Sunday, May 26, 2013

मुस्ताङ : केही जम्पकट

मुस्ताङ जाँदा आफूसँगै लगेको डायरी कतै हराएको छु। अब मसँग सम्झनाहरूमात्र बाँकी छन्। कुनै सिलसिला छैन।

'सेन्ट अफ वुमन' मुभीका बुढा अल प्याचिनोझैं देखिने कवि श्यामल सिटमा सँगै बसेका छन्। उनलाई लाग्छ, 'यो नेरुदा क्याप लगाउँदा म कवि पाब्लो नेरुदाजस्तै देखिन्छु।'

श्यामलका लागि मुस्ताङ जानुको अर्थ विशेष लाग्छ। जति हामीलाई लाग्छ।

श्यामल दाइ कवि भूपि शेरचनको जन्मघर हेर्न जाँदैछन्। नोस्टाल्जिया दोहोर्‍याइरहन्छन्, …भूपि भन्नुहुन्थ्यो– श्यामलजी, हामी देवकोटा र रिमालका स्वस्थ सन्तान हौं।'

२०६९ मंसिरको पहिलो साता। हामी मुस्ताङको घँासाबाट उकालिँदैछौं।
यात्रामा छन् प्राज्ञ बुँद राना र विष्णु प्रभात। रानापत्नी सोनु गुरुङ। प्रज्ञा प्रतिष्ठानका ज्ञानहरि अधिकारी।
यात्राका सूत्राधार तथा मुस्ताङी निबन्धकार रोशन शेरचन अघिअघि हिँडिरहेछन्। पोखराबाट मिसिएका छन् कवि तीर्थ श्रेष्ठ। बाग्लुङबाट भूपिन। कविहरू अनन्त वाग्ले र दिपक कथित।
स्कुल नगएर सडकमा खेलिरहेका बालिकाहरूको फ्रक हिउँदे बतासले उडाउँदैछ। हामीलाई …नेपथ्य'को जोमसोम पुग्नु छ, जहाँ १२ बजे हावा सरर चल्छ।

...
मुस्ताङको बारेमा मसँग लेख्नुपर्ने कुरा केही छैन। हृदयमा धेरै आनन्द तप्कियो भने त्यसले शब्दहरूसँग घर्षण पैदा गर्न नसक्दो रहेछ। म केवल आनन्द लिन गएको थिएँ, त्यसलाई कसरी व्यक्त गर्ने भन्ने कुनै तयारी गरिएनछ। त्यसमाथि डायरी हराएकै छ।
'मितज्यु नमस्कार।'
'…....।'
मैले कसैसँग मित लगाएको छैन आजसम्म। रोशनका पिता बसन्त शेरचन मैत्री हाँसो पोखिरहेछन्। यात्राका सुत्राधार रोशन भए पनि चाबी उनको हातमा छ। हामीलाई मुस्ताङ बोलाएको पनि उनले नै हो।

...
हिमालपारि राज्य पुग्न मुस्किल छ। व्याख्या धेरै नगरे हुन्छ। यस्तो तर्क त हिजोआज जसले पनि गर्छ।

मुस्ताङमा राज्यको विकास निर्माण पहलकदमी कम छ। स्वयं मुस्ताङीको वैभवले यो समृद्ध छ। मुस्ताङलाई राज्यले खासै केही दिएको छैन, लिएको पनि त केही छैन। भोटसँग कुनै जमानामा निर्भर त्यहाँको व्यापारले उनीहरूलाई व्यापारी बनायो। धनी बनायो। आज उनीहरू व्यापारसँगै संस्कृति र सभ्यताको डिस्कोर्समा पनि सामेल हुन चाहन्छन्।
अँ, राज्यले केही दिएको छैन मुस्ताङीलाई। कानूनका धारा उपधाराहरू उनीहरूमाथि शासन जमाउन पुग्दैनन्। उनीहरूले बनाएका छन् आफ्नै विश्वास, नियम। मुखिया चुन्छन् उनीहरू। लोकतन्त्र र स्वायत्तताको मुस्ताङी व्याख्या मेकियाभेलीदेखि थोमस जेफर्सनलाई एक पटक सुनाउनु छ। उनीहरू त धरतीमा छैनन्। धरतीमा जो छन्, आफूलाई वरदपुत्र जिकिर गरिरहेका। उनीहरूलाई सुुनाउनु छ।
मुस्ताङको लोकतन्त्रले धेरै वर्षअघि नै संस्कार पाइसकेको छ। त्यहाँका मीर मुखिया र तिनका जनताहरू हेर्दा यस्तै लाग्छ। र, नेपाली कविताले पनि एउटा मुस्ताङी मुखिया पाएको छ। हामी मुखिया कवि भूपि शेरचनको घर हेर्न उकालिँदैछौं।

