पनौतीपारिको धुलौटो बाटोमा बस गुडिरहेको छ। छेवैमा केटाकेटी खेलिरहेका छन्। गाउँले महिला धारामा पानी थापिरहेछन्, लुगा धोइरहेछन्। घाँसको भारी लिएर कोही सडकछेउ हुँदै फर्किरहेछन्। तीव्र गतिको बसले बेपर्वाह धुलो उडाउँछ। उनीहरू पुरिन्छन्। 'विकास' गाउँसम्मै पुगेको छ।
...
'आज कामिडाँडामा बैठक बस्ने, भोलि बेथानचोक हान्ने, लगत्तै ढुंखर्कमा जनसभा गरेर फर्कने।'
कवि पदम गौतमले बेथानचोक पर्यटकीय साहित्यिक यात्राको तीनदिने सेड्युल विनोदी लवजमा सुनाए। दसक लामो सशस्त्र द्वन्द्वताका माओवादीले चर्चा दिलाएका यी ठाउँले अब जो कसैलाई भय वितरण गर्न सक्दैनथे। बेथान रामेछापमा पर्छ। बेथानचोक चाहिँ काभे्रमा। खैर विम्ब न हो।
...
पुस पहिलो साता। हामी साँगामा छौं। सगरमाथा र अरनिको लेखिएका दुई बस छन्। काभ्रेपलान्चोकका केही पर्यटकीय स्थल चहार्ने योजना छ। साहित्य सञ्जाल नेपालको संयोजनमा सय साहित्यिक छन्। हामी नेपाल प्रहरी स्कुलको स्वागत खाइरहेका छौं। पुलिसकट कपाल भएका राजुबाबु श्रेष्ठको अनुहारचाहिँ काव्यमैत्री छ। पुलिसले उनलाई कवि ठान्दा हुन्। कविले पुलिस ।
लेखक तुलसी भट्टराईको अर्गानिक जोश देखेर दीपक कथित सोध्छन्, 'जवान देखिनुहुन्छ, कति वर्ष पुग्नुभो, दाइ?'
'२६ वर्ष,' भट्टराई आँखा झिम्क्याउँछन्।
म थपिदिन्छु, '२६ वर्षचाहिँ अब बाँच्न बाँकी छ भन्नुभाको हो, दाइले।'
...
धुलिखेलमा मोहन दुवाल छन्। वषर्ौंदेखि जनमत साहित्यिक पत्रिका निकालिरहेका यी लेखक इमान्दार र प्रतिबद्ध लेखनका एक धरोहर हुन्। बनेपामा भव्य स्वागत हुन्छ। उनी धीर समुद्रझैं बिस्तारै बोल्छन्। उत्ताल छालहरू छैनन्।
नमोबुद्धमाथिको आकाशमा सिपालु चित्रकारले रंग छर्केछन्। टुक्राटुक्रा बादलका दागझैं समानान्तर धर्काहरू छन्। मिलेर छरिँदा त दागहरू पनि सुन्दर देखिने रहेछन्।
जीवनमा पनि कत्ति कमजोरीहरू हुन्छन्। तैपनि दाग नभएको ईश्वरभन्दा दागसहितको मान्छे सुन्दर देखिन्छ।
कांग्रेसका पुराना कार्यकर्ता धु्रुवप्रसाद ढुंगानाले सुन्तला बगान छाडिदिए। अघि नमोबुद्धको आँगनमा उफ्रिरहेका परेवा देखाउँदै शान्ति–विमर्श गरिरहेका लेखक सुन्तला छिनाझपटी मार्न थालिहाले। मैले शान्तिका प्रतीक मानिने परेवाले समेत खोसीखोसी चारो टिपिरहेको सम्झेँ। शान्तिको परिभाषा सम्झेँ। अनि नमोबुद्धमा बेखबर सुतिरहेको निर्जीव बुद्धप्रति एकफेर उदासीन हुँदै गाडीको सिटमा आएर बसेँ।
...
'निश्चितै रूपमा मुलुक इतिहासको अत्यन्तै संगीन घडीबाट गुजि्ररहेको स्थिति हो अतिथि मित्रहरू,' वाइसिएलका एक कार्यकर्ताले उद्घोषण थाले। उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिबारे केहीबेर 'प्रकाश' पारे। दर्शकहरू श्याम अँध्यारोमा थिए।
पुस ७ गते शुक्रबारको रात कामिडाँडामा बितायौं। लेखक तथा अनुवादक महेश पौडेल, पत्रकार भीम गौतम, नेपाली गीत अन्वेषक दुतेन्द्र चाम्लिङ, पदम र म तामाङबस्तीको लोकल चिसोमा यस्सो तातिएर कार्यक्रमस्थल स्कुलतिर झर्यौं। इमान राख्नु थियो। नबोल्ने मान्छेलाई गाउँघरतिर इमानी भन्छन्। चुपचाप बस्यौं। रातिको १० बजेको छ।
'कामी भनेको हियाउने हेप्ने जात होइन। काम गर्ने कामी हो। नगर्ने बेकामी हो।'
'कामिडाँडामा यो को बोल्यो?'
