Tuesday, April 23, 2013

लोकतन्त्रको ह्याप्पी बर्थ डे

लोकतन्त्र कहिले आयो?

आज लोकतन्त्र दिवस। नेपाली लोकतन्त्रको पछिल्लो संस्करणले सात वर्ष पार गर्दैछ। नेता र पार्टीपिच्छे लोकतन्त्रका व्याख्या छन्। झुपडीसम्म लोकतन्त्र पुगेकै छैन। झुप्रो राजमार्गदेखि धेरै तल छ। हाम्रो लोकतन्त्र हिँडेर जान सक्दैन। विदेशीले किन्दिएको गाडी झुपडीसम्म पुग्दैन।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकतन्त्रका लागि नयाँ परिभाषा र 'कन्टेन्ट' बनाउने उद्घोष गरेका छन्। उनीसँग लामो समय सँगै रहेका एमाओवादी पोलिटब्युरो सदस्य राम कार्की भने नेकपा स्थापना दिवसको छेक पारेर सोमबार राजधानीमा बोल्दैथिए, 'समाजवाद आएको झुपडीले थाहा पाउनुपर्छ। काठमाडौंका दुई सम्भ्रान्त महिलाले नोकरीमा बढुवा पाएर हुँदैन।'
कमरेड, यहाँ समाजवाद त के, लोकतन्त्र आइसकेको सात वर्ष भइसकेछ। तपाईंहरु सरकारमा पुगेको त झुपडीलाई थाहा छ। लोकतन्त्र आइपुगेको भने अझै थाहा छैन।

कम्युनिस्टहरू 'नरकको बाटोमा'

बसन्त बस्नेत, काठमाडौं, वैशाख १० - वामनेता तथा बुद्धिजीवीले नेपालका कम्युनिस्टहरू 'स्वर्गको गन्तव्य तय गरेर नरकको बाटो हिँडिरहेको' आरोप लगाएका छन्।
पार्टीगत स्वार्थमा विभाजित हुने र पछि मूलबाटो नै बिर्सने रोग कम्युनिस्ट पार्टीहरुमा झ्यागिंएको उनीहरुको टिप्पणी छ।

नेपाल कम्युनिस्ट पार्टीको ६५औं स्थापना दिवसका अवसरमा वामविचारकहरुको संस्था 'आजको मार्क्सवादी विमर्श' ले सोमबार राजधानीमा गरेको अन्तर्क्रियाका वक्ताले कम्युनिस्ट विचारधारा सबै दलले बाटो बिर्सेकोमा चिन्ता जनाए।
ठूला कम्युनिस्ट पार्टीहरुमा सैद्धान्तिक धरातल कमजोर भएको जिकिर गर्दै उनीहरुले नयाँ पार्टी बन्नसक्ने छनकसमेत दिए। 'संकट त पहिले पनि थियो, तर क्रान्तिको सपनाले ऊर्जा दिन्थ्यो,' एकीकृत माओवादी नेता राम कार्कीले शिर निहुराए, 'आज तिनै सपनाहरुको हत्या भइरहेको छ, नेपाली कम्युनिस्टमा अहिले अभूतपूर्व संकट छ।'

Saturday, April 20, 2013

राजेन्द्र खगेन्द्रको खेलौना–जुहारी

राजेन्द्र थापाले 'खेलौना' उपन्यास लेखेपछि खगेन्द्र संग्रौला र उहाँबीच जुहारी जारी छ। नागरिक दैनिकको शनिबारे साहित्य परिशिष्टांक 'अक्षर' बाट साभारित उहाँहरुका धारावाहिक टिप्पणी–प्रतिटिप्पणी...

Sunday, April 14, 2013

के शहीद पनि पार्टीपिच्छे अलग अलग हुन्छन् ?

शहीदको रगतलाई 'ग्लोरिफाई' गर्ने चलन संसारभर छ। वीर रसमा लिखित काव्य र भाषण पढ्दा/सुन्दा यही भेटिन्छ। युगपिच्छेका आन्दोलनले जनतासँग मुक्तिका लागि रगतको मूल्य तिर्न आह्वान गरेका छन्। जस्तो कि, सुवासचन्द्र बोसको भनाई प्रख्यात् छ, 'तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिन्छु।' मार्टिन लुथर किङ जुनियर भन्छन्, 'मान्छेले कहिल्यै स्वतःस्फूर्त जित्दैन। न्यायको लडाइँमा बलिदान अनिवार्य छ।' भूपि शेरचन लेख्छन्, 'बन्दैन मुलुक दुई चार सपुत मरेर नगए।' माओवादीले सशस्त्र संघर्षताका देशभरका भित्ता रंगायो, 'शहीदको पंक्तिमा लामबद्ध होऔं।'
परिवर्तनको प्रक्रिया शान्तिपूर्ण बाटोबाट अघि बढ्छ भन्ने विश्वास अघिल्लो युगका मनिषीहरूमा देखिएन। अहिलेकालाई झन् हुने कुरो भएन। बुद्ध र गान्धीका वचनहरू विश्वविद्यालयमा पढाउन र चियापसलमा बुद्धिविलास गर्न खुबै उपयोग गरिए। सडकमा 'शहीदको रगतका टाटा आलै छन्' भनेर आन्दोलनकारीका नशामा पाइन भरियो। तिनै आह्वानको सनकमा इतिहासमा थुप्रै योद्धा 'बलिदानको कोटा चुक्ता गर्न' शहीदको पंक्तिमा चाहेर/नचाहेर, जानेर/नजानेर लामबद्ध पनि भए। छँदाखाँदाको करिअर छाडेर आन्दोलन गर्न हिँडेका उनीहरू इतिहास भइसके।

Tuesday, April 9, 2013

एक कुकुरको डायरी


म अरुजस्तो सामान्य कुकुर होइन। असामान्य भएकैले निरन्तर दुःख पाइरहेको छु। सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छिरेयता म चर्चामा छु।
मैले फस्ट डिभिजनमा एमए पास गरेको छु। ट्रान्सक्रिप्ट हेर्नलायक छ। तर कुकुर भएकै निहुँमा मलाई युनिभर्सिटीले दीक्षान्त समारोहमा टोपी लगाउन दिएन।
दीक्षान्तमा जान राष्ट्रिय पोशाक अनिवार्य गर्यो् सरकारले। मसँग कहाँबाट हुनु दौरासुरुवाल? त्यही भएर गेटपालेले छिर्न दिएन। त्यसो त यो मैले पाएको पहिलो दुःख होइन। कुकुरको जुनी भनेको दुःखैदुःखको एल्बम रहेछ।