Thursday, March 15, 2012

सञ्जीव उप्रेतीको व्यक्तित्व काउलीजस्तो छ


लेखक, प्राध्यापक, रंगकर्मी सञ्जीव उप्रेतीकी पत्नीमात्रै भनिनु अर्चना थापाका लागि पर्याप्त छैन। स्वअस्तित्वको वकालन गर्ने उनले आफ्नो दोस्रो सम्पादित कृति 'स्वअस्तित्वको खोज' अघिल्लो शुक्रबार सार्वजनिक गरेकी छन्। ३८ नेपाली महिला लेखकका रचना समेटिएको यस किताबअघि उनले नेपाली महिलामाथि नै आधारित 'टेलिङ अ टेल' अंगे्रजी किताब सम्पादन गरिसकेकी छन्। अक्षर क्रियसन्स नामक प्रकाशन गृह चलाइरहेकी थापा पिएचडीको सिलसिलामा यसै वर्ष अमेरिका जाँदैछिन्। उनको पछिल्लो किताबसम्बन्धी प्रसंग र अन्य अनुभूति समेटिएको यो अन्तवार्ता शुक्रवार साप्ताहिकका लागि प्रस्तुत छ।



सम्पादन गर्नुको साटो आफैं लेख्न सक्थें भन्ने लागेन?
-मैले त्यस्तो सोच्दै सोचिनँ। मलाई आफू पाठकमात्रै हुँ भन्ने लाग्थ्यो। अरु कुराहरूमा धेरै
व्यस्त भएर पनि होला। तर लेख्नु गाह्रो कुरा हो जस्तो लाग्दैन।

उमेरमा कविता पनि लेख्नुभएन?
-लेखिनँ। एकपल्ट सिद्धार्थ आर्ट ग्यालरीमा खुला ढोका प्रोजेक्ट भइरहेको थियो। यस्सै लेख्न बस्दा एउटा कविता आएछ। नेपालीमा लेख्या थें। महिलाको 'स्व' बारे थियो त्यो।

'सह' को जमानामा स्व तिर लाग्नुभएछ। किताबको नाम पनि त्यस्तै छ।
-सह नारामा मात्रै छ। जबसम्म स्व हुँदैन। सह पनि हुँदैन। म एक प्रिभिलेज्ड महिला हुँला। तर कत्ति महिलामा धेरै क्षमता हुँदा हुँदै पनि अवसर नपाएर तिनको प्रतिभा खेर गइरहेको छ। त्यसलाई पनि हेर्नुपर्छ।

स्व अलि व्यक्तिवादी भएन र?
-एकदम हो।

त्यसो भए तपाईं पनि व्यक्तिवादी हो।
-म थिइनँ। तर जस्तो कि गायत्री स्पिभाक स्ट्र्याटेजिक एसेन्सियलिज्मको कुरामा भन्नुहुन्छ, हामी कुनै कुनै बेला व्यक्तिवादी पनि हुन्छौं। अथवा हुनुपर्दोरहेछ भनौं न। तर सधैं र सबै अवस्थामा त्यस्तो भइँदैन। जस्तो वातावरण संरक्षणको मुद्दामा सामूहिकताको भावना राखेर काम गर्नुपर्छ। स्व को कुरा गर्नेले सामाजिकताको भावना राख्दैन भन्ने होइन। 

लेख्दैगर्दा तपाईंलाई परिवारका सदस्यले घरको काम सम्झाए भने के गर्नुहुन्छ?
-म उठेर काम गर्छु।

त्यही कुरा तपाईंको पतिमा पनि लागु हुन्छ?
-उहाँ लेखेको बेला सुन्दै सुन्नु हुन्न। उहाँको एकाग्रता गहिरो छ। ममा जिम्मेवारीबोध पनि बढी छ। घरको काम मैले नै टार्नुपर्छ।