'विश्व साइकलयात्री पुष्कर शाह!'
कहाँबाट आइपुगेछन् यिनी! गाउँको नाम राखिनुको सन्दर्भ कोट्याए। द्वन्द्वताका माओवादीले बलियो जग बनाएर बसेको यो ठाउँमा केही वर्षअघि उनीहरूले केन्द्रीय समिति बैठक पनि गरेका थिए। त्यो कामिडाँडा बैठकका नामले चर्चित छ। लोकप्रिय चाहिँ कुन्नि!
शनिबार बिहान। जन्तीजस्तै हिमशृंखला अघिल्तिर देखिन्छन्। हिमालमा अलिकति घाम पर्छ। उसो त छायाँ धेरै छ। जीवनजस्तै छ यो। उज्यालोको अनुभूति थोरै छ। अँध्यारो यथार्थ हो। उज्यालो चाहिँ सपना।
'तर यसपालि मैले माधव नेपाललाई भोट दिइनँ,' रौतहटबाट आएका भानुज्योति निमाविका विज्ञान शिक्षक रामईश्वर साह हामीसँग बढ्तै गफिइरहेका छन्। धुलिखेल अस्पतालका चिकित्सक सुमनराज ताम्राकार पक्क परेर उनलाई सुनिरहेका छन्।
'किन नदिएको त?'
'नयाँलाई पनि हेरुँ न भनेर।'
न्युजविक र द डेली बिस्टकी सम्पादक टिना ब्राउनले न्युजविकको पछिल्लो अंकमा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनलाई उद्धृत गर्दै 'पेरिस्कोप' लेखेको सम्झन्छु, 'चुनाव भनेका कहिल्यै पनि विगतका लागि हुँदैनन्, तिनीहरू भविष्यका लागि हुन्छन्।'
रामईश्वरको भविष्य वर्तमान भइसकेको छ। उनी त्यसलाई बेहोर्दैछन्।
इलामे कृषकले पसिना खर्चेको चियाखेती हेरेर हामी गाडी चढ्छौं। कामिडाँडाको सूर्यलाई नमस्कार।
.....
'बसन्त बस्नेत भन्ने मान्छे सुनेका भरमा समीक्षा लेख्दोरहेछ।'
एक लेखक मसँगै सिटमा बसिरहेका कथाकार अभय श्रेष्ठलाई सुनाउँछन्। अभय मतिर पुलुक्क हेर्छन्।
हिमालबाट बहँदै आएको चिसो निष्ठुरी छ। टोपी र मफलरले म लगभग छोपिएको छु। यी लेखकसँग पहिले भेट भएको थिएन।
अलिकति चियाएर सोधेँ, 'ए हो? कुन चाहिँ समीक्षामा त्यसो गरेछ?'
'हाम्रो विलयनवादी साहित्यलाई उसले सबाल्टर्न होइन भनी लेखेको छ।'
'विलयनवादबारे नै लेखेको रहेछ?'
'होइन, तारालाल श्रेष्ठको किताबमाथि समीक्षा लेख्दा एक लाइन त्यस्तो लेखेको छ।'
'सबाल्टर्न र विलयनजस्ता नमिल्ने दुई कुरालाई एक ठाउँमा उनले राखेकाले त्यस्तो भएको होला नि त।'
एकछिनपछि मैले परिचय दिएँ।
लौ बित्याँस!
'हिजोआजका समीक्षक विश्वविद्यालयमा लेक्चर सुनेका भरमा सबथोक जान्दछु भन्ने भ्रममा छन् क्या!' उनी रक्षात्मक बन्छन्।
'त्यो पनि तपाईंले सुनेकै कुरा त होला नि!' थप्छु।
'तर मैले माइन्ड गरेको छैन है, बसन्तजी!'
'होला सायद!'
