चितवन रत्ननगरको स्टार भेन्यु परिसरमा शिवपार्वती मन्दिर बन्दैछ। त्यसैको आडनेर म समाजवादी चिन्तक प्रदीप गिरीको लेख पढ्दैछु। एउटा पंक्ति लेखिएको छ– ईश्वरको ठाउँ बजारले लिन थालेको छ।
होटलपरिसरमै मन्दिर केका लागि बनाएका होलान्!
'विवाहमण्डपका लागि हो। होटलमै विवाह, होटलमै पार्टी,' होटलकर्मी विनोद लामिछानेले सुनाए।
कुरा ठिकै हो। ईश्वरको ठाउँ बजारले लिन थालेको छ।
...
पुस अन्तिम साता। म रत्ननगर महोत्सवमा सहभागी हुन आइपुगेको छु। यात्राका सुत्रधार छन् लेखक धनराज गिरी। काठमाडौंबाट प्राज्ञ तथा गजलकार बँुद राना, रानापत्नी सोनु गुरुङ र म छौं।
शितलहरको मौसम छ। हेमन्त ऋतुको उत्तरकालीन घाम घरि देखिन्छ घरि हराउँछ। घाम छेक्ने बादलको चिसोपनले मानिसहरूलाई अकर्मण्य बनाइरहेको छ। नौ किताबका लेखक धनराज गिरीको सेलफोन मरिगए उठेको होइन। सौराहा चोकमा पर्खिन्छु भनेको, मान्छेको अत्तोपत्तो छैन। लौ, अब अलपत्र पर्ने भइयो।
उः।
बुँदले देखिसकेछन्। धनराज दाइले छेउमा आएर स्पष्टीकरण दिए, 'सरी दाजु, आज मोबाइल घरैमा छाडेछु।'
गिरी वास्तवमै लेखक भइसके भन्नका लागि योभन्दा ठूलो प्रमाण के हुनसक्छ?
...
गिरीलाई मैले सधैं एकोहोरो चिनेँ। दस वर्षअघि दमकमा आयोजित अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा पहिलो पटक। तिनले त्यहाँ गजलको राम्रै 'मार्केट' लिएका थिए। विराटनगरमा २०६० सालमा आयोजित बृहत राष्ट्रिय गजल गोष्ठीमा दोस्रो पटक भेटिए। कमिज सुरुवालमा ठाँटिएका उनी अमेरिकी पपगायक तथा गितारबादक पल साइमनको 'द साउन्ड अफ साइलेन्स' मा वर्णित सडककिनाराको नियन लाइटवरिपरि घुमिरहेको 'ईश्वर'झैं रात्रिको पहिलो प्रहरमा मधुमस्त घुमिरहेका थिए।
गिरी यायावर जो थिए।
खाना खुवाएर हामीलाई गिरीसहित स्थानीय सामाजिक अगुवा रामकुमार तिवारीले सौराहा घुमाउने प्रस्ताव राखे। हामीले तुरुन्त सही थाप्यौं।
म तेस्रोपल्ट सौराहा आएको छु। मसँग सौराहाका केही धारिला याद मौजुदा छन्। यदाकदा सम्झाइरहन्छन्, बिझाइरहन्छन्। आज आकाश धुम्मिएको छ, मन पनि। मोटरसाइकल चालक तिवारीजीले सोधेका त छैनन्। तैपनि म बेलाबेला भनिरहेकै छु– खुब रमाइलो भइरा छ।
आफूलाई ढाँट्न सकिन्न, तैपनि मान्छेलाई ढाँट्ने अधिकार छ।
बछ्यौली हुँदै बग्छ रापती नदी। पश्चिमतिर बगिरहेको पानीको ढंग उस्तै छ। समय आफूमात्रै कत्ति बदलिइसकेछ।
सौराहा घुम्छौं। धर्तीमा साँझ खस्न लागिसकेको छ। अस्ताउँदो घाम हेर्ने 'बिजिनेस' आज छैन। कम बोल्ने धेरै सुन्ने सोनु भाउजु यात्राभर गयल पर्लिन् जस्तो छ। भन्दिएँ, 'सौराहाको मौसम खुलेन। भाउजु, हाम्रो भाग्य पनि खुलेन।'
हाइकु लेखक सोनु भाउजुका दुई पंक्ति ओठ खुल्छन्। उनी तीन पंक्ति नै मुस्काउँछिन्।
हाइकु मुस्कान।
...
