Sunday, April 1, 2012

बुहारी डिपार्टमेन्ट !

कक्षामा खुट्टा टेक्ने ठाउँ छैन। समाजशास्त्री तथा प्राध्यापक चैतन्य मिश्र ह्वाइटबोर्डमा घोट्टिइरहेका छन्। बीचैमा एक विद्यार्थी पस्छ। खाली कुर्सी नदेखेपछि आत्तिन्छ। तत्काल आफूलाई सम्हाल्छ। अनि सरले नदेख्ने गरी सबैलाई नमस्कार टक्र्याउँछ। विद्यार्थी 'हाँस्न चाहन्छन्' तर हाँस्दैनन्। लाग्छ, उनीहरू मिश्र सरको एकाग्रता भंग गर्नुलाई सानोतिनो अपराध मान्छन्।


म त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको समाजशास्त्र तथा मानवशास्त्र विभागमा भर्ना भएको छु। देशकै सबैभन्दा ठूलो यो शिक्षालय समाजलाई तेर्सो नेतृत्व दिने ज्ञान र बौद्धिकताको लोकेसन हो। राजनीतिकर्मीहरू राज्ययन्त्र र प्रशासनको ठाडो संरचना समातेर नेतृत्व गर्छन्। बौद्धिकहरू चाहिँ तेर्सो। देशको बौद्धिक नक्साको यस्तो आयतन जो छ।



