Monday, April 30, 2012

हेडक्वार्टरमा बम हान्नुअघि


अचेल काठमाडौंका केही भित्ता कालो अक्षरमा लेखिएका 'बमबार्ड द हेडक्वार्टर' नाराले रंगिएका छन्। लोगोझैं देखिने आरएएम संकेत कोरिएको छ। नारा कसले लेखेको हो- जानकारी छैन।
 सशस्त्र युद्धकालमा हेडक्वार्टर पदावलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बुझाउँथ्यो। धोबीघाट भेलापछि त्यसमा उपाध्यक्षत्रय मोहन वैद्य किरण, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा बादल थपिए। यद्यपि यो ठोस रूपमा स्थापित भएन। हेडक्वार्टर भन्नेबित्तिकै अहिले पनि दाहाल नै बुझिन्छन्। हेडक्वार्टरमा बम हान्नुको अर्थ अध्यक्ष दाहालको नेतृत्वमाथि प्रहार गर भन्ने लाग्छ।
अहिले पनि दाहालमाथि वैद्य पक्षधरको दैनिक प्रहार हेर्दा उनीहरूमध्ये कोही वा उनीहरूको विचारलाई सघाउने कसैले नारा कोरेको अनुमान गर्न सकिन्छ। आफ्नो पकड रहेका पार्टी, जनसंगठन र मोर्चाका कार्यालयबाट अध्यक्ष दाहालको फोटो हटाउन वैद्य पक्षधर नेताले शनिबार कार्यकर्तालाई निर्देशन दिइसकेका छन्। चरम आर्थिक अनियमितता र अपारदर्शितामा फसेको भन्दै दाहालविरुद्ध उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने भइसके। संविधानसभा निर्वाचनदेखि नै प्रत्यक्ष राष्ट्रपतिको वकालत गर्ने समूहमा वैद्य पक्ष पनि थियो जो 'नयाँ नेपालको राष्ट्रपति कमरेड प्रचण्डलाई बनाउने' घोषणापत्र बोकेर जनताबीच गयो। आज त्यो पक्ष 'प्रचण्डपथ' भन्नु हुँदैनथ्यो, एउटै व्यक्तिलाई प्राधिकार मान्नु गल्ती थियो भनिरहेको छ।

माओवादी नेता सिपी गजुरेलले नागरिकसँग शनिबार गरेको कुराकानीबाट स्पष्ट झल्कन्छ- उनी र उनको 'विचार समूह'का मित्रहरू संस्थापनले उठाएका प्रत्येक विषयमा असहमति राख्छन्। नोट अफ डिसेन्ट लेख्नकै लागि संविधान निर्माणसम्बन्धी जारी बैठकहरूमा सहभागी भइरहेका छन्। दाहालले १० प्रदेशमा सहमति हुनसक्छ भन्नेबित्तिकै उनीहरू विरोधमा उत्रिहाले। यस्तो लाग्छ, उनीहरू आफ्नो अडानमा कायम रहन होइन, दाहालको विरोध गर्नै अत्तो थापिरहेका छन्। हिजो प्रत्यक्ष राष्ट्रपति हुनुपर्छ भन्नेहरू आज हुनुहुँदैन भनिरहेका छन्। दाहालले नै अब संसदीय व्यवस्था (गजुरेलका भाषामा व्यवस्थापिका) ल्याऔं भन्ने प्रस्ताव राखे भने तिनीहरूले के भन्छन् होला!

