Thursday, March 8, 2012

कमजोर छैनन् महिला लेखक


यस वर्षको मदन पुरस्कार महिलाको कृतिले पाउन सफल भयो। झमक घिमिरेको 'जीवन काँडा कि फूल' पारिजातपछि व्यापक चर्चा र मदन पुरस्कार दुवै पाउने किताब दोस्रो किताब भइदियो।
अहिलेसम्म पनि महिला लेखक भन्नेबित्तिकै पारिजातको नाम झुन्डिन्छ धेरैको मुखमा। साहित्यको व्यापक बहसमा वानिरा गिरिको नाम लिने पनि छन्।
वर्षेनी नयाँ नयाँ महिला लेखक आइरहन्छन् तर तिनको प्रचार र प्रभाव उति स्थापित हुन सकेको छैन।
पछिल्ला वर्षमा महिला लेखकको संख्या बढ्दो छ। यति हुँदाहुँदै पनि आम गुनासो छहामीलाई लेख्ने वातावरण र प्रोत्साहन छैन।
वातावरण पाउनु भनेको के हो? लेख्ने, साहित्य गोष्ठीमा भाग लिने 'स्वतन्त्रता' पाएका महिला किन अझै पनि पुरुषको दाँजोमा पुग्न सकेका छैनन् त?