युनिभर्सिटी कल्चर यहाँ हुर्किसक्यो कि जन्मेकै छैन, थाहा छैन। अथवा युनिभर्सिटी कल्चर भनेकै के होला, त्यसबारे पनि उत्रो हेक्का छैन। शैक्षिक केन्द्र त्यो हो, जहाँ विद्यार्थी बिहानदेखि बेलुकैसम्म अडिन सक्छन्। सिकाइप्रति उनीहरूमा अनौठो समर्पण र प्रेम हुन्छ। लाइबे्ररी होस् या क्यान्टिन। डिपार्टमेन्ट होस् या गार्डन। गुरु हुन् या साथी। अग्रज हुन् या प्रेमी। विश्वविद्यालय नै डेटिङ स्पटमा अनुदित हुन्छ। इन्टेलेक्चुअल डेटिङ स्पट।
अंग्रेजी विषयमा हामीले मास्टर्स गर्दाको कलेज सानो थियो। पोखरा विश्वविद्यालयको अंग्रेजी डिपार्टमेन्ट आयसरमा विद्यार्थी थोरै हुन्थे। स्नातकसम्म सरकारी विद्यालय र क्याम्पस पढेको मलाई एक्कैपल्ट सानो शिक्षालय छिर्दा घरै बसेको अनुभूति हुन्थ्यो। इलाम क्याम्पसमा समाजशास्त्रमा भर्ना भएर पनि स्नातकोत्तर गर्न नपाउनुको पुरानै तृष्णा छँदैछ मनमा। कुन्नि के मन लागेर, आफैंलाई पनि प्रष्ट जानकारी नदिई मैले पहिलो वर्षको जाँच आउने बेला झटपट कीर्तिपुर भर्ना भएको छु।
पहिलो दिन क्लास जानेबित्तिकै केही चिनारुको स्वागत खाएको थिएँ- लौ है। बुहारी डिपार्टमेेन्टमा स्वागत छ। म अलिकति हाँसेँ। जान्न चाहेँ, यो भनेको के हो?
केही वर्षअघि मानवशास्त्री सुरेश ढकाल र समाजशास्त्री कृष्ण भट्टचनबीच पत्रिकामा लेखमार्फत चर्काचर्की नै परेको थियो। एकले सोसोलोजीलाई सुशीलाजी भनी जिस्क्याएका थिए, अर्काले प्रतिवाद गरेका थिए। बिहे गरेका छोरी र बुहारीहरू बिहान-बेलुकीको कामबाट बचेको फुर्सद निकालेर दिउँसो पढ्न आउने भएकाले बुहारी डिपार्टमेन्ट भनिएको रे।
यस्सो फर्केर हेर्छु। क्लासभरि केटी नै केटी छन्। केटा नभएका होइनन् तर तिनको संख्या देख्दा लाग्छ- यहाँ केटाको केही भाउ छ। समाजशास्त्र विभाग महिलामैत्री छ।
....
'समाजशास्त्रका बा को हुन्?' कक्षा सकिएपछिको भीडमा सोधिन्छ।
'अगस्ट कोम्टे हुन्।'
'त्यसो भए तिनका बाचाहिँ को? हजुरबा पनि त होलान् नि समाजशास्त्रका!' कसैले मजाक गर्छ।
'समाजशास्त्रले राजेन्द्र खेतानलाई पुँजीपति मान्छ कि बुर्जुवा?'
'मार्क्सले त पुँजीवाद विकास हुँदै गएपछि समाजमा दुइटा वर्ग हुन्छ भनेका थिए, तर आज कसरी यति धेरै वर्ग हुन गए?'
'विकासका नाममा यतिका डोनर आए, तर किन मुलुक यतिका वर्षसम्म विकसित हुन सकेन?'
विद्यार्थीहरू सोधिरहेछन्। केही शिक्षक छन्, जो आफैं समाधान दिन्छन्। बाँकीचाहिँ हाजिरजवाफी जस्ता लाग्ने प्रश्न सिंहदरबार, बालुवाटार, संविधानसभा आदितिर पास गरिदिन्छन्। आफू केही बोल्दैनन्।
विश्वविद्यालयको अवस्थितिमा हरक्षण बौद्धिक व्यायाम भइरहेको हुन्छ। शक्तिको खिचातानी हुँदैन भन्ने होइन। तर ज्ञान र शक्तिको रोचक अन्तर्क्रिया हुन्छ कीर्तिपुरमा। 'भतुवा पुँजीवाद'देखि भँडुवा विकासवादसम्म बहस जारी छ। देश, राजनीति, समाज, व्यवस्था, दलहरू, विश्वघटना आदिबारे केही न केही डिस्कोर्स चलिरहेको हुन्छ। मानवशास्त्री डम्बर चेम्जोङ मानवशास्त्रको आलोकमा अर्थशास्त्रको सीमा बताउँछन्, 'खुट्टा फ्रिजमा र टाउको ओभनमा राख्ने, अनि दुवैको मध्यमान निकालेर शरीर ब्यालेन्समा रहेको देखाइदिने पद्धति ठिक छैन।'
