Monday, January 30, 2012

कम्युनिस्ट पार्टीको मृत्यु !


 
मृत्यु सन्दर्भजो उठे

अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले जनवरी ७ तारिखको 'फरेन अफेयर्स' मा नेपालको सन्दर्भ जोड्दै 'द फ्युचर अफ् हिस्ट्री' शीर्षक लामो लेख लेखेका छन्। उनले वर्तमान समाज कार्ल मार्क्सले आकलन गरेभन्दा विपरीत हुँदै गएको, आधुनिक समाजमा बुर्जुवाको भूमिका साँघुरिँदै जाने मार्क्सको दाबी असत्य प्रमाणित भएको, बरु विकसित देशमासमेत तिनै वर्गको वर्चस्व निर्माण भएको जिकिर गरेका छन्।
फुकुयामा लेख्छन्, 'विकसित र धनी देशमा मध्यमवर्गको दबदबा छ। नेपाल, पूर्वी भारतका विपन्न गाउँ र ल्याटिन अमेरिकाजस्ता उच्च आर्थिक असमानता रहेका क्षेत्रमा मात्रै 'लेफ्िटस्ट र्‍याडिकालिज्म' हावी छ।'
यो कस्तो संयोग! इतिहास र विचारधाराको अन्त्य भएको भनी बिसौं शताब्दीको उत्तरआधुनिकता बहसमा तहल्का मच्चाएका फुकुयामाले नेपालजस्ता कमजोर देशमा वाम कट्टरपन्थीको वर्चस्व रहेको दावी गरेकै साता यहाँका 'र्‍याडिकल लेफ्िटस्ट' नेता पुष्पकमल दाहालले आफ्नो पार्टी एनेकपा माओवादी मर्दैगएको प्रतिवेदन लेखेका छन्। दाहालमाथि तुरुन्त केही जवाफ, धेरै प्रश्न र बहस फर्काउँदै मार्क्सवादी चिन्तक घनश्याम भूसालले पुस २० गते कान्तिपुर दैनिकमा 'किन मर्छन् कम्युनिस्ट पार्टीहरू' शीर्षक झण्डै एक पेज लामो लेख लेखेका छन्।
समाजवादी चिन्तक प्रदीप गिरी र वाम विश्लेषक मुमाराम खनालसमेतले भूसालले सुरु गरेको बहसमा आफ्नो सहभागिता जनाएका छन्।
भूसाल माओवादीलाई इंगित गर्दै लेख्छन्, '... यस्ता कम्युनिस्ट पार्टीको समस्या के छ भने उनीहरू वस्तुगत (वास्तविक) दुनियाँलाई बुनुपर्छ भनेर दोहोर्‍याइरहन्छन्, तर स्वयंचाहिँ वास्तविक दुनियाँमा आउन चाहन्नन्। 'फूल हेर्नुछ भने घोडाबाट उत्र' भन्ने माओको उक्ति दोहोर्‍याउँछन्, तर आफैंचाहिँ घोडाबाट उत्रिन्नन्। उनीहरू घोडाबाट उत्रेर माओको अनुसरण गर्ने होइन, बरु माओको उक्ति कण्ठस्थ गरेकाले आफूलाई माओवादी भन्ठान्छन्। खासमा क्रान्तिबारे ती कम्युनिस्टहरू कस्तो भ्रममा छन् भने वास्तविक जीवन र अवास्तविक क्रान्तिमध्ये उनीहरू क्रान्ति नै रोज्न पुग्छन्।'
