Monday, March 26, 2012

किशोर नेपालसँग ६० मिनेट


साहित्य सम्मेलनको उद्घाटन सत्र सकिएलगत्तै आख्यानकार किशोर नेपालसँग मैले गरेको संवार्ता 'किशोर नेपालसँग ६० मिनेट' तीन दिनभरि चर्चित रह्यो। धेरैले रुचाएको सो सत्रको केही समालोचकबीच तिखो आलोचना पनि भएको थियो। पाँच सेग्मेन्टमा बाँडिएको सो वार्ताका केही अंश यहाँ प्रस्तुत छ :
 

नेपाली उपन्यासमा नयाँ चेतना
तपाईं पपुलर लिटरेचरको लेखक हो? चेतन भगत मार्काको?
तपाईंको यो मार्का भन्ने शब्दै ठीक छैन। अहिलेको पुस्ताले अत्यधिक रुचाएका लेखक हुन् उनी। म पनि मन पराउँछु।
नेपाली उपन्यासको सामर्थ्य किन स्थापित हुन नसकेको?
हाम्रा लेखकमा कुण्ठा र अहम छ। लेखनप्रति इमान्दारिता र प्रतिबद्धता छैन। त्यसैले नसकेको।
तपाईंको उपन्यास  'सहरको कथा' आफैंले फेरि पढ्नु भो?
पढें।
कस्तो लाग्यो?
मलाई त एकदमै राम्रो लाग्यो। खुब रुचाएर पढें।
बहस त त्यति भइरहे जस्तो लागेन।
हाम्रा बुद्धिजीवी भर्खर पढिरहेका छन्। तिनले पछि बुछन्। अनि बहस गर्लान्।
.....

प्रेम र यौन
तपाईं किन अरोजा, विनिता, शर्मिला, काजोल, रुपसी, मानुषी, सारिका, दमयन्तीलाई मात्रै अघि सार्नुहुन्छ? पुरुष नायक बन्न सक्दैनन्?
नेपाली पुरुषमा त्यो हुति नै छैन। उनीहरूमा पर्याप्त आगो छैन। अनि म किन पुरुषलाई जबर्जस्ती नायक बनाउँ?
अथवा यसो भने पनि भयो, तपाईं पुरुषको मनोविज्ञान त्यति जान्नुहुन्न। जति महिलाको जान्नुहुन्छ।
महिलामा छुट्टै चार्म हुन्छ नि त।
मसँग नेपालका टप थ्री वुमनाइजरको नाम छ। त्यसमा तपाईंको पनि नाम छ।
त्यो तपाईंजस्ता मिडियाका साथीहरूले प्रचार गरेको विषय हो। वास्तवमा म त्यस्तो छैन।

....
मिडिया र साहित्य
(सहभागी कवि प्रकाश थाम्सुहाङको प्रश्न) नेपाली मिडियाको साहित्य कभरेजमा राजधानीवाद हावी छ। काठमाडौंमात्रै नेपाल हो?
पछिल्लो समयमा त्यस्तो छैन। नागरिकजस्ता अखबारले साहित्यलाई धेरै स्पेस दिएका छन्। लेखकले पनि मिडियासम्म पहुँच बढाउनुपर्छ।
जुँगा विमर्श
तपाईं त प्रतिक्रियावादी लेखक नै हो नि, हगि!
हाम्रा केही प्रगतिशील मित्रहरूलाई त्यस्तो लाग्यो होला।
तपाईंजस्तो प्रतिक्रियावादी लेखकलाई क्रान्तिकारी नेता प्रचण्डले चाहिँ किन मन पराएका होलान्?
त्यो चाहिँ तिनै प्रतिक्रियावादी भनी आरोप लगाउने मित्रहरूलाई सोध्नू।
शुक्रवार साप्ताहिकमा प्रकाशित

No comments:

Post a Comment