चेम्जोङ बाहिरिनेबित्तिकै कक्षामा छिरेका अर्का प्रोफेसर भने उनकै मानवशास्त्रलाई औपनिवेशिक प्रोजेक्ट भनी आरोप लगाउँछन्। त्रिविको लोकतन्त्रमा प्राज्ञिक छेडखानी वर्जित छैन। बाहिरकालाई लाग्दो हो, यिनले समय कटनी गर्न बात मारिरहेका होलान्। विद्यार्थीचाहिँ गम्भीर छन्। उमेरको ज्यानमा उत्साह छ। चहकिला आँखाहरूमा भोलिको समयको प्रतिविम्ब छ।
यत्तिमा विश्वविद्यालयको इमेज सर्लक्क आउँदैन। डेस्कमा कसैले लेख्छ- फक यु बाबुराम। फक लिडर्स। ट्वाइलेटमा कसैले लेख्छ, 'मान्छे चन्द्रमामा पुगिसके, तँ यहाँ...समातेर बस्।' 'तपाईंको भविष्य तपाईंकै हातमा।' हाँसो उठ्छ। यस्ता 'सिर्जनाहरू'प्रति मेरो उतिसाह्रो टिप्पणी छैन। नकारात्मक 'सन्देश' जानेगरी नै सही, कमसेकम कसैले केही त लेखिरहेछ। रोयल्टी दिनुपर्ने होइन। त्यसो त ट्वाइलेटको काम सन्देश दिनु पनि होइन। जिज्ञासाचाहिँ छँदैछ, किन यौनिक चिह्न र भनाइहरू अक्सर ट्वाइलेटमा नै लेखिने गरेका होलान्!
..........
प्राध्यापक नआएका बेला एक तमासको गुनुुनुनु आवाज आउँछ। समुद्रको छालजस्तो घरिघरि त्यो बत्तिन्छ, अनि थामिन्छ। केही शिक्षक छन्, आउँछन्, अलिकति पढाउँछन्। बाँकी समय जवानहरूमा ज्यान भर्न पिरियड खर्चिन्छन्। कोहीचाहिँ मन नलागी-नलागी मच्चाइएको पिङझैं छन्। केही विदेशी छात्र पनि छन्। उनीहरू के बुझ्दा हुन्!
'झुरेस्ट' (प्राध्यापक कृष्ण भट्टचनको शब्द) शिक्षक सबै शिक्षालयमा हुन्छन्। तिनको पहिचान क्लासमा हुन्छ। 'सुपर झुरेस्ट' विद्यार्थी पनि हुन्छन्। तिनको पहिचानचाहिँ जाँचमा हुन्छ। गुरुको उपनाम राखिदिनु आम चेलाहरूको तलब नआउने जागिर हो। मन नपरेका ट्युटरमा यो लागु हुन्छ। विद्यालयबाट सुरु यो बेतलबी जागिर विश्वविद्यालय आउँदासम्म जारी नै हुँदो रहेछ।
एक प्राध्यापक छन्, विद्यार्थीमाझ उति लोकप्रिय छैनन्। उनी जसै बोल्न थाल्छन् ठ्याक्कै उस्तै आवाज निकालेर कसैले जिस्क्याउन थाल्छ। उनी थाहा नपाएजस्तो गर्छन्। थाहा पाउनु भनेको दुःख पाउनु हो। सायद उनी यस्तै ठान्छन्। हाँसोको फोहोरा छुट्छ, थामिन्छ। प्रायः केटा बोलिरहेका हुन्छन्, हाँस्नेचाहिँ केटी।
.....
प्राध्यापक भट्टचनको झोला पुस्तक, नोट र फुटबलले भरिएको हुन्छ। व्यक्तिवाद र जातीय एजेन्डाका अगुवा उनी क्लासमा विद्यार्थीसँग भिड्छन्। उही भट्टचन बाहिर ग्राउन्डमा तिनै विद्यार्थीसँग 'समूहमा' फुटबल भिड्छन्। बाहुनवादविरोधी हो वा बाहुनविरोधी, यस्तै केही 'पहिचान' बनेको छ उनको। श्रवण मुकारुङको कविता 'दसैं' का दसैंविरोधी पात्र उनी उल्टो दसैं मनाउँछन्। बाहुनक्षेत्री विद्यार्थी पनि भट्टचनका बाहुनसम्बन्धी जोक रमाइलै मानेर सुन्छन्। उनीहरू गुरुलाई जो चिन्छन्।
बुहारी डिपार्टमेन्ट भनेर कतिले खिज्याए पनि यो इन्टेलेक्चुअल सेलेब्रिटीहरू भएको विभाग हो। बुहारीको परम्परागत पारिवारिक भूमिकामाथि बहस पनि हुन सक्ला। यद्यपि समाजको वास्तविक चिन्ता लिने डिपार्टमेन्टमध्ये यो पनि हो। सोसोलोजिस्टहरू सोसाइटीका डाक्टर हुन् भन्ने हल्ला यतैबाट चलेको हुनुपर्छ। भट्टचन विद्यार्थीमाथि प्रश्नको घुयेँत्रो हान्छन्, 'सोसोलोजीको लिंग के हो?'
केटीहरू भन्छन्- केटा हो।
केटाहरू फर्काउँछन्- केटी हो।
उनी सुझाउँछन्- केटीका लागि केटा हो, केटाका लागि केटी हो। तिमीहरू यसलाई प्रेम गर्न थाल।