आफ्नो पार्टी मरिरहेको भनी स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केन्द्रीय समितिमा प्रतिवेदन पेस गरेको पृष्ठभूमिलाई समातेर भूसालले बहस थालेका छन्। भूसालका दृष्टिमा दाहाल यति धेरै सैद्धान्तिक प्रश्नले घेरिएका छन्, जहाँबाट अब भाग्ने छिद्र कतै छैन। यसअघि दाहालले एकका विरुद्ध अर्कोलाई उपयोग गर्दै आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने गर्थे। 'राजाको प्रश्नको उत्तर '' ले दिन्थ्यो, '' को प्रश्नको उत्तर राजाले दिन्थे। पुलिसको उत्तर शाही सेनालाई दिन लगाइन्थ्यो, माधव नेपालको प्रश्नको उत्तर गिरिजाले दिँदा हुन्थ्यो। वैद्यका कति प्रश्नको उत्तर बाबुरामको मुखबाट बोल्न लगाइयो, बाबुरामलाई पनि कत्तिपटक वैद्यले उत्तर दिए। अतिरिक्त 'चलाखी' भएको व्यक्तिले समाजका सामान्य मानिस र संस्थालाई समेत सजिलै गोलमालमा पार्न सक्छन्। तर जब इतिहासले ती सबै प्रश्नलाई एउटै खाङ्ग्रोमा हालेर त्यो 'युगीन' चलाखका अगाडि ठिंग उभिन्छ, त्यसबेला भाग्ने ठाउँ नै रहन्न। अनि अन्तरविरोधमा खेलेर हुर्केको पार्टी मर्न थाल्छ।' (भूसाल, उही)
'जनयुद्ध' थालेको पाँच वर्ष नपुग्दै माओवादीले आफूलाई विश्वक्रान्तिको केन्द्र भन्न थालेको थियो। दाहाल त्यसका नेता पुकारिए। दसक नबित्दै माओवादीको 'विश्वक्रान्ति' किन मर्ने अवस्थामा आइपुग्यो? त्यो क्रान्तिको बाहक भनी आफूलाई दाबी गर्ने माओवादी किन मृत्युको घोषणा गर्ने ठाउँमा स्वयं आइपुग्यो? कम्युनिस्ट पार्टी किन जन्मेका हुन्छन् र किन मर्छन्? भूसालका यिनै प्रकृतिका कैयन् प्रश्नमाथि गिरीले 'मार्क्सवाद र नेपालका कम्युनिस्ट' शीर्षक अर्को लेखमार्फत् थप योगदान गरेका छन्। गिरी लेख्छन्, 'मार्क्सवादको दार्शनिक विकासक्रममा देखा परेको विसंगति र विरोधाभासलाई हृदयंगम नगरी एउटा प्रचण्ड वा अर्को झलनाथ खनालबारे टिकाटिप्पणी गर्नुको विशेष अर्थ छैन।... विश्व कम्युनिस्ट आन्दोलनको मूल समस्या भनेको मार्क्सको विचार पद्धतिको अवमूल्यन हो।' (कान्तिपुर, पुस २८)
यसैगरी, मुमाराम खनालले सार्थक र गहन सैद्धान्तिक दार्शनिक छलफलमा भूसाल उत्रिएको भन्दै उनका प्रश्नले मार्क्सवादको ऐतिहासिक बहसमा स्थान पाइरहने दाबी गरेका छन्। उनी भन्छन्, 'कम्युनिस्ट पार्टीहरू मर्नकै लागि जन्मिन्छन् भन्ने कुरा पनि मार्क्सवादभित्रै पर्छ। वर्गविहीन साम्यवाद भनेको पनि सत्ता र पार्टीको मृत्यु हो। फरक के मात्र हो भने आजसम्मका कम्युनिस्ट पार्टीहरू आफ्नो उक्त ऐतिहासिक अभिभारा पूरा नगरी मरे। अर्थात् अकालमा मरे र मरिरहेका छन्।' (कान्तिपुर, माघ १२)