सौराहा नामको अर्थ के होला?
तिवारी वाचाल छन्, 'धेरै बाटो जोडिने र छुट्टिने भएकाले सौराहा नाम हुन गयो। बकुल्ला धेरै पाइने भएर पनि हो। चितवन राष्ट्रिय निकुञ्ज यहीँ छ। निकुञ्ज बनाउन पदमपुर गाविस नै सार्नुपरेेको थियो।'
निकुञ्जको नक्सा हेर्छु। ओहो, यो त लगभग गोहीको आकारमा रहेछ।
'निकुञ्ज उराठ देखिन्छ त?'
'निकुञ्जको घनापन पातलिँदैछ, चोरीचकारी बढ्यो, गैंडा पनि सुरक्षित भएनन्,' तिवारी धाराप्रवाह छन्, 'तर ऊ माथिको सामुदायिक वनतिर हेर्नुस् त, त्योचाहिँ घना देखिन्छ।'
'कसरी?'
'जहाँजहाँ जनताको जिम्मामा वन दिइएको छ, तिनले आफैं सुरक्षा गरेका छन्,' गुह्य कहने पालो गिरीको, 'अहिले त निकुञ्जको अवस्था सुध्रेको छ, नत्र गैंडा सामुदायिक वनमा मात्रै सुरक्षित हुन्थे।'
दक्षिणतिर दिक्क र पश्चिमतिर खुसी मान्दै हामी 'नयाँ ठमेल' गयौं।
नयाँ ठमेल!
'क्युरियोका पसल थुप्रै रहेछन्। ठमेलजस्तै देखिएर नयाँ ठमेल भन्दिएको होला,' बुँद दाइले लख काटे। अक्सर जोक गरिरहनुपर्ने स्थानीय श्याम रिजालले आपत्ति जनाए, 'यो सौराहाबजार नै हो, यसको नाम अरूले फेर्दिएर हुन्छ?'
मानिसहरू पहिचानका लागि सतर्क छन्। अहिले सिंगै देश पहिचानको युद्धमा छ।
हृदयेश त्रिपाठी छेवैको जिल्ला नवलपरासीका सभासद थिए, छन्। उनीप्रति केही स्थानीयले कटाक्ष गरे, 'सुस्ता ऊ त्यहीँ पर छ। भारतीय सेनाले जहिल्यै सिमाना मिचेर दुःख दिइरहेछ, सधैं मधेसको कुरा उठाउन भ्याउने त्रिपाठी जमिन खोसिँदा भने अहिलेसम्म पनि चुँइक्क बोलेका छैनन्।'
पहिचानको कुरा जो उठ्यो।
मास्तिरपट्टि अल्फ्रेस्को रेस्टुरेन्टमा कफी पिउँछौं। पानी बिरबिर परिरहेको छ। थामिएपछि हिँड्न लाग्दा धनराज दाइ गोजीबाट केही पैसा निकाल्छन्। होटलवाला भाइ नकार्छन्, 'नो नो नो। पैसा पर्दैन। धनराज गिरी सौराहाभर फिरी।'
इलाकास्तरीय नयाँ उखान सुनेर हामी मज्जैले हाँस्यौं। पर्यटकका लागि राम्रै पैसा लिन मिल्ने यति चर्चित ठाउँमा पनि उनीसँग पैसा नलिनुको कारण सोधेँ। ती भाइले भने, 'यहाँका अधिकांश होटल मालिक धनराज सरका चेला हुन्।'
ए, ए, ए, कुरा त्यसो पो!