त्यही भएर सञ्जीव सर लेखक, तपाईं प्रकाशक भएको त होइन नि?
-हा हा। त्यो पनि होला।

लेखक सञ्जीव उप्रेतीको सार्वजनिक पहिचान छँदै छ। त्यो बाहेक सञ्जीव नामक व्यक्ति तपाईंको जीवनमा छ, उसप्रति तपाईंको टिप्पणी के छ?
-एउटै वाक्यमा भन्ने हो भने सञ्जीव उप्रेती सधैं रोमान्टिक मान्छे हो। केहीको पीर छैन उहाँलाई। नेगेटिभ केही नसोच्ने। संसारमा केही गलत हुनै सक्दैन, सप्पै मान्छे राम्रा छन् भन्ने ठान्नुहुन्छ। जस्तो, अस्ति मैले भनेंपानी सकियो। उहाँले भन्नु भो, त के भो, ट्यांकर ल्याएर हाल्दिऊँ न। ग्यास सकियो भनें भने बाहिर गएर खाउँ न भन्नुहुन्छ। प्राक्टिकल साइड कमजोर छ। कुराचाहिँ रमाइलो गर्नुहुन्छ। कुरैले पनि आधा टेन्सन हटिहाल्छ।

नकारात्मक पक्ष पनि होला नि।
-हाम्रो विरोधाभास नै के मा छ भने म एकदमै अर्गनाइज्ड छु। उहाँ डिस्अर्गनाइज्ड। जस्तो आजै पनि मैले एउटा सर्टमा आइरन गर्दिएकी थिएँ। तर उहाँ अर्कै लगाएर आउनु भएछ। म घर, गार्डेन, रुख आदि मतलब गर्छु। उहाँलाई चाहिँ यादै छैन।

जोगीसँग पनि संगत गर्नु भो उहाँले त।
-पहिले थियो रे। मैले उहाँलाई मास्टर्स पढ्दा चिन्या हो। अहिले सुन्दा अचम्म लाग्छ। यस्तो
मान्छे कसरी जोगीहरूसँग जानु भो भनेर।  

मास्टर्स पढ्दा अफेयर थियो तपाईंहरूको?
-मलाई देखेर मन पराउनु भा रैछ। तर ममा अरु नारीमा हुनुपर्ने गुण थिएनन् जस्तो लाग्छ। राम्रो लुगा लगाउने, सिंगारिने आदि। किन बेकारमा मेरो पछि लाग्या होला जस्तो लाग्थ्यो।

सञ्जीव सरले प्रपोज गर्दाचाहिँ के भन्नुभयो?
-उहाँ त घरैमा आइपुग्नु भाथ्यो। पहिले चकलेट लिएर आउनुभाथ्यो, मेले मानिनँ। पछि फूल लिएर आउनु भाथ्यो। ड्याडीले ढोका खोल्नु भो। मलाई डर लागिराथ्यो अब के हुने हो। उहाँले त नर्भस् भएर त्यो फूल नै ड्याडीलाई दिनुभयो। कसैबाट जिन्दगीमा फूल नपाएका मेरा ड्याडीले उहाँलाई मन पराउनु भो। युनिभर्सिटी पढ्न भर्खरको केटाले फूल दिँदा ड्याडी त मख्ख।

भनेपछि उहाँले तपाईंको ड्याडीलाई प्रपोज गर्नुभएछ।
-हाहाहा। प्रपोज त मलाई नै गर्नुभा'थ्यो। मैले एक वर्षसम्म नाइँ नाइँ भनें। त्यसपछि उहाँको बुबा नै मलाई भेट्न आउनु भो ठमेल।

के भन्नु भो उहाँले
-ब्याचलर्स कहाँ पढ्या तिमीले भनी सोध्नु भो।

अनि?
-आग्रामा भनें। उहाँले 'थाहा छ, आग्राको पागलखाना प्रसिद्ध छ नि' भन्नु भो।

अनि तपाईंले के भन्नु भो?
-मैले त्यहाँको ताजमहल पनि प्रसिद्ध छ भनें।

सञ्जीव सरको अरुसँग प्रेम भएन होला?
-भएन। उहाँ अलि क्लम्जी हुनुहुन्छ।

सबै केटीहरू केटाको बारेमा यस्तै सोच्दा हुन्।
-हाहा। त्यसो होइन। इन्फ्याचुएसन् भयो भने कुन्नि। प्रेम त हुँदै भएन।

उहाँ त युनिभर्सिटीको टपर नै हुनुहुन्थ्यो। ह्यान्डसम पनि। त्यस्तो केटाले प्रस्ताव गर्दा पनि /
-पहिले ह्यान्डसम् हुनुहुन्नथ्यो है। त्योचाहिँ पछि मेरो करामत हो। हाहाहा। पहिले टाउको पनि खुइल्याउने। पाइन्टभरि मसी लाग्या। चप्पल लगाएर हिँड्ने। मलाई एक वर्षसम्म ओके भन्न पनि उहाँको त्यही बानीले ढिला गर्‍या हो।

