Wednesday, September 21, 2011

सिर्जनाको लोकेसन

पाँचथरका कविहरू खान पिउन बिर्सेर दिनभर लेकाली उकालो हिँडे भने त्यसलाई आफैं नाम दिन्छन्, …आज खुब साहित्यिक पाराले हिँडियो।'
गर्मीले आलसतालस पारेको हुन्छ। झोलाभरि पुस्तक र पत्रिका। एउटा रेडियो। गोल्डस्टार जुत्ता। …माओवादी' झोला। (१० वर्षअघि यस्तो हुलियामा कोही गाउँ पस्यो भने कि त्यो माओवादी कार्यकर्ता हुन्थ्यो, कि त कवि।)

…जनयुद्ध' को प्रभाव परेका पूर्वी पहाडी जिल्लामध्ये पाँचथर एक थियो। कोही नयाँ आयो भने गाउँका मानिसमा कौतुहल कम, भय बढी पस्थ्यो। सातो हराएजस्तो हुन्थ्यो गाउँ। तैपनि लेखक आउँथे। भयको आधार इलाकामा कोठेगोष्ठी जम्थ्यो। एकथरि मानिस ध्वंश नगरी निर्माण हुँदैन भन्दै गाविस भवन र चौकी जलाइरहेकै बेला पाँचथरे युवा भने साहित्यको कुरा गर्थे।
सगुन सुसारा, राज माङ्लाक, गणेश साम्पाङ, रमेश शुभेच्छु, मित्र लिङ्देन आदि केही जोधाहा युवक हरक्षण साहित्य सोच्थे, कुद्थे।
तपाईं पाँचथर जानुभयो भने गाउँपिच्छे साहित्यिक संस्था, भित्तेपत्रिका, हवाइपत्रिका र लेखक भेट्नुुहुन्छ। ऐनमौकामा कोठेगोष्ठीको आमन्त्रित व्यक्तित्व पनि बन्न पाउनुहुन्छ।
पाँचथरेहरूले पचासको दशक सकिँदै गर्दा जिल्लालाई आफैं हवाइपत्रिकाको राजधानी घोषणा गरे। ४१ गाविस भएको पाँचथरमा सय हाराहारी हवाई र लघुपत्रिका छापिन्थे। बाटोमा हिँड्दै गरेको जो कोही पनि कुनै न कुनै पत्रिकाको सम्पादक, सहसम्पादक, प्रकाशक वा अतिथि सम्पादक हुन सक्थ्यो। राष्ट्रिय मिडियाले पनि सकारिदिएका थिए। पत्रिका छाप्थे, रेडियो फुक्थे– हो हो, पाँचथर एक नम्बर।
जुनबेला देशमा …जनयुद्ध' को माहोल बढ्दो थियो। त्यही बेला पाँचथरमा साहित्यको लहर उर्लदो थियो। विद्रोहीको नजरमा युवा लेखक …क्रान्तिकारी' भेषमा जासुसी गर्न आएका सुराकी मानिन्थे। सेना पुलिसको नजरमा चाहिँ गुरिल्ला।
रानीटारको मेरो साथी पद्मेश थुलुङ थुप्रै युवामध्ये बढी सम्भावना राख्ने हस्ताक्षर थियो। असाध्यै राम्रो भाषा भएको ऊ चोटिला कविता र गजल लेख्थ्यो। मेचीकाली पत्रिकाको सम्पादक थियो। भित्रभित्रै माओवादीलाई समर्थन गर्थ्यो कि! खुलेर लागेको भने कसैलाई थाहा भएन। साठी सालको एक दिन सेना गाउँ पसेको थियो। बिनाकारण गोली चलायो। पद्मेश निहत्था थियो। सायद त्यसैले ऊ मारियो। के ऊ आफैंलाई समेत खबर नगरी सहिद भएको थियो?
पद्मेश हत्याले जिल्लाभरका साहित्य अभियन्तालाई एकैचोटि निराश बनायो।
...
