Monday, November 17, 2014

गणेशमान जागेका बेला

-२०४६ चैत १६ गते ।वीर अस्पताल । पहिलो तला । कोठा नम्बर १४ ।

जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह साँझको मधुरो उज्यालोमा बसिरहेका थिए । कोठाको दक्षिण र पूर्वपट्टकिा ठूला झ्यालबाट उज्यालो द्रुत गतिमा हराउँदै गइरहेको थियो । बत्ती बाल्ने बेला भइसकेको थियो, तर गणेशमानले बत्ती नबाल्नु भनेर आफ्ना सहयोगीलाई भनेका थिए । किनभने, सात बजेदेखि ब्ल्याकआउट (बत्ती निभाउने कार्यक्रम) सुरु हुनेवाला थियो ।

सात बज्न केही मिनेट बाँकी नै थियो । बाहिर निस्कन र सार्वजनिक समारोहमा उपस्थित हुन रोक लगाइएका गणेशमानले अरू केही नसके पनि आफ्नो कोठाको बत्ती अरूले भन्दा पहिल्यै निभाएर ब्ल्याकआउट थाल्ने निर्णय गरे ।

जापानी पत्रकार कियोको ओगुराले लेखेको 'जनता जागेका बेला' पुस्तकबाट माथिको प्रसंग उद्धृत छ । गणेशमान र उनको पुस्ताले लडेको २००७ सालको क्रान्ति सम्झाउने दिन अर्थात् ०४६ फागुन ७ बाट जनआन्दोलन सुरु गरिएको थियो । बिस्तारै आन्दोलनको ज्वरो ओर्लंदै जान थालेपछि कांग्रेस र वाममोर्चाले हरेक घरका जनता जगाउने उपायको रूपमा 'ब्ल्याकआउट' रोजेका थिए । गणेशमानले नजरबन्दमा बस्नुभन्दा बिरामी भएको नाटक गरी अस्पताल बसे सहरको चहलपहलसँग अभ्यस्त हुन पाइने परिपञ्च रचिएको थियो । त्यसैबमोजिम उनी पत्नी मंगलादेवीसहित चैत १४ गते वीर अस्पताल भर्ना भइदिएका थिए । यसका रणनीतिकार थिए, उनका धर्मछोरा पीएल सिंह, जसले गणेशमानका अतिशय अप्ठयारा दिनहरूमा उनको र सिंगो परिवारको भरथेग गरिदिएका थिए । मंगलादेवीले आफ्नो पुस्तक 'नारी संघर्षका पाइलाहरू' को आखिरी पृष्ठमा लेखेकी छन्, 'एउटा पीएल नहुँदो हो त हामी बूढाबूढीको सायद पहिल्यै मृत्यु भइसक्थ्यो !'

-नागरिक अगुवा देवेन्द्रराज पाण्डेलाई बन्दी अवस्थामा रहेकै बेला संकटकालीन अवस्थाको मन्त्री पद खाइदिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आग्रह गरे । पाण्डेले ठाडै नकारे । भलाद्मी स्वभावका पञ्च प्रधानमन्त्री चन्दले मन्त्री नखाइदिए पनि एकपटक गणेशमानसँग राजा वीरेन्द्र र आफ्नो भेट गराइदिन आग्रह गरे । पाण्डेले भने, 'वार्ता गर्ने तपाईंको कुरा मलाई त स्वीकार्य भएन भने गणेशमानजीले के मान्नुहोला ? तैपनि म सन्देश पुर्‍याइदिउँला ।' वीर अस्पतालको वार्डमा पुगेर पाण्डेले चन्दको सन्देश के सुनाएथे, गणेशमान गर्जे, 'बहुदलीय व्यवस्था स्थापना भएको घोषणा सार्वजनिक नगरुन्जेल म राजालाई भेट्दै भेट्दिनँ । प्रधानमन्त्रीसँग पनि कुरा गर्दिनँ ।' रोचक कुरा, पाण्डेले गणेशमानको आँधीसरी प्रत्युत्तर के सुनाएथे, अघिसम्म मन्त्री खाइदिन अनुनय गर्ने प्रधानमन्त्रीले उनलाई फेरि जेल फर्काइदिए ।