मसी सफा गरेर ओके गर्‍या हो? एकपल्ट राम्रो बनाएर हेरौं, राम्रो देखिन्छ कि देखिन्न भन्नलाई?
-हाहाहाहा।

झगडा पनि त हुँदो हो।
-सामान्य ठाकठुक त जस्को पनि हुन्छ। यसो हेर्दा म धेरै बोल्नेजस्तो देखिन्छु। तर घर पुगेपछि चाहिँ उहाँ बोल्न थालिहाल्नु हुन्छ। गीत धेरै गाउनुहुन्छ, टाउकै दुख्ने गरी।

स्वरचाहिँ कस्तो छ?
-एकदमै राम्रो।

चित्त नदुखोस् भनेर मिलाएर भन्नु भा हो?
-२० वर्ष भो बिहे भएको, ५ वर्ष अफेयर थियो। २५ वर्ष भएछ चिनेको। त्यसैले चित्त दुख्ने नदुख्ने कुरै छैन। नुहाउँदा गीत गाउन थाल्नु भो भने पानी सकाउनु हुन्छ। बाहिरबाट मैले ढोका ढक्ढक्याउनुपर्छ। पानी नभएको बेला दिनमा ३ पटकसम्म नुहाउनुहुन्छ। केही काम छैन भने नुहाउन पसिहाल्ने।

नुहाउनुचाहिँ उहाँको रुचि रहेछ।
-लेख्न मुड चलेन भने फ्रेस हुन बाथरुम पसिहाल्नु हुन्छ।

सञ्जीव सरको व्यक्तित्वलाई कुनै तरकारीसँग दाँज्ने हो भने  केसँग दाँज्नु हुन्छ?
काउली नै होला। हा हा हा। काउली उहाँलाई एक त साह्रै मन पर्छ। अर्को कुरा काउलीसँग दाँज्यो भने उहाँ काउलीजस्तै सफा, सुकिलो, फूल भएको जस्तो हुनुुहुन्छ। जेमा पकाए पनि हुने। विविधता भएको।

मिठो हुनुहुन्छ?
-एकदमै मिठो।

खाना खान आउनूस् भन्नुको सट्टा काउली खान आउनूस् भन्नु भए पनि हुने रहेछ।
-होइन, उहाँमा अचम्मको विशेषता छ। कम्प्लेन कहिल्यै गर्नु हुन्न।

चुरोट पिउनुहुन्छ है?
-पिउनुहुन्छ। तर मेरो अगाडि होइन। मलाई त्यो बानी चाहिँ मन पर्छ।

अघिल्तिर नपिएको मन परेको हो कि आफूसँग डराएको?
-शब्द गलत चयन गर्नु भो। पत्नीलाई आदर गर्ने बानी मन पर्छ भनेको हो।

आदरपूर्वक झुठ बोलेको मन पर्दोरहेछ।
-त्यसो होइन। अहिले छोड्नु भएको छ।

मानिसहरू भन्छन्, घनचक्करको मुख्य महिला पात्र तपाईं हो।
-मान्छेहरू भन्छन् भने त्यो खुसीको कुरा हो। 

त्यो सत्य हो कि होइन भनी सोध्न खोजेको।
-हाहा। त्यो त सञ्जीवजीलाई सोध्नुपर्छ।

उहाँको लेखन र जीवनयात्रामा तपाईं सँगै हुनुहुन्छ नि त।
-पाठकको हिसाबले मलाई चाहिँ डर लाग्या थियो। पत्नीको अति प्रशंसा थियो त्यसमा। चित्त नबुझेर आफैं काट्न लगाएँ कति ठाउँ। मैले आफैं पनि हेरें। साहित्यकार रजनी ढकालले पहिलोचोटि पढ्नु भएछ। अनि भन्नु भएछ, 'घनचक्करको मुल पात्रकी पत्नी मैले त तपाईं नै भन्ठानेकी थिएँ, तपाईं त अर्कै हुनुहुँदो रहेछ।' त्यस्तै भनाइ धेरै पाएँ।