जे होस्, रमाइलै भो। बसन्तलाई चिन्ने तर मलाई नचिन्ने मान्छेसँग मन माझामाझ भो।
यात्राले मान्छेको गुह्य खोल्छ। सँगै हिँडेपछि मात्रै मान्छेलाई चिन्न सकिन्छ। लेखक पनि मान्छे हो।
ढुंखर्कबाट उकालिँदैछौं। बेथानचोक डाँडो हाम्रो मुख्य गन्तव्य हो। आकाश कलामय छैन। किसानले आवादीपछि दाँदे लगाएर सम्याएकोजस्तो देखिने हिजोको आकाशमा आज बादलको एक टुक्रा पनि छैन। आकाशको यस्तो घोर शान्तिले मलाई आतंकित पार्छ।
अरे! म त खिचिएछु कति कति। क्यामेरामा हेरेपछि पो थाहा भो। वाइड सटमा खिच्नेहरू धेरै रहेछन्, क्लोज अपमा खिच्नेचाहिँ एकदुई।
जीवन तस्बिरजस्तो हुँदैन। कत्ति यादहरू हुन्छन्, मेमोरीबाट डिलिट हुँदैनन्। कतिपयलाई सेभ गर्नै मन लाग्दैन। कतिले तस्बिरहरूलाई सम्झना बनाएर धुलाइरहेका होलान्? कतिले विस्मृतिको धुलोमा पुरिरहेका होलान्?
मसँग यात्रामा क्यामेरा छैन। तर केही सम्झना र धेरै अनुभूतिहरू अँट्न सक्ने एक थान हार्डड्राइभ छ। यो दिमागबाट अलिकति कपी हुन्छ, अनि हृदयमा पेस्ट हुन्छ। हेर्नु छ, यो कति लामो अवधि रहन्छ।
एक थान हार्डड्राइभ, जो 'सफ्ट' छ।
राजकुमार बानियाँसँग उक्लिँदै गरेका रोशन शेरचनसँग गफिन्छु। उनी मलाई औधी मन परेका थोरैमध्ये एक निबन्धकार हुन्। एउटा असल लेखक असल मान्छे हुन सक्दैन भन्नलाई थुप्रै उदाहरण छन्। असल लेखक असल मान्छे पनि हो भन्नलाई चाहिँ थोरै। रोशनको सौभाग्य वा दुर्भाग्य! उनी एक 'मान्छे' हुन्, जो साहित्य पनि राम्रो लेख्छन्।
एक आध्यात्मिक प्रौढ पनि यात्रामा छन्। कपाल दाह्री फुलिसक्या छ। तैपनि यिनी उमेर र थकानको अनुभूति स्थगित राखेर निश्चिन्त उकालो चढिरहेछन्। बुढिँदै गएको उनको चेहरा कान्तिमय छ। उनलाई योगी स्वामी आदि नामले बोलाउन धक लाग्छ। म दाइ भन्छु।
अहिले हामी बेथानचोक हिँडिरहेको कवि बथानसँग छुट्टिएका छौं।
'विपश्यना गर्ने मन छ दाइ, तपाईं त थुप्रैपटक गइसक्नुभो होला है!'
'म विपश्यनामा विश्वास गर्दिनँ। विपश्यना भनेको आफैंभित्र पस्ने हो रे। यस्तो पनि कहीँ सम्भव होला त?'
'किन दाइ, यो त मानसिक शान्तिका लागि असाध्यै उपयोगी हो भन्छन्, अरूले।'
'मेरो आफ्नै विचार छ। अरूको विचारमा किन पोइल जानु?'
निरुत्तर हुन्छु।
धर्म, पन्थ, पार्टी, गुट, जाति, सम्प्रदाय, क्षेत्र, लिंग, वर्ण आदिका नाममा यो विश्वमा कति मानिसले आआफ्ना टापुहरू बनाएका होलान्?
म यी र यस्तै केही कुरा बुझ्दिनँ। अहँ, बुझ्दै बुझ्दिनँ।
....
उक्लिनुको उत्साह उचाइमा पुग्दा घटिसकेको छ। अघिपछि हुँदै हिँडेकाहरू गलेका छन्। हामी समुद्री सतहदेखि ३, ०१८ मिटर उचाइमा छौं।
कठोरै सही, उकालो रोमाञ्चक हुन्छ। जीवनको उकालो पनि यस्तै हो, रौनकमय।
पानी, खानेकुरा, भाँडा आदि बोकेर ढुंखर्कबासीहरू बिहानको ३ बजे नै बेथानचोक डाँडा पुगिसकेका रहेछन्! मिठो खानाले सत्कार गरे। बिहेका जन्तीभन्दा धेरै लाग्ने साहित्यकारलाई तिनले पानीसमेत नपाइने त्यति विकट डाँडामा कसरी धाने होलान्! निजी प्राप्ति केही हुने होइन, तैपनि पर्यटनप्रति यो कस्तो समर्पण! प्राप्तिलाई समूहमा भाग लगाउन चाहने नेपाली पाराको पछिल्लो नमुना बेथानचोक पर्यटन हो।
बेथानचोक भर्जिन लोकेसन हो। ढुंखर्कबाट सिधै उक्लेर त्यहाँ पुग्ने छोटो बाटो विकट छ। घुमाउरो बाटो केही सहुलियतपूर्ण छ। तर सबैलाई राजकुमार दिक्पालको बाटो हिँड्ने रहर छ। त्यसैले पर्यटक कम पाइला राख्दा हुन्। विरलै टेकिएको धर्तीले आफूलाई कुमारी जिकिर गर्न पाउने नै भयो। कुमारी लोकेसनमा पुग्न सक्नेमा संशय कम गौरव बढी हुन्छ। हामीले पनि प्रतिवाद गरेनौं।
वारिपारिका हिमाली र पहाडी दृश्य आँखामा कैद गरेर हामी अब ओर्लन्छौं।
देख्छु, ओर्लिनेहरूमा उक्लिनुको नोस्टाल्जियामात्रै छ। अनुहार चाक्लो पारेर अघिसम्म हिँडिरहेकाहरू अहिले मसिना भएका छन्। सायद ओरालो रियलाइजेसनको अर्को नाम हो।
यात्रामा ती पनि छन्– जो साहित्यमा कम, साहित्यकारमा बढी रुचि राख्दारहेछन्। यात्रामा परिचयका पर्दा छिट्छिटो खुल्छन्। हार्दिकता बाँडिन्छन् र सघन बन्छन्।
...
