Monday, August 22, 2011

मार्क टलीसँग एक साँझ


बिबिसी हिन्दी सेवामा धेरै वर्षसम्म मार्क टलीको आवाज सुनेर एउटा पुस्ता हुर्कियो। …नेपाल लिटरेचर फेस्टिभल' मा शुक्रबार बोल्न आएका यी आंग्ल भारतीय पत्रकारलाई त्यस पुस्ताले कृतज्ञता व्यक्त गर्‍यो– पञ्चायतकालीन बन्द समाजमा स्वतन्त्र पत्रकारिता प्रतिबन्धित भएको बेला लोकतन्त्रको पैरवी गरिदिएकामा। खुला समाजको आशा भरिदिएकामा।
उनले त्यसबेला चलाउने बहुचर्चित रेडियो कार्यक्रम …सम्थिङ अन्डर्स्टुड' का थुप्रै प्रशंसक साहित्य महोत्सवस्थल झम्सिखेलमा भेटिए। टलीले ३० वर्ष दक्षिण एसियाको रिपोर्टिङ अनुभव सुनाउने क्रममा मोडरेटर बनेका पत्रकार विजयकुमारले उनलाई …हाइ ब्यान्डविथ' का व्यक्ति भनेर चिनाए। प्रतिभाशाली पत्रकारमात्रै नभएर महान र चामत्कारिक व्यक्तित्वको संज्ञा पनि दिए। बेलायती महारानीले पत्रकारलाई विरलै दिने …नाइट' पदवी पाउने टलीसँग विजयकुमारले सोधे, …के भारतीय प्रजातन्त्र संकटमा जेलिँदै गएको हो?'
…भारतीय लोकतन्त्र चलायमान छ,' टलीले भने, …सबैलाई आफ्ना कुरा भन्ने छुट छ। नजिकैको चीन र यस्तै अरू केही देशमा भिखारी र सडकबालकको संख्या डरलाग्दो छ। मिडियामा प्रचार छैन। त्यसैले कसैलाई थाहा छैन। यही हो खुला र बन्द समाजबीच फरक। यसलाई तपाईं भारतको लोकतन्त्र चलायमान र खुला भएको मान्न सक्नुहुन्छ।'
राति आठ बजेको थियो। हामी टलीलाई रात्रिभोजमा लैजान उनी बसेको पुल्चोकस्थित होटल हिमालय पुगेका थियौं।
…म कहाँ जाँदै छु?' टलीले गाडी चढिसकेपछि सोधे। महोत्सव आयोजक निरज भारीले टलीको सम्मानमा हुन लागेको रात्रिभोजमा  सहभागी हुन जाँदै गरेको बताए। 
मलाई टलीबारे प्रश्न कम, उत्सुकता बढी थियो। काठमाडौंमा भर्खर आइपुगेको टलीको किताब …इन्डियाज् अन्इन्डिङ जर्नी' का केही भाग हेरेको थिएँ।
बबरमहल रिभिजिटेड र अनामनगरको ट्राफिक जाम हुँदै नक्सालस्थित रात्रिभोजस्थल जाने क्रममा थुप्रै जिज्ञासा राख्ने मौका पाएँ। कुनै औपचारिक समय मिलाइरहनु परेन। सेतै कपाल भएका हँसिला उनलाई उनलाई प्रश्न सोधुँ कि नसोधुँकै दोधारमा मेरो मुखबाट निस्किहाल्यो, …भारतमा माओवादी गतिविधि दबाउने सवाललाई दिल्लीले प्रतिष्ठाको विषय बनाएको देखिन्छ, अरुन्धती रोयलगायत केही विश्वप्रसिद्ध बौद्धिकले त तिनको समर्थनमा लेखिरहेका छन् नि?'
टलीले पछिल्तिरको सिटमा बसेको मतिर एकफेर घाँटी तन्काए र भने, …जिज्ञासा उचित हो, रोय समकालीन विश्वमा चिनिएकी भारतीय त हुन् तर उनले माओवादीलाई …ग्ल्यामराइज' गरिरहेकी छिन्। परिस्थिति उनले लेखेजस्तो छैन। धेरै निर्दोष र निहत्था युद्धको घानमा परेका छन्। त्यसमा माओवादी पनि कम दोषी छैनन्।'
मैले सोधेँ, …त्यसो भए उनीहरू आतंककारी हुन् वा विद्रोही हुन्?'
टलीले फेरि हेरे र संकेतमा जवाफ दिए, …उनीहरू विद्रोही हुन् भने व्यवहारबाट प्रमाणित गर्नुपर्छ।'
भन्नाले उनीहरू आतंकवादी नै हुन्?
गाडी अनामनगर पुग्यो। निरजले सिंहदरबार पूर्वी गेटनेर गाडी एकैछिन रोके। टली उत्रिन खोजे। हामीले …पर्दैन'को इसारा गर्‍यौं। उनी मुस्काए।
…तपाईंले बिबिसीका लागि रिपोर्टिङ गरेयता नेपालमा दुईपटक व्यवस्था फेरिइसक्यो,' मैले अर्को जिज्ञासा राखेँ, …साउथ ब्लकको नेपाल नीति अझै पनि हस्तक्षेपकारी नै देखिन्छ...।'
…नट एक्ज्याक्ट्ली,' उनले भने र त्यही वाक्यांश दोहोर्‍याए, …नट एक्ज्याक्ट्ली, तर साउथ ब्लकका केही अझै पनि कडा कूटनीतिमा विश्वास गर्छन्। त्यसलाई साउथ ब्लककै विचार भन्न नमिल्ला ...।'
उनले जवाफको पूरकमा भने, …भारतमा होस् या नेपालमा, कसैकसैले राजनीति सो‰याउन बढी यस्ता कुरा उछाल्ने गर्छन्।'