सगुन सुसारा धेरैका नेताजस्ता थिए। तिनी हाम्रा थुबाजस्ता थिए। उनी जहाँ जान्थे, हामी बगालका भेडाझैं पछिपछि हिँड्थ्यौं। हिाडाएको हिँडायै उनी हामी …भाइहरू' लाई कहिले हिमाली सिरटो चल्ने उच्च पहाडी भेग पुर्‍याउँथे। कहिले झापातिरका गरमागरम साहित्यिक गोष्ठीमा।
पढाइका छुरा भए पनि सगुनले क्याम्पस तहमा धेरै दिमाग …खियाउन' चाहेनन्। कहिले काठमाडौं आएर श्रवण मुकारुङहरूसँग संगत गरे, कहिले साहित्यमा लाग्न गतिलो काम खोजे। आफ्नै दामलेहरू लाहुरे हुन छाती नापिरहेका बेला उनी प्रतिबद्ध साहित्यकार हुने अठोट पाल्थे। आफूमा विकास भएको योग्यता तिनले सधैं अरूका भागमा राखिदिए। त्यसैले तिनी पाँचथरका साहित्यिक नेताझैं भए।
किताब त अरूसँग पनि हुन्थे तर सगुनसँग बेग्लै धारका। राजनीति, साहित्य सिद्धान्त र सांस्कृतिक सन्दर्भका किताब पनि। आफैंले पनि दर्जनौं किताब लेखेका थिए। केही पाण्डुलिपि झोलामै बोकेर हिँड्थे। हामीलाई थाहा हुन्नथ्यो, उनी किन त्यसो गर्थे!
सगुनकै छिमलका साथीहरू थिए, राज माङ्लाक, गणेश साम्पाङ आदि। रविबजार छेउका गणेशलाई सगुन …दाइ' भनेर सम्बोधन गर्थे। दमदार लेखनले सेरोफेरोका जिल्लालाई समेत आफूतिर खिच्न सफल पाँचथरे ब्रान्डको गुरुत्वले हुनुपर्छ, गणेश आफूलाई पनि पाँचथरेकै रूपमा चिनाउन चाहन्थे। इलामतिर घर भए पनि गणेश आफ्नो ठेगाना …पाँचथर' लेख्न मन पराउँथे।
राज माङ्लाक वैरागी काइँलाका फ्यान थिए क्यार! ओखरजस्ता कविता लेख्थे, लेख्छन्। गणेशचाहिँ लेख्थे रौसे गजल : 
ढल्क्यो जोवन ढल्क्यो वैंश ढल्क्यो नभन्देऊ न
तिम्रो घरमा आउँछु जान्छु, पल्क्यो नभन्देऊ न।
खगेन्द्र संग्रौला, वैरागी काइँला, इमानसिंह चेम्जोङ, भानुभक्त पोखरेल, कृष्णभुषण बल, राजेन्द्र सुवेदी, डिल्लीराम तिमल्सिना, कृष्ण धरावासी, अमर नेम्वाङ, विक्रम सुब्बा, कृष्ण प्रधान आदिको नामले चिनिएको तर नवीकरण नभएको पाँचथरको पछिल्लो एक युगलाई हाँक्न यी र यस्तै केही युवा लेखक अघि सरे। हाँगाबिगा र लहरा छुट्टिदै कोही कता पुगे। कोही त्यहीँ भए पनि आआफ्नै क्लबमा छन्। खटाइ उत्तिकै। …मूलधार' का मिडियासम्म तिनको उति पहुँच देखिँदैन। तैपनि प्रतिदान अपेक्षा नगर्ने प्रेमीजस्तो उनीहरू अहिले पनि पाँचथरलाई सिर्जनाको नयाँ लोकेसन बनाएर …साहित्य गरिरहेछन्।'
...
हिजोआज पत्रिकामा नयाँ किताबको समीक्षा छापिनेबित्तिकै मलाई पूर्वका साथीहरूको एसएमएस गुनासो भएर आउँछ, …खै, बजारमा किताबै पाइँदैन। के हामी दुई सय रुपैयाँको किताब किन्न चार हजार खर्च गरेर काठमाडौं आऊँ?'
