Sunday, November 6, 2011

जागा मधेसीका कुरा

(नागरिकमा २०६८ कात्तिक १९ गते प्रकाशित)
मिलान कुन्देराको किताब 'द बुक अफ लाफ्टर एन्ड फर्गेटिङ' को एउटा अंश राख्दै लेखक कल्याणभक्त माथेमा आफ्नो किताब 'मधेसी अपराइजिङ :  द रिसर्जेन्स अफ इथ्निसिटी' मा लेख्छन् :
'मानिसहरूलाई खत्तम गर्नु छ भने तिनको इतिहास मेटाइदेऊ। किताब नष्ट गर। संस्कृति र इतिहास क्यै बाँकी नराख। त्यसपछि नयाँ किताब लेखाऊ। नयाँ संस्कृति 'उत्पादन' गर। नयाँ इतिहास …आविष्कार' गर। उनीहरूले आफू को थिएँ र को हुँ भन्ने नबिर्सिन्जेलसम्म यो कर्म निरन्तर जारी राख।'

सबैको आआफ्नो इतिहास छ। कल्याणभक्त माथेमाको विचारमा तराई मधेसको इतिहास भने सही ढंगले अभिलिखित छैन। भएको इतिहास पनि सत्ताशक्तिले नजरअन्दाज गरेको छ। अघोषित रूपमा मधेसीको इतिहास, संस्कृति र सभ्यतालाई कुन्देराले भनेझैं राज्यको संस्थापनले उपेक्षा गरेकैले मधेस आन्दोलन उठेको हो। सन् २००७ मा उठेको मधेस आन्दोलनमा केन्द्रित माथेमाको …मधेसी अपराइजिङ :  द रिसर्जेन्स अफ इथ्निसिटी' किताबले चर्चा गरेको छ।
मन्डला बुक प्वाइन्टले बजारमा ल्याएको प्रस्तुत किताब त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयअन्तर्गत स्नातकोत्तर गर्ने क्रममा माथेमाले गरेको थेसिसको संश्लेषण हो। डेढ सय पृष्ठको यस किताबको लेखन विश्वविद्यालयीय ढाँचामा आधारित छ।
माथेमाले आफ्नो किताब छ भागमा लेखेका छन्। पहिलो भाग …ब्याकग्राउन्ड टु द अपराइजिङ' मा तराईको परिचय, मधेसी को हुन्, तराईका मधेसी र पहाडी मूलका मधेसी, सन् १९५० यताका चार दसक, सन् १९९० देखि २००६ सम्मको अवस्था, जातीय राजनीति र द्वन्द्व, सैद्धान्तिक मान्यताहरू, विश्व सन्दर्भमा जातीय सवाल र विकासशील देशमा चलिरहेका जातीय द्वन्द्वबारे छोट्छोटो व्याख्या राखिएको छ।
…मधेसी अपराइजिङ अफ २००७' नामक दोस्रो खण्ड मधेस आन्दोलनमाथि केन्द्रित छ। यही आन्दोलनले दुई महिनाअघि जारी नेपालको अन्तरिम संविधानमा संशोधन गरी संघीयताको मुद्दालाई संविधानभित्र औपचारिक रूपमा प्रवेश गराएको थियो। माओवादीले १६ वर्षे प्रदर्शनकारी रमेशकुमार महतोको हत्या गरेपछि उछालिएको आन्दोलन आखिरमा राजधानी काठमाडौंमा नाकाबन्दी गर्ने हदसम्म उत्कर्षमा पुगिसकेको थियो। पृष्ठ २५ मा माथेमाले लेखेका छन्, …जातीय पहिचानको सवाल अबको नेपाल राजनीतिको केन्द्रभाग बन्दैछ भनी यही आन्दोलनले देखाइदियो।'
तेस्रो खण्ड …द युडिएमएफ प्रोटेस्ट अफ २००८' आन्दोलनकै निरन्तरताको छोटो विवरण हो। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चलाएको यो आन्दोलनले तराईमा माओवादीको मोर्चाका रूपमा काम गरिरहेको मधेसी राष्ट्रिय मुक्तिमोर्चाको प्रभाव स्वात्तै बढारिदिएको थियो। संविधानसभामा आफ्नो पहुँच बढाउन मधेसी दलहरू विशेषगरी मधेसी जनअधिकार फोरमका लागि यो आन्दोलन फाइदाकारी हुन गएको थियो।
