Wednesday, April 11, 2012

'महान् पार्टी' को उदास शुक्रबार


'हामी युद्धकालमा राम्रा राम्रा कोटेसन आफैं सिर्जना गर्थ्यौ, दुस्मनको आँखा छल्दै भित्ता कोर्थ्यौ। त्यसमा अध्यक्ष कमरेड प्रचण्डको नाम लेख्थ्यौं। उहाँले त बिर्सनुभयो होला! आज पनि कति भित्ताहरूमा हाम्रा अक्षर मेटिएका छैनन्।'
अघिल्लो हप्ता राजधानीमा भेटिएका एनेकपा (माओवादी) का कार्यकर्ताको भनाइ हो यो। जनताले युद्धकालतिर पढ्ने गरेका ती 'स्वप्नजीवी' भनाइहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भनेकै होइनन् रे! आफूले सिर्जेका आकर्षक भनाइ पछिल्तिर प्रचण्डको नाम उनीहरूले जोडिदिएका रे!
आफ्नो दलको नाम भन्नुपर्‍यो भने माओवादीहरू एक्कै सासमा भनिसिध्याउँथे- हाम्रो महान्् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी। यसरी भन्थे, अघिल्ला चार शब्द पनि पार्टीकै नाम हुन्। आज त्यो 'महान्् तथा गौरवशाली पार्टी' प्रचण्डका भाषामा मर्दैछ। उपाध्यक्ष मोहन वैद्य किरणका भाषामा नयाँ जन्मँदैछ। सायद सिपी गजुरेल नेतृत्वको संयुक्त संघर्ष समिति यसको भ्रूण हुनुपर्छ। छापामार मित्रले 'ग्लोरिफाई' गरेका 'महान्् अध्यक्ष प्रचण्ड' का 'वैज्ञानिक विचार' अब मेटिन्छन्। कम्तीमा माओवादी कार्यकर्ताका हृदयमा इरेजर लाग्न थालेको छ। हेडक्वार्टरले गल्ती गर्नैसक्दैन भन्ठान्नेहरू नेतृत्वको विवेकमा शंका गर्न थालेका छन्। सत्ताबाहेक सबै थोक भ्रम मान्ने एक थरी माओवादीहरू सत्ताको यथार्थ चाख्दैछन्, चाख्न नपाएकाहरू चाख्न नपाएरै 'अघाइसकेका' छन्।
शुक्रबार आयोजित 'विचार समूह' का आमसभाहरू लज्जास्पदरुपमा असफल भए। एकले अर्का विरुद्ध जस्ताको तस्तै जबाफ दिन आयोजित ती सभा परस्पर गालीसँगै सुरु भए, गालीमै टुंगिए। नेतृत्वको देवत्वकरण सधैंका लागि रोकिएजस्तो लाग्थ्यो। 'अस्वस्थता' का कारण अनुपस्थित 'विश्व क्रान्तिका नेता' को स्वास्थ्यलाभको शुभकामना कसैले दिएन। उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले एमालेले ठ्याक्कै आफूलाई लक्षित गर्ने गरेको पदावली वसन्तपुरमा उभिएर किरण पक्षविरुद्ध खपत गरे, 'उनीहरूमा सशस्त्र युद्धको धङधङी छ।' किरण पक्षले पनि त्यही समय शान्ति वाटिकाबाट फर्कायो, 'प्रचण्ड-बाबुरामले क्रान्ति गर्न सक्दैनन्, उनीहरू संशोधनवादी, अवसरवादी र अभिजात वर्गका भइसके।' 'महान् तथा गौरवशाली पार्टी'भित्र अहिले 'विचार समूह' छन्। गुट त 'संसद्वादी दलहरू'मा हुन्छन्। माओवादी पार्टी जनवादी केन्द्रीयता' का आधारमा चल्छ। जनवादी केन्द्रीयताका व्याख्याता लेनिन स्वयं माओवादीलाई बु‰दैनन् किनकि माओवादीको जनवादी केन्द्रीयतामा छलफलमा स्वतन्त्रता, निर्णयमा एकरुपता हुँदैन। शनिबार धनगढीमा भएको झडप अन्तर्विरोधका नाममा सिर्जित मनपरीतन्त्रको उदाहरण हो। कब्जा जग्गा फिर्ता प्रकरणमा माआवादीले भन्दैआएको 'फलामे अनुशासन'को धज्जी उडेको छ। अब माओवादीमा फलाम एकातिर छ, अनुशासन अर्कातिर।