गिरीले निकुन्ज र सौराहा क्षेत्रको सुरुवातमा थुप्रै योगदान दिएका रहेछन्। उनको नयाँ परिचय बछ्यौलीमा खुल्यो।
हामी स्टार भेन्यु फर्किन्छौं। लोकगायिका कोमल वली बसेकी छन् माथिल्लो तलामा। महोत्सवका एक आयोजक तथा उद्योगी शंकर गिरीको डफ्फा चउरमा गफिन्छ। रक्सिएर गजल र लोकगीत गाउने तन्नेरीहरू छन्। दोहोरी गाएका बेला उनीहरू जोसिन्छन्, 'ती दिदीलाई पनि चउरमै बोलाऊँ न, गीत सुन्नुपर्छ क्यार।'
कोमल वली झरे त मरिजाऊँ। रात उनका फ्यानहरूको कल्याङमल्याङसँगै वयस्क भयो।
...
भोलिपल्ट।
अखबारहरूले बिहानको नयाँ संस्करण लिएर आएछन्।
बुँद रानाको एउटै गजलले महोत्सव स्थलमा छरिएकाहरू मञ्चतिर सोहोरिए।
के भनूँ र कति कति चोटमा छ देश
हृदयमा हुनुपर्थ्यो ओठमा छ देश
देशका अँध्यारा कुरा टिपेर लेखेको मार्मिक गजल गाएर बुँदले साहित्यको माहोल रन्काए। लाइन्स क्लब रत्ननगरले संयोजन गरेको कार्यक्रमलाई किनमेल र प्रदर्शनीको यति ठूलो महोत्वसमा ठाउँ दिनु भनेको खुसीकै कुरा हो। साहित्य पनि बिस्तारै 'उत्पादक' हुँदै रहेछ। त्यसैले प्रदर्शनीको माल हुन थालेको होला।
बयालिस वर्षयता नगेन्द्रराज शर्माले चलाइरहेको 'अभिव्यक्ति' द्वैमासिकमा पछिल्लो पातामा छापिने 'जमघटहरूबाट' स्तम्भ चर्चित छ। साहित्यमा कमै रुचि राख्नेले समेत त्यसलाई चाख दिएर पढेको मैले पाएको छु। लेखकहरूलाई प्रशस्तै उडाइन्छ त्यसमा। समाजले पत्याएका प्रतिभाको अनौपचारिक जीवनखण्डहरूको त्यो अभिलेख राख्ने 'यायावर'मध्ये एक रहेछन्– धनराज दाइ।
उद्घोषकका रूपमा तिनले पालैपालो ठाउँ दिँदै गए, चितवन क्षेत्रका पुराना लेखक प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, केशवराज आमोदी, एलबी क्षेत्रीलाई। अनि बोलाए युवाहरू पुष्प अधिकारी अन्जली, अनिता गिरी, सुदेश सत्याल, किसान प्रेमी, राजन विफल पौडेल, लुसी जोशी आदिलाई। राजेन्द्र घायलले दोहोरी गीतको मिठो भाकामा नमिठो सत्य सुनाए–
कुर्सी तानातान
रह्यो गर्भमै नयाँ संविधान।
सोनु भाउजुले पनि हाइकुमा महिला अधिकार बोलिन्–
उन्चास दौरा
एकाउन्न छन् चोली
पाए तेत्तिस
'हिजोआज म गजल लेख्दिनँ, म बुढो भइसकेँ,' गजलको माहोल देखेर मैले पनि यस्सै भन्दिएँ, 'चितवनका गजलकार देखेेपछि मलाई लाग्यो, सायद गजल लेख्न छाडेकाले नै म बुढो भएँ।'
किनकि गजलवाला बुढाहरू मभन्दा 'युवा' थिए।
पूर्वसांसद काशीनाथ अधिकारी लगायत नेताले साहित्यकारहरूप्रति सम्मान दर्शाए। छेवैको 'मौतका कुवा' मा हिन्दी फिल्म 'डर्टी पिक्चर' को 'उलाला उलाला' को हाई डेसिबल ध्वनिको किचाघानमा यता साहित्य छ। के गर्ने, हिजोआज उलाला नभई महोत्सव हुँदैन। उलाला छ, त्यसैले महोत्सव छ। महोत्सव छ, त्यसैले साहित्य छ। विलोम देखिने यी दुवै सन्दर्भ महोत्सवका नियतिझैं लाग्छन्।
हामी थप एक घन्टा महोत्सवस्थल चहार्छौं। चितवनबासीको परिश्रम देखिने ऐना बनेको छ यो। महोत्सव प्राकृतिक सम्पदा कम तर मानवीय पौरखको पसिना बढी देखाउन आयोजना गरिएजस्तो लाग्छ। पसिनाजस्तो महान कुरा संसारमा अरू के हुन्छ, जसको ग्राफ निधारका धर्साहरूमा हुन्छ। मानिसहरू श्रमको आँकडा त्यसैमा राख्छन्।
...