  -वीरमा कांग्रेसका तीन नेता भेटेर आएकी वाममोर्चा अध्यक्ष सहाना प्रधानले भनिन्, 'कांग्रेसका नेताहरू केही कुरा लुकाइरहेका छन् । तिनको ध्याउन्न केवल राजासँग भेट गर्ने जस्तो छ । हामीसँग सल्लाहै नगरी सरकारी प्रस्तावमा पूर्ण सहमति जनाएको जस्तो छ । किशुनजीले त टिभीलाई अन्तर्वार्ता नै दिइसक्नु भएछ ।' गणेशमानले अडान छाडेका थिएनन् । २००७ सालमा दिल्ली भागेर गएका राजा फर्काएर गद्दीमा बसाउने कांग्रेसका यी संस्थापक त्यसै वर्षयता दरबारले पटक-पटक दिएका धोकाधडीका जीवित साक्षी थिए । जनआन्दोलनको अवधिमा सडकमा धेरै खुन बगिसकेको थियो । वाममोर्चाका राधाकृष्ण मैनाली कांग्रेस नेताहरूसँग खनिए, 'सरकारी प्रस्तावमा पञ्चायतका अंगहरू भंग गर्ने कुरा परेको छैन । हामी यस्तो अधुरो प्रस्ताव मान्न तयार छैनौं । किन हामीसँग सल्लाह नगरी तपाइर्ंहरू आफूले मात्रै राजासँग भेट्ने निर्णय गरेको ?' त्यतिन्जेलसम्म कांग्रेस र कम्युनिस्टको दोहोरो भनाभन चुपचाप सुनिरहेका गणेशमान बोले, 'वाममोर्चाका साथीहरूले भनेको कुरा ठीक हो । तपाइर्ंले पनि राजासँग कम्तीमा पनि राष्ट्रिय पञ्चायत भंग गर्ने माग राख्नुपर्छ ।'
ओगुरा लेख्छिन्, वाममोर्चालाई खबरै नगरी दरबारसँग वार्ता गर्न गएका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईसँग सर्वोच्च नेताको वचन स्वीकार्नु बाहेक अरु उपाय थिएन ।
- जनआन्दोलनको सफलतापछि ०४७ वैशाख २ गते पञ्चायतका अन्तिम प्रधानमन्त्री चन्दले दरबारमा राजीनामा चढाए । उत्तिखेरै पञ्चायतका सम्पूर्ण संयन्त्र विघटनको घोषणा भयो । त्यसै दिन राजा वीरेन्द्रले गणेशमानलाई दरबारमा बोलाएर प्रधानमन्त्री भइदिन अनुरोध गरे । राजादेखि जनता बन्ने प्रक्रियामा रहेका प्रजा समेतलाई स्तब्ध पार्दै गणेशमानले स्वास्थ्य कारण देखाएर प्रधानमन्त्री पद अस्वीकार गरे । सट्टामा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरे । मुखैमा आएको प्रधानमन्त्री पदसमेत उनले त्याग गरेको खबर विश्वभर आगोसरि फैलिएको सम्झन्छन्, गणेशमानसँग लामो समय सँगसँगै हिँडेका फोटो पत्रकार मीन बज्राचार्य ।


