३४ वर्ष पुरानो कम्युनिस्ट राज ढालेर शक्तिमा उदाएकी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता बनर्जी फेरि एक पल्ट पश्चिमा मिडियाको सोकेसमा सजाइएकी छन्। ममताको 'ओजपूर्ण छवि' पछिल्ला केही महिनायता बंगाल र भारतमा निरन्तर संकटग्रस्त छ। छवि संकटमा परेकै बेला अमेरिकी साप्ताहिक टाइमले वर्षका एक सय प्रभावशाली व्यक्तिको सूचीमा बुधबार उनको नाम पनि चढाएको छ।
टाइमले अमेरिकी राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री हिलारी क्लिन्टन, खर्बपति वारेन बफेटसहितको लिस्टमा ममताको नाम पार्दै 'मार्क्सवादीहरूलाई पछार्ने सडककी लडाकु ममता दिदी' भनेको छ।
टाइम एउटा उदाहरण हो। पश्चिमा सञ्चार माध्यमकी आइकन नै बनेकी छिन् ममता बनर्जी।भ्रष्ट एकमना कम्युनिस्ट शासनको विकल्प खोजिरहेका बंगाली जनताका अघिल्तिर उपयुक्त र भरपर्दो विकल्प फेला नपरिरहेका बेला बनर्जीले क्रमशः सिंघुर र नन्दीग्रामका प्रदर्शनहरूसँगै आफूलाई स्थापित गर्दै लगेकी थिइन्। अघिल्लो वर्षको चुनावसम्म आइपुग्दा कम्युनिस्ट हराउन शासकहरूको नालायकी, ममताको योगदान र मिडिया अभियानको संयोग काफी भइसकेको थियो। तिनै 'ममता दिदी' को चर्को समर्थनमा एक वर्ष अघिसम्म लेख्ने 'वर्तमान' नामक पत्रिका अहिले तृणमुल निर्देशित बंगाली पुस्तकालयहरूमा वर्जित छ। टाइम्स अफ इन्डिया, दुई बंगाली र एक नेपाली दैनिकसहित आठ पत्रिकामात्रै त्यहाँ उपलब्ध छन्। यसरी मार्क्सवादी पार्टीको सरकारविरुद्ध चुलिएको जनआक्रोशलाई मिडियाको बलमा आफूतिर आकर्षित गरेकी ममताका लागि आज आफ्नै एक वर्षअघिका साथीहरू शत्रु भएका छन्। बुद्धिजीवीहरू दुश्मन भएका छन्।
ममता दिदीको मिडिया र बुद्धिजीवी खेद्ने अभियान लामो छ। मनोरञ्जनका च्यानल हेर, समाचार हेर्नुपर्दैन भन्ने उनको अभियानै थियो किनकि समाचारमा आफूलाई समर्थन गर्नेगरी सामग्री नआएको उनको धारणा थियो। ममताले राज्यमैत्री प्रेसको वकालत गरेपछि प्रेस काउन्सिल अफ इन्डियाले विरोध नै जनाउनु पर्यो। दुई दिनअघि मात्र शनिबार कोलकाताको एक कार्यक्रममा उनले अब आफ्नै टिभी च्यानल र अखबार स्थापना गर्नेसमेत उनले योजना सुनाइन्। यस्तै सरकारी पुस्तकालयमा अघिल्लो महिना आफ्नो तृणमूल सरकारलाई सहयोग गर्ने आठ अखबारलाई मात्रै किन्न अनुमति दिइन्। कम्युनिस्टको विरोध गर्नुमात्रै लोकतन्त्र होइन, आलोचना सुन्ने संस्कृति संस्थागत रुपमै अघि बढाउनु लोकतन्त्र हो, जुन ममताले अभ्यास गरिरहेकी छैनन्। आफ्नो डम्फु बजाउन्जेल विपक्षीहरू मिडियालाई आफ्नो देख्छन् किनकि तिनले लोकप्रिय कार्यक्रमहरूलाई समर्थन गरेका हुन्छन्। जब उनीहरू सत्तामा जान्छन्, मिडिया सामान्यतयाः सत्ताको स्थायी समालोचक हुन्छ जुन सत्ताधारीहरू रुचाउँदैनन्। ममता दिदीलाई मिडिया पचाउन गाह्रो परेको पनि यसै कारण हो।
