आदरणीय प्रश्रितज्यू,
कुनै बेला प्रगतिशील साहित्य लेखेर नेपाली समाजको राजनीतिक साक्षरता बढाउने तपाईं हिजोआज दुई कारणले चर्चामा हुनुहुन्छ । एक, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको महिमागान । दुई, धर्मनिरपेक्षताको विरोध गर्दै नेपाललाई पुनः हिन्दुराज्य बनाउनुपर्ने माग ।
'मानव' महाकाव्यबाट राष्ट्रिय चर्चा बटुल्नुभएका तपाईंको नामसँग 'देवासुर संग्राम,' 'गोलघरको सन्देश', नारी बन्धन र मुक्ति, आस्था र प्रथा एक विवेचना, भूतप्रेतका कथा, 'जीवनको बाटोमा' जस्ता लोकपि्रय पुस्तक जोडिन्थे । पञ्चायतका आँधीमय दिनहरूमा प्रशासनको आँखा छलेर तपाईंका कृति ओसारपसार गर्नुमा मेरो अग्रज पुस्ता गौरवबोध गथ्र्यो । आज पनि मानिसहरू भन्छन्, पुस्तक लेखेर तपाईंले नेपालमा जति कम्युनिस्ट जन्माउनुभयो, त्यति कार्यकर्ता आजसम्म कसैले जन्माउनसकेका छैनन् ।
पाँच वर्षअघि हेटौंडा जाँदा तपाईंलिखित पुस्तकका पंक्तिहरू नहेरी खरर्र भन्दिनसक्ने एक आमालाई भेटेको थिएँ । तपाईंको 'जीवनको बाटोमा' र 'भूतप्रेतका कथा' पुस्तकका धेरैजसो रचना म आफैं शीर्षक र सन्दर्भसहित सम्झन सक्छु । 'गोलघरको सन्देश' भित्रका थुप्रै पंक्ति त म नहेरी भन्दिन सक्छु । भूतप्रेत हुँदैन, डराउनु बेकार छ भन्ने गहिरोगरी पसेको तपाइर्ंकै पुस्तकका कारण हो । तपाईंको मनोहारी लेखनको चमत्कारले वशिभूत हुने ममात्रै होइन, अरू थुप्रै छन् । पञ्चायती बन्द समाजको उत्कर्षका बेला वामपन्थी वृत्तमा जबर्जस्त 'मिथ' निर्माण भएको थियो, सीपी मैनाली र तपाईंबारे । मिथ यस्तोसम्म थियो- लामो समयदेखि भूमिगत सीपी एक ठाउँमा बस्दाबस्दै लुप्त भएर अर्को ठाउँ देखापर्न सक्छन्, पुलिसले कहिल्यै समात्न सक्दैन । प्रश्रति जस्तोसुकै बेला पनि लेख्न सक्छन्, दोहोर्याएर हेर्नु पर्दैन ।
कथा सुनेर बाँच्न मनपराउने त्यो समय त्यस्तो थियो । यो बीचमा वागमतीमा धेरै फोहोर पानी बगिसकेको छ । समयक्रमसँगै मानिसहरूको मनमा निर्माण भएको 'प्रश्रति' विम्ब दुर्भाग्यवश ढल्दैछ । हिजो तपाईंलाई परिवर्तनको सन्देश ल्याउने हल्कारा भनी प्रशंसा गर्नेहरू अहिले कर्मकाण्डी हुँदै गएको आरोप लगाउँछन् । पृथ्वीनारायण शाहको उच्च सम्मान गरिनुपर्ने, उनलाई खलनायक भनेर आजका मितिमा अथ्र्याउनुको कुनै अर्थ नहुने पक्षमा धेरै नागरिक छन् । राजतन्त्र र हिन्दु परम्परासँग जोडेर उनलाई उभ्याउन खोज्नेहरूको उनीहरू विरोध गर्छन् । शाह त बितेर गए । उनका शाखासन्तानले थोपरेको निरंकुशता विरुद्ध हाम्रो पुस्ताले लडेको छ । तपाईर्ं त्यही राजतन्त्रलाई प्रत्यक्ष/अप्रत्यक्ष सघाउने कुरा गर्दै हुनुहुन्छ । प्रश्रतिज्यू, आफ्नै इतिहासतिर फर्केर थुक्नु जायज हुन्छ ? जुन घोषणामा आज यो पुस्ता गौरव गर्दैछ, त्यही घोषणाप्रति तपाईं आज ग्लानि महसुस गर्नुहुन्छ ?
