Friday, July 20, 2012

Ghumne Mechmathi Upendra Yadav

भन्नेहरु भन्छन्, मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव राजनीतिको केन्द्रभागमा ह्वात्तै आए, स्वात्तै हराए। उनीचाहिँ त्यसलाई ठाडै अस्वीकार गर्छन्। एनजिओलाई पार्टी बनाएर मधेस आन्दोलनसमेत हाँक्न सफल उनी बौद्धिक छवि बनाएका नेता मानिन्छन्। मधेसी नेताहरुमध्ये तुलनात्मक रुपमा कम विवादित पनि उनै हुन्। उनी यसअघि उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री पनि भइसकेका छन्।  यादवले बनाएको र हुर्काएको ठूलो 'फोरम' आज छिन्नभिन्न भइसकेको छ। उनी विचार, संगठन र मधेसी जनताको विश्वास आफ्नै दलसँग रहेको दाबी गर्छन्। नागरिकका बसन्त बस्नेतले उनीसँग गरेको कुराकानी-
 मधेस आन्दोलनयता खुब चर्चामा हुनुहुन्थ्यो, अहिले किन गुमनाम?
आन्दोलनबाट स्थापित भएको नेतृत्वको चर्चा अरु सबै बेलामा उतिकै भइरहँदैन। चार वर्षमा संविधान बनाउन नसक्ने, शान्ति प्रक्रिया टुग्याउन नसक्ने, जनतालाई सुरक्षाको अनुभूति दिलाउन नसक्ने, दण्डहीनता अन्त्य गर्न नसक्ने नेतृत्व बन्यो। एउटा पार्टी मात्रै होइन, सबै पार्टीहरूको डिभ्यालुएसन भएको छ। जो जति हाइ फाइमा थिए, त्यति नै तल गएका छन्। भूमिका पाएर पनि निर्वाह गर्न नसक्नेहरूप्रति जनताको आक्रोश छ।

डिभ्यालुएसन त मधेसवादी दलको झन् छिटो भयो भन्छन् नि?
मधेस आन्दोलन नभएइदिएको भए संघीयता, गणतन्त्र केही हुने थिएन। दिल्लीमा १२ बुँदे सम्झौता हुँदा संघीयता र गणतन्त्र दुवै विषयमा सहमति भएको थिएन। पुनर्स्थापित प्रतिनिधिसभाले जारी गरेको घोषणापत्रमामा पनि दुवै विषय परेका थिएनन्। अन्तरिम संविधान बन्यो, त्यसमा पनि संघीयता गणतन्त्र, सांस्कृतिक पहिचान, समावेशीता आदि कुरा थिएन। मधेस आन्दोलनपछि भएका २२ बुँदे सम्झौता र अन्य विभिन्न सम्झौताका आधारमा मुलुक युगान्तकारी र परिवर्तनकारी दिशामा अघि बढ्यो। आज मुलुकमा जुन परिवर्तन छ, त्यो मधेस आन्दोलनको देन हो।

'अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहें' भनेझैं आन्दोलन तपाईंहरूले संयोजन गर्नु भो फाइदाचाहिँ अरुले लिए होइन?
तिनीहरू तरे होइन, डुबे। हामीले आर्थिक समाजिक पछौटेपन अन्त्य गरेर समृद्ध नेपाल बनाउन आन्दोलन गर्‍यौं। संघर्षकै बीचमा, निर्वाचनताका केही मान्छेहरू हाम्रो पार्टीमा प्रवेश गरेका थिए। तिनको लक्ष्य आन्दोलन गर्नु, आन्दोलनबाट अधिकारहरू पाउनु थिएन। अरु पार्टीमा टिकट नपाएका वा खेदिएका वा पछाडि पारिएकाहरू फोरममा आए, निर्वाचनमा अवसर पाउन सफल भए। उनीहरूको उद्देश्य नै सत्तामा जाने, भ्रष्टाचार गर्ने, धन कमाउने थिए। निजी व्यक्तिगत स्वार्थ राखेर गएकाहरू सत्तामा बसेका हुन्। अवसरवादी चरित्र बोकेर आएका पात्रहरू बीच बाटोमा छुटिनु स्वाभाविकै थियो। हामी स्पष्ट मिसन बोकेर आएका थियौं। तिनीहरू यो मिसन बोकेर आएकै थिएनन्। व्यक्तिगत स्वार्थ र सत्तालिप्सा मात्रै थियो। संसदमा ५२ सिटबाट १२ सिटमा झार्न सफल भए, तर संगठनमा हाम्रै पकड छ।