संस्थापन पक्षले जनआन्दोलन दिवस नाम दिएको शुक्रबारे सभा वैद्य समूहसहित ११ मोर्चाका लागि 'राष्ट्रिय प्रतिरोध दिवस' हुन पुग्यो। २०४६ चैत २४ को ऐतिहासिकतालाई हतियार बनाएर दुवै पक्षले परस्परलाई प्रहार गर्ने साइत हेरे पनि तथ्य कसैले बिर्सेको छैन- २०४६ सालको आन्दोलनबाट प्राप्त उपलब्धिलाई आत्मसमर्पण, धोकाधडी, अवसरवाद आदि मान्दै 'जनयुद्ध' को उद्घोष गरेको माओवादी नै आजको माओवादी हो। इतिहासको संयोग! जुन आरोप माओवादीहरू कांग्रेस-एमालेलाई लगाउँथे, आज वैद्य पक्ष संस्थापन पक्षलाई सोही आरोप लगाउँदैछ। वैद्य पक्ष प्रचण्ड-भट्टराई समूहलाई अवसरवादी, अभिजात, कुलीन, क्रान्तिविरोधी, गद्दार भन्दैछ। संस्थापन भने वैद्य पक्षलाई यान्त्रिक, जडसूत्रवादी, संकीर्णतावादी, उग्रवादी भन्दैछ। यसरी अघिसम्म 'महान् तथा गौरवशाली पार्टी नेकपा माओवादी' सुनिरहेकाहरू समयको क्यान्टोनमेन्टबाट अर्थहरूले समेत मुक्ति खोज्दै हिँड्न थालेको नबुझेर हैरान छन्। माथि उल्लिखित कार्यकर्ता 'स्याम्पल' हुन्।
माओवादी विवादको चुरो सैद्धान्तिक हो कि होइन? आवरणमा हेर्दा यो दुई विचार समूहहरूबीचको लडाइँ हो। हिजोआज स्वयं माओवादी नेताहरू अनौपचारिक भेटघाटहरूमा भन्छन्, 'गुदीचाहिँ अर्कै छ। सरकार होस् वा पार्टी, दुवैतिरका स्रोत र साधनमा प्रचण्डको हालीमुहाली छ। अनि रिस उठ्दैन?' प्रचण्ड पक्षधर फर्काउँछन्, 'सभासदै नभएका नेत्रविक्रम चन्दजस्ता नेताहरू पनि उस्तै गाडी चढ्छन्, उसरी नै खर्च गर्छन्। तिनको खर्चचाहिँ कसले बेहोर्दैछ? त्यसको चाहिँ स्रोत खुलाउनु पर्दैन?' यसरी माओवादी विचार समूहहरू बहस गर्दैछन्। यत्ति हो, तिनको विमर्शको विषय बदलिएको छ। त्यसको ठाउँ पद, पैसा, ठेक्कापट्टा, स्रोतसाधन, आदिले लिन थालेको छ। युद्धकालमै पनि यसको छनक देखिन थालेको थियो। भोक,ै तिर्खै खट्नेहरू एकातिर थिए। विलास ऐश गर्न भ्याउनेहरू अर्कातिर। पारदर्शिता कुन चरीको नाम हो, तिनलाई थाहा थिएन।
गाउँमा बसेर माओवादी झेल्न बानी परेका अन्य दलका कार्यकर्ता त्यो बेलै भन्थे, 'हेरिराख्नु, माओवादी खुला राजनीतिमा आयो भने यसका नेता कार्यकर्ता कांग्रेस र एमालेभन्दा छिटो बिग्रन्छन्।' नभन्दै यस्तै भयो। कांग्रेस एमालेलाई बिग्रन १० वर्ष लाग्यो। छलाङ हान्न बानी परेको माओवादीको भ्रष्टीकरणले छोटो समयमै फड्को मार्‍यो। 'गौरवशाली पार्टी' भित्रभित्रै यति सडिसकेको थियो, उसले जीउमा छर्केको अत्तरको नक्कली बास्ना तुरुन्तै गन्धमा परिणत भयो। आज जहाँ पैसा छ, त्यहाँ माओवादी छ। जहाँ स्रोतसाधन छ त्यहाँ माओवादी छ। जहाँ रक्तचन्दन छ, त्यहाँ माओवादी छ। जहाँ राजनीतिक नियुक्तिहरू अड्केका छन्, त्यहाँ माओवादी छ। बालुवाटारदेखि गाउँको विद्यालय व्यवस्थापन समिति र सामुदायिक वनसम्म माओवादीका 'विचार समूह' क्रियाशील छन्। 'क्रान्तिको संवाहक' यसरी प्रस्तुत भएको छ, कुनचाहिँ गतिविधि क्रान्ति हो, कुनचाहिँ अपराध, छुट्याउन गाह्रो हुन थालेको छ।