यो लेखको सन्दर्भ भने दोस्रो बुँदामा केन्दि्रत छ । २०६२/६३ को जनआन्दोलनपछि संसदले धर्मनिरपेक्षता घोषणा गरेकामा तपाईं हदैसम्म दुःखी हुनुभएको छ । ०६५ सालमा सक्रिय राजनीतिबाट अवकाश लिनुभएका तपाईर्ंको दुःख कतिसम्म दुःखी छ भने पार्टी नेतृत्व छाडेको सात वर्षपछि तपाईंले अध्यक्ष ओलीसमक्ष प्रस्ताव नै राख्नुभयो- स्थायी कमिटीे बैठकमा आएर आफ्ना कुरा राख्ने मौका पाऊँ । तपाईंले स्थायी कमिटी बैठकमा भन्नुभएछ- नेपाल धर्मनिरपेक्ष हुनै सक्दैन । यहाँ हिन्दुहरूको प्राग्ऐतिहासिक कालदेखिको विरासत छ । अझ वैष्णव, बुद्धधर्म यहीँ विकास भएका हुन् । त्यसैले धर्मनिरपेक्ष घोषणा गरी धर्म परिवर्तन गराउनेहरूको खेलमा कोही फँस्नु हुँदैन ।
प्रश्रतिज्यू, पुराण, इतिहास र धर्म संस्कृतिसम्बन्धी खोजबिन गर्न मनपराउने तपाइर्ंजस्तो प्राज्ञसँग म धेरै तर्क गर्न नसकुँला । तर मेरो अध्ययन र जानकारीले के भन्छ भने नेपालमा एक भाषा, धर्म र संस्कृतिको बर्चस्व पहिलेदेखि रहँदै आए पनि हिन्दुराज्य घोषणा भने राजा महेन्द्रले 'कू' गरेर प्रजातन्त्र मासेपछि २०१९ सालमा गरेका थिए, छिमेकी मुलुकको धार्मिक-राजनीतिक शक्तिको समर्थन हासिल गर्न र निरंकुशतालाई टेवा दिनेगरी धार्मिक एकाधिकार लाद्न ।
महेन्द्रले सैन्यबलमा च्युत गरेका प्रधानमन्त्री बीपी कोइरालाले प्रजातान्त्रिक राज्यले धर्म, जात, क्षेत्र, लिंग, वर्ण आदिका आधारमा राज्यले विभेद गर्न नपाउने भन्दै धर्मनिरपेक्षताको वकालत गरेका थिए । उनी आफैं पनि व्यक्तिगत रूपमा धर्मका मामिलामा उदार थिए । हिन्दु धर्म र संस्कारलाई छुटयाएर हेर्न सक्थे । राज्यको कुनै धर्म हुँदैन, यो त व्यक्तिगत छनोटको विषय हो भन्ठान्थे । यी तिनै बीपी हुन्, जसले नेपाल अझै राष्ट्र बनिनसकेको, एउटा प्रशासनिक इकाइजस्तो मात्रै हुनगएको भन्ने विचार व्यक्त गर्दा तपाईं र तपाईंको दलले भारतपरस्त, बुर्जुवा, आत्मसमर्पणवादी करार गरेको थियो । बीपीको दृष्टि धर्म, सेना, कूटनीति, राष्ट्रियता आदिलाई हेर्नेबारे तपाईं लगायत थुप्रै 'प्रगतिशील, जनवादी'हरूको भन्दा फराकिलो थियो भन्ने हामी उनका विचार पढ्दा थाहा पाउँछौं । तपाइर्ं आज भन्दै हुनुहुन्छ, हाम्रो पहिचान नष्ट गरिँदैछ । नेपाल धर्मनिरपेक्ष हुनै सक्दैन । प्रश्रतिज्यू, अब तपाईं नै भन्नुस्, को प्रगतिशील हो, बीपी कि तपाईं ?