भूपि बितेर गएको २३ वर्ष भइसक्यो। उनी अझै हामीमाथि शासन गरिरहेका छन्। निर्विकल्प मुखिया! अझै कोही विरोध गर्दैन उनको। दुर्भाग्य, अब त नयाँ मुखिया चुन्ने समय आइसक्यो तर उनलाई चक्मा दिन कोही अघि सर्दैन। श्यामलमाथि मेरा प्रश्नहरू छन्, 'के नेपाली कविताले भूपिको स्वस्थ सन्तान खोज्ने बेला आइसकेन?' उनको जवाफ सुन्नु छ। मलाई तीर्थ श्रेष्ठको प्रतिक्रिया सुन्नु छ।

...

एकेडेमी र भूपि स्मृति थाक पुस्तकालयले मुस्ताङ घुम्ने मेलो मिलाएको हो। अर्थात्, एकेडेमी हो मूल आयोजक। आयोजक संस्थाका सदस्यहरू प्रमुख अतिथि र विशेष अतिथि भएर पालैपालो मञ्चमा विराजमान छन्। 'थकाली लोक संस्कृति' विषयमा घनीभूत बहस जारी छ। केही तटस्थ अनुहारहरू छन् मञ्चको अघिल्तिर। उनीहरूसँग कार्यपत्र प्रस्तोताहरूमाथि खासै केही प्रश्न छैनन्। मुस्ताङजस्तो विकट (काठमाडौंको आँखाबाट) ठाउँमा पहिलोपल्ट आइपुगेको एकेडेमीलाई माला लगाइदिन पाएकामा नै उनीहरू दंग छन्।
...

हामी कोबाङमा छौं। रोशनको गाउँ हो यो। बुद्धिरत्न शेरचनको पनि। उवा पिएर लठि्ठँदै कालीगण्डकी हुँदै तेर्सिएका छौं। आफूले प्रस्ताव गरेको बाटो भूपिमार्गको उकालोमा कवि भूपिन भूपिकै संगीत प्रतियोगिताको बहिरो निर्णायकको इयरफोनका ठेँडी कानमा घुसारेर गफिइरहेका छन् कसैसँग। धन्य हो, सेलफोन। जसमा हिँड्दा हिँड्दै पनि कुरा गर्न मिल्छ। भूपिन हामीसँग छन्, तर हामीसँग छैनन्।
...

जम्पकट शब्दको अर्थ डिक्सनरीमा भेटेको छैन। सिनेमामा प्रयोग गरिने शब्द हो। पटकथाको सिलसिला काट्दै खिचेर बनाइएको सिनेमा जस्तो छ, मुस्ताङको बाटो।
कुहिरीमण्डल उठ्ने धुलोले हामीलाई पुर्छ।
चारैतिर हिउँले ढाकिएका पहाड छन्। निबन्धकार रोशन जन्मेको ठाउँ कोबाङ ठ्याक्कै हिमफेदीमा छ। उनकै घरछेऊको सामूदायिक भवनमा सिरकभित्र गुट्मुटिएर कविहरू आफ्ना रचना पाठ गर्दैछन्। अग्रज कवि तीर्थ र श्यामल ढक र तुलो बोकेर कविता जोख्न बसेका छन्। गम्भीर स्रोता हुन् रोशन, अनन्त, दिपक। कानमा सेलफोनको चुइङगम टाँसिएको छ। आफ्नो पालामा फुत्काएर भूपिन र म कविता सुनाउँछौं। अरु सबैका तीन तीनवटा कविता। मेरोचाहिँ दुइटा सुनेपछि कविहरू अघाउँछन्। म तीनवटै सुनाउन पाउनुपर्ने अड्डी कस्छु। स्रोता निरीह छन्।