'सामाजिक र बौद्धिक स्पेसमा प्रस्तुत हुन महिलालाई गाह्रो परिरहेको हुन सक्ला,' ३८ महिला लेखकका आत्मपरक लेखन सम्पादन गरी शुक्रबार 'स्वअस्तित्वको खोज' नामक कृति सार्वजनिक गर्न लागेकी अर्चना थापा भन्छिन्, 'यसको मतलब महिलाको बुझाइ सीमित हुन्छ भन्ने होइन, उनीहरूको भोगाइ र अभिव्यक्तिमा पनि त्यो सघनता झल्कन्छ।'
पछिल्लो समय महिलाद्वारा लिखित र सम्पादित थुप्रै कृति निस्किए। शारदा शर्माको 'भुइँफूलको देश' यात्रा निबन्ध, रजनी ढकाल र सुस्मिता नेपालको उपन्यास 'पत्रैपत्र' बबिता बस्नेतको सम्बन्धहीन सम्बन्धहरू कथा संग्रह, नीलम कार्की निहारिकाको कथा संग्रह बेली, आन्विका गिरीको कथा संग्रह कम्युनिस्ट, सुधा त्रिपाठीको कविताकृति जिराहा वर्तमान र अमर सिर्जना, प्रगति राईको बागी विज्ञप्ति, सीताजीको 'मैले हिँडेको बाटो,' शर्मिला खड्का दाहालका 'क्यानभासमा कोरिएको कथा', अनुपम रोशीको उपन्यास 'कुमारी आमा' मोमिलाद्वारा सम्पादित 'सगरमाथाको नृत्यमग्न आत्मा', तारा राईको छापामार युवतीको डायरीको राम्रै चर्चा भयो।
पत्रकार गिरीश गिरीले अंग्रेजीबाट अनुवाद गरेको आनी छोइङ डोल्माको वृत्तान्त 'फूलको आँखामा' बेस्ट सेलर बन्यो। केही वर्षअघि निस्किएको दुर्गा घिमिरेको 'जेलको सम्झना' पुनर्मुद्रित भयो।
महिलाको तुलनामा पुरुषको लेखनमा अभिव्यक्तिको सघनता नहुने लेखिकाहरू दाबी गर्छन्। 'उनीहरू विषयलाई परबाट हेर्छन्,' अर्की लेखिका भन्छिन्, 'आफ्नो चस्माले हेरेको सही र अरुको दृष्टिलाई अपूरो र सतही भन्ठान्छन्।'
लेख्न बसेका बेला नेपाली महिला लेखक के सोच्छन्? उनीहरूको सम्पूर्ण ध्यान रचनामा नै हुन्छ त? 'अहिलेमात्रै हो मैले सहज महसुुस गरेको, नत्र बच्चा स्याहार गर्ने, स्कुल पठाउने, घरको हेरविचार गर्नेमै समय गुज्रन्थ्यो,' लेखक रजनी ढकाल भन्छिन्, 'मैलेजस्तो लेख्ने सहज वातावरण कमैले पाउँदा हुन्, तैपनि मैले परिवारलाई समय दिनैपर्छ भन्ने आत्मबोध आफसेआफ भइहाल्दो रहेछ।'
रजनीका पति साहित्यकार होइनन्, न त साहित्य अनुरागी नै। तैपनि लेख्ने वातावरण राम्रो छ उनलाई। बरु ८३ वर्षे साहित्यकार ससुरा केदार शर्मा ढकाल आफ्ना सन्तान लेखनमा नलागे पनि साहित्यकार बुहारी भित्रिएकामा प्रसन्न छन्। 'बुबाले मेरी बुहारी लेखक हो भन्न पाउँदा गौरव अनुभूति गर्नुहुन्छ,' ढकाल भन्छिन्, 'लेख्नका लागि सधैं उत्पे्ररित गर्नुहुन्छ।'
अर्चना थापाको अनुभूति पनि ढकालको जस्तै छ। पति सन्जीव उपे्रती आफैं नाम चलेका लेखक र समालोचक हुन्। ससुरा शंकरप्रसाद उप्रेती पनि नामी चिकित्सक तथा बुद्धिजीवी हुन्। थापालाई लेखपढ र हिँडडुलमा छेकबार छैन।
'सहकार्य र सहयोग पाइरहेको छु,' उनी भन्छिन्, 'तैपनि सिर्जना भनेको फुर्सदमा गर्ने हो भन्ने आफसेआफ दिमागमा आइहाल्दो रहेछ, घरका गतिविधि छाड्ने कुरा भएन, नानीहरु नहुर्किउन्जेल वातावरण कम मिल्थ्यो।'
नेपाली समाजमा अझै पनि लेखन भनेको फुर्सदमा गर्ने कर्म ठानिने गरेको थापाको अनुभूति छ। ढकालका लेखक साथी पनि यसै भन्छन्। 'म प्रायः रातिको समयमा लेख्न मन पराउँछु,' उनी आफैं भन्छिन्, 'लेख्ने वातावरण परिवारले दिए पनि घरमा काम छ भने आफैं बुझेर छाड्नुपर्छ, अलिकति सम्झौता गर्नुपर्छ, अलिकति कन्भिन्स।'
ढकालले भनेझैं थुप्रै लेखक महिला कि त परिवारका सीमासँग सम्झौता गरिरहेका छन् कि त आफ्नो सिर्जनाप्रतिको लगावबारे कन्भिन्स गरिरहेका छन्। 'पुरुष लेखकलाई न सम्झौता गर्नुपर्छ, न अरुलाई सम्झाउनु नै पर्छ,' ढकाल आम पुरुष लेखक र महिला लेखकबीचको भेद प्रस्ट्याउँछिन्।
समालोचक तथा लेखक सुधा त्रिपाठीका पति पनि लेखक हुन्। 'तैपनि महिलाले लेख्नका लागि आफ्नो आराम र मनोरन्जन गर्ने समय कटौती गर्नुको विकल्प छैन,' उनी भन्छिन्, 'जति नै पारिवारिक समझदारी भए पनि हाम्रो पुस्ता यसरी नै गुजि्रयो।'