वैद्य पक्षले शान्ति र संविधानविरोधी नभएको भन्न छाडेको छैन तर उसको आवाज मसिनो सुनिन थालेको छ। राजनीतिक लेनदेनका नाममा दोस्रो देश, दोस्रो दल, दोस्रो नेतासँग निरन्तर खेल्नु नै 'प्रचण्ड' हुनु हो। समर्थकहरू दाहालको यही बानीलाई 'एकै पटक दुइटा दिमागले चल्नु, वैज्ञानिक हुनु, द्वन्द्ववादी हुनु हो' भन्ठान्छन्। 'संसद्वादी दल' विरुद्ध तत्कालीन राजदरबार उपयोग गर्ने, कांग्रेस विरुद्ध एमाले उपयोग गर्ने, एमाले विरुद्ध कांग्रेस प्रयोग गर्ने, कोइरालाविरुद्ध देउवा उपयोग गर्ने, एमालेको एउटा पक्ष अर्कोविरुद्ध उपयोग गर्ने 'प्रचण्ड' नै अहिलेका दाहाल हुन्- जो हिजोसम्म वैद्य र उनका पक्षधरलाई आफू अनुकूल उपयोग गर्थे। यी तिनै दाहाल हुन् जो आज उनका विरुद्ध जेहाद छेड्ने ध्वाँश दिइरहेका मातृका यादवलाई अघिपछि लिएर हिँड्थे। यी तिनै दाहाल हुन्- जो एक वर्षअघिसम्म वर्षमान पुन र नेत्रविक्रम चन्द नभएको भए माओवादी आजको अवस्थामा आइपुग्ने थिएन भनी फुर्क्याउँथे। दाहालको यो कुटिलता कुनै दिन आफैंविरुद्ध प्रयोग होला भन्ने हेक्का उनका क्रान्तिका गुरु वैद्यलाई कहिल्यै भएन। जनयुद्धका सुप्रिम कमान्डरविरुद्ध यस्तो सोच्नु क्रान्तिप्रतिको 'पाप' हुन जान्थ्यो।
पद्धतिमा उतिसाह्रो विश्वास छैन दाहाललाई। पद्धति सिध्याउनै 'जनयुद्ध' थालेका थिए उनले। जानेर या नजानेर, चाहेर वा नचाहेर उनी आज शान्ति र संविधानका लागि प्रतिबद्ध भएका छन्। उपयोग गर्ने या चलाखी गर्ने उनको भित्री मनसाय के हो अहिलेसम्म खुल्न सकेको छैन। तर दाहाल वर्तमान नेपाली राजनीतिका सबैभन्दा आवश्यक र सबैभन्दा अविश्वासी पात्र हुन् भनी स्वयं माओवादी नेतामात्रै होइन, इतर-माओवादी नेताहरू समेत सकार्छन्। अर्थात् जुनसुकै मनसाय र प्रक्रिया हिँडेर भए पनि कमसेकम दाहाल यो पटक शान्तिका लागि संविधानसभादेखि लुम्बिनी, क्यान्टोनमेन्टदेखि न्युयोर्कसम्म जान तयार छन्। दिल्लीसँग सिधै वार्ता गर्न तयार दाहाल आज उसको सहयोगविना शान्ति प्रक्रिया नटुंगिने जिकिर गरिरहेका छन्। थाहा छैन, उनका यी कदम शान्तिप्रतिको इमानदारीले कति ओतप्रोत छन्।
नियत प्रस्ट नभए पनि दाहालको नीति तत्काललाई गलत छैन। वैद्य पक्ष भने उनीसँग यसरी इखिएको छ, उनी जे हो भन्छन्, ऊ त्यसलाई होइन भन्छ। उनी जे होइन भन्छन्, त्यो चाहिँ हो भन्छ। वैद्य पक्ष दाहालको इखले राष्ट्रिय राजनीतिमा आफ्नो छविलाई प्रतिक्रियात्मक बनाइरहेको छ।