कतिपय सरहरू राष्ट्रिय राजनीतिको बहसमा अफेन्सिभ छन्। चैतन्य मिश्र, ओम गुरुङ, भट्टचन लगायत केही प्राध्यापकको बौद्धिक गुरुत्वले हुनुपर्छ, अन्य क्याम्पसबाट पनि विद्यार्थी आउँदा रहेछन्। कक्षा यसरी पनि भरिँदो रहेछ।
प्रायः विद्यार्थीको लवाइखवाइ एकैनासको छ। पोसाकबाटै धेरथोर 'वर्ग विश्लेषण' गर्न सकिन्छ। केहीकेहीले आफूलाई असाध्यै जतनले सिँगारेका हुन्छन्। ती कक्षामा 'हिट' छन्। 'सुपर हिट' चाहिँ 'पढन्ताहरू'।
गुनासो सुनिन्छ, त्रिविको हविगत जनकपुर चुरोट कारखानाझैं हुन लाग्यो। यस्तो सुनेको पनि केही वर्ष भइसक्यो। विश्वविद्यालय भने सिद्धिएको छैन। थोरै सही, बरु परिस्कृत हुँदो छ। केही सीमित नेता र संगठनको चस्माले हेर्दा यो ढल्दो देखिँदो हो। नयाँ भवन, शिक्षक, बजेट र पूर्वाधारले मात्रै विश्वविद्यालय बन्ने होइन। यो त ज्ञानका नयाँ आविष्कार र विमर्शहरूले टिकिरहने हो।
विश्वविद्यालय परिसरमा बजार लागेजस्तो हुन्छ। कोही किताब किनिरहेका हुन्छन, कोही जोक भनिरहेका। कोही पढिरहेका हुन्छन्, कोही रुखमुनि शितल तापिरहेका। प्रेमी भेट्ने यहीँ छन्, सियाँल तापेर मोबाइलमा टेक्स्ट पठाउने नि यहीँ। युवतीको हुल अघिल्तिर एउटा 'स्मार्ट ब्वाई' आउँछ, गफ दिन्छ। एकछिनका लागि ऊ हिटै हुन्छ। एकछिनमा अर्को आउँछ, त्यसलाई सान्त्वना पुरस्कार दिनेगरी गफ जोत्छ। अघिल्लो खिसि्रक्क पर्दै गफयुद्धको एरिनाबाट बाहिरन्छ।
प्राध्यापकसँग जिज्ञासा मेटाइरहेका विद्यार्थीका अनुहारले देश डुब्दैछ भन्ने हल्ला प्रमाणित गर्दैनन्। अँध्यारोको गीत सुनाउन बानी परेकाहरूले हेर्न छुटाए त के भो, यतापट्टि एक टुक्रा उज्यालो पनि छ। आफूले बाँच्दै गरेको समय र स्पेस भत्किन लाग्यो भन्दैमा जगतै सकिन लाग्यो भन्ने तिनको दृष्टिमा आग्रह छुपेको छ। विश्वविद्यालयले देशलाई उज्यालोको संकेत गर्छ। डिपार्टमेन्टहरू बुर्जुवाहरूका गफ गर्ने अखडामात्रै अब रहेनन्। गरिबको पैरवी गरेर राजनीतिको व्यवसाय चलाइरहेकालाई पनि आफ्ना एजेन्डा पस्किन विश्वविद्यालय नआई भएकै छैन।
'बुहारी डिपार्टमेन्ट' सँगै 'पारिवारिक जिम्मेवारीविहीन' अन्य विभाग पनि जोडिएका छन्। ज्ञानका छुट्टाछुट्टै डाला वा भाँडाजस्ता लाग्छन् ती। मानिसहरू वल्लो-पल्लो विभाग आउजाउ गरिरहेका हुन्छन्। राज्यलाई अलिकति बुद्धि निर्यात गर्ने कारखानामध्येको यो बृहद लोकेसन ज्ञानको डिपार्टमेन्टल स्टोरजस्तो देखिन्छ।
चैत पहिलो साता यहाँ आएको छु। शिरीष फुलेको क्षण त्रिभुवन विश्वविद्यालय क्षेत्र हनिमुनका लागि ठिक्क परेकी दुलहीजस्तो प्रतित हुन्छ। यसपालि शिरीष फुलिसकेको छैन। सायद यसको वैंश आउन केही बाँकी छ।
घडी बिल्डिङमुनि 'बुहारी डिपार्टमेन्ट' को चउरमा विद्यार्थीहरू लहरै बसिरहेछन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकछेउ एउटा कुकुर मस्त निदाइरहेको छ। बिच्क्याउन हो वा ब्युँझाउन एकजनाले आइफोन झिक्छ। आइफोनमा बिरालो कराउँछ। 'शालिन' कुकुर भर्चुअल बिरालोतिर पुलुक्क हेर्र्छ तर झम्टिँदैन। किनकि ऊ युनिभर्सिटीको कुकुर हो।

1 comment:

  1. लेख निकै राम्रो लाग्यो, भैरव अर्याल बिर्साउने । चोटिलो अनि गहन । सायद बुहारी डिपार्टमेन्ट अन्तर्गतै भएर होला ।

    ReplyDelete