म अरुजस्तो सामान्य कुकुर होइन। असामान्य भएकैले निरन्तर दुःख पाइरहेको छु। सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छिरेयता म चर्चामा छु।
मैले फस्ट डिभिजनमा एमए पास गरेको छु। ट्रान्सक्रिप्ट हेर्नलायक छ। तर कुकुर भएकै निहुँमा मलाई युनिभर्सिटीले दीक्षान्त समारोहमा टोपी लगाउन दिएन।
दीक्षान्तमा जान राष्ट्रिय पोशाक अनिवार्य गर्यो् सरकारले। मसँग कहाँबाट हुनु दौरासुरुवाल? त्यही भएर गेटपालेले छिर्न दिएन। त्यसो त यो मैले पाएको पहिलो दुःख होइन। कुकुरको जुनी भनेको दुःखैदुःखको एल्बम रहेछ।
नेपालविरुद्ध मलेसियाले ब्याटिङ के थालेको थियो, म पुलिसको आँखा छलेर स्वाट्ट कीर्तिपुर क्रिकेट मैदान छिरें। अरुले सोचेछन्- आफ्नो देशमा श्रम गर्न आएका नेपाली कामदारलाई मलेसियाको मान्छेले एक हप्ताअघि कुटेको हिसाब क्लियर गर्न म पसें। सोह्रैआना झुठ! म त त्यहाँ क्रिकेटका दुईचार नियम सिकिराख्यो भने कुनै बेला काम लाग्न सक्छ भनेर गएको थिएँ। वैशाखको दोस्रो साता लोकसेवाको जाँच छ। आफू त बेरोजगार परियो। सबै प्रश्नको जवाफ मिलाए पनि फ्याट्ट क्रिकेटसम्बन्धी प्रश्नले पछार्योफ भने डुब्दैन जिन्दगीको जहाज?
कुकुरको काम भुक्ने र टोक्नेमात्रै होइन। हुन त यो देशमा कुकुर भएरमात्रै भुक्ने योग्यता पुग्दैन। हैसियत चाहिन्छ। महलमा मधुमस्त हुने कुुकुर परिनँ म। कुकुरको वर्गविश्लेषण गर्न थाल्यो भने कार्ल मार्क्स पनि आजित भएर दाह्री काट्छन्। भुस्याहा कुकुरसमेत जो पायो उहीलाई ठुङ्न जाँदैनन्। यो तिनको सामान्य नैतिकताभित्र पर्दैन। अझ म त ग्र्याजुएट कुकुर। त्रिभुवन विश्वविद्यालयले मलाई बेरोजगार बनाए पनि, कन्भोकेसनमा जान नदिए पनि कमसेकम डिग्री दिएको छ। उसले मलाई अपमान गरे पनि कम्तिमा मैले उसको मान राख्नुपर्छ।
र, अहिले उसैको क्रिकेट मैदानमा बिसौं हजार मान्छे ओइरिएका छन्। कहाँबाट आएका हुन् यतिका जनता! यति मान्छेको विश्वास जित्नेले त सभासदै पड्काउन सक्छ- चुनाव भयो भने। खिलराज रेग्मी बाबैको काइदा हेर्दा यिनले मरिकाटे चुनाव गराउँदैनन्। तै पनि हेरुँ, यिनको चाबी यहाँ छ कि, अन्तै छ। बेरोजगार भएपछि फुर्सद हुन्छ। फुर्सदिलो भएपछि देश कसरी चलाउने भन्ने चिन्ता आइलाग्दो रहेछ। त्यसमाथि म त विश्वविद्यालयबाट पास आउट हुँदा उपबुजु्रक भइसकेको थिएँ। सबैथोक आउने, तर अलिअलि।
***
'क्रिकेट पिचमा कुकुर पसे साइत खुल्छ।'
नेपालीहरूले बनाएको नयाँ उखान हुनुपर्छ यो। बडो उपयोगितावादी छन् क्या नेपालीहरू। तीन सय ६४ दिन मलाई लखेट्छन्। कुकुर तिहारको नाटक रचेर यमराजको पाले भन्दै एक दिन माला लगाइदिन्छन्। व्यवस्था फेरिँदैपिच्छे कहिले हाम्रो नाम ज्ञानेन्द्र राख्छन्, कहिले पर्चन्न।
