Monday, November 17, 2014

लेखक कारखाना

सिर्जनात्मक लेखनको बारेमा एउटा भनाइ छ- प्रतिभाशालीलाई सिकाउनु पर्दैन । अनि, प्रतिभा नभएको मानिसलाई जति सिकाए पनि काम छैन ।

विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहमा हिजोआज 'क्रिएटिभ राइटिङ' र 'क्रिटिकल रिडिङ/थिंकिङ' का कक्षा सञ्चालन हुने गर्छन् । नेपालमा यस्ता कक्षा हिजोआज विश्वविद्यालयबाहिर पनि चल्न थालेका छन् । 'क्रिएटिभ राइटिङ' का ती कक्षाले लेखन-लडाइँमा होमिन निश्चित सूत्र र सीप हस्तान्तरण गरेको सहभागीहरू बताउँछन् । र, उहिलेदेखिको बहस फेरि एकपटक सतहमा आएको छ- के सिर्जनशील लेखनका लागि तालिम आवश्यक छ ?

त्रिभुवन विश्वविद्यालयमा सिर्जनात्मक लेखनको पहिलो पाठयक्रम डिजाइन गरेका प्राध्यापक मोहनराज शर्मा ठान्छन्, 'एकदमै आवश्यक छ । जोसँग खुट्टा छ, यो कोर्सले उसलाई हिँड्न सिकाउँछ । जो हिँड्न सक्छ, उसलाई शानसँग हिँड्न सिकाउँछ । जो पहिल्यैदेखि शानले हिँड्न सक्थ्यो, उसलाई दौडन सिकाउँछ ।' शर्मा आफ्नो पालामा त्यस्तो कोर्स पढ्न नपाएकामा थकथकी मान्छन् । क्रिएटिभ राइटिङ पढेर साहित्यमा चम्केका केही नाम लिँदै थप्छन्, 'यो कोर्सले प्रतिभाको विकास गराउँछ । लेखनमा देखा पर्ने अलमल समाधान गर्छ ।'

शर्मासँग कुनै समय लेखन-साधना सिकेका लेखक/सम्पादक अविनाश श्रेष्ठ सही थाप्छन्- 'यो कसैलाई गुरुज्ञान दिने कक्षा होइन, परिष्कार भने दिन्छ । यो अभ्यास हो, जानेको मानिसलाई अझै जान्ने बनाउँछ ।'


परिष्कार र प्रविधि सिक्न

विदेश गएर 'क्रिएटिभ राइटिङ' पढेका सम्राट उपाध्याय होउन् या मञ्जुश्री थापा र प्रवीण अधिकारी, स्वदेशमा 'सिर्जनशील लेखन' पढेका मञ्जुल होउन् या अविनाश श्रेष्ठ, उनीहरू यस्तो कक्षाले लेखनमा परिष्कार थप्ने ठान्छन् । युनिभर्सिटी अफ् वासिङ्टनमा क्रिएटिभ राइटिङ पढेकी मञ्जुश्री भन्छिन्, 'म जन्मजात प्रतिभा थिइनँ । सुरुवातीकालमा लेखन धेरै कमजोर थियो । 'क्रिएटिभ राइटिङ' कक्षाले 'टेक्निक' मा जोड दिन्थ्यो । बिस्तारै कलम तिखारिँदै गयो ।'

वासिङ्टनको ह्वीटम्यान कलेजमा यसैको कोर्स गरेर फर्केका 'द भ्यानिसिङ् एक्ट' का कथाकार प्रवीण अधिकारी क्रिएटिभ राइटिङ कार्यशालाको सिकाइबाट भरपूर फाइदा उठाइरहेको बताउँछन् । यस्तो कक्षाले गैरआख्यान लेख्न थुप्रै प्राविधिक सीप हस्तान्तरण गरे पनि आख्यानका लागि भने खासै अर्थ नराख्ने उनको बुझाइ छ । 'यस्ता कक्षाले कसरी लेख्ने भन्दा पनि कसरी पढ्ने, सम्पादन गर्ने भन्ने बारेमा बढी फाइदा गराउँछन्,' उनी आफ्नो अनुभव सुनाउँछन्, 'अमेरिकामा सिकेको त्यो सीप नै आजसम्म बेचेर खाइरहेको छु ।' लेखनका लागि प्रत्यक्ष फाइदा नगरे पनि त्यस्ता कक्षाले उत्प्रेरणा, सहकार्य र प्रतिष्पर्धाको भावना जगाउने उनी ठान्छन् ।

