Friday, January 2, 2015

सुक्दैछन् जीवन्त विभागहरू

पुस १३ - आइतबार मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, हिन्दी केन्द्रीय विभाग छिर्दा प्राध्यापक मञ्चला झा हिन्दी साहित्य समालोचनाको पाठ बुझाइरहेकी थिइन्। अघिल्तिर विद्यार्थी थिए, दुईजना।
त्यही दिन भूगोल केन्द्रीय विभागका प्रमुखको कार्यकक्षभित्र अर्का लेक्चरर शेरबहादुर गुरुङ पढाइरहेका थिए। विद्यार्थी थिए, सात जना।
विद्यार्थी अनुपस्थित हुँदा कुनै विभागका कक्षाकोठाबाहिर ताल्चा झुन्डिरहेको थियो। कोही बाहिर घाम तापिरहेथे। राजनीतिशास्त्र, इतिहास, संस्कृति, भाषाशास्त्र, पुरातत्त्वजस्ता विभागमा कुनै बेला विद्यार्थीको थामिनसक्नु भीड हुन्थ्यो। विगतका जीवन्त विभागहरू हिउँदे बिदाअघि पढाइको चाप बढ्ने बेला सुनसान देखिन्छन्। त्यो भीड व्यवस्थापन, शिक्षाशास्त्र र मानविकीकै 'बिकाउ विषय' तिर सरेको छ।
कुनै विभागमा त विद्यार्थीभन्दा प्राध्यापक धेरै छन्। सात विद्यार्थी भर्ना भएको इतिहास विभागमा नियमित कक्षा लिन एकमात्र विद्यार्थी आउने विभाग स्रोतले जानकारी दियो। अर्थात्, एक विद्यार्थी पढाउन अहिले १८ शिक्षक खटिएका छन्। एक कर्मचारी भन्छन्, काम हुन छाडेपछि एउटै विषय तीन-तीन जनाले बाँडेर पढाइरहेका छन्।

भूगोल एमए पहिलो सेमेस्टरमा ६ विद्यार्थी पढाउने प्राध्यापक १५ जना छन्। पहिलेभन्दा भर्ना संख्या बढेको दाबी गर्ने संस्कृत विभागका ५ प्राध्यापक ८ विद्यार्थी पढाइरहेका छन्। 'दुई जनामात्रै विद्यार्थी छँदा हामीलाई कोचिङ पढाएझैं अनुभूति हुन्छ,' प्राध्यापक मञ्चला झा हाँस्दै सुनाउँछिन्। 'यस्तै भइरह्यो भने विभाग छिट्टै बन्द हुन बेर छैन,' भूगोलका एक प्राध्यापक दुखेसो गर्छन्। सबैभन्दा ठूलो विश्वविद्यालयका केन्द्रीय विभागहरूमा देशभरिबाट स्नातकोत्तर गर्न विद्यार्थी आउँछन्। विद्यार्थी भर्ना लगभग शून्य क्रममा रहेका माथि उल्लिखित विभाग बन्द हुने सम्भावना देखिएको छ।
काठमाडौंभित्र र बाहिरका आंगिक क्याम्पसहरूमा विद्यार्थी अभाव हुँदा थुप्रै विभाग बन्द भइसकेका छन्। विद्यार्थी आउन छाडेपछि त्रिवि संस्कृत विभागले नेपालगन्ज, जनकपुर, सरस्वती क्याम्पस ठमेल, पाटनजस्ता आंगिक क्याम्पसमा पठनपाठन बन्द गरिसकेको विभागीय प्रमुख प्राध्यापक नारायणप्रसाद गौतम बताउँछन्। हिन्दी विभागले समेत आंगिक क्याम्पसका केही विभाग बन्द गरिसकेको स्रोतले जानकारी दियो।