जेलफोर हीराकाजी

अति सामान्य भइदिनु नै राजनीतिमा कहिलेकाहीँ असामान्य घटना बन्न पुग्छ । हीराकाजी भनेर चिनिने तिनै गणेशमान कालान्तरमा असामान्य रूपमा सामान्य व्यक्ति बन्नपुगे । काठमाडौंका कुलिन बडाकाजी रत्नमानका नाति सानो छँदा सुखसयल गर्दै हुर्किए । उनको परिवार राणाशासनको 'गुडबुक'मै थियो । पुख्र्यौली खाइपाइ आएको डिठ्ठा, सुब्बा, बडाकाजीजस्ता पदलाई ललकार्दै उनी १९९७ सालदेखि नै राणाशासनको विरोधमा उत्रिए । जेलनेल खपे । बडाकाजीको नाति भएकाले फाँसीको फन्दाबाट उनलाई बल्लतल्ल उम्काइयो । पहलमान गणेशमानले जेलभित्रै कुटाइको प्रतिरोधमात्रै गरेनन्, उल्टै राणाका सिपाहीलाई कुटे । सानोमा मिठो खानुपर्ने, राम्रो लगाउनुपर्ने स्वभावका उनी जेलमा गएपछि इँटाको सिरानी लगाएर सुत्ने अभ्यास गर्न थाले । कठोर जीवनशैली अपनाए । एक रात उनी जेलका सिपाही र बाहिर गस्ती गर्ने रमनलाई चक्मा दिँदै डोरीमा झुन्डिएर १२ फिट अग्लो जेलको पर्खाल नाघ्दै भागे । उनको आत्मकथा 'मेरो कथाका पानाहरू'मा यसको रोचक वर्णन पढ्न पाइन्छ ।
गणेशमान 'कृष्णबहादुर प्रधान' छद्मनाममा लुक्दै-छिप्दै भारत पुगे । दोस्रो विश्वयुद्धको मध्य समय चलिरहेको बेला एयर फोर्समा भर्ना भए । उनकै शब्दमा 'हावामा उड्ने सपना त्यागेर' जमिनमा ओर्ले । बीपी कोइराला, सुवर्णशमशेर लगायतसँग भेटे । नेपाली राष्ट्रिय कांग्रेस हुँदै नेपाली कांग्रेसको संस्थापक बने । बीपीसँग जीवनभर राय बझाइरहे, तर कहिल्यैसाथ छाडेनन् । मेलमिलाप नीति लिएर स्वदेश र्फकनेदेखि पञ्चायती सरकारको सुविधा अन्तर्गत जनमत संग्रहमा भाग लिने बीपी निर्णयको आलोचना गरे, तर बीपीको संकल्पलाई असहयोग गरेनन् । आफूलाई सधैं 'लो प्रोफाइल'मा राख्न चाहे । ती मध्ये माथिका केही घटना हुन्, जसमा अति सामान्यताको अभ्यास गर्न खोजेकैले उनी अरुभन्दा अग्ला बने । 'गणेशमानजी सिंहदरबारको भित्तामा प्रधानमन्त्रीको फोटो भएर झुन्डिने रहरभन्दा माथि उठ्नुभयो,' उनीसँग संगतमा रहे मध्येका एक कूटनीतिज्ञ जयराज आचार्य भन्छन्, 'त्यसैले त आज उहाँ सालिक हुनुभयो ।'
क्रान्तिको बारेमा जोशिलो निबन्ध लेख्न सजिलो छ, तर स्वयम् क्रान्ति गर्नचाहिँ गाह्रो । गणेशमानले एउटा होइन, दुइटा निर्णायक लडाइँको मोर्चा सम्हालेका थिए- २००७ सालमा, २०४६ सालमा । 'आफूलाई चुट्ने राणाहरूप्रति बदलाका लागि उहाँ लड्नुभएको थिएन, स्वाभिमानको लागि लड्नुभएको थियो,' पीएल सिंह भन्छन्, 'पञ्चायतको विरोध पनि राजासँग प्रतिशोधको भावनाले गर्नुभएको थिएन, प्रजातन्त्र ल्याउनका लागि लड्नुभएको थियो ।'
सात सालको क्रान्तिपूर्व नै जादुयी छवि बनाइसकेका जेलफोर गणेशमानबारे अनेक किस्सा प्रचलित थिए । त्यस्ता कहानी बीपी स्वयम्ले सुनेका रहेछन् । यसबारे 'आत्मवृत्तान्त'मा रमाइलो पाराले चर्चा गरेका छन् । भारतको स्वतन्त्रता संग्राममा समेत योगदान दिएका बीपीको व्यक्तित्वले सबैलाई खिच्ने नै भयो, उनलाई पनि खिच्यो । कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय लगायत सबै कोइरालाको सर्वज्ञानी, सर्वग्राही करिस्माका अघि नतमस्तक थिए । गणेशमानले पनि बीपीभन्दा भिन्न देखिने उपक्रम गरेनन्, बरु मतान्तरबीच बीपीकै मान्यतालाई अपनाइरहे ।
बीपीले त 'फेरि सुन्दरीजल' जेल संस्मरणमा लेखेका नै छन्, 'जीएम -गणेशमान) कोइरालाहरूको चलनमा घुलमिल हुनुभएको छ र विस्तारै आफैं कोइरालाझैं बन्न पुग्नुभएको छ । कोइराला कुनै परिवारको नाम होइन । यो एउटा मनोवैज्ञानिक, नैतिक र आध्यात्मिक चिज हो । यो जीवनको एउटा दृष्टिकोण हो (पृष्ठ -९) ।' तिनै बीपीले 'आत्मवृत्तान्त'मा भनेका छन्, 'गणेशमानजीको नाम लिँदा त यहाँका मानिसहरूले भनेका छन्, 'त्यो त मूर्ख मान्छे हो । मलाई यस्तै कुराले यहाँका बुद्धिजीवी र पैसावाल मान्छेहरूदेखि विरक्ति लाग्छ (पृष्ठ -८२ र ८३) ।

