Saturday, November 12, 2011

स्वर्गीय जीवित स्वप्निल


(नागरिकमा २०६८ कात्तिक २६ गते प्रकाशित)
वसन्त बस्नेत

अमेरिकाले आकाशमा भर्खरै एउटा चंगा उडाएको छ
जो खसेको छ अफगानिस्तानको आदिवासी बस्तीमा
कस्तो चंगा उडाउने हो?
'हावाले दिशा बदलेको छ।
…छोरा!'
म सम्झाइरहेछु
'चंगा उडाउनुअघि
हामी आफैं ठूलो आँधीहुरीमा उड्नु छ।'
('चंगा' :  स्व. स्वप्निल स्मृति)
...............
नब्बे सालको भुइँचालोले यस्सो ताछेको धरहराछेउ स्वर्गीय स्वप्निल स्मृति भेटिन्छन्, सशरीर, जीवित।
अग्लो धरहराको नवौं तलामा उभ्भिएर हेर्दा मंगोलियन उचाईका यी कविलाई हेर्दा कति डिग्रीको अवनति कोण बन्ला?
भूगोलले उनी जत्रै होउन्। कृत्रिम उचाई उभिएका 'धरहराहरू'को बेढंगी अग्लाईविरुद्ध प्रतिरोधी कविता लेख्ने स्वप्निल अग्ला, बलिया र सुगठित तर उत्तिकै सुन्दर कविता लेख्छन्। उनीसँग भेट भएको क्षण सहर दसैंतिहारको ह्याङओभरमै छ। मेड इन् अमेरिका चंगा उडिरहेकै होलान्। 'एस्को चं धागो छिनाल्न पाए....' स्वप्निल यस्तै सोचिरहन्छन्, कवितामा।
यहाँ जीवित थुप्रै अनुहार छन्, यहाँ भनेको काठमान्डुमा– जो श्वास फेरिरहेका छन्। बँचाइमा कुनै …जीवन' पाइन्न। फिका जीवन बाँचिरहेकाहरूका प्रतिनिधि जस्ता लाग्छन् स्व. स्वप्निल, नामले।
कहाँको स्व., कहाँको स्वप्निल, कहाँको स्मृति। परस्परमा तालमेल नखाने अढाई थान नामको तौल (यसलाई बोझ भन्दिए के होला? पंक्तिकार दावी गर्छ, कुनै दिन सनमान चेम्जोङ उर्फ स्व. स्वप्निल स्मृति सेलिबे्रटी हुनपुगे भने यही नाम उनलाई अतिरिक्त भारी भइदिन सक्छ।) खैर यो नाम विवाद यहीँ छाडौं। आखिर नाममा के नै छ र!
तीस हिउँदबर्खा झेलिसकेका यी कविले कविताकै नाममा एक दशक आयु खर्चिसके। क्रान्तिकारीलाई एक दशक युग उल्ट्याउन पर्याप्त समय हो। उनले पनि डब्ल्युटी भएर हेरे। …म कवि विद्रोहमा उत्तेजनाले अस्त्रशस्त्रसहित पनि सहभागी भएकै हुँ, उत्तेजनाले बढी नै भौतिक प्रतिक्रियाको माग गर्दोरहेछ,' पछिल्लो कविता संग्रह …बाडुली र सुदूर सम्झना' मा उनी आफैंलाई कन्भिन्स गर्छन्, …तर म झस्किरहें, मेरो काम त कविताको बम पड्काउनु पो हो। अक्षरको इँटा हान्नु पो हो।'
केही नपुगेजस्तो, केही छुटेजस्तो, केही बिर्सेजस्तो भएको थियो कि देशको राजनीतिक नक्सा यी कविलाई। दुई चार मिसन क्लियर गरिसकेपछि लागेछ– धेरै साथीलाई इतिहासले आफूसँगै जिम्मा लिएर लग्यो पनि। त्यतिखेर चाहिँ म अलिक सम्हालिन्थें, चिच्याउँथें, …ए इतिहास! मलाई केही क्षण, केही प्रहर, केही वर्ष पर्ख, म आफैं आउनेछु। मलाई नलैजाऊ, मलाई लग्यौ भने कविता कसले लेख्छ?'
समाज र समय चिनाउँछु भनी दावा गर्ने कविलाई म खसोखास कवि नै हुँ भनी चिन्न पनि टाइम लाग्दो रहेछ। कविभन्दा समय नै बलियो हुँदोरहेछ।
…जनयुद्ध' का होलटाइमर। …सहिद' को  पंक्तिमा लामबद्ध भएर पनि जीवननिवृत्त हुन नभ्याएका …स्वर्गीय जीवित कवि' स्वप्निल यतिखेर पंक्तिकारसँग छन्। …जनयुद्ध' अब छैन, तर स्वप्निल छन्। अहँ, कुरो थोरै मिलेन। …जनयुद्ध' छैन, त्यसैले स्वप्निल छन्?
