Sunday, November 6, 2011

रुपान्तरणको एजेन्डा खोई?

क्रमबद्ध मासिकको २०६८ कात्तिक अंकमा प्रकाशित
विराटनगरका माओवादी कार्यकर्ता कोमल पाण्डे काठमाडौंको अद्वैतमार्गस्थित जागरण बुक हाउसमा तीन हप्ताअघि भेटिए। कोचिला राज्य समिति सदस्यसमेत रहेका उनी भनिरहेका थिए, 'प्रचण्डले हामीलाई अन्ततः दास बनाए। विश्वमा कोही क्रान्तिकारी जेल परेर सिद्धिए, कोही गोली खाएर। खै हामी त केही नगरी सिद्धिने भयौं। क्रान्ति गर्न हिँडेको, कहाँ ल्याइपुर्‍यायो नेतृत्वले!'

पंक्तिकार माओवादी होइन। तैपनि ऊ दसवर्षे हिंसात्मक आन्दोलनको जगमा उभिएको एकीकृत नेकपा माओवादीबारे गहिरो चासो राख्छ। संविधानसभा निर्वाचनमा प्राप्त जनमतबाट पहिलो ठूलो दल बनेको माओवादी जारी शान्ति प्रक्रियाको आधा हिस्सा पनि हो। अहिले यो पार्टी 'अन्तरसंघर्ष' मा छ। यसर्थ माओवादी पार्टीभित्रको अन्तरविरोध उसको निजी मामिलामात्रै हुनसक्दैन। अरू दलका नेता र आम विश्लेषकले भने झैं शान्तिप्रक्रियासँग यसको खसोखास सम्बन्ध त छँदैछ। हामीले यहाँनेर हेर्नुपर्ने कुरा चाहिँ नेपालमा लामो समयदेखि उकालिँदै ओरालिँदै आएको रुपान्तरणको आन्दोलनसँग पनि ऊभित्रको अन्तरकलहको सम्बन्ध के छ भन्ने हो। कोमल पाण्डेको निधारमा देखिएको चिन्ता र निराशाको …आर्क' पनि यसैमा थियो।
यी पंक्ति लेखिँदै गर्दा तथाकथित् संस्थापन पक्षको नाममा माओवादी अध्यक्ष प्रचण्ड पक्षधरले जारी …अन्तरविरोध' बारे असोज २९ गते राष्ट्रिय कार्यकर्ता भेलाको नाममा आफ्नो …विचार समूह' मा …छलफल' चलाउने निर्णय गरेको छ। जस्तालाई तस्तै जवाफ दिने मुडमा रहेको उपाध्यक्ष मोहन वैद्य किरण समूहले त्यसको एक दिन अघि नै समानान्तर भेला डाकेको छ।
…क्रान्तिकारी पार्टी' भित्रै परस्परलाई सिध्याउने गरी जग हँसाउने गतिविधि भइरहेका बेला अर्का उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई विदेश सयरको भ्याइनभ्याईमा छन्। संयुक्त राष्ट्रसंघ महासभाबाट फर्केलगत्तै उनले आफ्नो ४५दिनलाई …अनन्तकालसम्म' लम्ब्याएका छन्। अब उनी भारत जाने तयारीमा छन्। माओवादीकै समर्थनमा बनेको झलनाथ खनाल नेतृत्वको एमाले सरकारलाई …बाल नदिने' भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भट्टराईलाई भने भ्रमणका लागि दुई पटक निम्तो दिइसकेका छन् :  पहिलो भट्टराई प्रम बनेको केही मिनेट नबित्दै, दोस्रो राष्ट्रसंघ महासभामा। राष्ट्रिय सहमतिको रटना लगाउँदै बहुमतीय प्रम बनेका भट्टराई सिनेमाको हिरोले छुमन्तर गरेर पहाडभन्दा अग्ला समस्या सल्टाएझैं इमेल, फेसबुक र फोनको भरमा एक्लै ठाडो आदेश दिइरहेका छन्। उनले आफू एकलव्य भएको पनि प्रष्ट्याइसकेका छन्। आफैंले चर्काएको राष्ट्रिय सहमतिको सरकारको नारालाई आफैंले लत्याउँदै भट्टराई अरू दललाई त के आफ्नै दलका सहकर्मीलाई समेत …नपुछ्ने' मनसायमा देखिन्छन्। भन्छन्, …शान्ति नचाहने तत्व जनमतबाट बढारिनेछन्।' जनमत भट्टराईले एक्लै पाएका हुन्?