कम्युनिस्टसँग सहकार्य
बीपी बितेसँगै गणेशमानले उनको संकल्पलाई अघि बढाए, तर नयाँ शिराबाट । कांग्रेसले थालेको सत्याग्रहलाई पञ्चायतले निर्मम दमन गरेपछि उनले बीपीको वर्जनामा पर्दैआएका कम्युनिस्टसँग पहिलोपल्ट हात बढाए । उनको यही विवादास्पद निर्णयले नेपाली राजनीतिको मानचित्र बदलिदियो । सँगै उनलाई आरोप पनि आइलाग्यो, गणेशमानले पुट नदिएको भए कम्युनिस्टहरू राज्यसत्तामा यसरी हावी हुनसक्ने थिएनन् । आचार्यका भनाइमा दरबारले खेलेको धोकाधडीका भुक्तभोगी गणेशमानले कम्युनिस्टसँग मोर्चाबन्दी गरेर ठिकै गरेका थिए । 'त्यसबेला पश्चिमा राष्ट्रहरू कांग्रेस-कम्युनिस्ट सहकार्यको विरोधमा थिए । राजा पहिलेभन्दा उदार बनेको तर्क गर्दै लचकता देखाउने पालो कांग्रेसको भन्दै लबिङ गर्दै थिए,' आचार्य भन्छन्, 'तर गणेशमानले अन्तरआत्माको कुरामात्रै सुन्नुभयो । कसैलाई मतलब गर्नुभएन ।'
सिंह पनि आचार्यको भनाइमा सहमति जनाउँछन् । 'कांग्रेस एक्लै लडेर प्रजातन्त्र आउने होइन, सबै लड्नुपर्छ भन्नुहुन्थ्यो,' उनी भन्छन्, 'उहाँले कम्युनिस्टसँग मात्रै सहकार्यको कुरा गर्नुभएको थिएन, प्रजातन्त्रको लडाइँमा आउन चाहने जोकोहीलाई हात दिने नीति लिनुभएको थियो ।'
फोटो पत्रकार बज्राचार्य सम्झन्छन्, 'त्यो बेला गिरिजाप्रसाद कोइराला दरबारसँग सम्झौता गर्ने विन्दु खोजिरहनुभएको थियो । जब गणेशमानले यो कुरा थाहा पाउनुभयो, कोइरालालाई हकार्नुभयो, 'यस्तो पनि गर्ने हो ? त्यसो हो भने आन्दोलनबाट बाहिर निस्किनुस्, म मनमोहन अधिकारीजीहरूसँग कुरा अघि बढाउँछु ।' त्यसपछि मात्रै कोइराला पछाडि हट्नुभयो ।'
तताण पार्टीभित्र आक्रोशको सामना गर्नुपरे पनि 'लौहपुरुष'को यही फलामे अडानले ३० वर्षसम्म झोलुंगामा हल्लिरहेको राजा र रैतीको लडाइँ २०४६ को जनआन्दोलनमार्फत टुंग्यायो । २०४६ माघ ५ गतेदेखि तीन दिनसम्म गणेशमान निवास चाक्सीबारीमा विदेशी कूटनीतिज्ञ, नेता र सञ्चारमाध्यम समेत बोलाएर आयोजित कम्युनिस्ट-कांग्रेसको संयुक्त भेलाले जनआन्दोलनको शंखघोष गरेको थियो ।
गणेशमान इतरकांग्रेसीका समेत स्वीकार्य भए, सर्वमान्य नेता ।
अन्तरिम सरकारको नेतृत्व भट्टराईले गरे । गणेशमानले पछाडि बसेर एक वर्षभित्रै संविधान जारी गराउन र आमचुनाव गराउन नेतृत्वदायी भूमिका खेले । कांग्रेसले स्पष्ट बहुमत पायो । तर प्रधानमन्त्री प्रत्याशी बनेका पार्टी सभापति भट्टराई चुनाव हारेका थिए । खुला राजनीतिमा छाएको अति छोटो अवधिमै राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चा बटुलेका एमाले नेता मदन भण्डारीले उनलाई हराएका मात्रै थिएनन्, भट्टराई हार्नु पछाडि कसकसको केके खेल थियो, गणेशमान हेरिबसेका थिए । सिंह भन्छन्, 'उहाँले जुन मूल्य-मान्यता स्थापित गर्न खोज्नुभएको थियो । कांग्रेसको सत्तारोहणपछि त्यसको अवमूल्यनमात्रै भइरहेको थियो ।'