कम्युनिस्ट पार्टी मर्दैछन्?

एकजबर्जस्तवाद

जबर्जस्तवादी कम्युनिस्टहरू क्रान्तिलाई मानव इतिहासको निरन्तर प्रक्रियाभित्र हेर्दैनन्। बरू तिनका लागि इतिहास स्वयंविरुद्धको बदला नै क्रान्ति हो। उनीहरू इतिहास स्वयंलाई एकै प्रहारमा खत्तम गर्न चाहन्छन्। अर्थात् तिनका लागि क्रान्ति प्रक्रिया नभएर केवल घटना हो। 'क्रान्तिकारी' घटना निरन्तर नदोहोरिने हो भने तिनीहरू स्वयं 'क्रान्तिकारी' बनिरहन सक्दैनन्। ती कम्युनिस्ट भइसकेकै क्रान्ति पटक पटक दोहोर्‍याउँछन्। उनीहरूका लागि क्रान्ति न त इतिहासको विषय हो, न त भविष्यकोत्यो त केवल वर्तमानको विषय हो। यसरी ती इतिहास र भविष्यबाट अलग्गिन्छन्। तिनका लागि वर्तमान मात्रै बाँकी रहन्छ। वर्तमानले नाफानोक्सानमात्रै हिसाब गर्छ। अब तिनको क्रान्ति मानव जीवन र सिर्जनाको व्यापारमात्रै हो। यसरी ती कम्युनिस्ट भोगवादी, क्रुर र चरम व्यक्तिवादी बन्छन्। समाजबाट टाढिन्छन्। कम्युनिस्ट पार्टी त्यसरी मर्छन्। आज माओवादी पार्टी मर्दैछ कि बाँच्दैछ?

दुईस्वतस्फूर्तवाद

अर्काथरि कम्युनिस्टका लागि क्रान्ति सधैं भावातीत विषयवस्तु रहिरह्यो। ती स्वतस्फुर्तवादीहरू क्रान्तिमा मानवीय प्रयत्नको भूमिका नै देख्दैनन्। जबकि क्रान्ति इतिहासको आवश्यकताले मात्रै हुँदैन, मानवीय पहलकदमीले मात्रै त्यो सार्थक हुन्छ। त्यो तिनीहरू बुदैनन्। क्राइस्ट एक दिन पृथ्वीमा आउनेछन्, सबै पापीलाई क्षमा दिनेछन् भन्ने बाइबल सुत्रको आफ्नो सुविधाअनुसार कुनै इसाइले व्याख्या गरेझैं तिनीहरू आजको क्रान्तिका लागि सिन्को भाँच्दैनन्। क्रान्ति त बेला आएपछि गर्ने हो आज बनिबनाउँ राज्य र सामाजिक संरचनालाई नै भोग गर्दैजाने हो भन्ने चिन्तन विकसित हुँदै गयो। यसरी क्रान्ति र उनीहरूको वास्तविक जीवन टाढिदै गए। कम्युनिस्ट पार्टी अकालमै र्ने अर्को कारण यो हो।
क्रान्तिलाई जहिले पनि रहस्यमय बनाउने, यो सानोतिनो कुरा होइन, जसकसैले गरिहाल्न सक्दैनन् भन्ने गोलमटोल व्याख्याले जनतालाईमात्रै होइन, स्वयं कार्यकर्तालाई समेत दिग्भ्रमित पारिरह्यो। यसले क्रान्तिलाई सधैं विशेष र अलौकिक चीज बनाइदियो। क्रान्ति भनेकै के हो? यो किन र कसरी हुन्छ? कसका विरुद्ध कसले गरेको चाहिँ क्रान्ति हुन्छ, अथवा प्रतिक्रान्ति हुन्छ? जस्ता विषयलाई नेतृत्वले आफ्नोमात्रै सामर्थ्यको विषय बनाएकाले क्रान्तिको व्याख्या चक्रव्यूहमा फस्यो। हुँदै नहुने क्रान्तिको निष्फल सपना बिक्न छाडेका दिन कम्युनिस्ट पार्टी मर्ने भए। मर्दैछन्। आज नेकपा एमाले मर्दैछ कि बाँच्दैछ?

