Sunday, January 25, 2015

चिठी मोदनाथ प्रश्रितलाई



basanta basnet

आदरणीय प्रश्रितज्यू,
कुनै बेला प्रगतिशील साहित्य लेखेर नेपाली समाजको राजनीतिक साक्षरता बढाउने तपाईं हिजोआज दुई कारणले चर्चामा हुनुहुन्छ । एक, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको महिमागान । दुई, धर्मनिरपेक्षताको विरोध गर्दै नेपाललाई पुनः हिन्दुराज्य बनाउनुपर्ने माग ।
'मानव' महाकाव्यबाट राष्ट्रिय चर्चा बटुल्नुभएका तपाईंको नामसँग 'देवासुर संग्राम,' 'गोलघरको सन्देश', नारी बन्धन र मुक्ति, आस्था र प्रथा एक विवेचना, भूतप्रेतका कथा, 'जीवनको बाटोमा' जस्ता लोकपि्रय पुस्तक जोडिन्थे । पञ्चायतका आँधीमय दिनहरूमा प्रशासनको आँखा छलेर तपाईंका कृति ओसारपसार गर्नुमा मेरो अग्रज पुस्ता गौरवबोध गथ्र्यो । आज पनि मानिसहरू भन्छन्, पुस्तक लेखेर तपाईंले नेपालमा जति कम्युनिस्ट जन्माउनुभयो, त्यति कार्यकर्ता आजसम्म कसैले जन्माउनसकेका छैनन् ।

Tuesday, January 13, 2015

अन्तिम मस्यौदा

नयाँ नेपालको संविधानले अन्तिम मस्यौदा कहिले पाउने हो, थाहा छैन । उपन्यास र कथाकृतिको आखिरी खेस्रा कोर्न कस्सिने नेपाली आख्यानकारको लर्को भने लामो छ । तपाईं आर्थिक, मानसिक र सामयिक हिसाबले अहिल्यै तयार भएर पर्खे हुन्छ । किनकि, उनीहरू समयसीमाभित्रै आख्यान जारी गर्न प्रतिबद्ध छन् । संयोग पनि कस्तो ! माघ ८ देखि जेठ १४ भित्र ।

मेनुमा तु. उपलब्ध हुँदैछन्- नारायण ढकालको 'वृषभ बध', बुद्धिसागरको 'फिरफिरे', युग पाठकको 'सम्भविता', नयनराज पाण्डे -शीर्षक अनिणर्ीत), आन्विका गिरीको 'मान्छेको रंग', अमर न्यौपानेको 'करोडौं कस्तुरी', उपेन्द्र सुब्बाको 'लाटो पहाड', कुमार नगरकोटीको 'ब्ल्यु बोइज्', राजन मुकारुङको 'अयोग्य' । मञ्जुश्री थापा चौथो उपन्यास 'अल् अफ् अस् इन् आवर् वन् लाइभ्स्' को आखिरी काममा जुटेकी छन् ।

महिमा र भर्त्सनाबीच पृथ्वीनारायण

'पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्त्व हो ।'

यो पंक्ति कांग्रेस नेता प्रदीप गिरिद्वारा सम्पादित पुस्तक 'विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख' को पृष्ठ १७६ मा उल्लेख छ । शाहलाई राष्ट्रिय एकताका प्रतीक र श्री ५ बडामहाराजाधिराजका रूपमा पुज्नेहरू एकातिर छन् । बाबा गोरखनाथले दही पिलाउन खोज्दा शाहले खुट्टामा पोखाएको कथामा कहाँबाट किंवदन्ती सकिन्छ र इतिहास सुरु हुन्छ, खुट्टयाउन गाह्रो छ ।

'गोरखा साम्राज्यका क्रूर राजा' लाई आधुनिक नेपालमा निषेध गर्नुपर्छ भन्नेहरू अर्कातिर छन् । सामन्ती राज्य विस्तार गर्ने, अरू राज्यको पहिचान निल्ने साम्राज्यवादीका रूपमा उनीहरू शाहलाई बुझ्छन् । बदलिँदो युगसँगै राष्ट्रिय एकताका नयाँ प्रतीकहरू खोजिनुपर्ने उनीहरूको मत छ । अबको नेपालमा एउटा निश्चित शासकमात्रै नायक हुन नसक्ने, बहुनायक खोजिनुपर्ने उनीहरूको माग छ ।

लम्बिँदो संक्रमणकाल र बढदो अन्योलबीच विवादहरू सतहमा छन् । शाहमाथि यतिका सूचना, जानकारी उपलब्ध छन् । एउटा प्रश्न भने थाती नै छ,

Friday, January 2, 2015

आमाले सन्तानलाई नागरिकता दिन पाउँदिनन् ?