लेखकले आफ्नै व्यक्तित्व लेख्छ भन्छन् क्या।
-त्यो त छुटाउनै सकिन्न नि लेखकबाट।

घनचक्करको पात्रले झैं सञ्जीव सरले यथार्थमा चाहिँ मोबाइल हुर्‍याएको हो कि होइन?
-फालेकै त होइन। तर धेरैपटक मोबाइल हराउनु भएको छ। पहिले धेरै हराउनु हुन्थ्यो। अहिलेचाहिँ छैन। गाडी र मोटरसाइकलको साँचो धेरैपल्ट हराउनु भो। सबभन्दा धेरै हराउने चाहिँ उहाँको वालेट। अहिले पनि दुई तीन दिनको अन्तरमा हराइरहनुहुन्छ।
उहाँको वालेटमा कति पैसा हुन्छ भन्ने चाहिँ उहाँलाई थाहा हुन्छ कि तपाईंलाई?
उहाँलाई पनि हुन्न। मलाई पनि हुन्न। तर उहाँसँग पैसा छ भने पनि छिटो सकिन्छ। हिसाब राख्ने बानी छैन उहाँको।

अहिले सञ्जीव उप्रेतीबारे यति धेरै बोल्नु भो। उहाँ हाम्रो अघिल्तिर भएको भए यति बोल्न सक्नु हुन्थ्यो?
-सक्थें। उहाँको आलोचक मजति कोही पनि छैन होला।

त्यति भरपर्दो आलोचक!
-एकदमै। बिहान चियाको कपसँगै हाम्रो ठूल्ठुलो तर्कवितर्क हुन्छ। छोरीहरूलाई कहिलेकाहिँ लाग्दो पनि रहेछ, झगडा हुन आँट्यो भन्ने। किताब, अखबारका राजनीतिक स्तम्भ आदिमा वादविवाद हुन्छ। तर सञ्जीवजी पनि मलाई बोल्न नदिने पक्षमा भने हुनुहुन्न। बोल्न नदिँदैमा चुप लागिहाल्ने मान्छे पनि म परिनँ।

तपाईंको स्वभाव बुझेरै उहाँले बोल्न दिइरहनुभएको रहेछ।
-त्यसो होइन।

सञ्जीव सरलाई केटीहरूले धेरै मन पराउँछन्।
-त्यो मलाई राम्ररी थाहा छ।

तपाईंको टिप्पणी के छ?
-मलाई खुसी लाग्छ। सञ्जीव सरजस्तो कोही भएको भए म पनि मन पराउँथें होला। कहिलेकाहिँ राजेश हमाल बुढो नभएको भए हुन्थ्यो जस्तो लाग्छ मलाई।

झट्ट हेर्दा राजेश राम्रो कि सञ्जीव?
-त्यो चाहिँ गलत प्रश्न भयो। सञ्जीवलाई मैले भित्रैदेखि चिनिसक्या छु। त्यही भएर
राजेशभन्दा उहाँ नै राम्रो। 

त्यही भएर झट्ट हेर्दा भनेको नि।
-होइन, त्यस्तो पनि होइन।

यसको मतलब राजेश भन्ने जवाफ त आइहाल्यो नि।
-होइन होइन। किनभने राजेश हमालले मलाई प्याम्पर गर्न सक्नुहुन्छ त्यो थाहा छैन। तर सञ्जीवले शतप्रतिशत प्याम्पर गर्नुहुन्छ। त्यो चाहिँ मलाई राम्ररी  थाहा छ। मेरो कमजोरी सबै थाहा पाउनुभएको छ।

कुनै बेला यो मान्छेलाई छाड्दिउँ जस्तो लागेन?
-होइन, कहिले पनि लागेन। हाम्रो असहमति धेरै हुन्थ्यो। अहिले उहाँलाई मसँग बस्न जति सजिलो छैन,  मलाई पनि उहाँसँग बस्न त्यति सजिलो छैन। हामी एकदमै विपरीत छौं।
तपाईं माइत गएका बेला चाहिँ स्वतन्त्र फिल गर्नु हुन्छ होला सञ्जीव।
म माइत कहिल्यै गएकी छैन। छोरी जन्मिँदा बस्या थिएँ। बुबा र सञ्जीव आएर लिएर जानुभो। मेरै घर छँदै छ नि। किन जानु माइत?