पाँचथरका युवाले भने कसरी चाँजो मिलाएका छन्, सोधेको छैन। उनीहरूबाट त्यो गुनासो सुन्नुपर्दैन। काठमाडौंमा छापिएको नयाँ किताब कुनै वितरकबिनै  फिदिम पुगिसकेको हुन्छ। उनीहरू पालैपालो भए पनि पढ्छन्। फिदिममा …कविकुना' छ। …काँल्दाइ होटल' को टेबलमा राखेर अप्रेसन गर्छन् किताबलाई।
चित्तले खाएको फिल्मलाई अखबारले पाँच …स्टार' दिएझैं पाँचथरे लेखक र साहित्यानुरागी मन परेको साहित्यलाई ओभररेट गर्छन्। मन परेन भने उछित्तो पनि काढिहाल्छन्। नारायण वाग्लेदेखि प्रेम ओझासम्मलाई तिनले सशरीर उभ्याए। टाढाकी तसलिमा नसरिनदेखि जिल्लाकै अप्सरा लावती, वन्दना खालिङका कृति तिनका इजलासमा खडा हुन्छन्।
पाँचथरेहरू सृजनाको मूल्यमा तलमाथि पर्‍यो भने बोलचालै पो बन्द गर्छन् त! अनि मन लाग्यो भने फेरि …युद्धविराम' गर्छन्। जे गर्छन्, …साहित्यिक पाराले' गर्छन्। नाफानोक्सानको हिसाबकिताब नराखी यो जमानामा साहित्य सम्भव छ? अरूतिरको खबर कुन्नि के छ,  पाँचथरमा चाहिँ सम्भव छ।
उत्तरवर्ती सोच भन्दै कस्सिएर लागेका छन्– कुनै जमानामा वैरागी काइँलाले आफ्नो कार्बनकपी भनी बिल्ला टाँसिदिएका थाम्सुहाङ पुष्प सुब्बा। …विकट' गाउँ याङ्नाममा बस्छन् तर विश्वसाहित्य वा काठमाडौंको साहित्यसँग निकट छन्। ग्लोबल र लोकल दुवैखाले विमर्शमा अब्बल दरिएका थाम्सुहाङ …स्वघोषित वरिष्ठहरू' लाई बाल दिँदैनन्। समालोचनामा बढी चाख दिइरहेका उनी सिर्जनात्मक लेखनमा भने भवानी तावा, सगुन सुसारा, राज माङ्लाक, समीर र यलम्बर थाम्सुहाङ आदिलाई अघि लगाइरहेका छन्।
थाम्सुहाङ केही वर्षअघिदेखि पालैपालो निहुँ खोजिरहेका छन्, क्रमशः इन्द्रबहादुर राई, ईश्वर वल्लभ र वैरागी काइँलासँग। वल्लभ बितेर गए। जानुअघि उनले एक दैनिकमा थाम्सुहाङको जवाफ नदिई सुखै पाएनन्। कस्तै मै हुँ भन्नेलाई पनि बुद्धिले हिर्काएर र्‍याख्र्‍याख्ती पार्ने ताकत छ थाम्सुहाङसँग।
नेपाली साहित्यलाई साठीको दशकमा आफूतिर आकर्षित गरिरहेको अर्को विचार छ, रंगवाद। त्यसमा छन्, धर्मेन्द्रविक्रम नेम्वाङ, चन्द्र योङयाँ, चन्द्रवीर तुम्वापो, समदर्शी काइँला, स्वप्निल स्मृति आदि। लेखनमा जसको नाम जताबाट सुरु गरे पनि हुन्छ। तर ठेगाना खोज्दै गयो भने पुुगिन्छ, उही पाँचथर। हिजोआज चन्द्रमात्रै फिदिम बस्छन्। बाँकी काठमाडौं र प्रवास। उनीहरू सगर्व भन्छन्, …हामी पाँचथरे हौं।' कसैले म त होइन भन्छ भने पनि उसको जिब्रो र आनीबानीमा पाँचथर आइहाल्छ।
सृजनशील अराजकता नामक अर्को आन्दोलनले पचासको दशकमा धेरैको मथिंगल हल्लायो। संघीयता, आत्मनिर्णय, समावेशी आदिको शब्दसम्म पनि त्यो बेलासम्म कतिले सुनेकै थिएनन्। मूलतः तीनजना थिए सूत्रधारहरू। अराजकतावाला ऊबेलै भन्थे, …वैचारिक अनेकानेक, नश्लीयचेत, सृजनात्मक वैविध्य'।
इलाम पसेका हाङ्युग अज्ञात अराजकका नेताजस्ता देखिन्थे। कुटनीतिज्ञजस्तो कुरा गर्ने राजन मुकारुङ थिए भोजपुरे। बोली सानो गर्ने एक थान चुपचाप व्यक्ति तर हाइभोल्टेज कवि थिए उपेन्द्र सुब्बा। तिनी पनि पाँचथरे नै थिए।
...