पकड भएर के गर्नु सत्ता र शक्ति तिनकै छ!
कहाँ हुनु। सत्तामा शक्तिशाली भएर बसेको भए तपाईं मलाई उनीहरूले त्यहाँ बसेर देश र मधेसको पक्षमा निर्णय गराउन सफल भएको एउटै मात्र मुद्दा देखाउनुस्। उहाँहरू त सबैभन्दा असफल र नालायक सावित हुनु भो। १० हजार मधेसी युवालाई सेनामा लगाउँछु भन्दै चार बुँदे सम्झौता गरे र सरकारमा गए। चार जनालाई पनि लगाउन सकेनन्। समावेशीकरण र समानुपातिकता पास गराउँछौं भनेर गए तर कुनै काम गरेनन्। बरु त्यही चारबुँदेविरुद्ध अर्को सातबुँदे सम्झौता गरे। अलिअलि बचेको मधेसको प्रतिष्ठा पनि गिराउने काम गरे। माओवादीको कमैया र हलिया भन्दा माथिको हैसियतमा उनीहरू छैनन्। अब हाम्रो कुरा गर्नूस्, जनकपुर सम्मेलनपछि हामीले सारा मधेसमा लाखौं मान्छे उतारेर १० दिन र सारा नेपाल केही दिन ठप्प पारेको हो नि। विचार हामीसँग छ, सिद्धान्त, ताकत, संगठन र जनता पनि हामीसँग छन्। ठूलो कुरा पनि यही हो। उनीहरूसँग न विचार छ, न सिद्धान्त, न संगठन न जनता। चरित्र अवसरवादी छ। त्यही भएर धेरै दिन टिक्न पनि सकेनन् हामीसँग ।

उनीहरू अवसरवादी छन् भन्ने जानीजानी किन संगठनमा हुल्नुभएको त?
होइन, कोही मान्छे सुधि्रन चाहन्छ भने सुधि्रन दिनुपर्दैन? हामीलाई सुधि्रने मौका दिनुपर्‍यो भन्दै मिल्न आए। मौका दिएर के हुन्थ्यो, कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा हाल्यो, बांगोको बांगै। फेरि नेपालको राजनीतिमा उनीहरूको योगदान चाहिँ के थियो? भ्रष्टाचार गर्नु, घुस खानु, निजी स्वार्थका लागि जे पनि गर्न तयार रहनु, मुलुक डुबाउनु। ल तपाईं नै एकछिनका लागि उनीहरूको तर्फबाट बोलिदिनूस् त योभन्दा अरु केही योगदान थियो कि? (एकछिन मौन) भ्रष्टाचार गर्नुबाहेक केही थिएन। ल, दिनूस् त एउटामात्रै उदाहरण? छैन। छैन भनेपछि डुबेको हो कि त्यो तरेको हो?

फेरि सच्चिन चाहन्छौं भन्दै आए भने तपार्इं ढुंग्रोमा हाल्न फेरि तयार?
हामीले मात्रै पत्याएर हुँदैन, जनताले पत्याउने गरी फेरिन तयार हुनुपर्छ।

चारबुँदे समझदारी त्यसो भए भ्रम मात्रै थियो?
भ्रम थियो भन्ने त पछि त्यसकै विरुद्धमा सातबुँदे गरेपछि थाहा भइहाल्यो नि। त्यो कुनै राजनीतिक समझादारी नै होइन। त्यस्ता चारबुँदे र सातबुँदेको कुनै प्रसंग छैन अब। उनीहरूले त्यस्ते बुँदेहरू कति खाए कति पचाए। त्यसको कुनै हिसाब छैन। सत्तामा जाने भर्‍याङमात्रै भएका छन्, त्यस्ता बुँदेहरू। कुनै बुँदा छैनन्, जसलाई उनीहरूले व्यवहारमा उतारे।