माइती नै तपाईंलाई भेट्न आउँछन् कि क्या हो?
-होइन। मेरा माइती अमेरिकामा हुनुहुन्छ।

सञ्जीव हुनुहुन्नथ्यो भने तपाईं के हुनुहुन्थ्यो?
-म अर्चना थापा नै हुन्थें।

सम्पादक, लेखक हुनुहुन्थ्यो त?
-नहुन सक्थें। अर्चना थापाचाहिँ बिजनेस वर्ल्डमा जान्थी। पढ्नचाहिँ साहित्य पढ्थी होला। घरमा किताब पढ्ने वातावरण थियो।

स्वअस्तित्वको कुरा आइहाल्यो। हामीले अन्तर्वार्ता गर्दा बसिरहेको गाडी सञ्जीव सरले कुदाएर -आफूलाई सिटमा राखेको मन पर्छ कि आफू कुदाउन? मलाई त आफैंले गुडाउनुपर्छ। अरु कसैको पनि भर पर्न सक्दिनँ। एक पटक अमेरिकामा दुर्घटना नै भएको थियो।

'सिद्धान्तका कुरा'को रोयल्टी लेखक सञ्जीवलाई दिनु भो?
-मैले अहिले माफी माग्या छु। अर्को किताबमा पैसा उठाएर दिनेवाला छु।

उहाँले क्लेम गर्नु भा छैन?
-उहाँलाई पैसामा त मतलब छैन। तर कहिलेकाहिँ भन्नुहुन्छ, 'तिम्रो र मेरो एग्रिमेन्ट मिलेन भने म अर्को प्रकाशककहाँ जान्छु है।'

अहिलेचाहिँ केही भन्नुभा छैन?
-कहिलेकाहिँ मेरो पैसा मेरो पैसा भनिरहनु त हुन्छ । लखनउमा सेमिनार सकेर फर्केपछि दिन्छु भनेकी छु।

कति दिनुहुन्छ?
-मैले दिन त्यही २० प्रतिशत हो। दिन्छु।

तपाईंको सय प्रतिशत चाहिँ कति हो?
-हाहाहा।

सञ्जीव सर अलि असामाजिक हुनुहुँदो रहेछ।
-त्यो शब्द नेगेटिभ भयो। अलि प्राइभेट हुनुहुन्छ। जस्तो इलाममा तपाईंले बोलाउनु भो भने उहाँलाई असहज महसुस हुन्छ। तर म गएँ भनेचाहिँ जानुुहुन्छ। मलाई अरुले सञ्जीवपत्नी ठान्दा हुन्। तर मलाई चाहिँ उहाँ साथी ठान्नुहुन्छ। मलाई पनि उहाँसँग हिँड्दा ब्वाइफ्रेन्डसँग हिँडेजस्तो लाग्छ। जस्तो खाना पाकेको छैन भने ल्याऊ भन्नुहुन्न। बाहिर खान जाउँ भन्नु हुन्छ।

साथीहरूसँग तपाईंको के कुरा हुन्छ?
-मेरो त केही हँदैन, उहाँकै हुन्छ। जस्तो, मोजा उल्टो लगाएको, साँचो हराएको, पागल भेटेको आदि।

जोगी अहिले पनि ल्याउनुहुन्छ घरमा?
-अहिले चाहिँ आउँदैनन् किनकि घरमा म हुन्छु।

पुरै सांसारिक बनाइसक्नुभएछ।
-मैले त केही गरिदिएको छैन। उहाँ नै जोगी भएर मेरो पछि लाग्नु भएजस्तो छ। हाहाहा।

सञ्जीव कस्तो लेखक हो?
-मेरो लागि त उत्कृष्ट लेखक हो। कतिले क्लिष्ट भन्लान्। तर मलाई सरल भाषाभन्दा इन्द्रबहादुर राईकोजस्तो मन पर्छ। कुनै कुनै किताब कस्ता हुन्छन् भने पाठकचाहिँ निष्त्रि्कय भएर बस्छ। किताब यत्तिकै पढी सकिन्छ। मलाई चाहिँ पाठक पनि सक्रिय भएको मन पर्छ। सञ्जीवमा पाठकलाई सक्रिय बनाउने क्षमता छ। पाठकले पनि च्यालेन्ज गर्न सक्नुपर्छ क्या किताबलाई।

