इलाम क्याम्पसमा मध्यरातसम्म कवि गोष्ठी हुँदै थियो। प्रकाशपथमा एक्कासि आगलागी भयो। लेखक र पाठकको भीड गोष्ठी छाडेर आगो निभाउन हुर्रियो। साहित्य गोष्ठीका सहभागी संयोगले जागै थिए। नत्र इलाम उबेलै जलेर सखाप हुन्थ्यो।
कुरा २०४५ वैशाख ३१ गतेको हो।
......
इलाम बजारमा आगलागी हुनु नियमित आकस्मिकता जस्तै भएको छ। अघिल्लो वर्ष पनि यस्तै भयो। आकस्मिकताहरूको सहर इलाममा पाँच दशकयता सुरु साहित्य सम्मेलनको परम्पराले फागुन १४ गते आइतबारदेखि तीन दिनसम्म निरन्तरता पायो।
'अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन–२०६८' नाम दिइएको जमघटमा राजधानी र विभिन्न जिल्लाबाट लेखक ओइरिए। भारतका दार्जिलिङ, सिक्किम, सिलिगुढी, डुवर्स, असम, देहरादुन, कलकत्ता, नयाँ दिल्लीबाट नेपालीभाषी लेखक र गायक आए। अमेरिका, युरोप, खाडी मुलुक र अफ्रिकाबाट आएका नेपालीले मूलथलो फर्केर साहित्य विमर्श गरे। हरियालीको राजधानी इलामको सदरमुकाम इलाम बजार र करफोक साहित्यमय भयो। सहभागीले ४५ सालको कहालीलाग्दो आगलागीमात्रै होइन इतिहासका तितामिठा थुप्रै साहित्यिक क्षण सम्भि्कए।इलाम छ 'अ' ले प्रसिद्ध छ– अदुवा, आलु, ओलन, अकबरे खुर्सानी, अम्लिसो, अलैंची। पछिल्लो समय थपथाप पारेर ११ पुर्याउने पनि गरिएको छ। 'अ' को जिल्लामा पछिल्लो पटक अर्को 'अ' खेती भयो– अक्षरको। काठमाडौंबाट तारानाथ शर्मा, राजेन्द्र सुवेदी, गंगाप्रसाद उप्रेती, किशोर नेपाल, खगेन्द्रप्रसाद लुइँटेल, श्रवण मुकारुङ, पुष्कर लोहनी, रामबाबु सुवेदी, सन्ध्या पहाडी, बाबा बस्नेत, जयदेव भट्टराई, मणि लोहनीसहित ५० लेखक इलाम पुगे। ध्रुवचन्द्र गौतम र झमक घिमिरेेको भने हल्लामात्रै पुग्यो। पोखराबाट तीर्थ श्रेष्ठ, विराटनगरबाट कृष्णभुषण बल, धरानबाट बद्री पलिखे, दार्जिलिङबाट स्नेहलता राई, सिलिगुढीबाट अशोक राई, सिक्किमबाट चन्द्रकला नेवार, कलकत्ताबाट नारायणप्रसाद हुमागाईं, दिल्लीबाट नरेन्द्र खनाल, कतारबाट हेमन्त परदेशी, अफ्रिकाबाट रन्जना उदास, अमेरिकाबाट होमनाथ सुवेदी आदि इलाम पुगे। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नेपाल च्याप्टर अध्यक्ष राधेश्याम लेकालीका अनुसार पाँच सयभन्दा बढी नेपालीभाषी लेखक, गायक, संगीतकार र चित्रकार इलाम र करफोक आए।
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन इलाम र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनालाई इलाम नगरपालिका कार्यालय र जिविसले सघाएका थिए। 'हरित नगर घोषणा गरेपछि देशविदेशसम्म प्रचार गर्न सकियोस् भनेर साहित्य सम्मेलनलाई सघाएका हौं,' नगरपालिका अधिकृत युवराज दाहालले हौसिँदै भने, 'अब इलाम 'अ' होइन, 'ह' को जिल्ला भएको छ, हरियोे जिल्ला।'
इतिहासको विरासत
२००९ सालमा प्रथम र २०१० मा दोस्रो साहित्य सम्मेलन इलाममै भयो। तेस्रो दिन करफोकमा नेपाली भाषा प्रचारक संघले २००९ असोज १८ देखि २२ सम्म गरेको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको सम्झना गरियो। महानन्द सापकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, कवि धरणीधर कोइराला लगायतलाई जुटाएर करफोक विद्या मन्दिर स्थापना गरे। पछि त्यो नेपाली शिक्षा क्षेत्रकै एक महŒवपूर्ण केन्द्र बन्यो। आजको करफोक क्याम्पस त्यही सम्मेलनको देन हो।