भवानी तावाले …न्वारान नभएको अक्षांश' कविताकृति लेखे। …जे जस्तो विषय वा प्रविधिमा लेखे पनि कवितालाई न्याय गर्न भुल्नुहुँदैन' सोच्ने तिनी समर्थ कवि हुन्। फिदिममै बस्छन्। कविता लेख्छन्। कविता लेखेर के हुन्छ? यतातिर उनको मतलब देखिन्न। बस, लेखिरहन्छन्।
चोकमागुका वीरेन्द्र तुम्वापो प्रतीक छन्। विश्वसाहित्यलाई स्तरीय र मिठो नेपाली भाषामा अनुवाद गर्छन्। लिम्बु साहित्यमा लक्ष्मीकुमार शेर्मा पापो, तेजमान कन्दङ्वा, येहाङ लावती कस्सिएका छन्। चर्चित कृष्ण धरावासीदेखि ठिकठिकै चर्चित देवी क्षेत्री दुलाल, प्रकाश थाम्सुहाङसम्मको पुस्ता छ, जो अहिले पाँचथर बस्दैन तर लवजदेखि लेखनीसम्म निबुखोला र नाम्दुको पानी बगेजस्तो अनुभूति हुन्छ।
अहिले क्याम्पस भइसकेको दुर्गा उच्च माविका प्राचार्य थिए खोलाघरे साइँला। पचासिँदै गरेको उमेर बिर्सेर साइँलाले केटौले जोसमा चार वर्षअघि घोषणा गरिदिए– उच्च तहलाई पढाउन छाड्ने। होलटाइमर साहित्यकार बन्ने। झन्डै दर्जन किताब प्रकाशित गरिसकेका उनी त्यसअघिसम्म हरपल आफैंसँग गुनासो गरिरहन्थे। भन्थे, …जागिरले साहित्यलाई दखल दियो।' पछिल्लो समय साइँला कथालेखनमा क्रियाशील छन्। इलाम घर भएका उनी पनि कुन्नि के मोहले हो, अक्सर ठेगाना पाँचथर लेखिरहन्छन्। 
जापानी छोटो कविता विधा तांकालाई क्षेत्रप्रताप अधिकारीले …हिम, जून, फूल' का नाममा अनुवाद गरे। लेखनमा भने पाँचथरेले कमाल गरिदिए। राज माङ्लाकको …धुवाँका धुनहरू' नेपालीमा छापिएको पहिलो तांका कृति हो। देशभरि तांकाकार बढ्दैछन्। देशभर अहिले गजलको …बिगबिगी' छ। पाँचथरमा भने ५५–५६ सालतिरै गजल उत्कर्षमा थियो।
मेरो घर इलाम र पाँचथरको सिमानामा पर्छ। घर इलाममा छ, बस्ती पाँचथरमा। माध्यमिक तहसम्म मेरो पठनपाठन पाँचथरमै भयो। संगत पनि उतै। पाँचथरे अग्रज र समकालीनसँगको उठबसले मलाई लक्ष्मीप्रसाद देवकोटा, लैनसिंह बाङ्देल, लीलबहादुर क्षेत्री आदिका कृतिबाट अझ फराकिलो संसारमा लग्यो।
