनलाई पनि के खाँचो परेको थियो र ! हापिदिए।
दोस्रोपटक- २०३२ सालमा केन्द्रीय क्याम्पस र्कीर्तिपुरबाट, जहाँ उनी क्याम्पस चिफ थिए। मण्डले भनेर चिनिने राष्ट्रवादी विद्यार्थी मण्डल र आन्दोलित विद्यार्थीबीच झडप हुँदा प्रहरी छिर्न खोज्यो। क्याम्पस हाताभित्र प्रहरी छिर्न नपाउने भनी अडान लिए। प्रहरीले दुर्व्यवहार गर्‍यो। उनीसहित थुप्रै प्राध्यापकहरूले कडा विज्ञप्ति निकाले। दरबारको जाँचबुझ केन्द्रले स्पष्टीकरण सोध्यो। उनले सीधा प्रतिवाद गरे। अर्को क्याम्पस चिफ ल्याउने निर्णय सुनाइयो। उनले राजीनामा दिए।
तेस्रोपटक (२०५१ सालमा त्रिवि केन्द्रबाट, जहाँ उनी उपकुलपति भिसी) थिए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा भिसी बनेका उनको चारवर्षो कार्यकाल पूरा नहुँदै एमाले सरकार बन्यो। प्रधानमन्त्री मनमोहन अधिकारीले उनलाई डाके। 'तपाईंले धेरै प्रशंसनीय काम गरिरहनुभएको छ। म आएको छु, अब अझै राम्रो गर्दै जानुहोला,' उनले ढाडस दिए। त्यसको दुइ साता नबित्दै केही अनपेक्षित घटना भयो। माथेमाले राजीनामा दिने निर्णयसुनाए। प्रधानमन्त्रीले रोक्न सकेनन्।

गढीमाई मौलो

माहोल हेर्दा लाग्छ, पाँच वर्षमा एकपल्ट लाग्ने गढीमाई मेला रंगैरंगको इन्द्रधनुषी उत्सव हो । नाचगान, रमिता, मित्रमिलन, इच्छापूर्णताको भाकल । तर मधेसको हिउँदमा फूल, रंग र अबिरको यो रंगीन माहोललाई बिर्साउने गरी चर्चामा छ, पशुबलि । यो पशुबलि, जसका कारण बारा सदरमुकाम कलैयाबाट ६ किलोमिटर पूर्वमा अवस्थित गढीमाई देशदेशावरमा चर्चित छ । यही पशुबलिका कारण गढीमाई हिजोआज विवादित पनि बन्न पुगेको छ ।
अघिल्ला वर्षहरूझैं बिहीबार राति ११ बजेदेखि तान्त्रिक विधिबाट रातभरि पूजा गरेपछि शुक्रबार बिहान ४ बजे पहिले सेतो मुसाको बलि दिइयो । त्यसपछि क्रमशः सुँगुर, परेवा, हाँस, कुखुरा चढाइयो । अनि पालो आयो 'नरबलि'को । यो वर्षका लागि बलिदाता तोकिएका धामी दुःखा कछडियाले शरीरका कान, जिब्रो, आंैला, पाखुरा, तिघ्रा गरी पाँच अंगबाट तपतप रगत चुहाए र आफ्नो रगतको अंश गढीमाईका नाममा चढाए । त्यसपछि सुरु भयो- आस्था र आर्तनादको संगम अर्थात् राँगा बलि । बलिका लागि चुनिएका साढे चारसय तरबारधारीले जोसका साथ हावामा हतियार उज्याए र भाकलका राँगालाई गढीमाई देवीको दैलोमा हाजिर गराए ।
रातो कपडाले बेरेर राँगा घिस्याउँदै लगिरहेका दर्शनार्थीले बलि दिनुअघि तिनको धुमधाम पूजा गरेका थिए । आफ्नो भाकलका लागि उनीहरूले बलि चढ्नुपरेकामा पशुसँग क्षमा मागेका थिए । त्यसपछि मात्र राँगामाथि खुकुरी, खुँडा र तरबार चलाइएको थियो, जसलाई शब्दमा वर्णन गर्न साह्रै कठिन छ ।