सामाजिक शास्त्रअन्तर्गतका यी विभागहरूमा विद्यार्थी घटे पनि अंग्रेजी, नेपाली, समाजशास्त्रजस्ता विभागमा विद्यार्थी संख्या उस्तै देखिन्छ। बाँकी विद्यार्थीको ध्यान व्यवस्थापन र शिक्षाशास्त्रमा देखिन्छ। विद्यार्थी आए सयौं संख्यामा भर्ना लिन तयार त्रिवि गत वर्षयता सेमेस्टर प्रणालीअन्तर्गत सीमित भर्ना लिइरहेको छ। त्यसो गर्दासमेत माथि उल्लिखित विभागहरूले विद्यार्थी तान्न सकिरहेका छैनन्।
त्रिवि अंग्रेजी केन्द्रीय विभाग प्रमुख अम्माराज जोशीका अनुसार प्राज्ञिक महत्त्वलाई उपेक्षा गर्ने र रोजगारीका लागि उच्च शिक्षा भन्ने मान्यता हाबी भयो। त्यसैले समाजलाई असाध्यै चाहिने विषयहरूमा समेत विद्यार्थी घटे। 'मैले भर्खरै विदेशका केही विश्वविद्यालय हेरेर आएँ। इतिहास, दर्शन, राजनीतिशास्त्रजस्ता विषयमा विद्यार्थीको भर्ना उच्च देखियो,' जोशी भन्छन्, 'हाम्रोमा रोजगारीमात्रै सोच्ने हुँदा व्यक्तिको चौतर्फी विकासलाई उपेक्षा गरियो।' समयअनुसार पाठयक्रम पुनरावलोकन नहुँदा पनि विद्यार्थी विकषिर्त भएको उनको भनाइ छ।
हिन्दी विषयमा एमए दोस्रो सेमेस्टर पढदै गरेकी मालिनी मिश्रको भनाइमा सिंगो कक्षामा दुई मात्रै विद्यार्थी हुँदा प्राध्यापकले व्यक्तिगत तहमै ध्यान दिन त सक्छन् तर सिकाइ र परीक्षामा प्रतिस्पर्धाको भावना आउनै छाडेको छ। 'धेरै साथीहरू भएको भए अझै मेहनत गर्ने प्रेरणा मिल्ने थियो,' उनी भन्छिन्, 'दुई जनामध्ये एक अनुपस्थित भएमा कक्षा कसरी चलाउने समस्या हुन्छ।'
हिन्दी विभागकी प्रमुख श्वेता दीप्तिको भनाइमा साना विभागहरूलाई त्रिविको ध्यान ठिकठिकै मात्र पुग्छ। कक्षाकोठाको अभावमा थोरै विद्यार्थीको व्यवस्थापन भइहाल्छ नि भन्ने प्रशासनिक सोचका कारण विद्यार्थीहरू अफिसमै पढ्न बाध्य छन्।
संस्कृतका विभागीय प्रमुख नारायणप्रसाद गौतम राज्य उदासीन भएकाले संस्कृतको महत्त्व स्थापित हुन नसकेको जिकिर गर्छन्। 'सरकार आफ्नो संस्कृति, सभ्यता पढाउन उदासीन भएकैले तल्लो तहमा संस्कृत राखिएको छैन,' गौतम आरोप लगाउँछन्, 'अनि कहाँबाट मास्टर्स पढ्न आऊन्?' यति हुँदाहुँदै पनि गुणस्तर धान्न विभागले मेहनत गरिरहेको उनको भनाइ छ। अहिले संस्कृत विभागले व्यावहारिक सुधार गर्ने क्रममा 'एप्लाइड संस्कृत' नामक प्रयोगात्मक पाठयक्रम बनाएको छ।
ज्ञान बढाउने भनिएका विषय पढेर श्रमबजारमा बिक्न गाह्रो पर्ने ठहराउँछन्, स्वयं त्यसका केही विद्यार्थीहरू। शिक्षाप्रतिको परम्परागत बुझाइ हाबी रहेकाले विद्यार्थी त्यसैलाई पत्याउन बाध्य भएको जिकिर गर्छन्, शिक्षकहरू।