...
 टेक्सासबाट आएका ब्रान्डन ग्लिन्टन छन्। कविता लेख्ने, गितार बजाउने, गाउने। घाँसाबाट उक्लिँदा अप्ठेरा बाटाहरूमा मैले गितार समाइदिएको छु। गितार उनकी पत्नी हो रे! फ्रेन्च गितार, दिल्लीमा किनेको। अमेरिकीहरू फ्रेन्च पत्नी किन्न चाहँदा रहेछन् कि, दिल्लीमा!
ब्रान्डन र मैले धीत मर्नेगरी गितार बजाएका छौं लेतेमा। गाएका छौं, नाचेका छौं। पर्यटकको एक हुल हामीसँगै नाचिरहेको छ। भूपिन र दिपकले भिडियो खिचेका छन्। हामी आफ्नो जोश देखाउँछौं। उवा आफ्नो प्रतिभा देखाइरहेछ।
'रेशम फिरिरी...
उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ।'
...
टुकुचे।
भूपिकी भाउजु कल्पना शेरचनसँग भेट भएको छ भूपि जन्मघरमा। रक्सी उद्योग हेर्न पाएर भावुक छन् प्राज्ञ, कविहरू।

कोबाङको झैं व्यवस्थित पुस्तकालय छ टुकुचेमा। केही किताबहरू छाडिन्छन्। त्यही बिहान हामी जोमसोम बजार हुँदै मुक्तिनाथ पुग्छौं। कवि तीर्थ रसिक कुरा गर्न सिपालु छन्। बुँद रानालाई फिरीमा पाएको रक्सीको क्वार्टर बोत्तल चढाउँदै उनी एकेडेमीका ज्ञानहरि अधिकारीलाई प्रस्ताव गर्छन्, …ज्ञानहरिजी, एकेडेमीको गेटमा होर्डिङ बनाएर लेख्नूस्– नयाँ नेपालको सम्पत्ति, बुँद रानाको दम्पती।' बुँद र सोनु हाँस्छन् मात्र। आधा पंक्तिको अपर्याप्त जवाफजस्तै निरीह छ हाँसो।

दिपक र मैले अनगिन्ती फोटो खिचेका छौं, कागबेनीमा। रोशनले कोबाङमा खिचिदिएका छन्, पोजहरू। हामी मुक्तिनाथको धुले बाटोमा छौं। मस्तिष्कमा रिल घुमिरहेछन्– फिल्म कागबेनी, मुस्ताङबारे सुगम पोखरेलले गाएको गीत।
मुस्ताङ नयाँ विम्बहरू खोजिरहेछ। कवि कलाकारहरू पुरानै मुस्ताङको कुरा गरिरहेछन्।


 ...

बेलुकी जोमसोममा। तीर्थ र श्यामललाई अरु अग्रजसँगै विशेष प्रबन्ध छ। श्यामल त्यहाँ नगई ठिटाहरूसँग बसेका छन्। बसन्त शेरचन तीर्थलाई आग्रह गर्छन्। तीर्थ भावुक जवाफ फर्काउँछन्, 'भैगो काका, मलाई केटाहरूसँगै छाडिदिनूस्।' आदरणीय दुई कविहरू हामीसँगै जम्न आएका छन्, जमिरहेछन्।
उवाशालाको खानपिनपछि कुखुरे वैंशको कालीगण्डकीसम्म घुमेर फर्केका छौं। जति माथि गयो, गण्डकीको उमेर त्यति कम हुन्छ। हल्का, मादक हावा चलिरहेछ।
'सब्लाइम भनेको यस्तै त होला नि, कसो दाइ?'
 