कांग्रेस छाडे
नभन्दै पाँच वर्षको मतादेश पाएको कांग्रेस मध्यावधि चुनाव आहान गर्ने अवस्थामा पुग्यो । बज्राचार्यका अनुसार ७६ र ३६ मा बाँडिएका कांग्रेस नेताको लक्षण हेरेर गणेशमान अघाउन थालिसकेका थिए । 'मुखले सर्वमान्य नेता भन्ने, तर मान्नचाहिँ कसैले नमान्ने,' गणेशमान दिक्क मुद्रामा भन्ने गर्दारहेछन् । अन्ततः आफूले रोपेको, गोडेको, मलजल गरेर हुर्काएको कांग्रेस अवसादपूर्ण मुद्रामा परित्याग गरे ।
ढिलो-छिटोको कुरा हो, अर्का संस्थापक भट्टराईले पनि परित्याग गरे । इतिहासको उचाइ चुमिसकेका दुई 'त्यागी' संस्थापकले अन्ततः किन पार्टी नै त्यागेर हिँड्नुपर्ने अवस्था आइपर्‍यो त ? नवीन्द्रराज जोशी यसलाई 'नियति' भनी संकेतमा अथ्र्याउँछन् । उनका अनुसार गिरिजाप्रसादले खुलामञ्चको भाषणमा 'उहाँलाई मैले दाजु (बीपी) कै हैसियतमा मानेको छु भनेका थिए, यथार्थ त्यस्तो भएन । अग्रज दुई नेताको सक्रिय राजनीतिक जीवनबाट त्रासद अवकाश नै कोइरालाका लागि राजनीतिको मैदान खाली भएको संकेत थियो । सम्झनुपर्ने के छ भने कोइराला जीवनको अन्तिम श्वास लिँदासम्म पार्टी सभापति नै थिए ।
'गणेशमान आत्मकेन्दि्रत हुनुहुन्नथ्यो,' बज्राचार्य सम्झन्छन्, 'पार्टी सरकारमा गएका बेला कसरी आर्थिक परिवर्तन ल्याएर जनताको जीवनस्तर सुधार्न सकिन्छ भनेर छलफल गरिरहनुहुन्थ्यो ।'
बीपी आफ्नो समयमा गणेशमानलाई औधी मान्थे । केआई सिंहले विद्रोह गरेको समय सम्भ“mदै बीपी 'आत्मवृत्तान्त'मा भन्छन्, 'गणेशमानजीको भूमिका मध्यमार्गी किसिमको थियो । पार्टीका साथीहरू गणेशमानजीलाई पत्याउँछन्, अरुलाई पत्याउँदैनन् । केआई सिंहहरूसमेत गणेशमानजीलाई पत्याउँछन् । मेरो खिलाफमा जुन दोषारोपण छन्, उहाँको खिलाफमा छैनन् ।
यो उहाँको राजनीतिक सतर्कताको उदाहरण हो (१७९) ।'
इन्दिरा गान्धीको हेपाहा व्यवहारबाट वाक्क भएर बीपी बरु राजाको बन्दी भएर स्वदेशमै बस्ने भन्दै र्फकने निर्णय लिए । 'मेलमिलाप नीति' नामक त्यो घोषणाप्रति गणेशमानले बागी मत राखे । बीपीले राजा वीरेन्द्रको जनमत संग्रह घोषणालाई प्रजातान्त्रिक अभ्यास मान्दै सकार्नुपर्ने बताए । गणेशमानसिंहले प्रतिवाद गरे, 'कसरी प्रजातान्त्रिक अभ्यास भयो ? त्यसो हो भने दुवै पक्षले समान हैसियतमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने होइन ? दौड सुरु हुनु पहिल्यै पञ्चायतले अघिल्लो पंक्तिमा पाइला राखिरहेको छ ।'
दुवै निर्णयमा असहमतिबीच गणेशमान बीपीसँगै सक्रिय भइरहे । जोशी भन्छन्, 'बीपीको विचारलाई तिखार्न गणेशमानजीको विचारको ठूलो भूमिका छ । बीपीको विचारलाई बीपीकै उचाइमा उभिएर आलोचना गर्नसक्ने मानिस त्यो बेला विरलै थिए, गणेशमानजी साहस गर्नुहुन्थ्यो ।'
