Thursday, September 1, 2011

तेर्सो नेतृत्वको अभ्यास

नयाँ पुस्तालाई अघिल्लो पुस्ताको आरोप छ– अहिलेकाहरू पढ्न जाँगर चलाउँदैनन्। उहिले हामी कत्ति पढ्थ्यौं। रात रातभर एउटै किताब आलोपालो पढ्थ्यौं। अहिले 'रिडिङ कल्चर' हरायो आदि...।
सबै अभियोग गलत होइनन्। तर, अघिल्लो पुस्ताले पठनसम्बन्धी नयाँ पुस्ताको रुचि र प्राथमिकता पहिचान गर्न छुटाएको पनि साँचो हो। यो नयाँ कुरा होइन, बरू प्रत्येक पुस्ताको सीमा हो।
झम्सिखेलमा दुई हप्ताअघि आयोजित 'एनसेल नेपाल लिटरेचर फेस्टिभल २०११' ले माथिका आरोप प्रमाणित गरेन।
अधिकांश सहभागी युवा थिए। महोत्सव आयोजक बुकवर्म ट्रस्टदेखि आमन्त्रित लेखकसम्म युवाको बहुलता थियो। …देश कतातिर जाला'को चिन्ताबीच नयाँ शिराबाट सोच्न हामी पनि अघि सर्दैछौं भन्ने सन्देश दिन फेस्टिभल आफैंमा एक तत्परता थियो।
फेस्टिभलले सन्देश दिएको छ– तरिका र माध्यममात्रै बदलिएका हुन्। नयाँ पुस्ताको सिक्ने अभिलाषा बद्लिएको या कम भएको छैन।
बुकवर्मले पछिल्लो समय दुई महोत्सव आयोजना गर्‍यो। …बुकवर्म फेस्टिभल' नाम दिई चार महिनाअघि कार्यक्रम सम्पन्न भएको थियो। यसपालि केही इतरनेपाली लेखकसमेत सहभागी रहे। उक्त कार्यक्रम यस पटकको चारदिने फेस्टिभलको …ट्रेलर' जस्तै लाग्थ्यो।
साझा प्रकाशन होस् या एकेडेमी, पुस्तक बिक्रेता महासंघ होस् वा अरू। किताब प्रदर्शनीमा सहभागी बाक्लिदैछन्। तिनले पनि पठन संस्कृति कमजोर नभएको संकेत गर्छन्।
समाजलाई राजनीतिले ठाडो नेतृत्व दिन्छ। बौद्धिक अभ्यासले तेर्सो। राजनीतिले व्यवस्था सञ्चालनका लागि बाटो देखाउँछ। अथवा, बनिबनाउँ व्यवस्थामाथि अस्वीकृतिको बाटो तय गर्छ। राजनीति चलाउने अनेक प्रशासनिक, कानुनी …हाइरार्की' हुन्छन्। तिनको अवस्थिति ठाडो हुन्छ।
साहित्य, कला आदिले चाहिँ चेतना निर्माण र विकासको पक्षलाई ध्यान दिन्छन्। राजनीतिले जोड्न नसकेका या छुटाएका तत्वलाई पनि तिनले जोड्ने प्रयत्न गर्छन्। समाजको जुनसुकै श्रेणीमा पनि बौद्धिक चेत चाहिन्छ। त्यो चेतना या सामुहिक संस्कृति विकास गर्न साहित्य, कला आदिले भूमिका खेल्छन्। यसरी हेर्दा, नेपाली समाजमा तेस्रो नेतृत्वको औचित्य अझै बाँकी छ र रहिरहनेछ भन्ने विश्वास एक हदसम्म सञ्चार गर्न फेस्टिभल सफल भयो। सहभागीको गुणात्मक तथ्यांकले त्यही इंगित गर्छ।
नेपाली साहित्यमा कुनै बेला यस्तो समय पनि थियो, जे लेखे पनि छापिनुपर्ने। चर्चा गर्न पाइने आलोचना गर्न …नपाइने'। कम्तिमा स्रष्टासँग दोहोरो बात मार्ने, प्रश्न उठाउन पाइने संस्कार विकसित हुँदैछ। लेखन भनेको लेखकको मनमौजी होइन, बरू सामूहिक कर्म हो भन्ने मान्यता स्थापित हुँदैछ। किताब प्रकाशक, सम्पादक, वितरकदेखि समीक्षकसम्म लेखकको कर्मका पुरक भएर आइरहेकै छन्। चार दिने फेस्टिभलमा यी समग्र पक्षबारे मन माझामाझ भयो। कर्मकाण्डीय तरिकाले साहित्यको यज्ञ गर्ने …निरन्तरता' मा फेस्टिभलले …क्रमभंग' गरेको छ।
इन्द्रबहादुर राई, सरुभक्त, नारायण ढकालदेखि इरा त्रिवेदीजस्ता …हिट' लेखक एउटै थलोमा उभिए। पुराना बिबिसी पत्रकार मार्क टली, मानवशास्त्री सुरेश ढकाल, अर्थशास्त्री विश्वम्भर प्याकुर्‍याल, प्रकाशक किरणकृष्ण श्रेष्ठ, फिल्मकर्मी नवीन सुब्बा आदि पनि साहित्यिक मञ्च उक्लिए। अखबारी स्तम्भकार पनि छुटेनन्। महोत्सव …क्रस–डिसिप्लिनरी' भयो। त्यही मौकामा किताब विमोचन गर्नेको पनि लर्को देखियो।