शान्ति प्रक्रियाको आधा हिस्सा माओवादीको महान् तथा गौरवशाली पथ विचलनको फेहरिस्त यतिमा सकिँदैन। क्रान्तिका नाममा धोकाको खेतीपाती चलाएर बस्नेहरू माओवादीको अघिल्लो पंक्तिमा थिए। कति 'इमानदारहरू' मा 'आइडियोलोजिकल ब्लाइन्डनेस' थियो। प्रधानमन्त्री राष्ट्रिय सहमति भन्न छाड्दैनन्। वैद्य पक्षप्रति तिनको रवैयाले देखाउँछ- तिमीहरू युद्धमा गए जाऊ। म एक्लै शान्तिको यात्रा गर्छु।' वैद्य पक्षको अड्डी छ, 'जनविद्रोह अब पार्टीभित्र हुन्छ।' देश शान्ति र संविधानको एघारौं घण्टामा छ। माओवादी भने आश्चर्यजनक फुर्सदमा छ। बरु ऊसँग अन्तर्विरोधका नाममा बा‰न समय छ। 'विचार समूह' का क्रियाकलापहरूले यस्तै संकेत गर्छन्।
प्रश्न अनुत्तरित नै छ, खण्डहर भइसकेको यस्तो माओवादीले शान्ति संविधान दिन्छ? शान्ति संविधानका लागि ४८ दिन बाँकी छ। अन्तिम घडीमा आएर माओवादी फुटको दिशामा लक्षित छ? फुट्ने कुरा गर्छ तर किन फुट्दैन? फुट्न नसक्ने माओवादी फेरि किन जुट्दैन? शान्तिको विकल्प छैन भनी लडाकु शिविर खाली गर्न आइतबार शिविर हिँडेको माओवादी आधिकारिक कि क्रान्तिको झन्डा उठाउँछौं भन्ने माओवादी आधिकारिक? यतिविधि प्रश्नको जबाफ माओवादी दिइरहेको छैन। कसैले सोधे यसका नेताहरू सजिलै भन्दिन्छन्, 'झगडा कांग्रेस-एमालेमा पनि छ, हामीमा मात्रै हो र?' माओवादीले कुन मार्क्सवादमा विश्वास गर्छ, थाहा छैन। तर, पंक्तिकारले बुझेको मार्क्सवादले भन्छ, 'कुनै पनि वस्तु कहाँ कसरी उभिएको हुन्छ भन्ने आधारमा उसको अस्तित्व बन्छ, न कि अरुको उपस्थितिका आधारमा।' 'महान् तथा गौरवशाली दल' अपवाद हुन सक्दैन। कांग्रेस र एमालेहरूमा फोहोरको डंगुर देखाएर माओवादी सज्जनहरूको तीर्थस्थल प्रमाणित हुँदैन। ऊ अपारदर्शिता, वैचारिक पाखण्ड, दोहोरो व्याख्या र बुझाइ, नैतिक स्खलनको सगरमाथाभन्दा अग्लो डंगुर चढिरहेको छ। खसाइको भेउ नपाएर हो कि, माओवादी ओरालो झर्न पनि 'पैसा उठाइरहेको' छ।
शुक्रबारे सभाहरू माओवादीको त्यही ओराली झराइका प्रमाण हुन्। अब प्रचण्ड महान् रहेनन्। वैद्य पनि क्रान्तिका गुरु रहेनन्। 'कहिल्यै गल्ती नगर्ने, महान् अध्यक्ष' आज गद्दार र भ्रष्ट घोषित भएका छन्। अब माओवादी पनि गौरवशाली रहेन। विगतमा देउताका आसन भत्काएर तिनका ठाउँमा महान् कमरेडका लागि प्रायोजित वाणी लेखिदिनेहरू प्रायश्चित गरिरहेका छन्। तिनलाई आज महान् र गौरवशाली पदावली दोहोर्‍याएर उच्चारण गर्न गाह्रो भएको छ। इतिहासमा जानेर वा नजानी गरेको भूल कति महँगो हुन्छ, माओवादी विचार समूहले मुखले नसकारे पनि शुक्रबारे सभाहरूले आफैं बोलिदिएका छन्। भित्तामा महान् वाणी लेख्ने ऊ बेलाका ती कार्यकर्ता दृष्टान्तमात्रै हुन्।
Published on Nagarik Daily, Chait 27 Monday. Monday, 09 April 2012 

No comments:

Post a Comment