तपार्इं समालोचक हो?
-पाठक हो। त्यस अर्थमा पाठकीय समालोचना चेतना ममा छ।

समालोचना त मर्‍यो पनि भन्दैछन् केही लेखक।
-असहमति छ। नेपाली समालोचना झन् अघि बढेको छ। पाठक, लेखक, समालोचक सबैको स्तर बढेको छ। पत्रिकामा लेख्ने र छाप्ने मात्रै समालोचक होइनन्। किशोर नेपालले त्यस्तो अभिव्यक्ति दिनुभएछ। त्यो खास कन्टेक्स्टमा भन्नुभएको होला। मैले रिलेट गर्न सकिन हुँला। पहिले कन्टेक्स्ट हुन्छ। अनि टेक्स्ट हुन्छ। समालोचना भनेकै के हो? पहिले त्यो बुनु पर्‍यो।

नारीवादी हो?
-सबाल्टर्न र सिमान्तकृतको कुुरा गर्दा नारीवादी भइन्छ भने म नारीवादी नै हुँ। तर हाम्रो नेपाली सन्दर्भमा नारीवादको परिभाषा नै गलत छ। पुरुषको विरोधमा उत्रिनुलाई नारीवाद भन्छन् यहाँ त। जब नारीले म पनि मानव वर्गमा पर्नसकुँ है भन्छिन्, त्यसलाई नारीवाद भन्ने? अहिले त पुरुषमात्रै मानव वर्गमा परेको छ। मलाई पनि समान अवसर देऊ भन्न नारी सक्दिनन्, मैले उनीहरूको लागि बोल्दिँदैमा त्यस्तो भनिन्छ भने म नारीवादी नै हुँ।


नेपालका महिला लेखकबारे तपाईंले लेख्दै हुनुहुन्छ, बोल्दै हुनुहुन्छ। अर्चना थापाको हैसियत पुग्दैन त्यसो गर्न भनेर कसैले टिप्पणी गर्‍यो भने तपाईं के भन्नु हुन्छ?
-हो। प्रत्येकलाई टिप्पणी गर्ने अधिकार छ। त्यसलाई म गलत भन्दिनँ। म लेख्न पछि आए पनि पाठक त म सधैं थिए। पाठकका रुपमा मैले पढेका कृति र लेखकप्रति मेरा केही धारणा बनेकै छन्। जसरी मेरो बारे टिप्पणी गर्नेलाई आफ्नो धारणा बताउने स्वतन्त्रता छ, त्यस्तै मेरो पनि छ। मचाहिँ उहाँलाई आदर गर्छु। सबैले आफ्नो धारणा राख्न पाउनु पर्‍यो नि त।

पढेकामध्ये राम्रा नेपाली महिला लेखक को?
-पारिजातका लेखहरू मन पर्छन्। शिरीषको फूलचाहिँ होइन। म भएको भए त्यसको अन्त्य बेग्लै गथर्ें।

के गर्नुहुन्थ्यो?
-अहिले भन्दिनँ।

भन्नु न के गर्नुहुन्थ्यो?
-नछाप्ने भए भन्छु। (....)। बरु बिपी कोइरालाको तीन घुम्तीकी नायिका परिपक्व लाग्छिन्। उनका तीनै पटकका निर्णय महŒवपूर्ण लाग्छन्।

शिरीषको फूल त्यसो भए कागजकै फूल हो त?
-त्यति ठूलो स्टेटमेन्ट दिन सक्दिनँ। अन्त्यचाहिँ अस्वाभाविक छ।

सिक्वेल लेखे भो नि त।
-त्यो हुन पनि सक्छ।

स्वअस्तित्वको खोज कसको कन्सेप्ट हो?
-मेरो हो। सञ्जीवले त अहिलेसम्म पढ्नु नै भएको छैन। त्यही अगाडिका पेज पढ्नु भो होला।

अघिल्लो किताब 'सिद्धान्तका कुरा' बाट नाफा भो होला।
-नाफाका पनि विभिन्न अर्थ हुन्छन्।

मैले पैसाको कुरा गरेको।
-त्यसरी त नाफा नै भयो। जेहोस् मैले एक्लै धानिरहेकी छु। अरुबाट पैसा लिएकी छैन। लगानीबाटै पूर्ति गरिरहेकी छु।

केही महिला लेखक र सञ्चारकर्मी समेट्नुभएछ। म्यानुपुलेट पनि गर्न खोज्या हो कि?