बुझुँ या नबुझुँ, स्कुले जीवनमै मैले मोहन कोइरालादेखि श्रवण मुकारुङसम्मका कविता पढेँ। सगुन दाइहरू साहित्यको कुरा गरेर रात छर्लंगै पार्थे। म तिनलाई सुनिरहन्थेँ। उनीहरू एक सातासम्म निरन्तर हिँड्न सक्थे। साहित्यिक गोष्ठी गर्थे। हामी पछि लाग्थ्यौं। विनिर्माणवाद भन्दै हिँड्ने ज्याक डेरिडा, लेखक मर्छ भन्ने रोलाँ बार्थ, इतिहासका दिन गए भन्ने फ्रान्सिस फुकुयामा आदिको नाम र अखबारका ब्रेकरजस्ता कुरा मैले त्यो बेला नै सुन्न पाएँ।
मेरा छिमलका थुप्रै साथी लेखिरहेका छन्। नलेख्ने साथी पनि मन दिएर पढ्छन्। औसत पठनभन्दा फराकिलो बुझाइ राख्छन्। त्यो पाँचथरे संगतले सम्भव भएको हो।
अन्यत्र जिल्ला जाँदा मैले थुप्रै अग्रज र साथी भेटेको छु। अझै पनि कतिपयमाझ चल्ने साहित्यिक बहसको ढाँचाकाँचा र विषय परम्परागत लाग्छ। आधुनिकता उनीहरूको लागि माधव घिमिरे, देवकोटा, भूपीभन्दा वर आउँदैन। पाँचथरमा पूर्वीय र पश्चिमा साहित्य चिन्तन, तेस्रो आयाम, लीलालेखन, प्रगतिशीलता, सृजनशील अराजकता आदि प्रयोगपरक लेखन र चेतको हावा ऊबेलै पुगिसकेको थियो। पाँचथरे लेखकको संगतले मेरो साहित्यिक समझदारीलाई खुब फाइदा गर्‍यो। थुप्रै साथीहरू अहिलेसम्म त्यसैको ब्याज खाइरहेछन्।
...
पाँचथरेमा आफू कुनामा छु भन्ने भ्रम छैन। बरु उनीहरू दाबी गर्छन्, हामी पनि केन्द्र हौं। नेपाली साहित्यको …मूलधार' ले यतापट्टि पनि फर्केर हेरोस्।
तिनको तर्क सुन्दा लाग्छ, पाँचथरे समकालीन लेखन आविष्कार हुन बाँकी दिशा हो। पाँचथरे लोकेसनका लेखकले आत्मरति, अहंकार र गुनासो बोकेका छैनन्। भन्छन्, …घरव्यवहार बिर्सेर साहित्य साहित्य भनियो। साहित्यमा लागेर हामीले जति कमैले दुःख पाएका होलान्।'
दुःखको सार्वभौम परिभाषा के हो, थाहा छैन। तर पाँचथरेहरूको दुःख पाउने स्टाइल आफ्नै छ। त्यसको …फर्स्टह्यान्ड एक्सपेरियन्स' भोग्न उतै पुग्नुपर्छ। पाँचथरे युवाले साहित्यमा त्यस्तो के देखे! वषर्ौंदेखि एकोहोरो जोतिएको जोतियै छन्। मानौं, तिनको जमिनमुनि कसैले गाडधन लुकाएको छ।
पाँचथर ज्ञान र प्रतिभा उत्पादनको छुट्टै लोकेसन भइरहेको छ। नेपाली साहित्यका …अन्वेषक'ले त्यसलाई भेट्न अझै बाँकी छ। पाँचथर देखिएको तर नहेरिएको अवस्थिति हो। त्यसलाई पहिचान गर्न आवश्यक छ।
Nagarik Daily Bhadau 31  068

No comments:

Post a Comment