विज्ञानको पढाइ सकेर राजनीतिशास्त्र छिरेका एमए दोस्रो वर्षका पंकज अधिकारी ज्ञानको दायरा बढ्ने अपेक्षाले नै यो विभागमा छिरेको, तर समयानुकूल परिवर्तनको अनुभूति नगरेको गुनासो गर्छन्। 'राजनीतिशास्त्र मात्रै होइन, मानविकी र सामाजिक संकायका प्रायः सबै विषयहरू पञ्चायतकालमा डिजाइन गरिए,' उनी भन्छन्, 'समयसँगै फेरबदल नहुँदा विद्यार्थी अरू विषयतिर जान थालेका हुन्। जुन विषयमा विद्यार्थी बढी छन्, त्यहाँ पनि एनजीओ/आईएनजीओमा काम गर्न पाइन्छ भनेर विद्यार्थी पढिरहेको देखिन्छ।'
पाँच वर्षअघि ५ सय ५२ विद्यार्थी राखेर पढाउने राजनीतिशास्त्र विभागमा यो वर्ष जम्मा २० विद्यार्थी पढदै छन्। अघिल्लो वर्ष सुरु सेमेस्टर सिस्टमका कारण विद्यार्थी घटेको भनी विभाग दाबी गर्छ तर त्यसअघिका दुई वर्षमा क्रमशः १ सय ५२ र १ सय ७३ मात्रै विद्यार्थी देखिनुले उसको दाबी पुष्टि हुँदैन। विभागीय प्रमुख मीना वैद्य मल्ल संख्या घटे पनि गुणस्तर कायम रहेको तर्क गर्छिन्। 'अहिले प्राविधिक विषयहरू निर्माण भएकाले विद्यार्थी नयाँको खोजीमा जानु अनौठो होइन,' उनी भन्छिन्, 'उनीहरू नयाँ विषय सिक्न चाहन्छन् भने त्यसलाई हामीसँग उदासीन भएको
भन्न मिल्दैन।'
इतिहास विषयमा त सात जनामात्रै विद्यार्थी भर्ना भएका छन्। कक्षा लिन भने एक विद्यार्थीमात्रै आउने गरेको स्रोत बताउँछ। अर्थात्, एक विद्यार्थी पढाउन अहिले १८ शिक्षक खटिएका छन्। स्रोत भन्छ, कोर्स पाउन छाडेपछि एउटै विषय तीन-तीन जनाले बाँडेर पढाइरहेका छन्।
राजनीतिशास्त्रका लेक्चरर मनोहर पराजुलीका भनाइमा पढदै जागिर खानेको संख्या बढदै छ। तिनको प्राथमिकतामा बिहानबेलुकी पढाइ हुने क्याम्पस पर्छन्। 'जबकि त्रिविका कक्षा दिउँसो हुन्छन्,' पराजुली औंल्याउँछन्, 'त्योमात्रै कारण भने पर्याप्त छैन, हाम्रो शिक्षाले बाटो हराएको छ। त्यसका कारण विद्यार्थीमा महत्त्वाकांक्षा हराउन थालेको छ।'
'प्लस टु’ले बितायो
त्रिविले प्रमाणपत्र तहको कक्षा आफूले नै चलाउने गरेकामा छ वर्षअघि फेज आउट गरेको थियो। प्रमाणपत्रको शिक्षा प्लस टुले सञ्चालन गर्न थाले पनि सीमित क्षमताका कारण शिक्षाशास्त्र, व्यवस्थापन र मानविकीका केही विषयमात्रै पढाउन थाले। अझ कतिपय प्लस टुमा मानविकी पढाइ नै हुँदैन। त्यसको प्रभाव उच्च शिक्षामा पर्न थालेको छ। त्रिविका विभागहरूमा विषयगत विविधता देखिए पनि विद्यार्थी भर्ना हुन नआउनुका पछाडि प्लस
टु कारक रहेको बताउँछन्, भूगोलविद् भीमप्रसाद सुवेदी।
'अहिले प्लस टु भन्नाले सहरमा म्यानेजमेन्ट र गाउँमा एजुकेसन हुन पुगेको छ,' उनी प्रश्न गर्छन्, 'अनि खै मानविकीलाई जग्गा?'