-होइन। नबोल्ने, पहँुच नभएका मान्छेलाई बोल्न दिनुपर्छ भन्ने मेरो हो। कसैले पनि आत्मकथा लेख्न नसकेपछि यो काम कति गाह्रो रहेछ भन्ने मलाई थाहा भो।

यो किताब पढ्नैपर्छ भन्ने के छ?
-धेरै कारण छन्। एकमात्र के दिउँ। अर्कालाई बुने हो भने यो पढ्नु पर्छ। पुरुषले मात्रै होइन। आमा, सासु, बुहारी, नन्दले पनि। नारीबीच पनि विभेद छ। जोसँग शक्ति छैन उसले बोल्नै पाउँदैन। व्यक्त नभएका भावहरू पनि यो किताब पढ्दा थाहा हुन्छ। मेरो त ससुराले पनि पढ्नु भो। बबिता बस्नेतले लेखेको मन परेछ उहाँलाई। म पो सञ्जीवजीसँग बोल्न सक्छु, सबैले त सक्दैनन् नि। तिनका लागि हो यो किताब।

संस्कृत, अंग्रेजी र नेपाली भाषा जान्नुहुन्छ। लेख्नचाहिँ कुन भाषामा मन पराउनुहुन्छ?
-भाषा भनेकै चिप्लो विषय रहेछ। कुनै भाषा पनि सजिलो छैन लेख्न।

अंग्रेजीमा होला।
-हुन त हो। काठमान्डु लिटरेरी जात्रामा लेखक बुद्धिसागरले उहाँ नेपालीमा पनि लेख्ने कोसिस गर्दैहुनुहुन्छ भन्दिनु भो। त्यसपछि त करै लाग्यो।

उहाँले त बल प्रयोगै गरिदिनु भएछ।
-हाहाहा। मानसिक बलै प्रयोग गर्दिनु भो। त्यहाँबाट लेख्न थालें।

अहिलेका लेखक महिला को राम्रा?
-शारदा शर्मा।

पुरुष चाहिँ
-खगेन्द्र संग्रौला।

विदेशका लेखक पढेर यहाँका पढ्दा कस्तो लाग्छ?
-त्यसरी तुलना गर्न मिल्दैन। विदेशका बेस्ट सेलर भनिनेको पनि कत्ति कमजोरी भेटेकी छु मैले।

नेपालको कुनै लेखकको इर्ष्या गर्नुभो भने कसको गर्नुहुन्छ?
-इर्ष्या गर्दिनँ। अझै राम्रा लेखकहरू आउनुपर्छ भन्छु म त।

तिनका किताब छाप्न पाउँ र पैसा कमाउँ भनेर हो?
-हाहा। त्यो पनि हो। पैसा कमाउँ, फेरि अर्को किताबमा लगाउँ। यस्तोचाहिँ हो।

अबको योजना?
-कृष्ण धरावासीको उपन्यास पाण्डुलिपी बैशाख ९ गते आउँदैछ। त्यसैको काम गर्दैछु। त्यसपछि घनचक्करको नयाँ संस्करण।

नेपालयले छापिरहेको घनचक्कर किन फिर्ता ल्याउनु भएको?
-त्यो त लेखकको स्वतन्त्रतताको कुरा हो नि । जस्ता उलार छाप्या थियो अरुले, पछि फाइनप्रिन्टले छाप्यो।

लेखकको स्वतन्त्रता तपाईंले खोस्या त होइन नि? पहिले नेपालय अहिले अक्षर क्रियसन्स।
-त्यो त लेखकलाई थाहा होला। तर यति समयबीच पनि घनचक्कर बजारमा सकिँदा पनि बजारमा नआउनुको कारण केही त होला। 

सञ्जीव तपाईं हुनुहुन्थ्यो, र तपाईंको ठाउँमा चाहिँ सञ्जीव हुनुहुन्थ्यो भने?
-डिजास्टर हुन्थ्यो। म अलि कडा छु।

कँज्याएर राख्नुहुन्थ्यो?
-हाहाहा। त्यसो त होइन। माया नै गर्छु नि।

समानताको कुरा चाहिँ गफ नै रहेछ।
-होइन। कोही पनि एसेन्सेयलिस्ट हुँदैनन्।


                        शुक्रवार साप्ताहिकमा २०६८ चैत २ गते बिहीबार प्रकाशित























No comments:

Post a Comment