समानता र लोकतन्त्रको प्राकृतिक अधिकार नपाउँदा 'नेपाली' हुन अझै असफल छन्, रौतहटका राजु अहमद। उनको नागरिकतामाथि छिटो निर्णय गर्नु भनी सर्वोच्च अदालतले २०७० फागुनमा आदेश दियो, तर 'वामपन्थी' गृहमन्त्री वामदेव गौतम नेतृत्वको गृह मन्त्रालय अझै अनिर्णयको बन्दी छ।
राज्यको 'पुरुष' सोचका कारण नेपालको लोकतन्त्रमा आमा बच्चालाई जन्म दिन सक्छिन्, तर ऊ मेरो बच्चा हो भनेर प्रमाण दिन सक्दिनन्।
बाबु 'वा' आमाको नामबाट नागरिकता कि बाबु 'र' आमाको नामबाट? नयाँ संविधानका धारा उपधाराहरूमा एक-एक अक्षरका यी दुई शब्दबीचको लडाइँ जारी छ। हेर्दा सामान्य लाग्ने यी दुई शब्दमध्ये दोस्रोले हजारौं नागरिकको जीवनमा आधारभूत फरक पर्नेवाला छ। जस्तो कि, ललितपुर गोदावरीकी दीप्ति गुरुङ र रौतहटका राजु अहमदलाई अहिले असर परिरहेको छ। यसरी प्रभावित हुनेमध्ये कान्तिपुरसँग सम्पर्कमा आउनेको संख्या उल्लेख्य छ।

सुक्दैछन् जीवन्त विभागहरू

पुस १३ - आइतबार मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, हिन्दी केन्द्रीय विभाग छिर्दा प्राध्यापक मञ्चला झा हिन्दी साहित्य समालोचनाको पाठ बुझाइरहेकी थिइन्। अघिल्तिर विद्यार्थी थिए, दुईजना।
त्यही दिन भूगोल केन्द्रीय विभागका प्रमुखको कार्यकक्षभित्र अर्का लेक्चरर शेरबहादुर गुरुङ पढाइरहेका थिए। विद्यार्थी थिए, सात जना।
विद्यार्थी अनुपस्थित हुँदा कुनै विभागका कक्षाकोठाबाहिर ताल्चा झुन्डिरहेको थियो। कोही बाहिर घाम तापिरहेथे। राजनीतिशास्त्र, इतिहास, संस्कृति, भाषाशास्त्र, पुरातत्त्वजस्ता विभागमा कुनै बेला विद्यार्थीको थामिनसक्नु भीड हुन्थ्यो। विगतका जीवन्त विभागहरू हिउँदे बिदाअघि पढाइको चाप बढ्ने बेला सुनसान देखिन्छन्। त्यो भीड व्यवस्थापन, शिक्षाशास्त्र र मानविकीकै 'बिकाउ विषय' तिर सरेको छ।
कुनै विभागमा त विद्यार्थीभन्दा प्राध्यापक धेरै छन्। सात विद्यार्थी भर्ना भएको इतिहास विभागमा नियमित कक्षा लिन एकमात्र विद्यार्थी आउने विभाग स्रोतले जानकारी दियो। अर्थात्, एक विद्यार्थी पढाउन अहिले १८ शिक्षक खटिएका छन्। एक कर्मचारी भन्छन्, काम हुन छाडेपछि एउटै विषय तीन-तीन जनाले बाँडेर पढाइरहेका छन्।

खै एमालेको मध्यमार्ग ?

विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदा नेकपा एमाले एकैसाथ खुसी र दुःखी थियो ।
खुसी किनभने- 'कांग्रेस खोजीखोजी, एमाले रोजीरोजी' नीतिका सिकार नेता-कार्यकर्ता शान्तिपूर्वक बहुदलीय वर्ग संघर्ष गर्न पाइने उल्लासमा थिए । दुःखी किनभने- एमालेले दाबी गर्ने गरेको वामपन्थी स्पेसमा माओवादीले झण्डा गाड्ने लक्षण देखिन थालिसकेका थिए ।
तत्कालीन राजाबाट हरियो बत्ती बालिएमा आफ्नो महासचिवलाई प्रधानमन्त्री बनाउँदै सर्वदलीय सरकार गठन गर्न प्रतिबद्ध कांग्रेसले अन्तिममा धोका दिएको ठहराउँदै उसलाई 'देखाइदिने नीति' लिएको थियो एमालेले । कहिलेकाहीँ साना गल्तीहरूलाई माफ गर्न नसक्दा ठूला क्षति निम्तिने गर्छन् । प्रतिगमन ५० प्रतिशत सच्चिएको उपलक्ष्यमा एमालेले प्रधानमन्त्री त पाएन, तर भर्खरै फुटेको माउ कांग्रेसको सेखी झार्न ऊ देउवा मन्त्रिपरिषदमा साझेदार बन्न गयो । कांग्रेसको नुर गिराउने हुँदा आफ्नो वामपन्थ कति बदनाम भयो, एमाले पंक्तिलाई इतिहास सम्झाइरहनु पर्दैन ।