Wednesday, April 11, 2012

नयाँ वर्षको पहिलो दिन

नयाँ वर्षको पहिलो दिन
म सबेरै उठेर
एकपटक हेर्नेछु
ऐनामा
आफ्नो अनुहार

नमिलेको कपाल
कैयौं दिन नकाटेको दाह्री
मैलो कपडा
न्यास्रो जीउ

हेर्नेछु ऐनामा
छरपष्ट सामानहरू
नमिलेका किताब
टेबुलमा कविताका हरफ
ब्लेड, कलम र नेपाली टोपी
धुलोले पुरिएको
राजनेताको फोटो

नयाँ वर्षको पहिलो दिन
उठ्नेबित्तिकै
एकपटक हेर्नेछु
ऐनामा,आफ्नो अनुहार
.........................

अनि
उही अघिल्लै वर्ष झै
हिजोकै दिन झै
थाल्नेछु दैनिकी
चल्नेछु उसैगरी

तर एउटै चिन्ता छ मलाई
नयाँ वर्षको पहिलो दिन
मेरो देशले पनि
आफ्नो अनुहारलाई ऐनामा हेर्‍यो भने ?
by basanta basnet

1 comment:

  1. सरल भाषाको सुन्दर कविता

    ReplyDelete