एक मधेस एक प्रदेश भन्नुहुन्थ्यो, तपाईंहरूसँगै माग पनि छिन्नभिन्न भएर गयो हगि?
कहाँ छिन्नभिन्न हुनु, झन् दह्रो पो भएर गयो। तपाईं जुन मोर्चाको कुरा गर्दैहुनुहुन्छ, त्यो मोर्चा साक्षी बसेर मधेसलाई पाँचवटा प्रदेशमा विभाजित गर्ने प्रस्ताव लिएर गएको थियो। कांग्रेस, एमाले र माओवादीसँग साक्षी किनारा बसेर मोर्चाले ११ प्रदेश बनाउने र मधेसमा पाँच प्रदेश बनाउने कुरा गरिसकेको थियो। तीन दलको निर्णयमा साक्षी किनारा हुन गएकाहरूको निर्णयलाई मधेसका जनताले एकछिन पनि टिक्न दिएनन्। ठूलो आन्दोलनको धक्का दिए। जनता क्षेत्रीय स्वायत्तताको पक्षमा दह्रोसँग उभिएको यो एक प्रमाण हो। मधेसको मुद्दा त्यसकारण हाम्रो मुद्दा हो। जसको मुद्दै थिएन, उनीहरूले छोड्नु र समात्नुको कुनै अर्थ हुन्छ र? उनीहरू त केवल मधेसीको नामबाट चुनाव लड्ने, सरकारमा जाने र भ्रष्टाचार गर्ने ध्याउन्नमा थिए।

कांग्रेसको सिद्धान्त समाजवाद, कम्युनिस्टको साम्यवाद, तपाईंहरूको चाहिँ के?
सामाजिक लोकतन्त्र।

कांग्रेसको प्रजातान्त्रिक समाजवाद र यसमा के फरक?
कसैकसैले समानता देखाइदिन्छन् तर अलिकति भिन्न छ। फ्रान्सेली राज्यक्रान्तिले स्थापित गरेका स्वतन्त्रता, समानता, भ्रातृत्व हाम्रा पनि आदर्श हुन्। थपमा सामाजिक सुरक्षा र सामाजिक कल्याणका लागि हामी लड्छौं। यसका लागि पुँजीवादका सकारात्मक पक्षहरूलाई पनि लिने हो। तर नागरिक स्वतन्त्रतालाई अगाडि राखेर समान हक र न्यायका लागि लड्ने हो।

आर्थिक कार्यक्रम चाहिँ के हो?
मिश्रित अर्थतन्त्र नै हो। नेपालजस्तो मुलुकमा यही ठीक छ। अहिले नै हामी समाजवादी अर्थतन्त्रमा गइहाल्न सक्दैनौं। फेरि पुँजीवादी अर्थतन्त्रमा पनि गइहाल्न सकिन्न। त्यसो गरियो भने हामी गरिब देशका जनताहरू बहुराष्ट्रिय कम्पनीहरूका दासभन्दा बढी हुनसक्दैनौं।

विदेशी पुँजीको पनि विरोध गर्ने?
होइन, विदेशी पुँजी र बहुराष्ट्रिय कम्पनीहरूलाई त स्वागतै गर्ने हो। तर उनीहरूको सिस्टमलाई हुबहु मान्दै जाने होइन, हामीले आफ्नो सिस्टमभित्र ल्याउन प्रयत्न गर्ने हो। राष्ट्रिय स्वार्थलाई जहिले पनि प्राथमिक मान्नुपर्छ।

सरकारको भूमिकालाई कसरी हेरिरहनुभएको छ?
यो सरकार संविधान निर्माणको वातावरण बनाउन, शान्ति प्रक्रिया केही अघि बढाए पनि टुंग्याउन असफल भयो । मुलुकलाई संक्रमणकालबाट निकाल्न असफल भयो। जनतालाई सुरक्षा दिन पनि असफल नै भयो। त्यसैले अहिले असफल नेतृत्वकर्ताहरूले बोकेको कामचलाउ सरकारमात्रै देशमा छ। त्यसैले यो सरकारको नाम असफल कामचलाउ सरकार हो। असफल भएर कामचलाउ भएको सरकार।

चुनाव घोषणा भएको छ। अब नयाँ चुनावमा जाने होला नि?
चुनाव घोषणा त गरे। तर लौ गराएर देखाउन् त। सम्भावना नै छैन। यो सरकारसँग चुनाव गराउन सक्ने क्षमता पनि छैन। मुलुकलाई लैजाने कहाँ हो त्यो पनि थाहा छैन। जहाजमा यस्ता क्याप्टेनहरू बसेका छन्, जसलाई कुन दिशातिर जाने हो, थाहा छैन। यात्रा कहाँ टुंगिने हो त्यो पनि थाहा छैन। कतिखेर डुब्ने हो, त्यो पनि थाहा छैन। यस्ता पनि बसेका छन् सरकारमा।

बजेटै छुट्याइसके चुनावका लागि?
भनिसकें नि असम्भव छ। बजेटले मात्रै चुनाव हुन्छ? वर्तमान संवैधानिक व्यवस्थाले नै दिँदैन। त्यसमाथि यो सरकारको त चुनाव गराउनसक्ने क्षमता छैन, योग्यता पनि छैन।

तपाईं सरकारमा जानुभयो भनेचाहिँ चुनाव हुन्छ?
हामी सरकारमा जानु र नजानुको कुनै अर्थ छैन। सरकारमा त कति आए, कति गए, त्यसको के लेखाजोखा? मुलुकलाई संक्रमण र संकटबाट निकाल्नुपर्छ। त्योचाहिँ ठूलो कुरा हो।

सरकारमा जाँदै नजाने हो भने पार्टी किन खोल्नुपर्‍यो?
सत्तामा जाँदै नजाने त कहाँ भनेको हो र? तर प्राथमिकता केलाई दिने? मुलुक दिशाहीनता र संकटमा जेलिएको बेला, जनता मर्माहत भएका बेला देशलाई अन्योलबाट निकाल्नु प्राथमिक हो। पार्टी भनेको त्यसका लागि हो। सत्ता भनेको त साधन मात्रै हो।

तपाईं आफैं उपप्रधानमन्त्री, मन्त्री हुनु भो, आफ्नो पालामा चाहिँ अवसर खेर फाल्नुभएको त सही हो नि?
पछिल्लो पटक तीन महिना मन्त्री भएको हो। खासै काम त गर्न सकिएन, तर मुलुकलाई अहित हुने पनि काम गरिएन।

सरकारमा भएर पनि केही गर्न नसक्नु भनेको त सानोतिनो अपराध होइन?
एउटा मुलुकका लागि तीन महिना भनेको केही पनि होइन। फेरि कुनै निकास दिन नसकिने अवस्था देखिएपछि छोडिदिएको हो बीचमै - ल आओ, निकास देओ भनेर। अहिलेको सरकारले त्यसो भन्ने आँट गर्न सक्छ?

प्रमसँग भारत छँदादेखि नै राम्रो सम्बन्ध थियो होइन?
सम्बन्ध त यता पनि राम्रै थियो। अहिले पनि व्यक्तिगत रुपमा उहाँको इज्जत गर्छु। तर राजनीतिमा व्यक्तिगत कुराको अर्थ छैन। उहाँ पिएचडी गरेको मान्छे हो। तर अहिलेसम्मकै सबैभन्दा असफल प्रधानमन्त्री हुनु भो। मुलुक चलाउन उहाँको पिएचडी थेसिसले काम दिएन। उहाँ पूर्ण रुपले फेल हुनु भो।

'नेपाल इन ट्रान्जिसन' नामक किताबमा एसडी मुनीले 'र' का एजेन्टसँग माओवादी नेताहरूको पहिलेदेखि नै सम्बन्ध रहेको खुलाउनु भएछ। तपाईं पनि त्यो सम्बन्ध बनाउन लाग्नुभएको हो?
त्यो सम्बन्ध कसैले कसैलाई लिएर बनाइने सम्बन्ध होइन। सिधै कुरा हुने हो। त्यसकारण मलाई लाग्छ, त्यो प्रचण्ड र बाबुरामको पहल हो। अझ मलाई त त्यो बाबुरामजीको निजी यात्रा हो भन्ने लाग्छ। उहाँको पार्टीको पनि त्यो यात्रा नहोला। बाबुरामजीको भारतसँगको सम्बन्ध पहिलेदेखि नै राम्रो देखिएको हो, अहिले पनि राम्रो छ।

त्यही राम्रो सम्बन्धका कारण यो सरकार टिकिरहेको रे , हो?
हेर्नुस्, जबसम्म हामी आफ्नो खुटामा राम्ररी उभिँदैनौं। राजनीति स्थिरता कायम गर्दैनौं। आर्थिक हिसाबले आफ्नो खुट्टामा आफैं टेक्न सक्ने हुँदैनौं, तबसम्म उत्तर दक्षिण आदिको हावा लागिरहन्छ। त्यो हावाबाट जोगिन आफ्नो खुटा दह्रो बनाउनुपर्छ।

तपाईंको पार्टीकहाँ चाहिँ पश्चिमको हावा लागेको छ रे!
कसको?

अमेरिकाको।
नेपालमा कुन दिशाको हावा बहन्छ, त्यो हावा विशेषज्ञहरूलाई नै सोध्नुपर्छ। अमेरिकाले किन हामीलाई राम्रो वा नराम्रो गर्ने? किन? हामीसँग पूरा गराउन तिनीहरूको के स्वार्थ हुँदो हो र!
.................

उपेन्द्र यादवको व्यक्तित्व सिंगै देशको नेता हुन सुहाउने खालको हो, उहाँ त एउटा इलाका र क्षेत्रको नेतामा सीमित भइदिनुभो भन्ने पनि भेटिँदा रहेछन्!
भन्नेले भन्दिए त के गर्ने? तपाईं भन्नूस्, मधेसको सवाल क्षेत्रीय, जातीय हो कि राष्ट्रिय हो?

क्षेत्रीय हो।
हो, यही सोचाइ नै गलत हो। मधेसको सवाल भनेको राष्ट्रिय सवाल हो। मधेसको सवाल भनेको समावेशीकरणको हो। लोकतन्त्र र विकाससँग जोडिएको सवाल हो। त्यसैले यो पूरै राष्ट्रिय सवाल हो। न यो क्षेत्रीय समस्या हो, न त जातीय नै। यो राष्ट्रिय समस्या हो। अब मधेसले दिएको उपलब्धि केके हो नेपाललाई? गणतन्त्र हो। त्यसो भए भन्दिनूस्, के मधेसमा मात्रै गणतन्त्र र बाँकी भूभागमा राजतन्त्र छ? संघीयताको कुरा, के मधेसमात्रै संघीय रह्यो र बाँकी नेपाल उस्तै रह्यो? पहिचानको सवाल मधेस आन्दोलनबाट आयो, त्यो आज सबैको भएको छ। आज क्षेत्रीबाहुन पनि पहिचान भन्दैछन्, त्यो ल्याएको त मधेस आन्दोलनले नै हो नि। आफ्नै जातलाई अन्यमा राखेर उहाँहरू आफूले आफैंलाई नै अपमान गरिरहनु भएको पो थियो त। अहिले खस आर्य भन्दैहुनुहुन्छ, त्यो चाहिँ पहिचानको कुरा हो। यी कुरामध्ये कुन चाहिँ यस्तो कुरा हो, जो मधेसमा काँडेतार लगाएर छेकिएको छ? यति धेरै राष्ट्रिय मुद्दा उठाउने मधेसी पार्टीलाईलाई क्षेत्रीय भनेर तपार्इं भन्नुहुन्छ। यो हुनेको दोष हो कि देख्नेको?

राष्ट्रिय सद्भाव बिथोल्न तपाईंहरूकै आन्दोलनले सुरु गरेको आरोप लगाउने पनि छन् नि?
सद्भाव हामीले बिथोलेनौं, बिथोल्ने नीति पनि छैन। मधेस आन्दोलन भनेको राज्यले जनतामाथि गर्दै आएको विभेदविरुद्धको आन्दोलन थियो। मधेसका जनतामाथि मात्रै यो राज्यको विभेद थिएन, दलित, जनजाति, हिमाली क्षेत्रका जनता, काठमाडौं वरिपरिकै जनताविरुद्ध पनि विभेद थियो। अझै पनि छ। हो त्यही विभेदलाइ हटाएर समानतामा आधारित समाज बनाउने हाम्रो आन्दोलनको उद्देश्य थियो। त्यस्तो उद्देश्यसहितको आन्दोलनले राष्ट्रिय सहिष्णुतालाई बढाउँछ कि घटाउँछ?
गौर घटनामा त्यत्तिका मान्छे मारिए?

हाम्रै आन्दोलनमा हाम्रा दसौं हजार मान्छे घायल पारिए। ५३-५४ जनाको ज्यान गयो। मधेस आन्दोलनलाई समाप्त पार्नका लागि राज्यले गरेको षडयन्त्र थियो त्यो। गौरको कुरा गरिहाल्नु भो, त्यहाँ बस्ने पहाडीहरूका फुसका साना साना घरहरू गएर हेर्नुस् त, कहिल्यै हल्लिएनन् तिनीहरू। यदि असहिष्णुता हुन्थ्यो भने उनीहरू त्यो रुपमा बस्न सक्ने थिएनन् नि त। तर उनीहरू पूरै सुरक्षित छन् त्यहाँ। गौरवका साथ सहिष्णु भएर बसेका छन्। मधेस आन्दोलनले सामाजिक सहिष्णुतालाई कहिल्यै खलल पुग्न दिएन। ल, त्यस्तो आन्दोलनलाई साम्प्रदायिक आन्दोलन भन्ने कसको हिम्मत छ हेरौं त? त्यो त न्यायको आन्दोलन हो। मधेसदेखि हिमालसम्म, सडकदेखि सदनसम्म अस्ति देख्नुभो होला नि। मधेसले सिकाएको न्यायको आन्दोलन थियो त्यो।

राज्यले तपाइंहरूको एक मधेस एक प्रदेश मानेन भने देशै टुक्र्याउने धम्की पनि सुनिन्छ!
नेपाल टुक्राउने भनेर यहाँ कसैले राजनीति गरिराखेको छ जस्तो मलाई लाग्दैन। हामी त नेपालको सार्वभौमसत्ता अखण्ड बनाउँदै अधिकार र न्यायका लागि लडिरहेका छौं। देश विखण्डित भयो भने को सँग लड्ने, कहाँ लड्ने? अहिलेका शासकहरू बरु देश विखण्डनको कुरा गरिरहेका छन्। आफ्नै जनतालाई विभेद गर्ने शासकले राष्ट्रियतालाई जोगाउन सक्छ, अखण्डता कायम गर्छ? विदेशीको आशिर्वादबाट मन्त्री बनेकाहरूले राष्ट्रियता जोगाउँछन्? राष्ट्रियता कहिँ छ भने त्यो मधेसमा छ। असमान सन्धि सम्झौता गर्ने, राष्ट्रियतालाई आघात पुर्‍याउने सबै काम दौरासुरुवाल टोपी लगाउने, र मि...ठो नेपाली बोल्नेहरूले नै गरेका छन्। धोती लगाउने र नेपाली बोल्न नजान्नेहरूले राष्ट्रघाती काम गरेको देख्नु भएको छ? त्यस्तो इतिहास छ नेपालमा? अर्को कुरा पनि भन्दिइहालुँ, तराईको सिमाना सुरक्षा गर्न नेपाली सेना बसेको छैन। त्यहाँको सिमाको पहरेदारी गरेर बस्नेहरू त्यही धोती, लँगौटी लगाएर बस्नेहरू नै हुन्। काठमाडौं बस्नेहरूलाई मन परे पनि नपरे पनि तिनै अनुहारहरूले नेपालको राष्ट्रियता थामेर बसेका छन्। त्यसैले राष्ट्रियता भन्ने कुरा काठमाडौंको पावरको करिडरमा खोजेर हुँदैन। यहाँ बसेर दौरासुरुवाल लगाउने र मिठो नेपाली बोल्नेहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि राष्ट्रियता कमजोर पारिसकेका छन्।

राष्ट्रपति, उपराष्ट्रपतिदेखि ठूला नेता मधेसकै त छन्?
भारतमा इन्दिरा गान्धी १७ वर्ष प्रधानमन्त्री भएर बसिन्, उनकै कार्यकालमा बम्बइ र दिल्लीमा महिलाहरू जलाएर पनि मारिन्थे। अहिले पनि महिला नै राष्ट्रपति हुनुहुन्छ। दलितबाट के आर नारायणन राष्ट्रपति चुनिए। कुन समूदायको मान्छे प्रम वा राष्ट्रपति भयो भन्दा पनि राज्यले विभेदकारी नीति समाप्त पार्ने नीति ल्यायो कि ल्याएन भन्ने कुरा मुख्य हो। अनुहार होइन, नीति महत्वपूर्ण हो। हामी अनुहारको पछाडि छैनौं, विचारको पछाडि छौं। अनुहार भएर के गर्ने, अहिले पनि सरकारमा हुने कतिपयको अनुहार मधेसी छ। मधेसीको अनुहार त पञ्चायतकालका सरकारमा पनि थियो। महेन्द्र र ज्ञानेन्द्रका पालामा पनि थियो। मधेसी अनुहार नभएको त राणाकालपछि कुन बेला छ र! अनुहार एउटा र विचार अर्को हुनुले काम गर्दैन।