सही हो, नेपालमा पुरानो धार्मिक विरासत छ, जसको निषेध गर्नुपर्ने कुनै कारण छैन । त्यसलाई तपाईंले भनेझैं धार्मिक पर्यटन विकास गरेर आर्थिक फाइदा लिन सकिन्छ । तर के त्यसका लागि राज्यले आफ्नो धर्मका रूपमा अपनाउनैपर्छ ? धर्मनिरपेक्ष कायम राखेरै धार्मिक पर्यटन गर्न सकिँदैन ? जस्तो कि धर्मनिरपेक्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै पशुपतिनाथ दर्शन गरे । श्रीलंकाका निवर्तमान राष्ट्रपति महिन्दा राजपाक्षे लुम्बिनी दर्शन गर्न गए ।
अर्को तर्क के गरिन्छ भने धर्मनिरपेक्षता पश्चिमा देशबाट आयातित मुद्दा हो । ती राज्यहरूको भने धर्म छ । त्यसैले हामी धर्मनिरपेक्ष हुनु भनेको धर्मपरिवर्तन गराउनु हो । यो तर्क त झनै कारुणिक छ । षडयन्त्र सिद्धान्तहरूमा कति प्रतिशत सत्यता छ, इतिहासले अध्ययन गर्ने विषय हो । तर आधुनिक लोकतन्त्रको आधारभूत मान्यताभित्र धर्मनिरपेक्षता पर्छ भनेर तपाईंजस्तो विद्वानलाई सम्झाइरहनु पर्दैन । सकारात्मक कुरा जसले जुन दिशाबाट ल्याए पनि ग्रहणयोग्य हुन्छ । जस्तो, तपाईंको माक्र्सवाददेखि कांग्रेसको प्रजातान्त्रिक समाजवाद दुवै नेपाली माटोका उत्पादन होइनन् । हामीले आदर्श मान्ने गरेका गान्धी, मन्डेला, माओ, चे, लिंकन सबै विदेशी हुन् । विचारदेखि भौतिक उत्पादनका विषय उपयोग गर्नेमा आजको विश्व उदार छ । भलै शक्तिराष्ट्रले बर्चस्व राखेका हुनसक्छन् । यो अर्कै बहसको कुरा हो । हिजो एक भाषा, भेष र धर्मको सहारामा नेपाली नागरिकमाथि उत्पीडन लाद्ने विरुद्ध चुइँक्क नबोल्नु, आज समाजमा स्वीकृत हुँदैगरेका लोकतान्त्रिक मान्यताहरू विदेशीले लादेको भन्नु आफ्नो शक्तिमाथिको ठूलो अविश्वास हो । के हामी नेपाली त्यति कमजोर भइसक्यौं, जसको राष्ट्रवादी बिरुवा धर्मनिरपेक्षताको सानै हुरीले भाँचिदिन सक्छ ? हाम्रो राष्ट्रवाद चन्द्रसूर्य झण्डा र हिमाल रहेसम्म अटल रहनेछ भनेर पढाइएको होइन र ?
रह्यो, विदेशी राजदूतले नेपालमा धर्मपरिवर्तन गराउन पाउनुपर्छ भनी बोलेको कुरो । त्यसमा हाम्रो सरकारले खरो प्रतिवाद गरेको छ । उनले उचित कारबाही भोगिसकेका छन् । हाम्रो राज्यले लाचारी देखाएको भए दादागिरी अरू बढ्न सक्थ्यो । हाम्रो राज्यले आफ्नो चासो देखाएकैले अब अरू देशका प्रतिनिधिले नेपालबारे बोल्दा पाँच मिनेट नसोची धरै छैन । जबर्जस्ती धर्मान्तरणलाई हाम्रो कानुनले निषेध गरेको छ । राज्यको प्रतिबद्धता झल्किएकै छ । प्रश्रतिज्यू, हामी आफैंले बनाएको राज्यमाथि किन यत्रो अविश्वास ?
धर्म, अध्यात्म, संस्कारलाई हेर्नेबारे धेरै अलमल छ, नेपाली माक्र्सवादीहरूमा । आजसम्म उनीहरू पूर्वाग्रह र बनिबनाउ मान्यताको कुहिरोबीच आफ्नो पाखण्ड छिपाउने चेष्टा गर्दैछन् । के प्रचण्ड, के झलनाथ, के बाबुराम, के नेपाल यसमा कोही अलग छैनन् । कहिले धार्मिक आस्थामाथि प्रहार गर्ने त कहिले साधुसन्त महाराजकहाँ लम्पसार पर्ने प्रवृत्तिबाट हाम्रो वामपन्थी वृत्तको छिपछिपेपना र दोहोरो चरित्र झल्किन्छ ।
तपाइर्ंजस्तो सम्मानित बौद्धिकले चाहेको भए यसबारे प्रगतिशील र समाज सुहाउँदो विचार दिन सक्नुहुन्थ्यो । व्यक्तिको निर्माणमा धर्म, संस्कारको भूमिका कस्तो होला भन्नेमा बहस चलाउन सक्नुहुन्थ्यो । तर तपाइर्ं आफैं आफ्ना संकुचनहरूको बन्दी हुनुभयो । अर्को शब्दमा तपाईं जसका विरुद्ध लड्दै हुनुहुन्थ्यो, उसैको माइक पो बन्न पुग्नुभयो ।
कत्रो दुर्भाग्य !