विदेशमा पनि यही चलन रहेछ। इडियट आमिर खानले आफ्नो कुकुरको नाम शाहरूख राखिदिए। नभन्दै, अस्ति मंगलबार राति आइपिएलको उद्घाटनमा शाहरूखको डान्स हेर्न नसकी मैले शरमले मुख छोपें। मैले सु गरेझैं गरी पिटबुलसँग एउटा खुट्टो उचाल्दै नाच्दैथियो शाहरूख। कटि्रना कैफ र दीपिका पादुकोण पनि उसैलाई पछ्याउँदैथिए। हरे, मान्छे बिग्रिएर कुकुर भएका! मैले चाहिँ मान्छेजस्तो हुन खोजें। सकिनँ। विषय अन्तै पुगेछ कि क्या हो। ममात्रै होइन, त्रिविका थुप्रै प्राध्यापक, विद्यार्थी एउटा विषयबाट कुरा थाल्छन्। एकछिनपछि आफू के बोल्दैछु, बिर्सन्छन्। कुरा तुरिनेबेला लट्टाईबाट छुटेर बीचैमा चुँडिएको धागोजस्तो अर्कै ठाउँ पुगिसक्छन्।
अँ, म भन्दै थिएँ, क्रिकेट मैदानमा कुकुर पसे साइत खुल्छ भन्छन्। पोहोर त्यस्तै भयो। अमेरिकासँग खेल चल्दै थियो। नेपालले अमेरिकाको फलामे ब्याटिङ झेल्नुअघि अघिल्लो ब्याचका एक सिनियर स्वानबन्धुले दुई फन्का मारे। नभन्दै के भयो? जे हुनु थियो, त्यही भयो। नेपालले म्याच जित्यो। त्यहीँबाट यो उखान बन्यो।
यसपालि त मलेसियासँगको खेल। केही दिनअघि उनीहरूको देशमा गोदाई खाएकाले हाम्रो लागि यो खेल राष्ट्रिय स्वाभिमानको चीज बन्यो। झट्ट सुन्दा यो कमरेड मोहन वैद्य लाइनको अडानजस्तो सुनियो क्यारे। तर चीजलाई त्यसरी काइते पाराले बुझ्नुहुँदैन भनेर भन्नूस्। म मैदानमा छिरेपछि नेपालले ठोकेरै छाड्यो। कुकुर छिराएपछि साइत पर्छ भन्ठानेर फाइनलमा पनि मलाई धुइँधुइँती खोजेछन्। हामी आफैं छिरे पो जितिन्छ, जबर्जस्ती साइत पारेर पनि कहीँ जितिन्छ? क्रिकेट हुन्जेल लोडसेडिङ नगर्ने भनी सरकारले सूचना गर्दागर्दै लाइन गयो। अब कसलाई गुहार्ने? अदालत जाऊँ भने पुगिने उही खिलराज बाबैकहाँ नै हो, घुमिफिरी रुम्जाटार।
नियम पनि कस्तो। विश्वविद्यालयको मैदानमा खेल गराउनु छ। मैदानमा कलम धरी लैजानै पाइँदैन। हुन त कलम पनि हतियार नै हो। स्कुलमा वादविवाद प्रतियोगिता हुन्थ्यो नि, 'तरबार ठूलो कि कलम?' भनेर। त्यही कलमको हैसियत आज चुरोट, खैनी, सलाईको हैसियतमा पुगेछ। पुलिसले कलम देख्यो कि जफत गरिहाल्ने। पानीको बोत्तल पनि लैजान नपाइने। दर्शकले मैदानमा फाल्छन् भनेर होला। तिर्खालुहरूलाई एक घुड्को पानी दिलाउन नसक्ने क्रिकेट एसोसिएसन विज्ञापनको शुल्क असुल्छ र टिभीमा लाइभ हेर्ने दर्शकहरूलाई चाहिँ उही पानीको विज्ञापन देखाउँछ। अँ, कलमदेखि पानीसम्म केही लैजान नपाइने। तर महिला दर्शकले चाहिँ लैजान पाउने रे। लिंगभेदको नेतृत्व सरकारी सुरक्षाकर्मी र विश्वविद्यालयबाट हुन्छ त कहाँबाट हुन्छ नारीपुरुष समानता?