मेरो जिज्ञासाभित्रै रोशन जवाफ खोजिरहेछन्। राति ११ बजेको छ।
...
'सरी।'
मार्फा गाउँकी युवती मसँग ठोक्किएकी छे। बस चढेर हामी फर्किरहेछौं। बिहानको यस्तै नौ बजेको हुँदो हो। मैले केही फर्काइनँ। मलाई त ऊ फेरि ठोक्किए हुन्थ्यो जस्तो लागिरहेछ। उवा पिएर फर्किइरहेको परदेशीजस्तो हल्लिइरहेको छ गाडी। यसपल्ट युवती बढ्तै सचेत छे– नठोक्किन। म पनि उस्तै सचेत छु– ठोक्किन।

...
मंसिर आठ गतेको राति हामी बेनी बजारमा छौं, कालीगण्डकी किनारमा। कविहरूको इन्टेलेक्चुअल भोमिटिङ सकिँदा बिहान भइसकेको छ।
 
'तपाईंहरू माओवादी हो?' पोखरा आइरहेको माइक्रोबसभित्र हाम्रो हल्लाखल्ला सुनेपछि एक सुन्दरी सोध्छे।
'होइनौं, किन?'
 
'माओवादीहरू मात्रै यसरी हल्ला गर्छन्।'
 
बुँद पत्नी सोनु 'माओवादी हल्ला' को स्वाद लिइरहेकी छन्। घरिघरि कम्प्लिमेन्ट पनि दिन्छिन्।
...
एक बोरा साग किनेर पत्नीलाई उपहार दिन तीर्थदाइ कस्सिएका छन्। लुम्लेबाट पोखरा अघि बढ्छौं।
 
सुन्दरीको सिटमा श्यामलदाइ मस्त छन्, निदाइरहेका। गाडीको म्युजिक प्लेयरमा नेपथ्य घन्किइरहेकै छ। हामी स्वर थपिरहेछौं। 'केटाहरू, तिमीहरू यस्तरी गाओ, ता कि त्यो कसैले नसुनोस्,' आधा ब्युँझिएका श्यामलको आग्रहमा उवाको मर्चा र व्यंग्यको अनुपात बराबर छ।
 
पोखरा आइपुग्यो। हरियो सागको बोराले पुरिएका तीर्थदाइ झर्छन्। श्यामललाई पनि पोखरा झर्नु छ। अब सुन्दरी एक्लै हुनेभई। त्यसलाई खुच्चिङ।
 
अल् प्याचिनोले अलि लामै बेर हात हल्लाएर विशेष बाई गरे। आफूहरूलाई गरेको होला भनेर साथीहरूले अभिवादन फर्काए। मैले फर्काइनँ। मलाई थाहा थियो– सेन्ट अफ् वुमनवाले अल् प्याचिनोले कसलाई बाई गरेका थिए।
 
पछिल्लो सिटबाट सुन्दरीलाई हेरिबसें– मुस्ताङी उवाको तालमा नेरुदा क्याप हराएर आएको बुढो हिरोको बाई फर्काउँछे कि फर्काउन्न भनेर। ऊ मोबाइलको रिचार्ज कार्ड कोट्याउन थाली। माइक्रोको म्युजिक प्लेयर घन्किइरहेको थियो–
 
'जोमसोमै बजारमा, बाह्र बजे हावा सरर
ए हजुर, घर हाम्रो...।'
 
हामीले आ–आफ्ना घर भएका ठाउँ थपेर पछिल्लो शब्द गायौं। सुन्दरीले अलिकति ‰याल खोली। कोत्रो रिचार्ज कार्ड हावामा हुर्‍याई।
 
Nagarik, Jeth 12, 2070

No comments:

Post a Comment