प्रश्रतिज्यू, वास्तवमा कमल थापाको दललाई समेत वास्तविक अर्थमा हिन्दुराज्य र राजतन्त्र चाहिएको छैन । उनीहरूसँग योभन्दा अर्को कुनै त्यस्तो एजेन्डा बाँकी छैन, जसबाट गुमेको स्वर्ग फर्काउन सकियोस् । त्यसैले उनीहरू यही न्ाारा दिन बाध्य छन् । तपाईं भने जानेर वा नजानेर थापाको शक्ति विस्तार गर्न सघाउँदै हुनुुहुन्छ । यी तिनै थापा हुन्, जसको रजगज हुँदा तपाईं पञ्चायतका अराष्ट्रिय तत्त्वका रूपमा भूमिगत हुनुहुन्थ्यो । यी तिनै थापा हुन्, जसको सरकारले ९ वर्षअघि तपाईं स्थायी कमिटी सदस्य रहनुभएको पार्टी एमालेका महासचिव माधवकुमार नेपाल र अहिलेका अध्यक्ष केपी ओलीलाई घरैमा नजरबन्द गरेको थियो । तपाईंको पार्टीसमेत रहेको देउवा सरकारलाई बर्खास्त गर्दै उनीहरू स्थापित भएका थिए । आज तपाईं उनै थापासँग मुद्दाहरूका कारण एकठाउँ उभिनुभएको छ ।
र आज तपाइर्ं जाति, भाषा, संस्कृति, इतिहास आदि पहिचानको विरोध गर्दै हुनुहुन्छ । सट्टामा हिन्दु धर्मको पहिचानचाहिँ चाहिने तर्क गर्दै हुनुहुन्छ । यो परस्परमा मेल नखाने कुरा हो । कि तपाईंले भन्न सक्नुपथ्र्यो, पहिचान मान्ने हो भने जातीय पनि मानौं, धार्मिक पनि मानौं । नमान्ने भए कुनै पनि नमानौं । तर तपाईं अरूको पहिचान निल्ने कुरा गर्दै हुनुहुन्छ, आफू आबद्ध रहेको धर्मको पहिचानचाहिँ सहीसलामत रहनुपर्ने तर्क गर्दै हुनुहुन्छ । कमरेड प्रश्रति, यो त ढाँटेको कुरा काटे मिल्दैन भनेझैं भयो । हिजो तपाइर्ं जुन परिवर्तनको सपना देख्नुहुन्थ्यो, पुस्तक लेख्नुहुन्थ्यो, त्यही सपनाको, पुस्तकको परिवर्तनलाई संस्थागत गर्न राजनीतिक शक्तिहरू लागिरहेको बेला तपाइर्ं 'नन-इस्यु'लाई केन्द्रमा ल्याएर मुख्य विषयहरू छाया पार्न खोजिरहनुभएको छ । यसमा जानाजानी प्रतिगमनको गन्ध आउँछ । तपाईंलाई थाहै हुनुपर्छ, हिन्दुराज्य बनाउने नियतसँग शाहतन्त्र फर्काउने योजना मिसिएको छ ।
प्रश्रतिज्यू, भुइँका मानिसहरूको हृदयमा फ्रेम हालेर सजाइएको तपाईंको तस्वीर क्रमशः बासी परम्पराको धुलोले छोपिँदैछ । अब हामीले कुन प्रश्रति रोज्ने ? समान, न्यायिक समाज आहान गर्न हिँडेको हिजोको भर्भराउँदो गतिशील प्रश्रति कि इतिहासको प्रवाह रोक्न खोज्ने आजको शुष्क, दिग्भ्रान्त र गतिहीन प्रश्रति ? सामन्तले असूर ठहराएका तल्ला, निमुखा जातिका पक्षमा 'देवासुर संग्राम' लेख्ने हिजोको प्रश्रति कि हिन्दु राष्ट्र फर्काउन उद्यत आजको प्रश्रति ?
Kantipur 2071 Magh 10
No comments:
Post a Comment