केटा पनि के कम! गर्लफ्रेन्डलाई थपक्क कलम र पानी बोक्न दिए। केटीलाई गेटमा रोक्न कसको पिताम? पुलिस हेर्यार हेर्यैक। त्यही बेला म शुल्क नतिरी सुत्त पसिहालें। म निस्कने बेलासम्म केटाहरूले बार भत्काइसकेका थिए। बार भत्काउनेचाहिँ गर्लफ्रेन्ड नभएका ठेउकेहरू थिए। तीन सालअघि माओवादीले भन्थ्यो नि, नागरिक सर्वोच्चता। मैले त्यसको अर्थ अहिले आएर बुझें। जति पढे पनि कुकुरको दिमाग सधैं ट्युबलाइट! जे होस्, जनताले चाहेपछि कसैले रोक्न नसक्दो रहेछ। साँच्चि, यतिका लड्कालड्की अस्ति अकुपाईं बालुवाटार चल्दैगर्दा कहाँ थिए होलान्! अकुपाईवालेहरूले यिनको मन खिच्न सकेनन् जस्तो लाग्यो। जनता सडकमा ल्याउन सजिलो कहाँ छ र!
त्यतिका मान्छे एक ठाउँ थुप्रिएपछि टेलिकमको मोबाइल सेवाले के थामोस्। मोबाइल शाखाको टावर पनि मोबाइल नै हुँदो रहेछ। सररर गाडीमा आयो, टावर। त्यही गाडीको पाङ्ग्रानेर बसेर खेल हेरिरहेथें।
क्रिकेटका नियम समुद्रसरी हुँदा रहेछन्। मैले भेउ पाउने कुरै भएन। ब्याटिङ भन्या छ, बलिङ भन्या छ, छक्का, चौका, रन, ओभर, विकेट भन्या छ। के के हो के के। मलाई अलि आइडिया आएन। अलिअलि सु पनि लाग्या थियो। तर मान्छे हुन् कि कमिला, सब ओइरिएका थिए। निस्कने ठाउँ थिएन। तै तै थामेरै बसें। दायाँ खुट्टो सम्हालें, नउचालियोस् भनेर।
मान्छे देख्दा सुरुसुरुमा साह्रै अनौठो लाग्थ्यो मलाई। दुई खुट्टाको भरमा कस्तरी अड्याउन सकेको त्यत्रो ज्यानलाई। चश्मा अड्याउन बनाएको नाकसमेत छोपिने गरी कोनि के जाति टोपी लगाएर मैदानमा आएका छन् खेलाडी। फलामकै होला तिनको टोपी। ठूलो फुटबल खेल्नेभन्दा सानो क्रिकेट खेल्नेहरुलाई धेरै चाहिँदोरहेछ सुरक्षा। क्रिकेट खेल्नेहरु फुटबल, बास्केटबल खेल्नेजस्ता हुँदारहेनछन्। अजीबका मानव हुन् ती। मैले एकटक लाएर तिनलाई हेरें।
बाउराम भट्टराई आएका रहेछन्। केटाहरू भन्दैथिए- अदक्षेपुत्र, डबल श्रीमान गम्भीर पर्चन्न प्रतापी 'प्रकाश' पनि आ'छन्। हन तिनको कारबाही फुकुवा भएछ कि! हुन पनि हो, अदक्षेपुत्रलाई धेरै दिन कारबाही गरिराखे क्रान्ति चाहिँ कसले गर्छ? त्यसमाथि यो देशमा चार माओवादी छन्। ड्यास माओवादी वैद्य भइगए। क्यास माओवादी पर्चन्नवाले। झ्यास माओवादी पनि छन् रे। बाँकी रह्यो