कवि विमल निभा भने यस्ता कक्षालाई फर्मुला सिकाउने थलो मान्छन् । उनको विचारमा त, लेखक हुनलाई दिमागमा 'प्रजनन् अंग' चाहिन्छ । 'जुन लेखकको दिमागमा प्रजनन् अंग हुँदैन, त्यसलाई क्रिएटिभ राइटिङका जति लेक्चर सुनाए पनि कानमा हावा लाग्दैन,' निभा आँखा र कानको बीचमास्तिर चोरऔंला छुवाउँदै भन्छन्, 'इः याँनेर हुनुपर्छ त्यो अंग ।'

त्यसो भए के सृजनशक्ति जन्मजात प्राप्त हुने कुरा हो ? कि मेहनत र साधनाका आधारमा मलजल गरे यो विकास हुन सक्छ ? दुवैथरि तर्कबाजहरू भेटिन्छन् । पर्याप्त बहस हुन सक्छ ।

'भृकुटी' पत्रिकाका सम्पादक शार्दुल भट्टराई त्यस्ता कक्षाले प्रतिभालाई बाटो देखाउन सहयोग गर्ने भए पनि व्यक्तिमा अन्तर्निहित सिर्जनशीलता प्राथमिक कुरा भएको जिकिर गर्छन् । आख्यानकार नारायण ढकाल भन्छन्, 'प्रतिभा छ भने क्रिएटिभ राइटिङ कोर्सले पालिस लगाउने काम गर्छ । हुँदै नभएको प्रतिभालाई जति जोड लगाए पनि सिक्न सक्दैन ।'

अमेरिकाको इन्डियाना विश्वविद्यालयमा क्रिएटिभ राइटिङ पढाइरहेका सम्राट उपाध्याय यो विषय नपढी पनि लेखक बन्न सकिन्छ भन्नेहरूको तर्क सिधै नकार्छन् । 'लेखन पढेर सिकिने कुरो होइन भन्नेहरूलाई मेरो  प्रश्न छ, के उनीहरू संगीतको बारेमा पनि त्यही कुरा भन्न सक्छन् ?' उनी भन्छन्, 'ती विधामा भने उनीहरू भन्छन्- होइन त्यो त अभ्यास गर्नुपर्छ ।' सम्राटको जिकिर छ- 'पियानिस्ट, भायलनिस्ट, डान्सरहरू धेरै घण्टा अभ्यास गर्छन् र उनीहरू राम्रो प्रदर्शन गर्छन् । लेखन पनि ठिक त्यस्तै हो ।'

सिर्जनशील लेखकले आफू जिनियस भएकाले जे लेखे पनि ध्रुवसत्य हुन्छ भन्ने भ्रममा बस्दा थुप्रै लेखक पछि परेको उनको ठोकुवा छ । 'साधनाले मात्रै लेखन हुँदैन, टेक्निक पनि जान्नुपर्‍यो,' उनी भन्छन्, 'लेखन भनेको सिर्जनशीलता प्रकट गर्ने कुशल रणनीति हो ।'

सिकाउने झुर ?

क्रिएटिभ राइटिङको कक्षा दिलाउने व्यक्ति उच्चकोटिको लेखक हुनै पर्छ भन्ने मान्यता विद्यार्थीहरूले राख्ने गरेको पाइन्छ । यस्तो सोच्नेमा लेखकहरू स्वयं पनि छन् । आख्यानकार बुद्धिसागर कडा टिप्पणी गर्छन् 'विदेशतिर अधिकांश राम्रा लेखक यो कोर्स पढाउने गर्छन्, यहाँचाहिँ झुर लेखक ।' त्यसैले शिक्षकका लेखन-टिप्सभन्दा स्वयं लेखकका अनुभव बढी कामलाग्दा हुने उनको ठम्याई छ । उम्दा लेखक बोलाएर कक्षामा अनुभव बाँड्न लगाए उचित हुने सुझाव उनी फर्माउँछन् । 'मैले पढेका उत्कृष्ट लेखकहरू कोही पनि क्रिएटिभ राइटिङ कोर्स गरेर अाएका छैनन्,' उनी थप्छन्, 'बरु तीमध्ये थुप्रै लेखक अखबारबाट स्थापित हुँदै पुस्तक लेखनमा छिरेका छन् ।'

प्राध्यापक मोहनराज शर्मा भने त्यस्तो ठान्दैनन् । उनका भनाइमा क्रिएटिभ राइटिङ कोर्स गराउनेहरू आफू उम्दा लेखक नहुन पनि सक्छन् । 'आफूले नलेखेर के भयो त, उनीहरू अरुलाई उत्कृष्ट लेखनसम्बन्धी आफूले थाहा पाएका सीपहरू हस्तान्तरण गर्न त सक्छन् नि,' उनी भन्छन्, 'अरुको लेखनमा परिष्कार ल्याउन उनीहरूको सहयोग महत्वपूर्ण हुन सक्छ ।'