तल्लो तहमा भूगोल नहुँदा विद्यार्थीले सिधै स्नातक पढ्न नसकेको उनको भनाइ छ। अरू विषयका विद्यार्थीका लागि भूगोल भर्ना खुला गरे पनि आधारभूत ज्ञानको अभावमा उच्च शिक्षा सामना गर्न नसकेको उनी बताउँछन्। 'अहिले ज्ञान होइन, नाफा चाहिन थालेको छ,' उनी टिप्पणी गर्छन्, 'शिक्षाको वास्तविक मूल्य त्यो होइन।'
पाठ्यक्रम राम्रो भए पनि अनुसन्धानको पक्ष कमजोर देखिएको हुँदा आफ्ना विषयहरू बजारमा बिक्न छाडेको बताउँछन्, राजनीतिशास्त्रमा एमए दोस्रो वर्ष पढ्दै गरेका केदार सिटौला। त्यसो त शिक्षाशास्त्रतिर टनाटन भरिने विद्यार्थी यसप्रतिको आकर्षणले नभई जागिरको सम्भावना बढी हुने देखेर ओइरिएको जिकिर गर्नेहरू पनि छन्।
मनोविज्ञान विभागकी प्रमुख शान्ता निरौला भने आफ्नो विभागमा विद्यार्थी नघटेको जिकिर गर्छिन्। सेमेस्टर सिस्टमका कारण मनोविज्ञानले विद्यार्थी संख्या ५१ मा झारेको छ। पाँच वर्षयताको आँकडा हेर्ने हो भने ५ देखि बढीमा ८२ विद्यार्थी भर्ना भएको देखाउँछ।
भूगोलमा एमए दोस्रो पढदै गरेकी माधवा न्यौपानेको भनाइमा पर्याप्त प्राविधिक सामग्री नपाउँदा भूगोलजस्तो प्राविधिक विषयमा पाठ्यपुस्तक र सीमित सामग्रीको भर पर्नुपर्छ। चाहेर पनि विद्यार्थी आउन नसक्ने परिस्थिति छ।
'यस्तोमा प्रयोगात्मक कक्षा गर्न कठिन हुन्छ, पुस्तकमात्रै पढेर भूगोल अध्ययन गर्नु असम्भव छ,' अर्का विद्यार्थी योगेश न्यौपाने थप्छन्, 'स्कुलदेखि नै गतिलो आधार नहुनु नै यति राम्रा विषय सुक्नुको अर्को कारण हो।'
त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाको भनाइमा दिमागवालाले विज्ञान, व्यवस्थापन पढ्नुपर्ने, सामान्य विद्यार्थीले मानविकी पढ्नुपर्ने भन्ने गलत धारणा अझै बढ्दै गएको कारण विद्यार्थी घटेका हुन्। 'साइन्स, कमर्स पढेकाले ज्ञानको दायरा बढाउन दोस्रो डिग्री मानविकीमा लिए हुन्छ,' उनी थप्छन्, 'त्यसले उनीहरूलाई त फाइदा पुग्छ नै। विभागहरू पनि चलायमान हुन्छन्।'
हिन्दी : दोस्रो दर्जा?
२०२८ सालमा नयाँ शिक्षा प्रणाली सुरु भएपछि हिन्दी विभागमा विद्यार्थी घटेका हुन्। पहिले लोकसेवा जाँचमा समेत हिन्दी भाषाको प्रवेश थियो। अहिले नेपाली र अंग्रेजी मात्रैले मान्यता पाउँछन्। २०१६ सालमा त्रिवि स्थापित भएकै साल खुलेका थोरै विभागमध्ये हिन्दी पर्छ। पहिले त्रिविका विषयहरू पटना विश्वविद्यालयअन्तर्गत जाँच दिनुपर्ने
नियमले पनि हिन्दी भाषामा दक्षता अनिवार्य जस्तै थियो।
अहिले पनि पीएचडीका लागि भारत र पाकिस्तानबाट समेत विद्यार्थी आउने गरेको बताउँछिन्, विभागीय प्रमुख श्वेता दीप्ति। प्लस टु तहमा पठनपाठन हुन छाडेका कारण उच्च शिक्षाका लागि विद्यार्थी आउन छाडेको उनको भनाइ छ। 'शासकहरूको धारणा भने हिन्दी भनेको तल्लो दर्जाको भाषा हो भन्ने किसिमको छ,' प्राध्यापक मञ्चला झा भन्छिन्।
त्रिविको जर्नलमा नेपाली र अंग्रेजी भाषामा मात्रै लेख्न पाइन्छ। हिन्दीमा नपाइने भएकाले लेख्ने विषय धेरै भए पनि भाषाको समस्याका कारण नलेखेको उनीहरूको दाबी छ।
कारिन्दा कि प्राज्ञ?