अन्य नेताको जति कुरा गरे पनि माओवादीभित्र प्रकट पछिल्लो भुइँचालोको इपिसेन्टर भने अध्यक्ष प्रचण्ड नै हुन्। प्रचण्ड …रिमोट कन्ट्रोल' को राजनीतिमा विश्वास गर्छन्। भट्टराई सरकार बनाउनेदेखि बनेको सरकारलाई …बनाइदिने' सम्मको ल्याकत उनीमा छ। प्रचण्डसँग असन्तुष्टले धोबीघाट भेला आयोजना गर्र्दैगर्दा माओवादीमाथि रिपोर्टिङ गर्ने एक पत्रकारले लेखेका थिए, …प्रचण्ड एकैपल्ट दुईवटा दिमागले सोच्छन्, त्यसैअनुसार चल्छन्।' यो पंक्तिकारलाई चाहिँ लाग्छ– प्रचण्ड सनकको भरमा चल्छन्। त्यो सनक …वैज्ञानिक' हुन्छ, किनकि त्यो प्रचण्डमा चढ्छ। प्रचण्ड सनकको भरमा शान्तिवादी हुन्छन्, सनककै भरमा जंगबहादुर। लहडकै भरमा जनविद्रोहको कुरा गर्छन्, अनि माओवादी सेनाका लडाकु राखिएको शिविरस्थित हतियारका कन्टेनरको चाबी बुझाउँछन्। यता युद्धका सारथीलाई विनायोजना निशस्त्र पार्छन्, उता फेरि युद्धमा फर्कने ध्वाँश दिन्छन्। सनककै भरमा कहिले बाबुराम पक्षलाई कत्लेआम गर्न खोज्छन्, कहिले अर्कोलाई।
अहिले प्रचण्ड आफ्ना राजनीतिक गुरु र सहकर्मी किरणको लाइनलाई समर्थन गर्नेहरूलाई साइजमा ल्याउन, नभए सिध्याउन कस्सिएका छन्। उनी भन्छन्, …पार्टी फुटाउन खोज्नेहरू सिद्दिएर जान्छन्।' प्रचण्ड सीमित अवसरवादीलाई आफ्ना …गणेश' चुन्छन्। राजनेता बन्ने महत्वाकांक्षा राख्ने उनी चल्न चाहिँ त्यही सानो घेराबाट चल्छन्। सत्ताको न्यानो तिनै गणेशले ताप्न पाउँछन्। जीवनको राजीनामा बुझाएर दस वर्ष भूगोल घुम्ने …कुमार' हरूलाई भन्दा प्रचण्ड बिहान–बेलुकै नयाँबजारस्थित आफ्नो बैठककक्षमा दण्डवत् गर्न आइपुग्ने भक्त गणेशहरूलाई नजिक देख्न थालेका छन्। अनि तिनै गणेशमार्फत् उनी प्रचार गराउँछन्, …पद नपाएको झोंकमा किरण पक्षले पार्टी फुटाउन खोज्यो।' यो प्रचण्डमा भएको अति आत्मविश्वास र अहंकारको प्रतिफल हो।
यस्तै अति–आत्मविश्वास र अहंकार सन् १९४९ पछि माओ त्सेतुङमा पलाएको थियो। मैले जे निर्णय गरे पनि सही हुन्छ भन्ने चिन्तनले माओको निरन्तरको सफलतामा …क्रमभंग' सुरु गरिदिएको थियो। मुखले सयौं फूलहरू फुल्न देऊ सयौं विचारका धारहरूलाई प्रतिष्पर्धा गर्न देऊ भन्दै माओले इतर विचार राख्ने सहकर्मीहरूलाई दबाउँदै गए। माओले आफूजत्तिकै कठोर मेहनतबाट निर्माण भएका समृद्ध इतिहासहरूलाई ठीकसँग सुन्न छाडेका थिए। गल्ती त्यहीँबाट सुरू भएको थियो।
प्रचण्डमा अहिले देखिएको अति आत्मविश्वास माओ–अहंकारकै पछिल्लो नेपाली संस्करण हो। २०४२ सालमा घटित सेक्टरकाण्डपछि तत्कालीन महामन्त्री किरणले प्रचण्डलाई विश्वासपूर्वक नेतृत्व सुम्पिन तयार भए। कालान्तरमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा किरणसमेतहरू मिलेर …प्रचण्डपथ' मा हिँड्न पनि हिच्किचाएनन्। यसले प्रचण्डमा प्राधिकार हुँ भन्ने अभिमानको ग्राफ अग्लो हुँदै गयो। अध्यक्ष आफैंमा नीति विचारको केन्द्रीकरण अथवा केन्द्रीयताको उदाहरण हो। प्रचण्ड व्यक्तिमात्रै होइन, ऊ सत्ता हो भन्ने सोचाईको फाइदा उठाउँदै उनले आफूखुसी गर्न थाले। यसले जनवादको पक्ष माओवादीमा ओझेल पर्‍यो।
पद, पार्टीसत्ता र शक्तिको बलमा जे पनि गर्न तयार हुने प्रचण्ड मनोविज्ञान निर्माण गर्नमा किरण पक्ष, अझ किरण स्वयं कम जिम्मेवार छैनन्। निर्णय लिँदा वा कार्यान्वयनमा गल्ती भए पद्धतिसंगत रुपमा हल खोज्ने परम्परा माओवादीमा बसेन। युद्धकालमा त कतिपय असुविधाले र युद्धका आफ्नै सीमा हुने हुनाले गाह्रो भएको हुनसक्छ। तर शान्ति प्रक्रिया सुरु भएपछिको आधा दशकमा पनि माओवादीले परम्परा बसाल्ने कुरालाई ध्यान नदिएको