(शुक्रबार साप्ताहिकमा माघ २६ गते प्रकाशित)
राजन मुकारुङलिखित हेत्छाकुप्पा उपन्यासको दोस्रो संस्करण यसै हप्ता आएको छ। उपन्यास जातीयताको पक्षमा छ, जातीय विभेदको विरुद्धमा पनि। पात्रहरू अराजक छन्, सिर्जनशील पनि। मुकारुङले भोगेको जीवनको परिमार्जित सारांश हो हेत्छाकुप्पा। पछिल्लो समय छापिएका पठनीय केही उपन्यासमध्ये यो एक हो। राज्यसत्ताको एकमना स्वरुपमाथि तीव्र असहमति राख्ने यसभित्रको मुख्य पात्र साङ्गेन लेखक–विचारको माउथपिस हो।
आवाज मासिकको सम्पादक साङ्गेन साहित्कार हो। राई समुदायको ऊ अन्तर्जातीय बिहेपछि काठमाडौं आएर जीवनका उहापोहसँग भिड्छ। उसका साथीहरू छन्– निनाम, हेन्कुबुङ, दिवाहाङ, हिवाहाङ आदि। उनीहरू नयाँ चेतना बोक्छन्। जातीय पहिचान र नश्लीयचेतनाका प्रतिनिधि तिनीहरूवरिपरि कथानक घुमेको छ।
माओवादी सशस्त्र द्वन्द्व र जनआन्दोलन ०६२/६३ को समय उपन्यासम्ाा कैद छ। राज्यले थाहै नदिई आफूहरूलाई दोस्रो दर्जाको नागरिक बनाएकोमा पात्रहरू आक्रोश पोख्छन्। अर्कातिर गोर्खा भर्तीका नाममा विदेशीले आफूहरूलाई गुलाम बनाएकामा तिनको आपत्ति छ।
जातिवादी भएको आरोप जति यो उपन्यासलाई छ, त्यो भन्दा बढी मुकारुङलाई छ। उनीसहित केही लेखकले पचासको दशकमा चलाएको सिर्जनशील अराजकताको सेरोफेरोमध्ये जातीय पहिचान र नश्लीय चेतना पनि एक थियो। पंक्तिकारको विचारमा पनि उनी जातिवादी नै हुन्। उपन्यासका पात्र जातिवादी यस अर्थमा हुन्– ग्लोबलाइजेसनका नाममा भइरहेको होमोजेनाइजेसनविरुद्ध ती परिचयको आन्दोलन लड्छन्। तिनीहरू जातीय विभेदविरोधी यस अर्थमा हुन्– जाति, धर्म, वर्ण आदिका नाममा संसारभर भइरहेका भेदभावको उनीहरू उत्तिकै विरोध गर्छन्।
मुकारुङले नयाँ संस्करणमा परिमार्जन पनि गरेका रहेछन्। यो किताबमात्रै नभएर समग्र जीवन र समाजलाई हेर्न उनको दृष्टिकोणमा पछिल्ला तीन वर्षबीचमा आएको संशोधन पनि हुनुपर्छ। लेखन भनेको चिन्तनको निरन्तर संशोधन र सम्पादन नै हो। यो काटछाँटले उनका पात्रको सम्पुर्णतामाथि भने अन्याय पक्कै भएको छैन होला। उनै जानून्।
यो उपन्यासको नाम किराती मिथकको पात्रका नाममा राखिए पनि यो हेत्छाकुप्पाको कम सांगेनको कथा बढी हो। लेखकलाई नजिकबाट चिन्नेहरू ठान्दा हुन्, 'यो सांगेनको कम राजन मुकारुङको कथा बढी हो। यो नपढेकाले पढ्नुपर्ने र पढेकाले दोहोर्याउनुपर्ने किताब हो।
No comments:
Post a Comment