२०२३ सालमा अगमसिंह गिरी इलाम आए। उनको सहभागितामा भव्य कार्यक्रम भयो। त्यसपछि चारपाँच वर्षको अन्तरमा निरन्तर साहित्य सम्मेलन भइरहे। २०२७ सालमा बृहत साहित्यिक जमघट भयो। २०३६ सालमा सडक कविता क्रान्ति भयो। २०४१ सालमा साहित्यिक पत्रकार संघको कविता यात्रा इलाम र करफोकमा आयोजना भयो। जसमा भूपी शेरचन, केशवराज पिँडाली, शंकर कोइराला लगायत ६० स्रष्टा काठमाडौंबाट गए। ४१ यताका कार्यक्रममा राधेश्याम लेकालीको पहल उल्लेख्य रह्यो। त्यो २०५१ सालमा पनि निरन्तर रह्यो। २०५६ सालमा अम्बर गुरुङको भव्य अभिनन्दनसहित राष्ट्रिय सांगीतिक कार्यक्रम गरेको क्षण यसपल्ट पनि पुराना सहभागीले सम्भि्कए।
२०६० सालमा आयोजित इलाम महोत्सव 'भेटौं इलाममा' नारासहित सम्पन्न भयो। लेखक जमघट गराउने त्यो अर्को माध्यम थियो। राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित थुप्रै लेखक माइपोखरी र विभिन्न गाउँ गए। साहित्य मेलाको परम्परा निरन्तर रह्यो। २०६१ मा साहित्यिक पत्रकार संघले बृहत साहित्यिक यात्रा गर्यो। अघिल्लो साल नेपाली साहित्यबारे इलाममा विमर्श भयो।
इलाममा साहित्य प्रदर्शनी भइरहन्छन्। लेखनका कच्चा पदार्थ पनि धेरै छन्। उत्पादनचाहिँ कमजोर छ। नेपाली साहित्यमा दुई दशकयता पसेका नयाँ चेतहरू इलाममा अझै नपुगेजस्तो लाग्छ। लेखनको परम्परागत ढाँचा ढर्रा बदलिएको छैन। राज्यले वितरण गरेको मूलधारको साहित्यलाई मात्रै इलामका लेखकले लेखन मानेको अनुभूति हुन्छ। यसपालिको सम्मेलनमा पनि त्यसको प्रतिविम्ब आयो। नयाँ पुस्तामा लेखनप्रतिको प्रतिबद्धता कमजोर रहेको, रहेका थोरैमा पनि उचित साहित्यिक हावापानीको अभावमा अलमल रहेको बु‰न सकिन्थ्यो।
इलामेलीहरू परिश्रमी छन्। यस अर्थमा कर्मलाई व्यावसायिक स्वरुप दिनु अन्यथा होइन। साहित्य बेग्लै उत्पादन हो। यसका लागि दौडधुपले मात्र पुग्दैन, दिमागको कसरत पनि जरुरी हुन्छ। कसले बुझ्ने होला! कहिले बुझ्ने होला!
जयपुरको झल्को
हरेक वर्ष आयोजना हुने जयपुर लिटरेचर फेस्टिभलको चर्चा आयतन विश्वव्यापी छ। देशविदेशबाट लेखक जान्छन्। लेखक गए पनि त्यो चर्चित हुन्छ, नगए पनि। जस्तो कि, यसपल्ट सलमान रुस्दी गएनन्। नगएकैले फेस्टिभल विश्वभरका अखबारको हेडलाइन भयो।
पाठक र प्रशंसक हरेक वर्ष जयपुर जान्छन्। लेखकलाई सुन्छन्। किताब किन्छन्। अटोग्राफ लिन्छन्। फोटो खिचाउँछन्।
सानोभन्दा सानो आयतनमै सही। इलाममा जयपुरको झल्को देखियो। लेखक धेरै थिए तर गिनेचुनेका भने थोरै। तिनीहरू साहित्यको मार्केटमा हिट भए। किशोर नेपाल, कृष्णभुषण बल, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, मनु मन्जिल, केशव आचार्य केही चल्ती नाम हुन्। सबैखाले लेखक मिसिएर आएकामा तीर्थको काव्यिक कटाक्ष थियो– न बनाइएका सबै गहना हुन्, न लेखिएका सबै साहित्य हुन्।