झापा हिँडेका बुँद दाइलाई गाडी चढाएर धनराज दाइ र म बछ्यौली हानिन्छौं। बिहानैदेखि खुलेको हो मौसम। आफ्नै गाढा इच्छाजस्तो दिनको पर्दा झर्दैछ। वयस्क हुँदैगरेको साँझमा हामी मोटरसाइकलमा हुइँकिइरहेछौं। एउटा दिन सकिन लागेको सूचना दिने पाले घाम आफैं ढल्दो जवानीमा छ। रातो भएको घाम ठ्याक्राक्कै नाङ्लोजत्रो भएको छ, सप्पै रहरहरू उसैमाथि हालेर छिन्किदिउँ्क कि!
गिरी एन्ड कम्पनी सृजनशील छ। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमफिल गर्दैगरेकी छोरी अनितासँग हिजोआज धनराज दाइ आफैं कतिपय कुरा सिक्दा रहेछन्। समयको कुरा हो। एकै व्यक्ति सदैव गुरु भइरहन सक्दैन। पढ्न जान्नुपर्छ, समयभन्दा ठूलो शिक्षक अरू हुनसक्दैन।
...
भोलि सखारै काठमाडौं फर्कनु छ। अनिताले टिकट मिलाइदिएकी छन्। सीता भाउजुले फेरि आइरहन भनेकी छन्। आफ्नै पुराना घाउखतलाई माफ गर्दै मैले पनि यस्सै भन्दिएको छु, 'भाउजु, म त झन्झटको अर्को नाम हुँ। दोहोरिइरहनेछु।'
भाउजुले के बुझिन् कुन्नि। अलिकति मुख बाइन्।
धनराज दाइले आफ्नो घर आएका थुप्रै स्वदेशी विदेशी लेखकका भनाइसहित नोटबुक तयार पारेका रहेछन्। के सम्झेर हो, तिनले मलाई उनको नोटबुकको कैदी बन्न योग्य ठाने। यायावरको डायरीमा मैले पनि लेखिदिएँ, 'म पहिले पनि चितवन आएको थिएँ, तर यसपल्ट पूरै चार्ज्ड भएर फर्कंदैछु, जीवनको ब्याट्री लो भएका दिन खुर्र कुदेर आउनेछु।'
चितवनका चालिस घन्टा यादगार रहे। बोली नै पिच्छे यायावर स्तम्भका लागि लेखोट राख्नुपर्ने खालका छेडखानी र गफ कत्ति भए कत्ति! तनाव र धपेडीबीच पनि कसरी 'लाइट मोड' मा दैनिकी गुजार्ने होला! सौराहाबासीसँग 'फिरीमा' टिप्स लिन सकिन्छ।
...
'यायावरका भनाइ हालेर एउटा वेबसाइट चलाउनुपर्यो, दाइ। गज्जब चल्छ।'
'म पनि सोच्दैछु। त्यसको नाम के राख्ने होला?'
'यायावर डट कम।'
लोडसेडिङको विरूप अँध्यारोमा धनराज दाइ एक मैन उज्यालो हाँसे।
basantabasnet1@gmail.com
published on Nagarik, Magh 7, 2068
No comments:
Post a Comment