कार्टुन अनलाइनमा आफूलाई व्यंग्य गरेर बनाइएको कार्टुन सेयर गरेकै निहुँमा जादवपुर विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक अम्बिकेश महापात्रलाई पक्राउ गरेपछि ममताको अलोकप्रियता अझ बढ्दो छ। अघिल्लो साता आफ्नो परिवारलाई विभिन्न खाले त्रासहरू दिइएको भन्दै महापात्रले परिवारको सुरक्षा चिन्ता गरेका थिए। नोम चोम्स्कीसहित ५० भन्दा धेरै बुद्धिजीवीहरूले प्रधानमन्त्री मनमोहन सिंहलाई संयुक्त पत्र लेख्दै उनको रिहाइ र परिवारको सुरक्षा माग गरेका छन्। आधुनिक विश्वमा राज्यनियन्त्रित बुद्धिजीवीहरूको धारणा लगभग मेटिएर गइसक्यो। तर बुद्धिजीवीहरूप्रति ममताबाट व्यक्त क्षोभले उनी अघिल्लो युगको पक्षमा रहेको इंगित गर्छ। यसको विरोध हुनु स्वाभाविक छ।
गोर्खाल्याण्डको मुद्दालाई समावेशी भावनाको सम्मान भन्दै आश्चर्यजनक रुपमा समाप्त पारेकी यी ममताले तीन हप्ताअघि पश्चिम बंगालको पाठ्यपुस्तकबाट मार्क्सवादसम्बन्धी पाठहरू हटाउन निर्देशन दिएकी छन्। विचारप्रति ममताको भयलाई यो घटनाले अझै सतहमा ल्याइदिएको छ। मार्क्सवादप्रति कसैको व्यक्तिगत सम्मति वा असम्मति होला। तर विश्वभरका विश्वविद्यालयहरूका फरक फरक डिपार्टमेन्टमा अध्ययन अध्यापनको योग्यता राख्ने विषय हो मार्क्सवाद। अर्थशास्त्र होस् या समाजशास्त्र, साहित्य होस् वा दर्शन। तर्कशास्त्र होस् या सौन्दर्यशास्त्र। मार्क्सवाद नपसेको त्यस्तो क्षेत्र हुँदैन। यसर्थ यो एउटा बृहत् आयाम बोकेको दर्शन हो। ममता दिदीलाई यतातिर अत्तोपत्तो छैन।
मार्क्सवादी पार्टीविरुद्ध खनिएका भारतका माओवादीहरूसँग वार्ता गर्ने र उनीहरूका मुद्दा सम्बोधन गर्ने आश्वासन दिएर चुनाव परिणाम आफ्नो पक्षमा पारेकी ममताले अहिलेसम्म न वार्ता गरिन्, न त्यसका लागि इमान्दार पहल नै गरिन्। बरु माओवादीका उच्च नेताहरू उनको सरकारबाट मारिएका मारियै छन्। यसरी ममता दिदीले आफूप्रति बढ्दो जनअपेक्षालाई एकपछि अर्को गर्दै तुहाइदिएकी छन्।