च्वाँक माओवादी। बिना मगर भगाएदेखिन् प्रकाशले नै यसको नेतृत्व गर्या छन्। किप इट अप प्रकाश! तिम्रो क्यै काम छैन, मेरो पनि क्यै छैन। तर तिमी सुप्रिम चेयरम्यानका गौरवशाली पुत्र पर्यो। म परें मामुली कुकुर। नत्र हाम्रो स्टाटस एउटै हुन्थ्यो। त्यही भएर तिम्रा पछि केटी नै केटी। मेरो पछि आफ्नै छायाँमात्रै।
मैले पनि पर्चन्नपुत्रजस्तै लभ गर्न खोज्या थिएँ। एउटी थिई, खुब आँखा सन्काउँथी। साइट हान्थी। खाजा खाने, लाइब्रेरी जाने बेला पछि लाग्थी। अरुले छाडेको प्लेट चाटेर राम्ररी मुखसमेत नपुछी मकहाँ आउँथी। आफू परियो बेरोजगार। बचेखुचेको नगद निखि्रएपछि यस्सै छाडी। कुकुर्नी!
गरिप हुनु कति बिस्वादिलो हुन्छ, यस्तै बेला थाहा हुन्छ। गोजीमा पैसा भएन भने ह्याउ आउँदो रहेनछ। यसो, साथीहरूसँग खाजा खान गयो। पैसा आफूले तिर्नुपर्ला भन्ने डरले खाएको स्वाद पनि लाग्दो रहेनछ। कुकुर्नीहरू पनि पछि लागे भने त तिनको बिल नतिरे पनि तिर्न अघि सरेजस्तो गर्नुपर्योन। अचानक बिल तिर्न लगाइहाले भने परेन फसाद? एक्लै भएका बेला गोजी रित्तिए त क्यै छैन। क्यान्टिनछेउ गयो, हरर्र बास्ना सुँघ्यो, र्या्ल काढ्यो, हिँड्यो।
यो टियु र ह्याचेरीमा केही फरक भएन। फरक यत्ति हो, यो ह्याचेरीमा बग्रेल्ती अण्डा र चल्ला कोरलिन्छन्। देशभरिबाट 'उच्च शिक्षाको महान संकल्प बोकेर', 'नयाँ नेपालको सपना देखेर' आएका लोकल केटा (केटी पनि) लाई ब्रोइलर बनाएर पठाउँछ। रोजगारी पनि के दिनु! तिनका हातमा सर्टिफिकेट छ, सीप छैन। गाउँमा अलिअलि जानेको काम पनि शहर पसेर बिर्सिसक्छन् तिनले। ओरको सिन्को पर सारे त मरिजाऊँ। कुकुर हुनुको मजाचाहिँ यसैमा छ। कमसेकम मान्छेलाई जस्तो लाजचाहिँ हुँदैन। हाम्रो लाइनमा यो ठूलो काम, यो सानो काम भन्ने नै हुँदैन।
बाउरामको प्रसंग फेरि छुटेछ। धेरै पढ्यो भने मान्छे बिग्रन्छ भन्थे, कुकुर पनि बिग्रँदो रहेछ। (मैले बाउरामको कुरा गर्न खोजेको चाहिँ होइन है। उनी पनि धेरै पढेका मान्छे हुन्। तर उनी अब बिग्रन्नन्, किन कि यहाँभन्दा बिग्रन के नै बाँकी छ र! यो कुरा त हिसिला म्याडमलाई पनि थाहा छ) उनी क्रिकेट मैदान आएकामा थुप्रैले विरोध गरे। सब नेपाली वैद्य भइगए कि! जे मा पनि विरोध नै गर्नुपर्ने। म नवसंशोधनवादी