समय निकाल्न पहिलेका लेखकभन्दा अहिलेकालाई गाह्रो भएको त्रिपाठीको बुझाइ छ। उनका तीन नयाँ किताब यसै महिना आउँदैछन्।
समालोचक र अखबारका समीक्षकले महिलाका किताबलाई कम प्राथमिकता दिने गरेको महिला लेखकको अनभूति छ। 'हामी पुरुषहरूझैं पटक पटक फोन सम्पर्क र भेटघाट गर्न असमर्थ छौं,' एक लेखक भन्छिन्, 'त्यही भएर पनि हाम्रो कम छापिएको होला।'
अखबारका स्तम्भकार महिला कम छन्। भएकाको लेखनमा पनि विविधता छैन। प्रायःको लेखनमा एकैनासको विषय उठान भइरहेको हुन्छ। 'शाब्दिक प्रस्तुति त महिलाको नराम्रो देखिन्न,' थापाको बुझाइ छ, 'तर अहिलेको सामाजिक र बौद्धिक स्पेसमा निस्कन चाहिँ गाह्रो भएको पाउँछु।'
सुलोचना मानन्धर, बबिता बस्नेत, शारदा शर्मा, मञ्चला झा, मैना धिताल, सावित्रा राई, राधिका खतिवडा केही पुराना र नयाँ स्तम्भकार तथा नियमित 'कन्ट्रिब्युटर'का केही नाम हुन्। एकबेला पारिजात थिइन्।
आख्यान र कवितामा सिंगो नेपाली साहित्यमै दह्रो छाप छाडेकी पारिजात स्तम्भ लेखनमा पनि कुनै महिलाभन्दा कम थिइनन्। 'पछिल्लो समयमा शारदा शर्माको अभिव्यक्ति विशिष्ट श्रेणीको लाग्छ,' थापा, ढकाल र खतिवडाको समान बुझाइ छ।
अंग्रेजीमा लेख्ने स्तम्भकार पनि थपिएका छन् पछिल्लो पटक। उनीहरूको लेखनमा नयाँ चेतना देखिन्छ। तर नेपाली समाजप्रतिको बुझाइमा व्यापकता र गहिराई अझै नपुगेको तिनका पाठक अनुभूति गर्छन्।
महिला स्तम्भकारको उपस्थिति अपेक्षा गरेजति किन छैन त? 'त्रिभुवन विश्वविद्यालयको बेथितिबारे एउटा लेख लेखेको, दुई महिनापछि छापियो,' खतिवडाको दुखेसो छ, 'लेख्नभन्दा छपाउन गाह्रो छ।'
लेख्नु छुट्टै कर्म हो। त्यसैले यसमा चुनौतीको छुट्टै भेराइटी हुन्छ। प्रकाशक र अखबारले तिनका कृति र लेख छाप्न गाह्रो मानेका छन् भने तिनले सुनून्। लेखकको सीमा पनि छ। छाप्ने सवाल दोस्रो हो। लेख्न गाह्रो छ।
'हाम्रा पुरुष लेखक र समालोचकले महिलाका कृतिमा अलिकति अस्तित्व र पहिचानको कुरा फेला पार्ने बित्तिकै नारीवादी भनी लेपन लगाइहाल्छन्,' अर्चना भन्छिन्, 'त्यसरी प्यारामिटर राखेर साहित्य लेखिएको हुँदैन, यो कुरा उनीहरूले किन नबुझेका होलान्!'
महिलाहरूको अधिकार र मुक्तिका मुद्दासँग जोडिएको छ मार्च आठ। लेख्दा कत्तिको स्वतन्त्रता महसुस हुन्छ त उनीहरूलाई? 'समाज र परिवारले के भन्ला भन्ने डरले कतिपय प्रसंग लेखिँदैन,' पछिल्ला वर्षमा लगातार कृति प्रकाशित गरिरहेकी एक लेखक भन्छिन्, 'हाम्रो समाज पुरुषका मामिलामा जति उदार छ, महिलाबारे त्यति खुल्न अझै सकेको छैन, मलाई पनि लेख्दा कठिनाई अनुभव हुन्छ।'
उनको यस टिप्पणीले केवल लेखन अवधिभरि डिस्टर्ब नगर्ने 'वातावरण' को संकेत गरेको छैन। बरू स्वतन्त्रताको अझ व्यापक समझदारी पनि माग गरेको छ। 'कहिलेकाहीँ मेरै पति पनि यो चाहिँ नलेखेको भए हुन्थ्यो भन्नुहुन्छ,' उनको अनुभव छ।
अनेक समस्याका बाबजुद पनि महिलामा लेखनप्रति बलियो प्रतिबद्धता पाउँछन्, गरिमा सम्पादक अविनाश श्रेष्ठ। पत्रिकामा महिलाको रचना कम छापिन्छ भन्ने गुनासो चिर्दै उनले असारमा नारी विशेषांक छापे।
'पुरुष र महिला भन्ने भेद हराइसक्यो,' श्रेष्ठले भने, 'गहन अध्ययन भएका महिला लेखकको संख्या बढ्दो छ, अध्ययनै नगरी लेख्ने झुर पुरुष पनि कतिपय छन्।'
आख्यान र कवितामा महिलाको उपस्थिति बलियो पाउँछन्, श्रेष्ठ। 'रजनी ढकाल, गीता त्रिपाठी, शारदा शर्मा, आन्विका गिरी, मनीषा गौचन,' स्थापित लेखकबीच श्रेष्ठले नाम घुसाए, 'लीला अनमोल, ज्योति जंगल, रीता खत्री, निरुपा ढुंगाना।'
(नागरिक दैनिकमा फागुन २५ गते प्रकाशित
सन्दर्भ :  मार्च आठ, अन्तर्राष्ट्रिय महिला दिवस)














No comments:

Post a Comment