(असोज ७ गतेको नागरिकमा प्रकाशित)
झापाबाट काठमाडौं लिटरेरी जात्रा हेर्न पाटन दरबार स्क्वायर पुगेका कथाकार दुर्गा विनय रुखको फेदमा बसेर सिनेमाको पर्दामा साटिइरहने दृश्यझैं घन्टैपिच्छे फेरिइरहने पाहुना लेखकलाई सुनिरहेका थिए।
झापा दमकस्थित राष्ट्रसंघीय शरणार्थी नियोग आइओएममा काम गर्ने दुर्गाले दुई कथासंग्रह निकालिसकेका छन्। उमेरले २७ टेक्दै गरेका यी आख्यानकार अग्रज र समकालीनका कुुरा सुन्न भनेरै उपत्यका आएका थिए। मस्कुलर टोर्टिकोलिस रोगबाट ग्रसित उनी शारीरिक असहजताका बावजुद जात्राका रमिते हुन आएका थिए।
दुर्गाजस्तै राजधानीबाहिरका केही युवा लेखक …पाटनको कान्छो जात्रा' मा रमिता हेर्नै उपत्यका आए। यसअघि आयोजना हुने अधिकांश साहित्य महोत्सव, गोष्ठीका सहभागीको निश्चित उमेर समूह हुने गर्थ्यो। तर लिटरेरी जात्रा तथा यसअघि आयोजित बुकवर्म लिटरेचर फेस्टिभल र एनसेल नेपाल लिटरेचर फेस्टिभलमा सहभागीको लर्को देख्दा लाग्थ्यो– नेपाली लेखनको नेतृत्व लिन युवा पुस्ता तयार छ। उपस्थित लेखक र उनीहरूप्रति पाठकको बढ्दो उत्सुकता देखेर यही आकलन गर्न सकिन्थ्यो।
जात्रामा बोलाइएका पाहुनामध्ये युवाको संख्या उल्लेख्य थियो। उमेरका बुढाको जोश पनि कम्ति केटौले थिएन। त्यसो त लेखक खगेन्द्र संग्रौलाले यसअघि झम्सिखेलमा आयोजित फेस्टिभलमै प्रश्न उठाइसकेका थिए, …युवा भनेको को हो? खै म त यहाँ आएका अधिकांश भाइबहिनीलाई मभन्दा पाका देखिरहेछु।'
उनको संकेत थियो– युवा हुन उमेरमात्रै पर्याप्त छैन। त्यस्तो जोस, त्यस्तो अदम्य आकांक्षा र त्यस्तो समृद्ध चेतनास्तर जसले आफूलाई परिस्थितिहरूको शरणागत होइन, आफ्नो युगको नेता बनाओस्। त्यो मात्रै युवा हो।
संग्रौलाको कटाक्ष उमेरमा युवा नेपाली लेखकको तारुण्यप्रति लक्षित थियो। …कनेर नलेख्नु, लेख्दा नढाँट्नु' का पक्षधर यिनले मनको खसखस जस्ताको तस्तै राखिदिए। उनको जिज्ञासा नै नेपाली युवा लेखकका लागि चुनौती हो।
भदौ महिनाको आगमन र मैझारोसँगै काठमाडौंले यसपालि दुइटा उत्सव मनायो, साहित्यको। जात्रा र फेस्टिभलले साहित्य र सांस्कृतिक चेतनालाई हेर्ने नेपालबाहिरको बुझाइलाई प्रतिविम्बित गरिदिए। साहित्य खेलाँची होइन, मनलागी लेखेर वा वैयक्तिक कुण्ठामा विम्ब र प्रतीक पोखेरमात्रै साहित्य हुँदैन भन्ने बुझाउन ती सफल भए। किनकि दुवै उत्सवमा साहित्यको समय र समाजप्रतिका दायित्वबारे खुलेरै बहस भएका थिए। दुवै उत्सवबाट सर्वाधिक लाभ लिने पुस्ता युुवा नै थियो। मुलुकले पत्याएका थुप्रै दिग्गज अनुपस्थित रहे। युवाले तिनको रिक्त स्थान भरे।
यसले पुष्टि गर्छ, युवा लेखकको अग्रसरता नेपाली साहित्यमा उल्लेख्य हुँदैछ। सामाजिक खुलापनको अभ्यासले पठन दायरा पनि फराकिलो बन्दैछ। त्यसले लेखनमा पनि विस्तृति थपिरहेको छ। कुनै बेला कविताले लिएको …स्पेस' गद्यले …रिप्लेस' गर्दैछ। युवा लेखकको झुकाव आख्यानतिर बेसी देखिन थालेको छ।