देखिन्छ। महाधिवेशन हुन सकेको छैन माओवादीमा। पार्टी एकताका नाममा बाटोमा हिँड्दै गरेको जो सँग पनि गर्धन जोरेको छ। कुनै बेलाको ठूलो दल एमाले झैं सुन्निएर मोटाएको जस्तो देखिन्छ माओवादी। यतिखेर भने …चीज गड्बड् हुन थाल्यो' भन्दै किरण पक्षले संस्थागत निर्णय लिनका लागि केन्द्रीय समिति बैठक माग गर्दा उल्तै त्यसलाई निस्तेज गर्दै संस्थापन भन्ने नामको आडमा एकलौटी गर्न खोज्नु त्यसैको पछिल्लो परिणति हो। यो माओवादीमा उत्पन्न जनवादको खडेरी हो। यो प्रचण्ड–सनकको पछिल्लो दृष्टान्त हो। 
प्रचण्डमा उत्पन्न हुने सनक उनको वैयक्तिक मामिला हो। भट्टराईमा सवार …चिप पपुलिज्म' को  मनोविज्ञान पनि निजी नै हो। तर यसको सीधा असर शान्ति प्रक्रियालाई पर्नेछ। अर्कातिर प्रचण्ड र भट्टराई जसरी पनि शान्ति ल्याउने धुनमा देखिन्छन्। शान्तिप्रतिको यति निरपेक्ष मोह तिनमा हुँदो हो त सशस्त्र संघर्ष किन आवश्यक पर्‍यो? के त्यो पनि सनककै भरमा घोषित थियो? अथवा त्यो हिंसाको आडमा शक्तिमा उदाउने रणनीतिक चालबाजी थियो? प्रचण्ड र भट्टराईसामू यो प्रश्न राख्नु अनुचित हुन्न किनकि शान्ति ल्याउनलाई आफूसँग भएको जे पनि गुमाउन तयार हुने प्रवृत्तिले माओवादीले उठाएको आन्दोलनलाई अन्ततः विसर्जनको दिशामा पुर्‍याउने हो।
फेरि पनि शान्तिको विकल्प छैन। संविधानकोे पनि। माओवादीले हिजो युद्धको बाटोद्वारा गर्न चाहेको समाजको रुपान्तरण अब नयाँ संविधानमार्फत् संस्थागत गर्नुपर्छ। यसका लागि आफ्नो बार्गेनिङ पावर सञ्चित गर्नुपर्नेमा विना कुनै योजना …बोल्ड डिसिजन' लिन सक्ने क्षमता भएको नेता भनी अरुले फुर्क्याइदिएको भरमा सनक र लहडले आफूखुसी एकलौटी निर्णय गर्दै जाने हो भने यति ठूलो संगठन, जनमत र शक्ति हुँदाहँुदै पनि माओवादीसँग आफ्नो भन्ने केही पनि बाँकी रहनेछैन। प्रचण्ड र भट्टराईलाई यतापट्टि हेक्का छ? प्याकेजमा सहमति गर्नेबारे कुनै ठोस योजनाविना लडाकु र हतियारको चाबी बुझाइसकिएको स्थिति छ। 
यसको मतलब माओवादीले शान्ति प्रक्रियालाई यथास्थितिमा राखोस् भनेको होइन। ढिलाईमाथि ढिलाई थोपरेर बार्गेनिङ पावर बढ्ने होइन। तर शान्ति प्रक्रियका लागि टुंग्याउन बाँकी अत्यन्तै थोरै तर निर्णायक मुद्दा बाँकी रहेको बेला प्याकेजमा हल खोजिनुपर्ने हो। किरण पक्षले कन्द्रीय समिति बैठक डाक्नुका पछि पनि यही धारणाले काम गरेको देखिन्छ। विधि र पद्धति हुँदाहँुदै पछिल्लो ढोकाबाट छिरेर लिइएको निर्णयले स्थायी शान्ति बहाली नहुने र त्यो माओवादी एक्लैले चाहँदैमा संस्थागत नहुने, बरु जुनसुकै बेला अर्को विद्रोह जनताको तहबाट हुनसक्ने खतरा देखिएकाले त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने आफ्नै सहकर्मीले चिन्ता लिएका छन्। त्यस्तो प्रश्नलाई बैठकजस्तो जनवादी विधिमा प्रवेश नगराएर प्रचण्डले गर्न खोजेका के हुन् कुुन्नि!
जे होस्, पछिल्ला प्रचण्ड निर्णयले उनको चल्ने तरिकालाई स्पष्ट त पारिदिएको छ नै। माओवादीभित्र साँचो अर्थमा जनवाद खोजीको अभियानलाई पनि बल दिनेछ। सँगसँगै रुपान्तरणको आन्दोलनप्रति माओवादीको वास्तविक प्रतिबद्धता कति हो भन्ने पनि शीघ्र प्रदर्शन हुनेछ। जनतालाई शान्ति चाहिएको सोह्रै आना सत्य हो, तर रुपान्तरणको शर्तमा।

 

No comments:

Post a Comment