गत हप्ताका अखबारमा प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले छोरी मानुषीलाई त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा स्वर्ण पदक दिएको तस्बिर छापियो। त्यसको भोलिपल्ट उनकै दलका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले माओवादी कार्यकर्ता बिना मगरलाई भगाएको समाचार छापियो। क्रान्ति र राजनीतिको मैदानमा यी दुई घटनाले के संकेत गर्लान्?
राजनीतिको गणित गर्नेहरू भन्छन्- प्रचण्ड यतिखेर चारैतिरबाट उनकै भाषामा 'घेराबन्दी' मा छन्। सँगै युद्धको प्रतिज्ञा गरेका कमरेडहरू क्रान्ति आधा सकिएको प्रचण्ड भाषालाई आत्मसमर्पणवादी उद्घोष ठानिरहेका छन्। उनीहरू पार्टी फुटाएर बाहिरिइसकेका छन्। संविधान सभा संविधान नै नदिएर अवसान भएकामा प्रचण्ड आफैंले पार्टी बैठकमा प्रस्तुत प्रतिवेदनबाट पश्चाताप गरिसकेका छन्। यसरी नेपाली राजनीतिको वर्तमान कालखण्डमा सर्वाधिक शक्तिशाली मानिएका यी पात्र हेर्दाहेर्दै शिथिल देखिएका छन्। उनको गिर्दो शक्ति गिराउन छोरा प्रकाशले थप भूमिका खेलेका छन्।
कम्युनिस्टहरूले क्रान्ति र राजनीतिको प्रश्नलाई इतिहासको आवश्यकता, जनताको पहल आदि शब्दले जतिसुकै रंग भरुन्, त्यसको अन्तरमा मनोवैज्ञानिक पक्ष बलियो रहेकै हुन्छ। उनीहरू यसलाई सार्वजनिक रुपमा नसकार्लान्। उनीहरू नै भन्ने गर्छन्- 'आधा युद्ध त दिमागले जितिन्छ।' यतिखेर प्रचण्ड त्यो आधा युद्ध लड्न मानसिकरुपमा तयार छैनन्। एक, पार्टी विभाजनले। दुई, छोराको कारणले।
सन्तानको सुखलाई परम सुख मान्ने धेरै छन्। उपाध्यक्ष भट्टराई त्यो सुख भोग गरिरहेका छन्। त्रिविको राजनीतिशास्त्रतर्फ स्नातकोत्तरमा प्रथम भएकी छोरीलाई कुलपतिको हैसियतमा 'गोल्ड मेडल' थमाउन पाउनु उनका लागि सुखद् संयोग थियो। भट्टराईको जीवनमा पटकपटक छाएका सुखका शृंखलामा सायद यो अर्को 'क्लाइमेक्स' थियो। उता प्रचण्ड, उनी आफैंचाहिँ पढाइका अब्बल भए पनि छोराछोरीमा त्यस्तो देखिएन। छोरीहरूलाई भुमीगत युद्धमा होम्दै गर्दा खुल्ला राजनीतिक जीवनमा 'वुर्जुवा शिक्षा'को महत्व उनले हेक्का राखेनन्। 'रेड'(लाल) कम, 'एक्स्पर्ट' (निपुण) बढी मानिने प्रविधिप्रेमी छोरा प्रकाशमा वर्गीय राजनीतिक-साँस्कृतिक चेत भर्न पनि उनी असफल नै रहे।
कतिपय मानिस भन्छन्- प्रकाशको निजी जीवनमा प्रचण्डलाई मुछ्न हुँदैन। ठीक हो, मुछ्न हुँदैन। तर यो देशमा यस्ता पनि मानिस छन्, जसलाई दोस्री पत्नी ल्याएको, दोस्रो व्यक्तिलाई पति बनाएको जस्ता अभियोगमा भाँटा हानिएको छ, श्रमशिविर पठाइएको छ, जनअदालतमा उभ्याइएको छ। त्यही जनअदालतका प्रधान न्यायाधीशमाथि आज जनताका स्वाभाविक प्रश्न छन्। जनतामात्रै होइन, स्वयं माओवादी कार्यकर्ताका प्रश्न छन्- के क्रान्ति अरुमाथि थोपर्ने चीजमात्रै हो? कि यो आफ्नो जीवनमा पनि लागू गर्ने हो?
