Tuesday, April 23, 2013

कम्युनिस्टहरू 'नरकको बाटोमा'

बसन्त बस्नेत, काठमाडौं, वैशाख १० - वामनेता तथा बुद्धिजीवीले नेपालका कम्युनिस्टहरू 'स्वर्गको गन्तव्य तय गरेर नरकको बाटो हिँडिरहेको' आरोप लगाएका छन्।
पार्टीगत स्वार्थमा विभाजित हुने र पछि मूलबाटो नै बिर्सने रोग कम्युनिस्ट पार्टीहरुमा झ्यागिंएको उनीहरुको टिप्पणी छ।

नेपाल कम्युनिस्ट पार्टीको ६५औं स्थापना दिवसका अवसरमा वामविचारकहरुको संस्था 'आजको मार्क्सवादी विमर्श' ले सोमबार राजधानीमा गरेको अन्तर्क्रियाका वक्ताले कम्युनिस्ट विचारधारा सबै दलले बाटो बिर्सेकोमा चिन्ता जनाए।
ठूला कम्युनिस्ट पार्टीहरुमा सैद्धान्तिक धरातल कमजोर भएको जिकिर गर्दै उनीहरुले नयाँ पार्टी बन्नसक्ने छनकसमेत दिए। 'संकट त पहिले पनि थियो, तर क्रान्तिको सपनाले ऊर्जा दिन्थ्यो,' एकीकृत माओवादी नेता राम कार्कीले शिर निहुराए, 'आज तिनै सपनाहरुको हत्या भइरहेको छ, नेपाली कम्युनिस्टमा अहिले अभूतपूर्व संकट छ।'
'जनयुद्ध' गरेका नेताको व्यवहार परिवर्तन भएकोमा उनको गुनासो छ। 'उहाँहरुको हिजोआजको व्यवहार देख्दा यस्तो लाग्छ, मानौं समाजमा वर्गविरोध नै छैन, हामी कुन वर्गविरुद्ध लड्दैछौं, थाहा छैन।'
एमाले नेता भूसालले एक दशकअघि निकालेको नेपाली समाजको अवस्थाबारेको निष्कर्षले सबै कम्युनिस्ट पार्टीलाई आफ्नो स्थिति स्पष्ट गर्न बाध्य पारेको कार्कीले सकारे। नेपाली समाज अर्धसामन्ती अर्धउपनिवेशी रहेको भनी पुष्पलालले गरेको व्याख्या भत्काउँदै भूसालले नेपाली समाज दलाल पूँजीवादमा रुपान्तरण हुँदैगरेको जिकिर आफ्नो पुस्तकमा गरेका थिए। एमाओवादीको हेटौडा महाधिवेशनले भूसालको सोही व्याख्यालाई पर्याप्त छलफल नगरी अनुमोदन गरेको भन्दै कार्कीले थपे, 'एमाले भने भूसालको विचारको न त स्वामित्व लिन्छ, न त खण्डन नै गर्छ। एमाले त वैरागिएर बसेको छ।'
एमाओवादीले जातीय नारा चर्काएर वर्गीय नारा ओझेल पारेको भन्दै कार्कीले रोष प्रकट गरे। भारतमा जगजीवन रामलाई मन्त्री बनाएर त्यहाँका दलितलाई राज्यले ५० वर्ष पछि धकेलेको इतिहास कोट्याउँदै उनले भने, 'यहाँ पनि मधेस, जनजाति र दलितभित्रका धनीमानीलाई अघि लगाएर गरिबको मुद्दा बिर्सन खोजिएको छ, यो घातक छ।' मधेसवादी दलसँग पार्टीले मोर्चाबन्दी गरेकामा उनले आपत्ति जनाए। भ्रष्टाचारको विरोध गरेमा आफ्नै पार्टीका नेता हाँस्ने गरेको उनले खुलाए।
एमाले नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुमा आत्मसमीक्षाको कमी औंल्याए। '५४ प्रतिशत मत पाएको एमालेे छँदै माओवादीले कसरी विद्रोह चर्काउन सक्यो भन्ने एमालेले सोच्दै सोचेन,' भुसालले भने, '८० प्रतिशत सत्ता जितेको दाबी गर्ने माओवादी पनि किन यो बिजोग भोग्नुपरिरहेको छ भन्नेतिर घोत्लिएन।'
एकीकृत माओवादी पार्टीमा भ्रष्टाचार मौलाएको अध्यक्ष पुष्पकमल दाहालले स्विकारे पनि कारबाही गर्न नसकेकोमा भुसालले व्यंग्य कसे, ' उनकै दलका नेता अमिक शेरचनको छानबिन कमिटीले एउटै भ्रष्टाचारी फेला पार्न सकेन।' एमाले भोटको गोलचक्करमा फसेको उनको आरोप थियो। 'एमाले स्वर्गको ठेगाना खल्तीमा राखेर नरकको बाटो हिँडिरहेछ,' उनले कटाक्ष गरे।
संयुक्तका नेता विष्णुबहादुर मानन्धरले मुद्दाहरुमा सैद्धान्तिक एकता भयो भने साइनबोर्ड झुन्ड्याउनकै लागि दल राखिराख्ने पक्षमा आफू नरहेको बताएका थिए।
विमर्शका संयोजक मुमाराम खनालले नेताहरुका कुरा राम्रा भए पनि सम्बन्धित दलमा दह्रो गरी राख्न नसकेको टिप्पणी गरे। 'कि त आफ्नो दललाई ठिकठाक पार्नूस्,' उनले भने, 'नत्र नयाँ पार्टी खोल्नूस्।'
विमर्शले भिन्न दलका नेतालाई एउटै मञ्चमा उभ्याएको नेत्री रामकुमारी झाँक्रीले बताइन्। 'सामाजिक इतिहासका लागि ६५ वर्ष थोरै होला, व्यक्तिको जीवनका लागि भने धेरै हो,' उनले भनिन्, 'भिन्न दलका नेताहरुलाई एउटै मञ्चमा उभ्याएर इतिहासको समीक्षा गरेका हौं।'
कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले 'संसारभरिका मजदुर एकजुट बनाउने' भन्दै लेखेको कम्युनिस्ट घोषणापत्र पछ्याउँदै नेपालमा ६४ वर्षअघि पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना भएको हो।
मजदुरलाई एकजुट हुन आह्वान गर्दै त्यसयता दर्जनौं कम्युनिस्ट पार्टी बन्ने र फुट्ने क्रम जारी छ। लम्बेतान भाषण र परस्पर गालीगलौज गर्दै पार्टी स्थापना दिवस मनाउने परम्पराबीच विमर्शले नयाँ परम्परा सुरु गरेको जनाएको छ।
'नेपालका सन्दर्भमा मार्क्सवादी विमर्श' शीर्षक बहसमा सशस्त्र द्वन्द्वका घाइते गंगा लामालाई मियो बनाइएको थियो।
Tuesday, 23 April 2013 09:31 नागरिक

No comments:

Post a Comment