उच्च शिक्षा पढेको मानिस कुनै कम्पनीको हाकिम वा कारिन्दा मात्रै हुनु पर्याप्त नरहेको, बरु आलोचनात्मक चेत भएको आफैं सोच्न सक्ने योग्य नागरिक निर्माण गर्नुपर्ने शिक्षाशास्त्रीहरूको मत सुनिन्छ। उनीहरूको दाबीमा रोजगारी त एउटा पक्षमात्रै हो, सम्पूर्ण पक्ष मानिनु गलत हो।
'रोजगारीको दृष्टिबाट मात्रै सोच्ने काम भयो, जबकि उच्च शिक्षा त्योसँग मात्रै जोडिन्न। हाम्रो उच्च शिक्षाको समस्या नै 'भोकेसन' र 'एजुकेसन' बीचको भेद छुटयाउन नसक्नु हो,' प्राध्यापक अम्माराज जोशी भन्छन्, 'उच्च शिक्षाले रोजगारी गर्न सक्ने बनाउनैपर्छ भन्ने कुनै बाध्यता छैन।'
भूगोलविद् भीमप्रसाद सुवेदी बजारसँग जोड्न नसक्दा राम्रा भनिएका विषयहरूमा विद्यार्थी संख्या छुटेको मूल्यांकन गर्छन्। 'रोजगारी यसको पाटो हुँदै हो, तर उच्च शिक्षाले त्योभन्दा धेरै परसम्म हेर्न सक्नुपर्छ,' उनको भनाइ छ।
यद्यपि ज्ञानको पहिलो माध्यम भनिने संस्कृतजस्तो विषयमा समेत रोजगारीको सम्भावना बढदै गएको विभाग दाबी गर्छ। योग, वास्तुशास्त्र, आयुर्वेद, खगोलशास्त्रदेखि कर्मकाण्डसमेतमा संस्कृत नभई नहुने हुँदा बजारमा यो विषय कमजोर नरहेको बताउँछन् प्राध्यापक सुबोधकुमार शक्ल। 'प्रज्ञामा त संस्कृत यसै पनि अगाडि छँदै छ,' उनी भन्छन्, 'हामीले यसलाई रोजगारीसँग पनि जोड्न खोजेका छौं।' आलोचकहरू भने संस्कृत विषयमा भाषा र व्याकरणगत ग्रहणशीलता कमजोर भएकाले विद्यार्थीले ध्यान दिन छाडेको तर्क गर्छन्।
पूर्वउपकुलपति माथेमा सामाजिक शास्त्रका कोर्समा 'रिप्याकेजिङ' को आवश्यकता देख्छन्। 'स्वादमा नयाँपन दिन खोजिएन भने पुष्टकारी पनि नमिठो हुन थाल्छ, कोर्स भनेको त्यस्तै
हो,' उनी भन्छन्, 'आलोचनात्मक मस्तिष्क जन्माउने वातावरण अझै बनिसकेको छैन, हाम्रो शिक्षा आधारभूत तहकै सिकाइमा अल्मलिइरहेको छ।'

विद्यार्थी घट्नुको कारण
-नयाँ विषयहरूमा विद्यार्थीको आकर्षण
-प्लस टुमा सम्बन्धित विषयको पढाइ नै नहुँदा उच्च शिक्षाको ढोका बन्द
-परम्परागत पाठ्यक्रममा समयानुकूल सुधार नहुनु
-प्राविधिक सिकाइका सामग्री नहुनु, पाठ्यपुस्तकमै भर
-उच्च शिक्षालाई रोजगारीको कोणबाट सोच्ने विद्यार्थी र अभिभावक
-विषयगत डिग्रीका आधारमा सामाजिक प्रतिष्ठाको परम्परागत व्याख्या
-त्रिविको प्राथमिकतामा नपर्नु

प्रकाशित मिति: २०७१ पुस १३ ०८:१४
http://www.ekantipur.com/np/2071/9/13/full-story/401043.html

No comments:

Post a Comment