होइन, तर यसमा चाहिँ बाउरामको समर्थन गर्छु। प्रधानमन्त्री भइसकेको नेता खेलकुद क्षेत्रप्रति सरोकार देखाउँदै मैदानमा आउँछन् भने विरोध किन? नेपालीहरूको बुद्धि बाह्र वर्ष ढुंग्रोमा राखे पनि बांगै। बरु यिनले ढुंग्रै बंग्याउन बेर छैन। नेताले खेल क्षेत्रमा ध्यान दिएनन् भनी यिनै कराउँछन्, अनि ध्यान दिए भने किन दिए भनी फेरि यिनै कराउँछन्। बरु अरु दलका शीर्ष नेताहरू पनि कीर्तिपुर आउनुपर्ने हो।
हाम्रा नेताहरूलाई पुस्तक र ज्ञानदेखि यति एलर्जी छ कि उनीहरू विश्वविद्यालय जान त के, त्यसको बाटो भएरसमेत सकभर हिँड्न नपरोस् भन्ठान्छन्। खेलकुद, कला, साहित्य, संगीत, विद्या आदिमा सम्पन्न देश साँचो अर्थमा धनी हो। त्यस्तो सम्पन्न देशमा जन्मिन नपाएकोमा कुकुर भइकन पनि मलाई खेद छ।
यहाँका मानिसहरू सगरमाथा, लुम्बिनी, गोर्खालीको धाक लाउँछन्। गुणगान गाए भने मरेका मान्छेको मात्रै गाउँछन्। बाँचेकाजति सबै कुकुर हुन् भन्छन्। यिनलाई थाहै छैन, हामी कुकुरको उछित्तो काढ्ने नाममा यिनले आफ्नै बेइज्जती गरिराखेका छन्।
नेपालीहरू साँचो अर्थमा राष्ट्रियताका पहरेदार हुन नसके पनि हामी कुकुरहरू घरका कुशल पहरेदार भएर युगौंदेखि सेवा गरिरहेका छौं। कतिपय नेताका घरमा हामी चौकीदारी गरिरहेका हुन्छौं, तर हामीले जति भुके पनि विदेशीहरू तिनका घरमा आरामले पस्छन्, बस्छन्। जुन बेला पहरेदारी गर्नुपर्ने हो, त्यही बेला चाहिँ नेताहरू हाम्रो घाँटीमा सिक्री बाँध्छन्। तिनका पिएहरू पनि हाम्रो घाँटीमा सिक्री बाँधेर हामीलाई चूप लाग्न इशारा गर्दै राष्ट्रियताबारे चर्को विज्ञप्ति लेखिरहेका हुन्छन्। तर मान्छेले हामीलाई जति धोका दिए पनि डल्पि्कनपछि सर्वाधिक मानवप्रेमी हामी कुकुर नै हौं। मैले यो कुरा इन्टरनेटबाट थाहा पाएको हुँ। हिजोआज त साइबर क्याफेमा नपसेको पनि धेरै भयो। गोजीमा फुट्टी नभएपछि हुति नै गायब हुँदो रहेछ।
***
मलेसियाको ब्याट्सम्यान यसो के आँट्दैथियो। मलाई अचानक सनक चढ्यो। मैदानमा छिरिहालें। बेरोजगार जाने भनेको मलेसिया हो। जब मलेसिया नै मैदानमा आइसक्यो, म गएर एकपल्ट किन नभेटुँ? उनीहरूसँग मैले सिधै जब् एप्लाई गरें भने बीचका दलालहरूबाट कमसेकम बचिन्थ्यो। मैले सिधा दिमागले सोचेको यत्ति हो।