मतदाता स्थिर हुँदैनन्। उनीहरूले अघिल्लो वर्ष ममतालाई जिताउँदै गर्दा कुनै निश्चित विचार पराजित गरिरहेका थिएनन्। ममताले पनि विचारको आकर्षण देखाएर चुनाव जितेकी होइनन्। कम्युनिस्टका नाममा चालु गुण्डाराज ममताको पहलमा रोकिन्छ, राज्य सर्वसाधारणको सिधा पहुँचमा हुन्छ, कम्युनिस्ट पार्टीको नोकरशाही नियन्त्रणभन्दा त्यो बाहिर हुन्छ भन्ने बंगालीको अपेक्षा थियो। कम्युनिस्ट त हटे तर त्यसको ठाउँमा दिदी बसिन्। दिदीका भाइहरू बसे। आज कम्युनिस्टलाई प्रतिस्थापित गरेर तृणमुल कंग्रेसले संस्थागत गर्दैगरेको गुण्डाराजलाई ममता दिदीको 'सादगी जीवनशैली' ले बिर्साउन नसक्ने भएको छ।
भनिन्छ, जुनसुकै शासनले मानिसलाई भ्रष्ट बनाउँछ, निरंकुश शासनले त सम्पूर्ण रुपमै भ्रष्ट बनाउँछ। ममता दिदीको यात्रा एउटा निरंकुशताबाट अर्को निरंकुशतातर्फको यात्रा भएको छ। उनको यात्रा एउटा स्वेच्छारिताबाट अर्को स्वेच्छाचारितातर्फको यात्रा भएको छ। उसमाथि स्थानीय तहमा जति बद्नामी खेप्नु परे पनि ग्लोबल मिडिया हाइपले उनलाई झन् झन् महत्वाकांक्षी बनाउँदै लगेको छ। दुई भिन्न दर्शनलाई प्रतिनिधित्व गर्ने भए पनि ममता दिदी र हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईको अवस्था झण्डैझण्डै उस्तै छ। दुवै सोकेसमा सजाउन राखिएका सोपिसजस्ता भएका छन्। बाहिरबाट हेर्दा सुन्दर देखिन्छन्। शासनशैलीको भित्री अवस्था भने डुङडुङ्ती गन्हाइरहेको छ। उनीहरू माथि बसेर स्वच्छ छविको मार्केटिङ गर्न अभ्यस्त छन्। जस्तो कि हाम्रा प्रधानमन्त्री पनि कर्मचारीतन्त्र, प्रहरी प्रशासन आदिलाई दोष थुपार्छन्। आफूलाई चोखो देखाइरहन्छन्। उनको शासनशैलीले चोखोपन प्रमाणित गरेको छैन। चरम भ्रष्टाचार, अपारदर्शिता, मनपरी र अनियमितताको शरीरमा केही सेता देखिने खोलहरू लगाइदिन उनी अभ्यस्त छन्। यस अर्थमा उनी दिदीभन्दा कम छैनन्।
भट्टराईले नियुक्त गरेका 'असंख्य' सल्लाहकारहरू उनको मौन आवाजलाई प्रतिनिधित्व गर्दै विचारहरू सार्वजनिक गरिरहेका छन्। मिडियाले सहयोग नगरेको तिनको बुझाइ छ। आज यसरी विरोध नै गर्नुपर्ने भए हिजो किन समर्थन गरेको त? हिजै विरोध गर्नु नि? तिनका वाणीहरूको आशय यस्तो छ। शासकहरूको कुण्ठा जति छोप्न खोजे पनि बाहिर आइहाल्छ। दुई दिनको प्रचारले केही हुने होइन। जसरी बाह्य जगत्का शक्तिशाली डिस्कोर्सका सञ्चालकले होहल्ला गर्दैमा 'ममता दिदी' को शासनको स्वच्छता पुष्टि हुँदैन, त्यसरी नै हाम्रा शासकहरूले पनि सतहमा बाग्मतीका फोहोरहरू जति नै उठाए पनि, जति नै राम्रा जलप र अत्तरहरू छर्किए पनि शासन सुगन्धित हुँदैन। ममता दिदीको करिब एकवर्षे शासनबाट छिमेकी देश नेपालका शासकहरुले सिक्ने पाठ यही हो।
Kathmandu Discourse- 2
Nagarik 2069 Baisakh 11, monday
No comments:
Post a Comment