चौथो खण्ड …कजेज अफ मधेसी अपराइजिङ' किताबको महŒवपूर्ण भाग हो। माथेमाले तराईको पौराणिक र ऐतिहासिक पाटो समेटेका छन्। तराईवासीले नेपाली नागरिकताको प्रमाणपत्रजस्तो सहजतापूर्वक पाउनुपर्ने (अन्य क्षेत्रका नेपालीले पाएझैं) विषय पनि पाउन बेहोर्नुपरेको कठिनाइ, सांस्कृतिक प्रभुत्व, मधेस र पहाडबीच रहेको बसाइसराइको बहस, अस्वस्थ प्रतिष्पर्धा आदि उल्लेख छ।
मधेस आन्दोलनले …नयाँ' के दियो त? संघीयताको नीतिगत निर्णय, संविधान सभामा मधेसवादी दलको ठूलो हिस्सा, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति, आकर्षक मन्त्रालयमा …रोजीरोजी' मधेसी मन्त्री, मधेसी समावेशिता, ठूला दलका ठूलै नेताको मधेसी पार्टी प्रवेश, मधेसी जनताको आत्मसम्मान? तराईमा जातीय शत्रुता, जातीय तनाव हुर्किदै कुनै दिन देश टुक्रिन्छ कि भन्ने डर?
अघिल्लो वाक्यमा उल्लिखित विषय मधेसका सबलता हुन्। त्यसलाई मधेसीले जोगाउन र इज्जत दिन सक्नुपर्छ। पहिल्लो वाक्यमा परेका शब्द मधेस आन्दोलनका …बाइप्रोडक्ट' हुन्। भय र शंका निवारण गर्ने जिम्मा मधेसका नाममा स्थापित दलहरूकै हो। नाम नछाप्ने सर्तमा एक नेताले लेखक माथेमासँग भनेको कुुरा यहाँ सान्दर्भिक छ, …मधेसका कुनै पनि नेता देश टुक्र्याउन अघि सर्दैनन्, किनकि भारतमा गाभिँदा उनीहरूले राष्ट्रपति, यही स्तरको सम्मान र रोजीरोजी मन्त्री पद खान पाउँदैनन्।'
मधेस आन्दोलनको महिमामण्डन गर्ने राजनीतिक दलका नेताले स्वयं आन्दोलन चल्दैगर्दा कस्ताकस्ता टिप्पणी गरेका थिए भन्ने पनि किताबमा केही सन्दर्भ राखिएका छन्। यसले राजनीतिक नीतिनिर्णय लिनुअघि एकाध घटनाका आधारमा प्याच्चै बोलिहाल्ने विश्लेषणको मनोगत पाटोलाई उजागर गरेको छ। मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्थाबाट सुरु हुँदै राजनीतिक दल बन्ने प्रक्रियासम्म आइपुग्दाको परिस्थिति र आन्दोलन फैलिन थालेपछि हिन्दु अतिवादी, राजावादी, सामन्त, धर्मनिरपेक्षताविरोधी, माओवादीविरोधी र अन्य उग्र तत्वको घुसपैठ भएका प्रसंग पनि किताबका उल्लेख्य जानकारी हुन्। मधेस मुक्तिकै नाममा निहत्था पहाडी मूलका नागरिकले झेल्नुपरेका अमानवीय यातना संघर्षका विकार थिए। अनेकथरि मानिसले निहित स्वार्थका लागि प्रदर्शनमा प्रत्यक्ष वा परोक्ष भूमिका निर्माण गर्न खोजे पनि मधेस आन्दोलन वषर्ौंदेखि राज्यको एकमना चरित्रबाट हेपिएका मधेसीले चलाएको स्वामित्व, स्वाभिमान र प्रतिष्ठाप्राप्तिको लडाइँ नै थियो भन्ने पाटो किताबको निचोड हो।
मूलधारका सञ्चारमाध्यमले बेलाबखत तराई मधेसप्रति गर्ने गरेका …असंवेदनशील र संवेदनाहीन' टिकाटिप्पणीलाई पनि किताबले समेट्न भ्याएको छ। यो मिडियाले पनि आत्मसमीक्षा र आवश्यक परे प्रतिटिप्पणी गर्ने विषय हो।
मधेसी अपराइजिङ :  द रिसर्जेन्स अफ इथ्निसिटी
लेखक :  कल्याणभक्त माथेमा
प्रकाशक :  मन्डला बुक प्वाइन्ट
पृष्ठ :  १३७
मूल्य :  रू.४५०/–

No comments:

Post a Comment