कुरा गर्न खोज्दैथिएँ, विकेटकिपर सुवास खकुरेलले लखेट्न खोजे। म के तर्सिन्थें। एकपल्ट क्याप्टेनसँगै कुरा गर्नुपर्यो भनेर अघि बढेको, पारस खड्काले त बालै दिएनन्। यी पनि त्यति काम लाग्ने 'पारस' होइन रहेछन्। पारस शाहले रुबेल चौधरी हप्काएको शैलीमा यिनले मलाई हप्काएको फुटेज खिचेर एउटा टिभीले प्रसारण गरेछ। थाहा छैन, हामी कुकुरहरूको हैसियत बढेको कि, टिभी च्यानलहरूको हैसियत घटेको हो।
मलाई सबै धुर लागेर लखेटे। वैदेशिक रोजगारीमा जाने मेरो सपनाको प्राणपखेरु कीर्तिपुर मैदानमा उड्यो। म फेरि सडकछाप भएँ। यो प्रमाणपत्र लेमिनेशन गरेर बोकेको कति दिन भइसक्यो। आन्द्रा चुडिँने गरी भोक लाग्छ, कुइँकुइँ पेट कराउँछ। के गर्नु, प्रमाणपत्रले खान दिँदैन। मर्न पनि नसकिँदो रहेछ। फत्तेमानको गीत बेकार हो, 'मर्न बरु गाह्रो हुन्छ तिम्रो माया मार्न सक्दिनँ।' होइन, म सबथोक माया मार्न सक्छु, मर्न सक्दिनँ। बेरोजगार भएकैमा मलाई छाडेर जाने त्यो कुकुर्नीका अघिल्तिर मैले केही गरेर देखाउनु छ। बहिर्गमनमा परेको लडाकुजस्तो अयोग्य कुकुर होइन म। कमसेकम मलाई यो देशको शिक्षाप्रति अझै विश्वास छ। कसैले बुर्जुवा शिक्षा भन्दिदैमा मैले बहिष्कार गरिनँ। दुईचार क्लास त्यही कुकुर्नीका नाममा बंक गरें हुँला। अब त्यसको न हिसाब, न किताब। कलेजमा म सधैं ब्याक बेन्चर थिएँ, तर ब्याक पेपर बोक्नुपरेन। त्यसै आउँछ फस्ट डिभिजन? अहिले पो बेरोजगार भइयो। मेरो दिमाग तिखो छ भनेर चाट्न आएकी थिई। गई, अब ऊ इतिहास भई। यो कुरो ननिकालुँ भन्यो, कत्ति आउँछ। लभ भनेको यस्तै रहेछ, छाडिजाने कुकुर्नीको याद आइरहँदो रहेछ, खराब सपनाजस्तै।
प्रेम छुटेको धेरै दिनपछि लाउडा एक्सप्रेस चढेर रत्नपार्क जाँदैगर्दा एक दिन ऊ पनि उही सिटमा परी। रिस निक्कै उठेको थियो, केही बोलिनँ। कन्डक्टर आएर चेक गर्दा मेरो कार्डको डेट सकिइसकेको पत्तो लायो। साफ हकार्योथ, 'साले कुकुर, हामीलाई झुक्याउन खोज्छस्? म पनि आठ किलास पढेको मान्छे हुँ।'
परेन फसाद? पूर्वप्रेमिकाको नाकैअघिल्तिर मेरो बेइज्जत गर्योी। कुइँ कुइँ कराउनुसिवाय मैले केही गर्न सकिनँ। मान्छेको घ्राणशक्ति पनि हाम्रोजस्तै तिखो हुँदोरहेछ। कसरी ठ्याक्कै सुँघ्न सकेको- नक्कली कार्ड र सक्कली कुकुरलाई!