(स्वर्गीय चाहिँ कुन्नि। त्यो चाहिँ कृति जन्मिसक्दा लेखक मरेको उद्घोष  गर्ने रोलाँ बार्थलाई सोध्नुपर्ला। मलाई टाउको दुखाई छैन। उनै कमरेड कविलाई सर्कुलर पठाउनुपर्ला। यी भौतिकवादी कविलाई स्वर्गको अवधारणाप्रति किन अनुराग पलाएको होला!)
पार्श्वमा किशोर थुलुङको आवाज घन्किन्छ। मलाई थाहा छ, यो हर्क चुम्मेको गीत हो। यो स्वप्निलले बोक्ने मोबाइलको रिङटोन हो। पञ्चायतकालीन छिन्ताङकाण्डका सहिदको नाममा रचिएको …खोकु छिन्ताङ दुख्यो कि...' बोलको गीत हो यो। सहिदका गीत ओभररेट गर्ने स्वर्गीय जीवित स्वप्निल आफैंमा स्वप्नजीवी लाग्छन्। कवि हुनुको अर्थमा उनले सपना देख्न छाड्नु हुँदैन पनि। चिम्सा आँखा भएको मान्छेले देख्ने सपनाको आयतन सानै हुन्छ भन्ने पनि छैन।
काठमान्डु लिटरेरी जात्रामा विमोचन गराए स्वप्निलले पछिल्लो कविता संग्रह। कविता हो, त्यसैले कम बिक्यो। जति बिक्यो, पाठकले हार्दिक मनले ग्रहण गरे। रत्न पुस्तक भण्डार कस्सियो पुस्तक छाप्न। ३१ कविता संग्रहित छन्। २०६२ सालमा अघिल्लो कविता संग्रह छापिनुअघि लेखिएका पचासको दशकका केही कवितासमेत परेका छन्। कविता दोहोरिएका छैनन्। पहिलो कविता संग्रह …रंगैरंगको भीर' का त्रे्कताले घाटा बेहोर्नुपर्ने छैन।
कविले कविको प्रशंसा त्यति गर्छ, जति जग्गेमा बसेको पण्डितले अर्को पण्डितलाई गर्छ। (संस्कृतको एउटा कवितांशलाई नेपालीमा भावानुवाद गर्दा अर्थ हुन्छ, परस्परमा पण्डित यसरी हेराहेर गर्छन्, जसरी दुईवटा कुकुर एकार्कालाई घुरेर हेर्छन्।) यसबाट थाहा हुन्छ, कविले कविको …प्रशंसा' कति गर्छ!
तर …बाडुली र सुदूर सम्झनाको ब्लर्बमा भने कवि श्रवण मुकारुङ लेख्छन्, …विराट कथा र अनन्त इतिहास बोकेका शब्दहरूसित खेल्ने यी कविको प्रशंसा स्वयं कविहरू नै गरिरहेका हुन्छन्।' अचम्मै भएछ, यी कविको प्रशंसा पनि हुँदोरहेछ, कविबाट।
कविताकृतिमा स्वप्निलले देश र व्यवस्थासँग आद्योपान्त निहुँ खोजेका छन्। आँधीको आख्यान, माझी, मधेस, दरबार, चक्रपथ, चंगा, बालुवाटार, सहिद, हाँसो, पुरानो मजदुर जस्ता कविता तिनका दृष्टान्त हुन्। अलिअलि रसिक र  विरही कविता पनि छन्। तिनले कविको उमेरसमूह किटान गर्छन्।
केही कविताका बान्की छन्। अग्रज कविले पढे भने तिनलाई आफ्नै कविता पढेजस्तो लाग्नसक्छ। यसमा तिनको र निज कविको के प्रष्टीकरण छ कुन्नि!
जिन्दगी माइला, यदि बालापन फर्किने भए, धोका, बुबा, उपहार, फूलहरूको पहाड कवितामा पान्थरे लवज छ। प्रेमको चरित्र सार्विक हुन्छ कि! स्वप्निलका कविता पढ्दा लाग्छ– होइन, यो समय र स्थानअनुसार हुन्छ। पचासको दशकदेखि कविता लेख्न थालेका यी कविले आफूले देखेको (भोगेको?) समयको प्रेम कवितामा उतार गरेका छन्। यिनी कवितामा असफलताको मार्मिक कहानी उन्न सफल छन्।
कवितामा सबैखाले मसला र रंग हालेर …भर्सटाइल' देखिन खोज्ने स्वप्निल फेरि पनि  
आस्थाका कवि नै हुन्, प्रतिरोधी नै हुन्। जस्तो कि,
चक्रपथबाहिर
लिम्बुवान छ, थरुहट छ, खम्बुवान छ 
चक्रपथभित्र चाहिँ
यिनले नमानी नहुने भगवान छ।
.......... मित्र चक्रपथबाहिर कि भित्र?
एउटा संगीन प्रश्न
चक्रपथवरिपरि घुमिरहेछ।
(चक्रपथ)



1 comment: