Saturday, March 3, 2012

KishorNepal writes a story taking me as a character...थ्यांक यू इलाम, लभ यू मच


किशोर नेपाल
खुसीले चहकिएकी थिई विनिता। विनिता खुसी हुनु नौलो कुरा थिएन। ऊ खुसी नहुनु बरु नौलो हुन्थ्यो। खुसी हुनैका लागि जन्म भएको थियो उसको। कन्यामको डाँडामा पाइला टेक्नेबित्तिकै विनिता प्रकृतिको आकर्षणमा चुर्लुम्म डुबेकी थिई। चियाबारीको इन्द्रधनुषी नक्साभित्र हराएकी थिई, मन्त्रमुग्ध! उसले यति रमाइलो ठाउँ अहिलेसम्म कतै देखेकी थिइन।

'इलाम जाने विनिता?' कामको प्रसंगमा इलाम जान लागेको वसन्तले एक दिन अचानक प्रश्न गरेको थियो।
विनिताले पनि अचानक नै जबाफ दिएकी थिई, 'जाने।' उसले इलामको नाम सुनेकी थिई। त्यसबाहेक केही थाहा थिएन उसलाई। केटीले देश धेरै नघुमे पनि केही क्वालिटी ठाउँमा पुगेकी थिई। वसन्तले जिस्किँदाजिस्किँदै सोधेको थियो उसलाई। आफ्नो ओठबाट प्रश्न झर्न नपाउँदै विनिताले जाने भनिहाल्छे भन्ने त उसले सोचेकै थिएन। बिन्दास विनिता घुम्न भनेपछि तयार भैहाल्थी। ख्यालख्यालमा नै वसन्तले आफ्नो टोलीमा विनिताको नाम थपेको थियो।
कान्तिपुरबाट चालिस मिनेटको हवाई उडान र झन्डै एक घण्टाको मोटर यात्रापछि उनीहरू कन्याममा रोकिएका थिए, चिया पिउने बहानामा। कन्यामको विचित्र सौन्दर्य देख्नेबित्तिकै झकास भएको थियो, विनिताको मुड। ऊ चहकिन थालेकी थिई। चहकिँदाचहकिँदै ऊ अनायास नाच्न थाली। उसको पाउमा पाउजेब थिएन। नृत्यको उसको ताल नै संगीतमय थियो। नाच्दानाच्दै एकै झमटमा आएको सेतो र बाक्लो कुहिरोको थुम्कोभित्र कता हराई, कता हराई विनिता। वाह, क्या मोज! यस्तो पो हुनु जीवन!
विनितासँग लुकामारी खेल्दाखेल्दै कुहिरोको थुम्को अचानक हरायो। विनिताले ठम्याउनै सकिन, यो भ्रम हो कि सत्य? एकैछिन उसले आँखा चिम्म गरी र लामो-लामो गहिरो सास लिन थाली। सास लिनका लागि यस्तो स्वच्छ हावा कहाँ पाउनु र कान्तिपुरमा! निकै बेर फोक्सोलाई खलाँतीजस्तै चलाई उसले। उसको पूरै शरीर रिचार्ज भयो। आँखा खोल्नासाथ उसले वसन्तलाई देखी। ऊ दुई मिटरजति पर उभिएर एसएलआरको लेन्सको फोकस विनितातिर तानिरहेको थियो।
वसन्तलाई देख्नासाथ विनितालाई लाग्यो, यो सुन्दर डाँडामा चियाका बुटाभित्र लुकेर वसन्तसँग छिल्लिँदै लुटपुटिन पाए अझ कति आनन्द आउँथ्यो होला। त्यहाँ एक्लै भैदिएको भए वसन्त विनिताको आक्रमणमा परिसकेको हुन्थ्यो होला।
वसन्तले विनितालाई क्यामरामा टिप्यो। साँच्चै सुन्दर देखिएकी थिई मोरी, त्यतिखेर। उसले एकैछिन विनिताको सौन्दर्यलाई निहारेर हेर्‍यो। त्यसपछि उसको हात समातेर भन्यो, 'मसँग डेटिङ गर्छौ विनिता? हिँड, म तिमीलाई यहाँको प्रख्यात डेटिङ स्पटमा लैजान्छु।'
सुनेर प्रफुल्ल भई विनिता। उसले वसन्तको हात समाती। त्यतिबेलै उड्दै आएको कुहिरोको अर्को थुम्कोमा उनीहरू पुरिए। त्यसपछि आनन्द र उन्मादका केही सांकेतिक आवाज सुनिए। शब्दबिनाका ती आवाज निकै रोमाञ्चक थिए। यात्रा अघि बढ्यो। कन्यामदेखि फिक्कलसम्मको यात्रामा विनिता सोचिरहेकी थिई, 'ठीकै लेखेका हुन् पाउलो कोहेलोले- एघारै मिनेटमा आनन्दको चरमोत्कर्षमा पुग्छ मानिसको जीवन।'
फिक्कलको शिखरमा पुगेपछि भने उसलाई लेखक पाउलो कोहेलोको भनाइमा संशोधन गर्न मन लाग्यो। एघार मिनेटको आनन्द जीवनको अन्तिम आनन्द होइन। पटक-पटक रिक्रियट गर्न सकिन्छ, त्यो एघार मिनेटलाई। एघारै मिनेटको आनन्दले त के पुग्थ्यो र मानिसलाई!
भोलिपल्ट आधा दिन बिताए उनीहरूले फिक्कलमा। पशुपतिनगरबाट दार्जिलिङ नजिक छ भन्ने थाहा पाएपछि विनितालाई त्यहाँ पनि पुग्ने रहर नलागेको होइन। रहर लागे पनि सिमाना काटेर जाने मन चाहिँ थिएन। उनीहरू बिस्तारै ओर्लिए, माई खोलातिर। खोलाको तिरको सानो चियापसलमा आफूजस्तै केटीले माछा तारिरहेको देखेपछि विनिताले मन थाम्नै सकिन। उसको मुख त्यसै-त्यसै रसाएर आयो। उसले वसन्तको मुखमा हेरी पुलुक्क। वसन्त मुस्कायो। त्यसपछि उनीहरु माई खोलाको असला माछा गोलभेँडाको लेदो अचारमा डुबाएर खान थाले।
खुब रमाई इलाममा विनिता। उसलाई लाग्यो- यो त प्रेमका देवता क्युपिडको शहर पो रहेछ। हिजोमात्रै ऊ डेटिङ स्पटमा थिई। आज लभ पार्कमा छे। शहरको बीचमा लभ पार्क। उसले मनमनै इलामे नेपालीको तारिफ गरी। इलाम! कति राम्रो नाम! उसको दिलमा अंकित भयो यो नाम। वसन्तले आफ्नो कामको जिम्मा साथीहरूलाई लगाइदियो र विनितालाई इलामका हेर्नपर्ने ठाउँहरू घुमाइदियो। साँझ विनिताले तोङ्वा चाखी। डल्ले खुर्सानीको पिरोले जिब्रोलाई झस्काई। भोलिपल्ट उनीहरू फर्किने तयारीमा लागे। हातमा ग्रीन टी र छुर्पीको कोसेली बोकेकी विनिताले मोटरको सिटमा बसेर इलामका दृष्यलाई आँखामा रिफ्रेस गरी र बिस्तारै बोली, 'थ्यांक यू इलाम। लभ यू मच...।'
published on fagun 17, Sukrabar weekly

No comments:

Post a Comment