एकातिर आधा क्रान्ति टुंगिनुअघि आफ्नो 'बुर्जुवा' शैक्षिक योग्यताको विवाद छिनोफानो नभइदिँदा माओवादी लडाकुहरू समायोजन नरोजेर अवकाशको पत्र बुझ्दैछन्। अर्कातिर बुर्जुवा शिक्षा बहिष्कार गर्ने, जनयुद्धको भट्टीबाट जनतालाई खार्ने अभियानका अर्का अगुवा विद्वान् बाबुराम भट्टराई पुत्री मानुषीलाई त्यही बुर्जुवा पढाईमा उत्कृष्टता हासिल गरेवापत गोल्ड मेडल टक्र्याउँदैछन्। अझ अर्कातिर, बुर्जुवा गोल्ड मेडलको तातोलाई २४ घण्टा पनि बजारमा तात्न नदिई अध्यक्ष प्रचण्डपुत्र प्रकाशले गरेको 'तेस्रो बिहे' ले छायाँ पारिदिएको छ। दुई दशकयता प्रचण्डसँग 'लभ हेट रिलेसनसिप' मा रहेका बाबुराम भट्टराईलाई 'सन्तान सुख' सम्बन्धी आफू र प्रचण्डसँग जोडिएका यी दुई सन्दर्भले कतै विरेचन पो भइरहेको छ कि! थाहा छैन।
प्रचण्डले एमाओवादीको पछिल्लो बैठकमा आफूलाई छोराले असाध्यै दुःख दिएको बेलिविस्तार लगाइसकेका छन्। 'वर्गीय आचरण' नदेखिएको, बदलामा 'साँस्कृतिक विचलन' देखिएको जस्ता शब्दावली उनीबाट जनताले सुन्न पाइरहेका छन्। नेपालको कम्युनिस्ट आन्दोलनमा यौन र प्रेमको विवाद वर्ग संघर्षजत्तिकै पुरानो छ। प्रकाश त्यसका नयाँ उदाहरणमात्रै दरिएका हुन्।
प्रकाशले भनेछन्- 'ठूलो नेताको छोरो हुनु गाह्रो हुँदोरहेछ, आफ्नो व्यक्तिगत जीवन नै नहुने।' प्रकाश स्वतन्त्रताको उपभोग कुन हदसम्म गर्न चाहन्छन् भन्ने उनीबाट थाहा हुन्छ। कम्युनिष्टहरूले स्वतन्त्रताको कुरा गरेपनि यो बेहद स्वतन्त्रता चाहिं उनीहरूको स्वतन्त्रताप्रतिको बुझाईमा कहीँ कतै मेल खादैन। स्रोतहरूको भनाईमा प्रकाशको विभिन्न बैंकमा खुलेका खातामा बचत शून्य छ। उनी भारत घुमिरहेका छन्। यसरी निजी सम्पत्ति उन्मूलन गर्दै वैयक्तिक आकांक्षाहरूलाई कुनै भाउ नदिएरै नयाँ समाजको निर्माणमा लागेको भनिएको पार्टीको हेडक्वार्टरबाट प्रकाश विनापेन्सन निवृत्त भएका छन्।
राजनीतिमा कमजोर देखिँदै गएका प्रचण्ड छोराको यस्तो क्रियाकलापबाट झनै हतप्रभ भएका छन्। 'लभ हेट रिलेसन' मा रहेका कमरेड बाबुरामकी छोरीले 'गोल्ड मेडल' थाप्दै गरेको पत्रिकाको पृष्ठमा नजर पर्दा तिनलाई कस्तो भयो होला! प्रचण्डप्रति यतिखेर कतिपयको सहानुभूति देखिन्छ। इतिहास बदल्छु भनेर हिँडेका प्रचण्डजस्ता कमान्डरहरू पनि इतिहासकै अर्को कालखण्डमा कमजोर बन्दा रहेछन्। त्यो वेला उनीहरूलाई सहानुभूतिको खाँचो पर्दोरहेछ।
Kathmandu Discourse// Nagarik Saun 1 2069
No comments:
Post a Comment