उत्सुकता अझै बाँकी थिए। महोत्सवको दुईदिने सत्रमा मैले जान्न चाहेका कुरा सोध्न पाइरहेको थिएँ।
…नेपालमा भारतविरोधी चेतना छँदैछ,' सोधेँ, …के यसलाई पनि ग्ल्यामराइज गरिएको हो?'
…यो चाहिँ ग्ल्यामराइज्ड होइन,' टलीले सोझै जवाफ फर्काए, …एक्ज्याजरेटेड भने पक्कै हो। यो नयाँ समस्या पनि होइन।'
…भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अझै दुःख दिन्छ। उसले सीमावारि आएर दुःख दिएको समाचार तारन्तार आउँछ। मेचीदेखि महाकालीसम्मै सीमाविवाद छ,' मैले विषयलाई अझै तन्काएँ।
उनी गम्भीर भए, …खुला सिमाना भएकैले तपाईंहरूले थुप्रै फाइदा पनि त लिनुभएको छ नि।' थपे, …भारतीय गृहमन्त्रीले नेपालसँग खुला सीमा भएकाले सुरक्षामा चुनौती थपिएको भनेका छन्। सीमा बन्द गर्नेसम्म कुरा गरेका छन्। त्यसले त्यति राम्रो गर्छ भन्ने मलाई लाग्दैन। सीमाका कुरामा दुवै पक्ष बसेर निर्क्यौलमा पुग्नु मनासिब होला।'
हामी नक्साल पुगिसकेका थियौँ। रात्रिभोज हुने ठाउँ ठ्याक्कै यही हो भन्ने निरजलाई थाहा भएन। बत्तिएर आएको एउटा गाडीले हामी चढेको गाडीलाई झन्डै ठक्कर दियो। ड्राइभरले निरजलाई उल्टै घुरेर हेर्‍यो। वास्तवमा गल्ती उसैको थियो।
मैले झट्ट गाडीमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई देखेँ। टलीलाई भनेँ, …त्यो गाडीमा तपाईंले काठमाडौँबाट रिपोर्टिङ गर्दाताकाका एक प्रधानमन्त्री सूर्यबहादुर थापा छन्।'
…साँच्चै हो?' उनले गर्धन तन्काएर हेर्न खोजे र भने, …बट ही इज म्यान अफ पास्ट।'
अब सोध्ने पालो उनको थियो, …साँच्चि हिजोआज गिरी कता छन्?'
मैले हाँस्दै भनेँ, …ज्ञानेन्द्रको सत्ता ढलेको भोलिपल्टदेखि नै गिरीको नामोनिशान छैन। वर्तमान उनीसँग पनि उति उदार छैन, कमसेकम नेपालमा।'
निरजले रात्रिभोजस्थल पत्ता लगाउँदै गर्दा मलाई भने टलीसँग अझै प्रश्न सोध्ने समय मिल्दै थियो। बेलायतबाट पत्रकारिता गर्न भारत आएका यी वृद्धलाई सोधेँ, …लन्डनमा भर्खरै भएको दंगालाई केही विश्लेषकले क्रान्तिपूर्वको आँधी भनेर लेखे, नेपालमा पनि। तपाईंको टिप्पणी?'
…ओहोहो, कसरी त्यस्तो भन्न सकिन्छ? त्यो केवल भीड थियो। भीडसँग कुनै योजना र गन्तव्य हुँदैन। त्यसलाई तिमी उपद्रो भन्न सक्छौ।'
उत्रने बेला आउनै लागेको थाहा पाएर मैलै हतारमा लगभग अन्तिम प्रश्न तेर्स्याएँ, …कृष्णप्रसाद भट्टराईले २०४८ सालमा चुनाव हार्दा तपाईंले लेख लेख्नुभएको थियो रे।' टली फेरि पछाडि फर्के। मैले हच्किदै सोधेँ, …त्यसमा के लेख्नुभएको थियो?'
कति सोधेको भनेर उनी रिसाए कि भनी डर लागेको थियो। उनले खुसी हुँदै भने, …तिमीलाई पुरानो कुरा याद रहेछ। मैले उनीप्रति सहानुभूति राखेर लेखेको थिएँ। उनीजस्ता मानिसले चुनाव हार्नुहुँदैनथ्यो।'
निरजले गाडी पार्क गर्दैगर्दा मैले अन्तिम प्रश्न राखिहालेँ, …गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नेपाल आउनुभयो?
…अँ, आएँ। कोइराला, गणेशमान र मनमोहन अधिकारीसँग मेरो राम्रो सम्बन्ध थियो। उनीहरू नेतामात्रै होइन, धेरै राम्रा मानिसहरू थिए।' 
मैले उनलाई धन्यवाद त दिनैपर्थ्यो, भनेँ, …तपाईंलाई मैले दिक्क लगाएँ होला, माफी चाहन्छु। छोटो दूरीमै धेरै सिक्न पाएँ, यो मेरा लागि पूँजी हुनेछ।'
उनैले पो धन्यवाद दिए। …धन्यवाद। त्यस्तो हुँदै होइन। तिमीले सोधेका प्रश्न धेरै महत्वपूर्ण र गम्भीर थिए।' 
मेरा लागि भने टलीका …हाइ ब्यान्डविथ' जवाफ धेरै महत्वपूर्ण र गम्भीर थिएँ।
published on Nagarik daily bhadau 4, 2068


 






No comments:

Post a Comment