पंक्तिकारले चलाएको 'किशोर नेपालसँग ६० मिनेट' नामक बहसमा स्थानीय सञ्चार माध्यमसमेत केन्द्रित भए। कवि श्रवण मुकारुङले किशोरलाई सोधे, 'पाठकले असाध्यै मन पराएका लेखकलाई समालोचकले उल्लेख गर्न किन छुटाउने गरेका होलान्?' नेपालले श्रवणको भनाइमा सही थाप्दै नेपालमा तारानाथ शर्मा र अभि सुवेदीपछि समालोचना मरिसकेको अभिव्यक्ति दिए। उनको विवादास्पद अभिव्यक्तिले अन्य महŒवपूर्ण सन्दर्भसमेत ओझेल परे। लेखेर पनि समालोचकको आँखामा पर्न नसकेकाहरूले किशोरलाई 'साहसी भनाइका लागि' धन्यवाद दिए। उपस्थित केही समालोचक भने राम्रैगरी बिच्किए।
महिलामाथि किशोरका अभिव्यक्तिको पनि कडा समर्थन र विरोध व्यक्त भएको थियो। महिलाहरूमा छुट्टै चार्मिङ हुन्छ, र नेपाली पुरुषमा उपन्यासको नायक बन्ने क्षमता छैन भन्ने उनका भनाइप्रति वादप्रतिवाद भएको थियो। पाँच जनालाई प्रश्न सोध्न भनिएको थियो। महिलामैत्री रहेछन् किशोर। श्रवणबाहेक बाँकी सबै प्रश्नकर्ता महिला थिए।
पहिलो दिन युद्धप्रसाद वैद्यले बाचेको 'इलामको संस्कृति, भाषा र साहित्य' नामक कार्यपत्र श्रवणीय कम, पठनीय बढी थियो। इलामको लेखन परम्पराको इतिहास थाहा पाउनमात्रै होइन, नेपाली भाषा र साहित्यको समृद्धिका लागि इलामले गरेको योगदान वैद्यको कार्यपत्रमा प्रष्ट अभिलिखित छ। उनी पछिल्ला लेखकबारे उति अपडेटेड छैनन्। कार्यपत्रले त्यही संकेत गर्छ।
दोस्रो दिन खगेन्द्रप्रसाद लुइँटेलले प्रस्तुत गरेको कार्यपत्र केही लेखकबीच आलोचनाको तारो बन्यो। 'समकालीन नेपाली साहित्यका प्रवृत्ति' नाम दिइए पनि यो लेखक र कृतिको अपुरो टिपोटमा सीमित छ। लेखकको लेखोट र डाइरेक्ट्री राख्न गाह्रो छ। त्यसैले नेपाली साहित्य लेखनको प्रवृत्तिमै जोड दिएको भए राम्रो हुन्थ्यो। जुन उद्देश्यका लागि कार्यपत्र तयार भयो, त्यहीचाहिँ छुट्यो।
लामो समय इलाम क्याम्पसमा पढाएका र प्रशासन सम्हालेका लेखक राजेन्द्र सुवेदीको धाराप्रवाह मन्तव्यले सुस्त माहोललाई जुरुक्कै उचाल्यो। तीन दशकअघि उनले पढाएका विद्यार्थी आफ्ना गुरु भेट्न आए। प्रमुख अतिथि बनेका जिल्लाबासी सभामुख सुवास नेम्वाङले पनि साहित्यको भाका टिप्दै बोल्न खोजे। अक्सर 'मेड इन इलाम' बम्बइसनझैं गुलिया कुरा गर्ने उनले साहित्यकारबीच पनि राम्रै मार्केट लिए। गए।
नगरपालिकाले कडाइसाथ कार्यान्वयन गरिरहेको सार्वजनिक क्षेत्रमा धुमपान गर्न नपाइने नियमलाई जिल्लाबाहिरका लेखकले बिर्सेका हुन् कि अटेर गरेका हुन्, थाहा भएन। तर छिनछिनमा उनीहरू चुरोट सल्काउन र खैनी माड्न बाहिर निस्केका बेला सहजै बुझ्न सकिन्थ्यो– हलभित्र बोझिल भाषण जारी छ। त्यो धुमपानभन्दा बढी हानिकारक छ।
सिलिगुढीका अशोक राईको गीतले सम्मेलनको माहोल ततायो। उनले हारमोनियममा स्केल मिलाउँदै गाए– वैशाखी वनमा फूलको सिंगार, पातको क्रन्दन, नआउने भए भनिदेऊ प्रिय सम्झना साथै छ। 'पाँच दशकअघि अम्बर गुरुङको 'नौ लाख चार उदाए' कै बराबर यो गीतका चर्चा हुन्थ्यो,' ढल्कँदो वयका एक स्रोताले भने।
'पहिलेका कार्यक्रममा अवार्ड र कवि गोष्ठीमात्रै हुन्थे,' लेकाली भन्छन्, 'अहिले बरु केही परिमार्जन गर्न सक्यौं।' साहित्य सम्मेलनका इलाम संयोजक युद्धप्रसाद वैद्य पनि सहमत देखिए।