फेस्टिभलमा गएर …फोकट' मा समय खर्चेको गुनासो गर्ने पनि भेटिए। कतिपय घरदेखि नै प्रतिपक्षी मानसिकता बोकेर कार्यक्रमस्थल हिँडेकाजस्ता देखिन्थे। राम्रा लेखकलाई उपेक्षा गरियो भन्नेको संख्या ठूलै थियो। व्यावसायिक प्रकाशकले हामीलाई छापेनन् भन्ने आवाज त्यहीं सुनिन्थ्यो। राम्रा किताब प्रबर्द्धन गर्न बाँकी छ भन्नेहरू पनि भेटिए।
याद गर्नुपर्ने अर्को विषय पनि सँगै छ। प्राज्ञिक, साहित्यिक, साँस्कृतिक उन्नयनका लागि बनेको प्रज्ञा प्रतिष्ठानले अबदेखि किताब नै नछाप्ने घोषणा गरिसक्यो। साझा प्रकाशनको मेहनत पनि पर्याप्त देखिन्न। यस्तो बेला निजी प्रकाशकले तत्परता देखाउनु कुन अनुचित कुरा भो? त्यसमाथि साहित्य वस्तुगत क्षेत्र होइन। यहाँ …राम्रो', …स्तरीय' आदिको मापदण्ड केही हुँदैन। यदि हुन्छ भने पनि आगामी महोत्सवमा पहल लिन आयोजकलाई हौस्याए पनि भो। अथवा यस्तै आयोजनका लागि आफैंले तत्परता देखाए पनि अन्यथा हुन्न। साहित्यकार र साहित्यानुरागीले सँधै गुनासो गर्ने प्रवृत्ति पनि त्याग्नु राम्रो हुन्छ।
महोत्सवको अर्को ग्रहणीय पक्ष पनि छ। एनसेलजस्तो व्यावसायिक संस्थालाई साहित्यमा आकर्षित गर्नुले रामै्र गरेको छ। एक लेखकको भाषामा लेखकको रुवाई, कुण्ठा र गुनासोको साइज घटाउन यसले सघाएकै होला।
राजनीतिक दल नयाँ प्रधानमन्त्री छनोटका लागि वार्म अप गरिरहेका बेला केही युवा नेता प्राथमिकतासाथ फेस्टिभलमा बसेका थिए। नरहरि आचार्य, रवीन्द्र अधिकारी, गगन थापा ब्रोसर पढ्दै कार्यक्रम छानिरहेको अवस्थामा भेटिनुले कार्यक्रमको सान्दर्भिकता अझै प्रष्ट्याउँथ्यो।
विवादित तसलिमा नसरिनको अनुपस्थितिबीच मदन पुरस्कार घोषणासँगै झम्सिखेलमा झुल्किएकी झमक घिमिरेको आगमनले सहभागीलाई सानोतिनो साहित्यिक …क्षतिपूर्ति' दिलाएको थियो। ट्विटरले दुखाएको नेपाली राष्ट्रियताप्रति …थप दुःख' व्यक्त गर्दै अखबारमा केही विश्लेषण छापिए।
महोत्सवको अर्को महŒवपूर्ण पाटो– प्रकाशकदेखि, पत्रकार, समीक्षकसम्मबाट साहित्यकारले आत्मसमीक्षा गनुपर्ने आवश्यकता औंल्याइयो। दक्षिण एसियामा पत्रकारिता गर्दाका अनुभव र सामना गरेको चुनौतिबारे मार्क टलीले बोलेका सन्दर्भ उल्लेख्य थिए। नेपाली आख्यानमा अझै पनि समाजको स्पष्ट चित्र आउन नसकेको विषयसमेत उठ्यो। …सोसाइटी एन्ड फिक्सन्' का सहभागी उपन्यासकार नारायण ढकाल, पत्रकार किशोर नेपाल र मानवशास्त्री सुरेश ढकालले उपर्युक्त विषयमा तर्कवितर्क गरेका थिए। अभि सुवेदी भन्दैथिए, …दोहोरो अन्तर्क्रियाबाट प्रभावकारी निष्कर्ष निकाल्न प्रयास गरिएको यो पहिलो हो।'
खगेन्द्र संग्रौलाको सौन्दर्यशास्त्रदेखि इराको सौन्दर्यसम्म एउटै महोत्सवको बजारमा चर्चा भयो। सन् २००५ को मिस इन्डिया प्रतिष्पर्धी हुँदै लेखनतिर आकर्षित इरासँग जिस्कँदै भए पनि युवाले किताब किने।
शृङ्खलाबद्ध महोत्सव आयोजना हुँदै गर्दा आयोजकले पनि ख्याल गर्नुपर्ने पक्ष छ। भदौकै अन्तिम साता …काठमान्डु लिटरेरी जात्रा' का नाममा अर्को साहित्य सम्मेलन हुँदैछ।  …कर्पोरेट साहित्य' मात्रै हावी हुने हो कि भनी कतिपय लेखकले …चिन्ता' गर्न थालेका छन्। आयोजकले निम्तो बाँडेका लेखक मूलधारका होइनन् भन्ने तर्क केही लेखकले गरेका छन्। मिडियाको भरमा दादागिरी गरेको आरोप पनि आयोजकमाथि छ।
आरोप, दावी, चिन्ता, गुनासो आदिका नाममा प्राप्त भएका …सुझाव' प्राप्त गर्नका लागि भए पनि फेस्टिभल आयोजना हुनुपर्थ्यो। पहलकर्ता निरज भारी, अजित बरालसहितको टीम सामाजिक स्वीकृति र कृतज्ञताको हकदार छ।
Published on Sukrabar Weekly 2068 bhadau 15

No comments:

Post a Comment