'घोस्ट राइटिङ नेपाल' नामक संस्थामार्फ्त यो कोर्स सिकाइरहेका कार्यक्रम निर्देशक तथा समीक्षक हरि अधिकारी गत वर्ष १५ जना विद्यार्थी लिएर थालेको पहिलो ब्याचबाट उत्साहित छन् । औपचारिक शिक्षाका लागि विश्वविद्यालयसम्म पहुँच नभएकाहरू समेत सिक्न आएकाले क्रिएटिभ राइटिङ कोर्सको क्रेज बढेको मान्न सकिने उनी दाबी गर्छन् । 'लेखन प्रविधि सिक्न, धारणा, संरचनामा शुद्धता ल्याउन र सहज सम्प्रेषण गर्न यस्तो कोर्सले सहयोग गरिरहेको छ,' अधिकारी भन्छन्, '६९ वषर्ीयहरूसमेत सिक्न आएको देख्दा यस्तो कोर्स चलाएर ठिकै गरिएछ भन्ने लाग्छ । अब विधागत रुपमा छुट्याएर तालिम चलाउने योजनामा छौं ।'

अधिकारीको पहिलो ब्याचका विद्यार्थी दर्शन देवकोटा सिर्जनशील पारामै भन्छन्, 'भान्छामा ग्यास, चामल, तरकारी, मसला सबैथोक छ, तर पकाउने तरिका थाहा छैन भने के काम लाग्यो र ? यो कोर्सले त्यही पकाउने तरिका सिकायो ।'

अायोआ युनिभर्सिटीमा केही समयअघि आयोजित अन्तर्राष्ट्रिय लेखन कार्यशालामा तीन महिना सहभागी भएर फर्केका फाइनपि्रन्टका प्रकाशक अजित बरालको अनुभव यी सहभागीको भन्दा खासै भिन्न छैन । तर सिर्जनशीलता 'माथिबाटै लिएर आउनुपर्ने' उनको जोड छ । 'लेखकलाई आफ्नो कमजोरी थाहा पाउने, सुधार्ने अवसर प्रदान गर्छ यो कोर्सले,' उनी भन्छन्, 'विदेशतिर त जाँचको लागि छुट्टै तयारी गर्नुपर्दैन । थेसिसका रुपमा लेखकले आफ्नै रचना समावेश गराउने हो ।'

मोहनराज शर्मा भन्छन्- 'लेख्न जान्दछु भनेर मात्रै हुँदैन, रचनाको उठान र अन्त्य कहाँ गर्ने, कस्तो विषय राख्ने वा नराख्ने भनी छुट्याउने खुबी पनि चाहिन्छ । लेख्न आउँछ भन्दैमा रचनालाई इलास्टिक जस्तो तन्काउनु त भएन नि ।'

प्रवीण अधिकारीको भनाई समालोचक शर्मासँग धेरै हदसम्म मिल्छ । 'नेपाली लेखकको ठूलो समस्या भनेको पुनरुक्ति हो । झट्ट पढ्दा मिठो लाग्ने भाषा लेख्छन्, तर भन्न खोजेको कुरा अस्पष्ट नै रहिरहन्छ,' उनी भन्छन्, 'भाषामा पकड भएका लेखक विचारमा कमजोर देखिन्छन् । यसका लागि सशक्त सम्पादकहरू चाहिन्छ ।'

प्रवीणले भनेझैं एउटा प्रभावकारी सिर्जनशील लेखन-कक्षाले पक्कै पनि यस्ता 'मेकानिक्स' माथि मिमांसा गर्छ नै । लेखनसम्बन्धी आयोजना हुने प्रत्येक कक्षा, कार्यशाला, छलफल बहसले सर्जकका लागि केही न केही सिक्ने जमिन बाँकी छ भन्ने अनुभूतिबोध गराइरहन्छ ।

'तपाईंहरूलाई चाहिँ आफ्नो समयमा त्यस्तो कक्षा लिन नपाएकामा थकथकी लाग्दैन ?'

विमल निभा भन्छन्, 'हामी त हरेक साँझ कक्षा लिइरहेका छौं नि । नयाँ सडक, पिपलबोटको फेदमा । योभन्दा ठूलो कक्षा अरु के होला र !'

Kantipur, Kosheli 2071 07 29
 

No comments:

Post a Comment