पंक्तिकारले केही पुराना लेखकलाई सोध्यो, …तपाईंले राम्रा मानेका केही पछिल्ला युवा आख्यानकार?' उनीहरूमध्ये प्रायःको जवाफमा एक हदको समानता थियो– युग पाठक, राजन मुकारुङ, कुमार नगरकोटी, अभय श्रेष्ठ।
उसले सोध्यो, …नारी आख्यानकार कोही छैनन्?' सोधिएकाहरू सबैले एउटै नाम लिए– आन्विका गिरी।
विषयवस्तु छनोटका हिसाबले युवा लेखकका प्राथमिकता बदलिएका छन्। चर्का क्रान्तिकारी कन्टेन्ट लेख्ने युवादेखि रोमियोवादी रुमानीसम्मका दुवै प्रवृत्ति आफूलाई …रिभिजिट' गर्ने ठाउँमा आइपुगेका छन्। पुराना विषयवस्तुका ठाउँमा दसवर्षे द्वन्द्व र नागरिकको जीवनशैलीमा त्यसले छाडेका सकारात्मक, नकारात्मक दुवैखाले छाप अभिव्यक्त हुन थालेका छन्।
युग पाठकको उपन्यास …उर्गेनको घोडा' र राजन मुकारुङको उपन्यास …हेत्छाकुप्पा' ले …जनयुद्ध' लाई जनजातीय आँखाबाट चिहाउने प्रयत्न गरेका छन्। …मोक्षान्त : काठमान्डु फिभर' कथासंग्रहमा कुमार नगरकोटीको प्रयास सामान्य जीवनलाई असामान्य आँखाबाट ग्रहण गर्न …खर्च' भएको छ। अभय श्रेष्ठको …तेस्रो किनारा' भित्रका कथाहरू बनिबनाउँ राजनीतिक–सामाजिक व्यवस्थाप्रति अस्वीकृतिका रूपमा आएका छन्। आन्विका गिरीको …कम्युनिस्ट' कथासंग्रह …नयाँ नेपाल' का विसंगत दैनिकीमाथिको सृजनशील हस्तक्षेप हो।
मनिषा गौचन, मणि लोहनी, अमर न्यौपाने, अनमोलमणि, सीमा आभास, प्रकाश आङ्देम्बे, दुर्गा विनय, ऋषि तिम्सिना, तृष्णा कुँवर, रत्नमणि नेपाल, नवीन विभास, रत्न प्रजापति, विवश वस्ती, रोशन थापा नीरव, किशन थापा अधीर लगायत आख्यानकारको उपस्थिति बलियो छ।
मनिषा गौचनको उपन्यास …वल्लीको डायरी' नेपाली समाजमा नारी–पुरुष सम्बन्धप्रति बदलिँदै गरेको समझदारीको द्योतक हो। मणि लोहनीको …परास्त प्रेम' अति आधुनिक समाजले बेहोरिरहेको …प्रेम' बुझाउने कथाहरूको संग्रह हो। अमर न्यौपानेको आख्यान …पानीको घाम' पश्चिम नेपालका सीमान्तवर्ती पात्रहरूको लेखो हो। प्रकाश आङ्देम्बेको …वेश्यासित बिताएको एक साँझ' ले उनकै परिवेशका जीवित पात्रहरूको अभिलेखन गरेको छ।
किताब प्रकाशित नभए पनि थुप्रै युवा आख्यानकार …युद्धस्तरमा' लेखिरहेका छन्। उनीहरूको लेखनमाथि उमेरले आजका युवाभन्दा २०–२५ वर्ष जेठा ऊबेलाका युवा लेखकको सांगोपांगो टिप्पणी के छ त?
एकथरि लेखक भन्छन्– आजका युवा असाध्यै मेहनती छन्। उनीहरू नेपालीमात्रै होइन, अंग्रेजी, हिन्दी आदि भाषामा पनि उत्तिकै दखल राख्छन्। खोज अन्वेषण नगरी लेख्दैनन्। पुनर्लेखन गरेर छाप्ने संस्कार बसालेका छन्। हाम्रो पालामा त्यस्तो थिएन।
अर्काथरि लेखक भने ठाडै नकार्छन्– मेहनत नगर्ने प्रवृत्ति छ। कसरी छिटो प्रचार हुन्छ, अहिलेका युवाको ध्यान त्यता छ। हाम्रो पालामा प्रचारको मतलब गर्दैनथ्यौं। बरु विशुद्ध सृजना गर्ने, लेखपढ आदि गर्ने गर्थ्यौं। अहिले साहित्यमा …बजार' पसेको छ।
अघिल्लो पुस्ताका आख्यानकार जगदीश घिमिरे भन्छन्, …गुट पसेको छ साहित्यमा। यसले सबैभन्दा ठूलो हानी महिला आख्यानकारलाई भएको छ।'
युवा लेखकका अघिल्तिर यहाँनेर दुइटा ऐना छन्। तिनको अनुहार कतापट्टि छ्यांग देखिएला!