'दाहालले बाबुराम भट्टराईमार्फत लडाकु शिविरहरूमा सेना परिचालन गरे, क्रान्तिलाई विसर्जन गरे, धोका दिए,' अहिले वैद्य पक्षधर नेताहरूको आरोप यो भएको छ। ठ्याक्कै दस वर्षअघि एमालेलाई गद्दार, विसर्जनवादी, क्रान्तिविरोधी भनी लगाइने आरोप आज अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईविरुद्ध लाग्न थालेको छ। दाहालको चलाखीको सिकार आफैँ पो भइएछ भन्ने वैद्यको स्वीकारोक्तिसँगै यी अभिव्यक्ति आएका हुन्।
हेडक्वार्टरमा बम हान्ने र हान्न उक्साउनेले बुझ्नु जरुरी छ- आजका 'गद्दार, प्रतिगामी अध्यक्ष' लाई हिजो क्रान्तिका सर्वेसर्वा हेडक्वार्टर बनाउने उनीहरू नै थिए। बाबुराम भट्टराई यस्तो देवत्वकरण खतरनाक हुन्छ भन्थे तर त्यसबखत वैद्यसँग लहसिएका दाहालका अघिल्तिर तिनको आवाज खोलामा गीत गाएको जस्तो हुन्थ्यो। उल्टै क्रान्तिकारी स्पिरिटअनुरुप नचलेको आरोप उनीमाथि थियो। छलफलबाट निर्णयमा पुग्ने दाहालको स्वभाव हुँदै होइन। उनको स्वभाव छलफल गर्ने, निर्णय गर्ने फेरि नयाँ छल र फलसहित अघिल्लो निर्णयलाई लात हान्ने हो। दाहालको स्वभाव वन म्यान डिसिजन गर्ने, जसरी पनि लाद्ने, केही सिप नलागे पछि क्षमा माग्दिने हो।
राजनीतिमा कुटिलता वर्जित छैन तर नैतिकता भन्ने चीजको पनि अर्थ हुन्छ। त्यो दाहालबाट निर्वाह होला भनी आशा गर्नु व्यर्थ छ। वैद्य पक्षको हिजोको क्रान्तिकारी आशावाद आज शिथिल हुनुमा दाहालको यही आदतको भूमिका छ। सैद्धान्तिक हिसाबले दाहालले आफूलाई अझ गोलमालको अवस्थामा लगेकै हुन् तर पटकपटक ट्र्याक छाडेको राजनीतिलाई सही ठाउँमा ल्याउन उनले गरेको प्रयत्न कम्तीमा जारी शान्ति अभियानका लागि उल्लेख्य छ। यस्तो संवेदनशील अवधिमा एक व्यक्तिप्रतिको इखले शान्ति र संविधानको एजेन्डा वैद्य पक्षले गुमाउँदैछ। ऊ जनविद्रोह र नयाँ सेनाको वकालत गर्नुको औचित्य पुष्टि गर्न सकिरहेको छैन।
राजनीतिमा कोही पनि विकल्पहीन विकल्प हुँदैन। दाहाल अपवाद होइनन्। नयाँ पहलकर्ताको नेतृत्वमा शान्ति ल्याउने भन्दै वैद्य पक्षबाट उनको विकल्प खोजिनु अनौठो होइन। यही बेला दाहाल नहटाई नछाड्ने उद्घोषले वैद्य पक्षलाई पनि राम्रो गरिरहेको भने छैन।
राजनीतिमा पहुँच गुमाउनुको पीडा कम हुन्न। तर पहुँच गुमेकामा रिसाएका माओवादीका केही नेता दाहालसँगको इखले साख पनि गुमाइरहेका छन्। देशले दाहाललाई चाहेको छ कि छैन, भविष्यमा परीक्षण होला। देशले शान्ति र संविधान चाहिँ चाहेको छ। त्यसको पहलकदमी दाहालले लिएका छन्। हेडक्वार्टरमा बम हान्नुअघि वैद्य पक्ष र तिनका शुभचिन्तक आरएएम समूहहरूले आफैंलाई एकपटक सोधून्- उनीहरू कसका विरुद्ध बमबार्ड गरिरहेका छन्?

Nagarik, Kathmandu Discourse 3, Baisakh 18 Monday

No comments:

Post a Comment