सम्मेलनले नेपाली साहित्यलाई 'अन्तर्राष्ट्रियकरण गर्न' छबुँदे इलाम घोषणापत्र पनि जारी गर्यो। राजनीतिमा प्रयोग गरिने पदावली 'नीतिगत सहमति' जस्ता लाग्ने ती बुँदा पठनीय र मननीय छन्। आशा गरौं, छिट्टै कार्यान्वयन पनि हुनेछन्।
इलामकै थुपै्र लेखक र कलाकार सम्मेलन हलमा देखिएनन्। छिमेकी जिल्लाका लेखकको समेत अनुपस्थिति देखियो। इलामकै भएर पनि लेखक तथा कलाकार गणेश रसिक सदरमुकामको कार्यक्रममा मेसो नपाएर हराइरहेझैं देखिन्थे। प्रतिपक्षी दलका नेताझैं देखिने केही लेखक उनलाई कार्यक्रम संयोजनकारी नभएको गुनासो गरिरहेका थिए। कार्यक्रम गर्नुअघि आयोजकले आफूहरूसँग समन्वय नगरेको उनीहरूको सिकायत थियो। आयोजक गौतम बुद्ध सभागृहमा थिए। उनीहरू छेउछाउका रेस्टुराँमा।
करफोकको कार्यक्रम तुलनात्मक रूपमा व्यवस्थित रह्यो। स्थानीय लेप्चा संस्कृति झल्काउने नृत्य र झाँकीले लेखकको भव्य स्वागत भयो। तारानाथ शर्माले करफोकमा दशकौं अघि आफूले पोखेका पसिनाको गन्ध खोजे। २००९ सालतिरका शैक्षिक सामग्रीलाई करफोक विद्या मन्दिरले बडो जतनले राखेको रहेछ। प्रदर्शनी चल्यो। नवीन साहित्य प्रतिष्ठान र विद्यालयको मेहनत खेर गएन। लेखक इलामको सम्झना बोकेर रमाउँदै फर्किए।
गृहजिल्ला फर्कन पाउँदा निकै जोशिएका तारानाथ शर्मासँग फोटो खिचाउन इच्छुक हुनेमा किशोर नेपाल र तीर्थ श्रेष्ठ पनि थपिए। केटौले व्यवहार देेखाइरहेका शर्माको फोटो खिच्न क्यामेराको लेन्स मिलाउँदै गरेका पत्रकार साथी स्वरुप आचार्यलाई मैले भनेँ, 'तिमी फोटो खिच। म क्याप्सन लेख्छु– डन समालोचक, डन कवि र डन पत्रकार।'
जम्पर लगाएर पोज दिइरहेका ७७ वर्षे रौसे तारानाथ शर्माले हावामा जोशिलो मुक्का उज्याए र भने, 'ओइ, म डन होइन। को हो त्यो मलाई डन भन्ने? हान्दिऊँ?'
(नागरिक दैनिकमा २०६८ फागुन २० गते शनिबार प्रकाशित)
जमघटबाट
तारानाथ शर्मा र अभि सुवेदीपछि नेपालमा समालोचना मर्यो। विश्वविद्यालयमा राजनीतिक भागबण्डाबाट आएका मठाधीशहरूले साहित्यमा मनोमानी गर्न खोजेका छन्। समालोचकको ठाउँ तिनैले लिएका छन्।
किशोर नेपाल
आख्यानकार/पत्रकार
आफ्नो किताबको समालोचना गरिदिएन भन्दैमा समालोचक मरे भन्ने किशोरजीको अभिव्यक्ति लघुताभासले ग्रस्त छ। उहाँ आफ्नै उपन्यासको शीर्षक त शुद्ध लेख्न जान्नु हुन्न। एउटा लेखकले आफूलाई माथि र समालोचक पाठकलाई तल राखेर कुरा गरेको सुहाएन।
खगेन्द्रप्रसाद लुइँटेल
समालोचक
नेपाली लेखकको मेरुदण्ड छैन भनेको थिएँ। लुइँटेलको कार्यपत्र पढेपछि समालोचकको पनि मेरुदण्ड हुँदो रहेनछ भन्ने थाहा भयो।
मनु मन्जिल
कवि
सम्मेलन वैद्य दाजुभाइले गरेजस्तो भयो। अरू स्थानीय साहित्यकारलाई बाइपास गरियो। त्यसैले हामीले आयोजनबाट बाहिरै रहने निर्णय गर्यौं।
बुद्धि घिमिरे
कवि/समालोचक
म कवि हुँ। संगठक होइन। त्यसमाथि हतार पनि भयो। व्यवस्थापनमा सानोतिनो कमजोरी भएको हुनसक्छ। तर संयोजक र सचिवमा वैद्य परिवारलाई अरूले बस्न कर गरेका हुन्। हामीले रहर गरेको होइन।
विमल वैद्य
महासचिव, साहित्य सम्मेलन इलाम
No comments:
Post a Comment