माओवादी विचार शिविरभित्र लेखकको सानोतिनो रेजिमेन्ट नै छ। एक मार्क्सवादी लेखकको टिप्पणी छ– उनीहरूभित्र थुप्रै आख्यानकार छन्, तर आर्किटेक्ट छैनन्। कन्टेन्ट तिनको लेखनमा नभएको होइन। तर त्यसको कच्चापदार्थलाई प्रशोधन गरेर कसरी साहित्य बनाउने, तिनमा त्यो शिल्पचाहिँ छैन। तथाकथित सौन्दर्यशास्त्रीहरू पनि ती युवालाई केही सिकाउँदैनन्।
अंग्रेजी भाषामा लेख्ने आख्यानकार थपिदैछन्। पछिल्लो समय रवि थापाको …नथिङ टु डिक्लेयर' र ऋचा भट्टराईको …फिफ्िटन एन्ड थ्री क्वाटर्स' छापिएका छन्। नेपालीमा लेख्नेको समेत प्रस्तुति शैलीमा बाह्य लेखनको स्वाद भेटिन थालेको छ। आख्यानकार कृष्ण धरावासीको टिप्पणी छ, …अहिलेका युवाका आख्यानमा विचार र शैलीको बहुलता भेटिन्छ। हात दुर्गाको जस्तो छ। टाउकोचाहिँ रावणको जस्तो।'
केही वर्षअघिसम्म लेखकको नियति एकेडेमी र साझा प्रकाशन धाउनु, किताब छपाउन लबिङ गर्नु आदि हुन्थ्यो। अझ २०५६ सालमा पूर्णप्रकाश नेपाल यात्रीले …सिँजापतिबाला' नामक महाकाव्य छाप्दा ११ सय जनासँग आर्थिक सहयोग लिएका थिए। ती सबैलाई प्रकाशक बनाउने आइडिया कमल दीक्षितको थियो। प्रत्येकसँग ५०० देखि १००० रुपैयाँसम्म उठाएर प्रकाशन गरिएको उक्त किताब नेपाली भाषाको सर्वाधिक मोटो महाकाव्य मानिन्छ। १२ वर्षपछि समयले फन्को मारेको छ। अघिल्लो वर्ष र यस वर्ष गरी तीन वटा प्रकाशनगृहले कार्ल मार्क्सको पुँजी नेपाली भाषामा छापिसके। पुँजीमात्र होइन, अन्य किताबका पनि पाठकको संख्या बढ्दो छ। किताब पनि बिकाउ चिज हो, प्रयत्न गरे बिक्छ भन्ने यो उदाहरण हो।
व्यावसायिक प्रकाशक पनि युवाप्रति आकर्षित हुँदैछन्। आकर्षक कलेवरमा किताब छाप्नेदेखि आक्रामक बजार प्रवर्द्धन गरी साहित्यको बजारमा प्रभुत्व जमाउनु तिनको प्राथमिकता हुन थालेको छ। पछिल्लो समय व्यावसायिक गृहबाट छापिएका आख्यान पाठकीय आवश्यकताप्रति सचेत देखिन्छन्। युवा आख्यानकारको फारो जीवनशैलीमा तिनले अलिकति भए पनि राहत देलान्।
त्यसो त कर्पोरेट संस्कृतिले साहित्यलाई पनि प्रभावित पारिसकेको चिन्ता गर्ने पनि थुप्रै छन्। साहित्यको मूल्य बु‰नेभन्दा पनि बजारको सेन्टिमेन्ट बुझेर क्षणिक वाहवाहीका लागि लेख्नेहरू हावी भएको आरोप पनि छ। काठमाडौंभित्र र बाहिर बसेर नेपाली समकालीन लेखन र चिन्तनमा सक्रिय लेखकले यतापट्टि पनि फर्केर सोच्नुपर्नेछ।
केही साताअघि प्रगतिशील लेखकहरूको एक भेला भएको थियो। मूलधारका मिडियादेखि प्रकाशकसम्मले बायाँ विचार शिविरलाई पाखा पारेको धारणा त्यहाँ व्यक्त भएको समाचार आएको थियो।
साहित्यले कुनै पनि राष्ट्रको साझा संस्कृति निर्माणमा सघाउँछ। राष्ट्र पुराना कथा, मिथक, इतिहास, संस्कार आदिको योगफल पनि हो। राजनीतिक मानचित्रले बाँधेका साँध र किल्लाभित्र पनि बेग्लाबेग्लै भावना हुन्छन्। तिनलाई एउटा बृहत सांस्कृतिक चेतनाले जोड्छ। साहित्य त्यही चेतनाको बाहक हो।
साक्षरता संख्या कम भएको कुनै बेला कथ्य परम्परा हावी थियो। अहिले त्यसको ठाउँ लेख्य परम्पराले लिएको छ। आख्यान यस परम्पराको अगुवा हो। युवा आख्यानकारहरू थाहा पाएर वा नपाएर वर्तमान समय–चेतनाका बाहक बनिरहेका छन्। बदलिँदै गरेको नेपाली समाज र यहाँको जीवनशैलीलाई आख्यानमा ढाल्नु तिनको जिम्मेवारीभित्र पर्छ।
अन्त्यमा, पंक्तिकारले आख्यानकार नारायण ढकाललाई सोध्यो, …युवा आख्यानकारलाई पढिरहनु भएको छ। तिनका सबलता र दुर्बलता के–के होलान्?'
उनले जवाफ फर्काए, …मैले कसरी भन्न सक्नु भाइ, म आफैं कति झुर लेख्छु।'
ढकालको उत्तरको अभिधा बुुझियो, लक्षणा के होला?

No comments:
Post a Comment