तीनशुद्धतावाद

ससाना कम्युनिस्ट घटकका नेता, जो व्यक्तिगत रुपमा इमान्दार होलान्। आदर्शप्रतिको तिनको निष्ठामा विरलै प्रश्न उठेको होला। उनीहरू राम्रै कुरा पनि गर्दा हुन्। तर क्रान्तिको समग्रतालाई नपक्रिने, एउटा एउटा आग्रहको लहरा समातेर बसिराख्ने तिनको सोचले तिनकै पार्टीलाई अन्ततः कतै पुर्‍याएन। अरु खत्तम भए, हामी मात्रै सही र शुद्ध कम्युनिस्ट हौं भन्ने 'शुद्धतावाद'ले उनीहरूमा गौरव कम, कुण्ठा बढी थपिदिएको छ। त्यसैले उनीहरूको क्रियाशीलता पार्टी कार्यालयमा बसेर टेलिफोन चलाउने, बैठकहरूमा नोट् अफ डिसेन्ट लेख्ने, चर्का वक्तव्य दिने र लेख लेख्नेमा सीमित भएको छ। मसिना एजेन्डा बोकेर यति ठूलो क्रान्ति गर्न सकिन्न। अलिअलि भएको उत्साहको मैनबत्ती पनि ससानो हावाको झोंक्काले निभ्छ। बचेखुचेको कम्युनिस्ट पार्टी पनि मर्छ।
ती कम्युनिस्टका लागि क्रान्ति केवल गायत्री मन्त्र जपेझैं भयो, जसलाई अधिकांशले जप्न सक्छन् तर त्यसको अर्थचाहिँ बताउन सक्दैनन्। क्रान्ति तिनका लागि केवल गफ र बुद्धिविलासको विषय भयो। यसले कम्युनिस्ट पार्टीलाई मार्‍यो। क्रान्ति बेवारिसे भयो। आज नेकपा मसाल, माले, संयुक्त, मार्क्सवादी, एकीकृतहरू बाँच्दैछन् कि मर्दैछन्?

फेरि माओवादीकै कुरा

माओवादी मर्दैछ भनूँ भने यो अहिले पनि मुलुकको पहिलो ठूलो दल छ। जेजसरी आएको भए पनि पछिल्लो आधिकारिक जनमत उसैसँग छ। माओवादी मर्दैछैन भनुँ भने त्यसकै अध्यक्ष स्वयंले आफ्नो दल मर्दैगएको घोषणा गरिसके। उपाध्यक्ष मोहन वैद्य किरण चाहिँ त्यसैमा पुनर्जन्म देखिरहेछन्। उनी त भन्दैछन्, 'प्रचण्ड पार्टी मर्दैगएको देख्नुहुन्छ, म त त्यहीँबाट नयाँ पार्टी जन्मिँदै गएको देखिरहेछु।'
सिद्धान्तवादी कम्युनिस्ट आफू नै भएको भ्रम दिए पनि माओवादीमा सिद्धान्तका नाममा केही पनि बाँकी छैन भन्ने कालान्तरमा पुष्टि भइसकेको छ। माओवाद र प्रचण्डपथ माओवादीभित्र नै विचाराधीन छन्। अर्को शब्दमा भन्ने हो भने तिनीहरू निलम्बित छन्। शान्ति प्रक्रियामा आएपछिको माओवादी आफैंमा माओवादी छैन। यसको मतलब ऊ शान्तिप्रति सैद्धान्तिक रुपमै प्रतिबद्ध भइसकेको पनि छैन। पछिल्लो खन्ना गार्मेन्ट बैठक यसको दृष्टान्त हो।
एउटा वास्तविक शान्ति तथा अर्को रुपकीय क्रान्तिकारी डुंगामा एकैसाथ पाइला राखेको माओवादी भूसालका भाषामा एकातिर हिजोको जस्तै माओवादी बन्न चाहन्छ, अर्कातिर आजको परिवर्तनको बाहक पनि आफू नै बन्न चाहने असम्भव आग्रहले पीडित छ। सैद्धान्तिक अडानहीनताको दोहोरो चेपुवामा लामो समयदेखि अड्किइरहेको माओवादी वैचारिक स्पष्टताको 'जनवादी' बाटो महाधिवेशनमा जानसमेत खुट्टा कमाइरहेको छ। पुष्पकमल दाहाल जनविद्रोह भन्न छाड्दैनन्। पछिल्लोपटक वैद्यसँगको उनको निकटता त्यही तथाकथित् जनविद्रोहको अभिनयका नाममै छ। अर्कातिर उनी सेना समायोजन गर्न जाँदैछन्। अर्थात् उनी एकातिर लडाकु बुझाएर बुद्धवादी देखिन न्युयोर्क आउजाउ गर्छन्। अर्कातिर उनी 'क्रान्ति' को कार्यभार बाँकी नै रहेको जिकिर गर्छन्। उनी नयाँ नेपालका लागि नयाँ विचार, नयाँ पार्टी र नयाँ नेतृत्वको नारा दिएर चुनाव लड्छन्, अनि 'नयाँ' भनिएकै पार्टी नै मर्दैगएको उद्घोष गर्छन्। उनी बहस गर्ने थलोलाई निषेध गर्छन्, अनि फेरि एकका विरुद्ध अर्कालाई उपयोग गर्ने प्रपञ्च गर्छन्। भूसालका अनुसार दाहाल सिद्धान्तहीनतालाई नै सिद्धान्त भन्छन्।
यतिविधि सैद्धान्तिक संकटले जेलिँदासमेत निकासका मार्गलाई निरन्तर स्थगित गर्ने भगौडा नीति लिएकाले माओवादी मर्दैछ। क्यान्सर लागिसकेको छ। माओवादी डाइग्नोसिस गर्न चाहिरहेको छैन। टाउको दुखेको, पेट दुखेको, छाती दुखेको, अपच भएको रोगका छुट्टाछुट्टै क्याप्सुल, सिरप र ट्याब्लेट सेवन गरेर एकछिनका लागि ठिकठाक पारे झैं गर्न खोजेकाले माओवादी मर्र्दैछ।
दाहालले यी प्रश्नलाई कहिलेसम्म अनुत्तरित छाड्छन्? विश्वक्रान्तिका नभए पनि पछिल्लो जनमतबाट ठूलो भएको नेपाली कम्युनिस्ट पार्टीका हर्ताकर्ता उनै देखिन्छन्। प्रश्नहरूलाई उनी जति स्थगित गर्दैजान्छन्, उनी त्यति नै मर्दैजान्छन्।