२०४१ सालमा छापिएको 'संघर्ष किन' शीर्षक पर्चामा गणेशमानले लेखेका छन्, 'एउटै मात्र घोडा दौडाएर पहिला भएँ भन्नु कति ठूलो धोकाबाजी र मूर्खता हो ? सरकार जनताको रक्षक हुनुपर्नेमा भक्षक भइरहेको छ । त्यसैले संघर्ष आज हाम्रो बाध्यता हुनगएको छ । हामीलाई भित्तासम्म धकेलिँदैछ । त्यसैले भावी संघर्ष प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तिम संघर्ष हुनेछ ।'
इतिहासका अग्रज र समकालीन नेताभन्दा उनको सोच बढी व्यावहारिक र अद्यावधिक थियो भन्ने जान्न यिनै सामग्री काफी छन् । उनले लिने अडानलाई उनले टेक्ने लौरोसँग प्रतीकात्मक भाषामा मानिसहरूले दाँजेको पाइन्छ । जस्तो, पञ्चायतका बेला हरिबोल भट्टराईलाई जनपक्षीय उम्मेदवार उठाएर उनले भनेका थिए, 'यो गणेशमानको लौरो हो । मैले प्रजातन्त्रको लागि उठाएँ ।' गणेशमान जीवित छँदै उनको नाममा अध्ययन प्रतिष्ठान खोलेर सम्मान दिएका जोशी भन्छन्, 'त्यो लौरो केवल टेक्ने लौरो थिएन, उहाँको लक्ष्य र अडानको प्रतीक थियो ।'
हरिबोलले चुनाव जिते । तिनै हरिबोल हिजोआज हिन्दु अधिराज्य माग्दै हिँडिरहेका छन् । जीवनको आखिरी समयमा 'पार्टीभित्र/बाहिरको बाहुनवादी संरचनाविरुद्ध लड्ने' उद्घोष गरेका गणेशमान आजपर्यन्त बाँचिरहेका भए त्यो 'टेक्ने लौरो'प्रति के टिप्पणी गर्थे होलान्, रामजाने ।
गणेशमान अध्ययन प्रतिष्ठानका अध्यक्ष जोशी प्रश्न गर्छन्, 'बीपीको विचारलाई गणेशमानजीले सधैं बोक्नुभयो, तर गणेशमानजीका मान्यतालाई चाहिँ बीपीले कुन दिन बोक्नुभयो ?'
पीएल रोष पोख्छन्, 'मतभेद हुँदाहुँदै पनि गणेशमानले बीपीसँग सहकार्य गर्नुभयो, तर बीपीले उहाँमाथि कहिले न्याय गर्नुभयो ?'
शान्ति र मानवअधिकारका लागि गरेको संघर्षका लागि 'संयुक्त राष्ट्रसंघीय मानवअधिकार पुरस्कार'बाट गणेशमान सन् १९९३ मा सम्मानित भए । त्यसैको अघिल्लो वर्ष नेल्सन मन्डेलाले पाएको त्यो विख्यात पुरस्कार नेपाली राजनेताले पाउनु ठूलो घटना थियो । ठूला त्यागहरूले निर्मित 'गणेशमान ब्रान्ड'मा सानातिना धब्बाहरू नलागेका होइनन् । पञ्चायतले योजना आयोग सदस्य बनाएका भतिजा दुर्गेशमानलाई बेल्जियमको राजदूत नियुक्त गर्न पहल लिएको भनी उनी विवादित भए । जोशी प्रतिरक्षा गर्छन्, 'हरेक मानिस आफैंमा व्यक्ति पनि हो । सीमा हुनसक्छन्, तर कुनै योग्य व्यक्ति नाता परेकैलेअनुपयुक्त भयो भन्ने तर्क ठीक हुँदैन ।'
त्यसो त संघर्षको दिनमा परिवारले सहयोग गरेको कुुराको खासै लेखोट राखिन्न । राजनीतिले त्यसको मूल्य तिर्नुपर्छ भन्ने तर्क झनै ठीक होइन । तर गणेशमानको व्यक्तित्व बन्न मंगलादेवीको योगदान कम थिएन भन्छन्,
फोटो पत्रकार बज्राचार्य र पीएल सिंह । तिनै मंगलादेवी हुन्, जो २००४ सालदेखि महिला आन्दोलनमार्फत प्रजातन्त्रको लडाइँमा होमिएकी थिइन् । गणेशमानसँग १९९४ सालमा उनको बिहे भएको थियो ।

