Tuesday, April 23, 2013

लोकतन्त्रको ह्याप्पी बर्थ डे

लोकतन्त्र कहिले आयो?

आज लोकतन्त्र दिवस। नेपाली लोकतन्त्रको पछिल्लो संस्करणले सात वर्ष पार गर्दैछ। नेता र पार्टीपिच्छे लोकतन्त्रका व्याख्या छन्। झुपडीसम्म लोकतन्त्र पुगेकै छैन। झुप्रो राजमार्गदेखि धेरै तल छ। हाम्रो लोकतन्त्र हिँडेर जान सक्दैन। विदेशीले किन्दिएको गाडी झुपडीसम्म पुग्दैन।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकतन्त्रका लागि नयाँ परिभाषा र 'कन्टेन्ट' बनाउने उद्घोष गरेका छन्। उनीसँग लामो समय सँगै रहेका एमाओवादी पोलिटब्युरो सदस्य राम कार्की भने नेकपा स्थापना दिवसको छेक पारेर सोमबार राजधानीमा बोल्दैथिए, 'समाजवाद आएको झुपडीले थाहा पाउनुपर्छ। काठमाडौंका दुई सम्भ्रान्त महिलाले नोकरीमा बढुवा पाएर हुँदैन।'
कमरेड, यहाँ समाजवाद त के, लोकतन्त्र आइसकेको सात वर्ष भइसकेछ। तपाईंहरु सरकारमा पुगेको त झुपडीलाई थाहा छ। लोकतन्त्र आइपुगेको भने अझै थाहा छैन।

 
सिद्धान्तै छैन, कसरी बढ्ता?
एमाले नेता घनश्याम भूसाल गम्भीर सैद्धान्तिक अध्ययन र विश्लेषणका लागि चर्चित छन्। एमालेमा उनले पारित गराउन नसकेको नेपाली समाजलाई हेर्ने दृष्टिकोण एमाओवादीको हेटौडा अधिवेशनले पारित गरेको गाइँगुइँ सुनिन्छ। कार्कीसँगै उभिएका उनी भन्दैथिए, 'कम्युनिस्ट पार्टीहरुमा अलि वैचारिक छलफल चलाउन खोज्यो भने बढ्ता सैद्धान्तिक भएको भनी टिप्पणी गर्ने चलन छ। हामीकहाँ त सिद्धान्तै छैन, त्यो कसरी बढ्ता भयो?'
भूसालले यसो भन्दैगर्दा खचाखत दर्शकदीर्घामा बसिरहेकी एक महिला कमरेड कुरा सुन्न छाडेर छेउछाउका कमरेडहरुलाई श्रीमद्भागवत सप्ताह महापुराणको निमन्त्रणा कार्ड बाँडिरहेकी थिइन्। एमाले नेता मदन भण्डारीमाथि आधारित फिल्म 'दासढुंगा' निर्माण गरेका मनोज पण्डित छेवैमा बसेर टुलुटुलु हेरिरहेका थिए। पंक्तिकारलाई भूसालको कुरा दोहोर्‍याउन मन लाग्यो, 'सिद्धान्तै छैन, कसरी बढ्ता भयो?'
भ्रष्टाचारको कुरा
एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भ्रष्टाचारले चुर्लुम्म डुब्न लागेको भनी हेटौडा महाधिवेशनमा बोलेका थिए। अध्यक्षको प्रतिवेदन पढ्दा पार्टीमा एकसेएक भ्रष्टाचारी छन्। अमिक शेरचन नेतृत्वको भ्रष्टाचार छानबिन टोलीले खोज्दा भने एउटा पनि भ्रष्ट भेटिँदैन। यो के भएको?    
पोलिटब्युरो सदस्य कार्कीले भने, 'हाम्रो पार्टीमा मौलाएको भ्रष्टाचारको विरोध गर्‍यो भने कमरेडहरु हाँस्न थाल्छन्। जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ लोकतन्त्र हुँदैन।'
पंक्तिकारले धेरै कुरो बुझेन। केवल यत्ति बु‰यो– जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ लोकतन्त्र हुँदैन। नेपालमा भ्रष्टाचार बढ्दो छ भनेर रिपोर्ट आएका आयै छन्। त्यसैले यहाँ लोकतन्त्र छैन। अब प्रश्न छ, लोकतन्त्र नै नभएको यो अभागी देशमा कति धेरै लोकतन्त्र दिवसहरु हुन्? कतै लोकतन्त्र दिवसका नाममा भ्रष्टाचार नै भइरहेको त छैन?


एमाले पार्टी नै छैन?

प्रभावशाली एमाले नेता वामदेव गौतमको गढ मानिने बर्दिया पुगेपछि प्रचण्डलाई अचानक तत्वबोध भयो, 'एमाले भन्ने पार्टी नै छैन।'
सात दलसँग आठ वर्षअघि बाह्रबुँदे समझदारीमा हस्ताक्षर गरेको एक साताअघि एमालेका गौतमसँगै छबुँदे गरेका प्रचण्डलाई अचानक कसरी यस्तो ज्ञान प्राप्त भएछ! जो धरतीमा छँदै छैन, उसको दलबाट बनेका प्रधानमन्त्रीविरुद्ध छ दिन देश ठप्प पारे उनले। सोही दलका अर्का नेतालाई प्रधानमन्त्री प्रस्ताव गरे उनले। धरतीमै नभएको दलसँग आगामी चुनावमा माथापच्ची गर्नुपर्ला भन्ने चिन्ताले उनी आत्तिएका त होइनन्? त्यही भएर राम कार्कीको भाषामा सप्तरंगी मधेसवादी दलसँग मोर्चा बनाएर क्रान्ति गर्नुपरेको होला।
खासमा, कांग्रेससँग मिलेर मोर्चा बनाउने एमाले प्रस्तावले प्रचण्डलाई झस्काएको हो। एमालेलाई पनि किन कांग्रेससँग लहसिनु परेको होला? भूसालको जवाफ रोचक थियो, 'मधेसवादी र जातिवादीसँग मिलेर राष्ट्रिय एकताको जग हल्लाउने मोर्चाबन्दी तपार्इंहरुले थाल्नुभयो। हामीलाई राष्ट्र जोगाउनु थियो, त्यसैले कांग्रेससँग मिलेर जान हामी नै हतारिएका हौं।'
कमरेड प्रचण्ड, एमाले पार्टी नै नरहे बरु केही छैन। राष्ट्र नै नरहे हामी कहाँ जाने?


ट्वीट यातायात

राजधानीमा सुरु भएको साझा यातायातको पक्षमा केही दिनयता असंख्य भोट खसिरहेका थिए। धेरैले दोहोर्‍याएर ट्वीट–भोट पनि हाले। परिणाम के भयो, साझाका विपक्षीको जमानत जफतमात्रै भएन, अस्तित्व नै लोप भयो।
तर अचम्म, हिजो दिनभर साझा यातायातबारे कसैले पनि ट्वीट गरेन।

Nagarik, Collage, 2070 Baisakh 11 Wednesday 
column : Kura Khasra Mitha

No comments:

Post a Comment