ढुंखर्क फर्कन्छौं। ठाडो भाका गाउँदै घाँस बोकेर एक प्रौढ झर्दैछन्। देशको नक्सा सर्लक्क तिनको अनुहारमा आउँछ। बाटैदेखि गानाबजाना टोलीले साहित्यिक पर्यटकको स्वागत गर्छ। गाउँलेहरू कृष्णचरित्रमा आधारित रामत नृत्य देखाउँछन्। यसपल्ट हिजोको जस्तो जनवादी तामाङसेलो 'निश्चितै रूपमा' छैन। रातो टिका र माला लगाएर लेखक गम्किएका छन्।
समाजका यी दुई रूप। एउटा 'क्रान्तिकारी' अर्को अध्यात्ममय। हामीले हिजोको रात बिताएको कामिडाँडाको जर्जरता त्यहाँका बासिन्दा, घर, आन्तरिक व्यवस्थापन, जीवनचर्या आदिमा झल्कन्थ्यो। गरिबी त्यसको नियति देखिन्थ्यो। माओवादीको स्पष्ट प्रभाव त्यहाँ थियो। त्यहाँको बोलीचाली व्यवहारमा माओवादी स्कुलिङ झल्कन्थ्यो। अध्यात्मको गुन्जायस थिएन।
ढुंखर्क त्यस्तो देखिन्न। आर्थिक अवस्था सुधि्रएकाहरूको बहुलता छ। सम्पन्नता तिनको अनुहार, घर आदिमा देखिन्छ। धार्मिक प्रभाव यहाँ छ। कांग्रेससमर्थक बढी छन्। २०४९ सालको स्थानीय चुनावमा गाविस अध्यक्ष जितेका भीमप्रसाद तिमल्सिना माओवादीबाट युद्धकालमा मारिए। चन्दा र अपहरण जीवनशैली थियो। माओवादी–वर्चस्व कम छँदैछ।
हामी कार्यक्रम हेरिसकेर जुन घरमा बास बस्न पुग्यौं, गोधुलीमा ठाडो भाका गाउँदै झर्नेको घर पो परेछ। रामप्रसाद तिमल्सिना निवास।
यात्राको अन्तिम दिन पार्वती उच्च माविमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो। डिमाक्स समूहले कला प्रदर्शनी गर्यो। ८६ वर्षेदेखि १० वर्षेसम्मले कविता, गजल, मुक्तक आदि भने। कसैले गाए, कसैले नाचे। कार्यक्रम सकिइसक्दा 'पर्यटक पाहुनाहरू' बसको सिट ओगट्न पुगिसकेका थिए। जुलुसभन्दा ठूलो समूहलाई पनि असाध्यै भव्यतापूर्वक स्वागत गर्ने ढुंखर्कवासीलाई तिनले बिदाइका हात हल्लाए होलान्?
कसैकसैले बिदा मागे कि? मैले चाहिँ देखिनँ। हामी चलाल गणेशस्थान र पनौतीमा आतिथ्य सकारेर फर्कियौं। गाडीले उसरी नै धुलो उडायो। बाटोछेउ हिँड्नेहरू विकासको अनुभूतिले फेरि एकपल्ट पुरिए।
(नागरिक दैनिकमा माघ १४, २०६८ मा प्रकाशित)
फेरी पनि याद दिलायो त्यो यात्राको । माघ २१ र २२ मा फेरी सम्झिनेछौ यो यात्रा पर्यटन बोर्डको हलमा ....
ReplyDelete