म त्रिपुरेश्वरमै उत्रिएँ। हिँडेर रत्नपार्क जाँदैगर्दा अहिले एनसेलको विज्ञापन भएको ठाउँमा लेखिएको थियो, 'नेपालमा आज पनि साठी हजार मानिसले खुला ठाउँमा हगे।' त्यो लेखेकै ठाउँमा एउटा मान्छे खुट्टो उचालेर पिसाब फेर्दैथियो। मलाई जिस्क्याएको जस्तो लाग्यो। रिसको झोंकमा क्याप्पै टोकिदिएँ। त्यसपछि त सबैले घेरा हाले। छेउको अस्पतालमा लगेर जबर्जस्ती रेबिजको सुई हान्दिए। पछि थाहा भयो- जसलाई टोकें, उसको खुट्टै त्यस्तो रहेछ।
युरोपको साहित्य सबै पचाइयो, उग्राइयो। यहीँका लैनसिंह बाङ्देलले लेखेको 'लंगडाको साथी' पढेको भए यस्तो भोग्नुपर्दैनथ्यो। अनुभव भनेको नेपाली किताबबाट पनि आउँछ भन्ने सत्य बिर्सेर विदेशी साहित्यको पछि नकुदेको भए यस्तो दुःख पाउनुपर्दैनथ्यो मैले।
मलेसियासँगको खेलमा मलाई मैदानभित्रै ह्युमिलिएट गरेपछि सेमिफाइनल र फाइनल हेर्न म गइनँ। केटाहरूले युएईलाई त सजिलै पछारे। तर फाइनलमा तिनका दाँतबाट पसिना आएको मैले देखिहालें। हामी कुकुरहरूलाई अति गर्मी भयो भने जिब्रोबाट पसिना आउँछ। मान्छेलाई अति भयो भने छाला होइन, दाँतबाट पसिना आउँदो रहेछ।
ट्वीटेहरू पनि सत्र काम छाडेर ट्वीट गर्न बसेका थिए। तिनको गति हेरुम् न। टिभीअघिल्तिरका ट्वीटेहरू लाइभ हेर्नभन्दा ट्वीट गर्न व्यस्त देखिन्थे। खुब, तलबै आउनेजस्तो। धेरै ट्वीट गर्नेलाई पनि गोल्छाले बाइक राख्लान्जस्तो लाग्यो होला तिनलाई।
मच्चिँदै ट्वीट गर्नेहरू जब नेपाल हार्लाजस्तो भयो, त्यसपछि त भए-नभएका देउता भाक्न थालिहाले नि। हे मनकामना, हे बागेश्वरी, जयपशुपतिनाथ, जय गुह्येश्वरी, जय दक्षिणकाली माता रे। मलाई चाहिँ फाइदै भयो, बिर्सन लागेका भगुमान पनि ट्वीटेले गुहारे। मेरो लोकसेवाको आधा तयारी यस्सै पुरा भयो।
***
एमएको कोर्समा मैले जर्ज बर्नाड शा पढेको थिएँ। प्राध्यापक यस्ता थिए, जे पढाउनुपर्ने हो, त्यसको शीर्षक बोर्डमा लेख्थे। अनि पृथ्वीको उत्पत्तिदेखि लेक्चर सुरु गर्थे। मूल विषयमा कहिल्यै आइपुग्दैनथे। कहिलेकाहिँ पिरियड सकिने बेला भन्थे, 'सरी है, म झुक्किएर अर्कै क्लासमा आइपुगेछु।'
भएन बर्बाद?
त्यही पनि गुरुले केही ठूलै कुरा भनिरहेका होलान् भनेर खुब लेक्चर सुनियो। तिनले बर्नाड शाको 'द एप्पल कार्ट' पढाए। शाका बारेमा तिनले सबैथोक भने, एप्पल कार्टबाहेक। सरहरू पनि ठिस नै भइसके। नभन्नुपर्ने सबै भन्छन्, भन्नुपर्ने क्यै भन्दैनन्। तिनले बर्नाड शाको भनाई उदधृत गरे, 'क्रिकेट यस्तो खेल हो, जो मुर्खहरू खेल्छन्, महामुर्खहरू हेर्छन्।' क्रिकेट हेर्ने पनि महामुर्ख रे। लगानी नै नगरेको क्षेत्रबाट अनपेक्षित प्रतिफल हात पार्न थालेको नेपालका दर्शकले भने शालाई ललकारे, 'पर्ख बुढा, पहिले क्रिकेट हेर्ने महामुर्ख हुन्थ्यो, अब नहेर्ने महामुर्ख हुन्छ।'
त्यही भएर मैदानमै नपसे पनि म नियमित र्कीर्तिपुर गइरहेको छु। मलाई महामुर्ख हुन मञ्जुर छैन। बरु सधैंभरि कुकुर भइरहन मञ्जुर छ।
Nagarik, Akshyar Chait 24, 2069
No comments:
Post a Comment