त्याग, साहस र निरन्तर संघर्ष
कहिलेकाहीँ व्यक्तिको सम्पूर्णतालाई बनिबनाउँ परिभाषाहरूले बोक्न सक्दैनन् । इस्पातजस्तो संकल्प बाँचेको जीवनलाई एक लाइनमा व्याख्या गर्न लगाउनु धृष्टता हुनसक्छ । तै पनि सोधियो, 'आइरन म्यान'लाई एक वाक्यमा कसरी चिन्न सकिन्छ ?'
फोटो पत्रकार बज्राचार्य भन्छन्, 'अडान, त्याग र नैतिकताको त्रिवेणी हो, उहाँ ।'
पीएल सिंह भन्छन्, 'नैतिकतासहितको राजनीति, अडान र स्वाभिमान ।'
जोशी भन्छन्, 'निडर, देखेको कुरा स्पष्ट भन्ने, आफ्नो मान्यताका लागि कसैसँग मोलाहिजा नगर्ने ।'
त्यसलाई विस्तार गर्छन्, 'ब्रह्मले देखेको कुरा व्यक्त गर्न उहाँलाई कुनै शब्दको खोजी गर्नु पर्दैनथ्यो ।'
आचार्य त झन् सूत्रमै भन्छन्, 'त्याग, साहस र निरन्तर संघर्ष ।'
अर्थात् गणेशमान ।
२०५४ असोज २ गते काठमाडौंमा निधन भयो । स्वस्फुर्त निस्किएका मलामीको सागर कुनै नियोजित शक्ति प्रदर्शन थिएन । कुनै जनआन्दोलनभन्दा कम थिएन । भलै कमाण्डर बितिसकेका थिए ।
यो गणेशमानसिंहको जन्मशताव्दी वर्ष हो । अस्ति सोमबार उनी जन्मेको सय वर्ष पुग्यो ।
वीर गणेशमान र उनको पुस्ताले अर्पेको जीवनको मूल्यमा तपाइर्ं-हामी यो स्वतन्त्रता भोग गर्न पाइरहेका छौं ।
Kantipur Cover story on birth centenary of Ganeshman Singh. 

http://www.ekantipur.com/np/2071/7/29/full-story/398622.html

http://www.ekantipur.com/np/2071/7/29/full-story/398630.html

No comments:

Post a Comment