जवाफ चाहियो

डा. सरोज धितालले माघ १२ गते नागरिक दैनिकमा लेखेका छन्, '...सशस्त्र क्रान्ति, हिंसात्मक विद्रोह, सहादतको गौरवगाथा, खड्गत्रिशुलसँग जोडिएको वीरताको आकर्षणका सामू क्रान्तिका प्रश्नहरू कहिल्यै राम्ररी उत्तरित हुन सकेनन् वा ती उत्तर त्यसरी नै हराए, जसरी कोलाहलका बीचमा शान्तिमन्त्र हराउँछ। अब पनि यी प्रश्नलाई यत्तिकै छोडिदिने सुविधा आजको मानिसलाई भने छैन।'
धितालसमेतका प्रश्नको जवाफ चाहिएको छ। जवाफ नदिई मर्न पाइयोस् भनेर कुनै 'क्रान्तिकारी' ले चिताएको छैन भने उसले प्रश्न खप्ने हिम्मत गर्नुपर्छ। विडम्बना! भूसाल, गिरी, खनाल, धितालजस्ता चिन्तकहरू क्रान्तिसम्बन्धी यो बहसमा जमेर छलफल गरिरहँदा 'मर्दैगएका' नेपाली कम्युनिस्ट घटकहरू भने कारुणिक मौनता  साँधिरहेछन्। जबकि तिनको ध्यान सत्ता, पद, पैसा, खुट्टा तानातान, चरित्रहत्या, गुटबन्दीमा मात्रै छैन भन्ने देखाउनकै लागि भए पनि भूसालका प्रश्नमाथि तिनले ध्यान दिनुपर्थ्यो। नेपाली कम्युनिस्ट पार्टीहरूका मौनतासामू यी प्रश्नहरू अनुत्तरित छन्।
कुनै पार्टी जन्मे वा मरे पनि मानिसको प्रश्न र अन्तर्क्रिया गर्ने स्वभाव मर्दैन। यी दुई चीजले कमसेकम मानिसलाई बचाइरहन्छन्।
basantabasnet1@gmail.com
published on Nagarik daily, 16 magh, 2068

No comments:

Post a Comment