६० वर्षभन्दा बढी समयदेखि लडेका पार्टी नेतृत्वलाई यसरी गाली गर्न मिल्छ?
मैले व्यक्ति र पार्टी होइन, प्रवृत्तिलाई गाली गरेको। चरित्र र विचारको समीक्षा गरेको मात्रै हो। आवेशमा बोलेको होइन, कटुसत्य हो।

मधेसका विभिन्न ठाउँमा सिमाना मिचिँदा पनि मधेसका नेताहरू चुइँक्क बोल्दैनन् भन्ने आरोप छ। के भन्नुहुन्छ?
यस्तो कुरा गर्नेहरूलाई अन्तर्राष्ट्रिय कुटनीति नै थाहा छैन। जब दुई देशबीच, अझ छिमेकबीच समस्या उत्पन्न हुन्छन्, ती सडकबाट समाधान हुन्छन् कि कुटनीतिक च्यानलबाट हुन्छन्? प्रभुले यसो गरे उसो गरे भनेर सडकमा भन्ने अनि तिनै प्रभुहरूको शरणमा परेर तिनैको आशिर्वादमा बाँच्न खोज्ने एउटा खालको प्रवृत्ति छ। हामीले त्यो खालको राजनीति गर्न चाहेनौं। म परराष्ट्रमन्त्री भएको बेला कुटनीतिक पहल गरेको थिएँ। यहाँका मिडियाले त्यसको राम्रै कभरेज पनि दिएका थिए।

सरकारबाट बाहिरिएपछि पनि आवाज उठाइरहनुपर्ने होइन?
हामी सडकबाट होइन, प्रोपर च्यानलबाट नै कुरा गर्न चाहन्छौं। त्यो दुवै देशको हितमा हुन्छ। यहाँ त जो जति ठूलो स्वरमा भारतलाई गाली गर्छ, त्यो त्यति ठूलो राष्ट्रवादी, अनि फेरि उनी प्रधानमन्त्री र मन्त्री हुन्छ, तिनैको आशिर्वादबाट। नक्कली राष्ट्रवादीहरू सडकमा छिमेकीविरुद्ध ठूला नारा लगाउँछन्, अनि भित्रभित्र चाहिँ पाउमा ढोग्छन्। उनीहरू नारामा राष्ट्रवादी हुन्, हामी व्यवहारमा राष्ट्रवादी।

उनीहरू त कमसेकम बोल्छन्, तपार्ईंहरू त त्यो पनि गर्नुहुन्न?
बोल्छन्, तर भयो के? माओवादीले विदेशी प्रभुले यसो गरे उसो गरे भनेर भाषण गरे। तर अन्तिममा सत्ताको लागि प्रभु त होइन, उसको प्युसोसँग आशिर्वाद थाप्न पुगे। त्यसो गर्नेहुँदा आज पार्टी नै फुट्यो। यति तल उत्रे नि। खै त राष्ट्रवादिता?
...............

पहिले एमाले हुनुहुन्थ्यो, किन छाड्नु भो?
म पहिले त पुष्पलालसँगको संगतबाट मार्क्सवादी पार्टीमा लागेको हो। पछि एकीकृत भएर एमाले भयो। एमालेका क्रियाकलापबाट थाहा भो, एमाले मार्क्सवादको कुरा गर्ने ब्राह्मण खसहरूको पार्टी रहेछ। ब्राह्मण पनि संकीर्ण खालको ब्राह्मणवादी। मार्क्सवादको त भँजाएर खाने काम मात्रै भो। त्यो आज स्वयंसिद्ध भएको छ। एमाले भनेको मध्यमवर्गीय खातापिताहरूको परिवार हुनपुग्यो।

आज तपाईंले बनाएको पार्टीचाहिँ कस्ता हुनपुग्यो?
हामीले त समावेशीताको मुद्दा ल्यायौं। विघटित संविधानसभा संसारकै नमुना समावेशी संविधानसभा थियो। त्यो मधेस आन्दोलनको देन हो कि होइन? विभेद र शोषणका तीनवटा रुप हुन्छन् - वर्गीय, जातीय र लैंगिक। यी विभेद अन्त्य नगरी सच्चा लोकतान्त्रिक समाज बन्न सक्दैन।

कम्युनिस्टहरू पनि यसै त भन्छन्!
कम्युनिस्टले पनि भन्न त भन्छन्, तर गर्दैनन्। अझ हिजोआज त भन्न पनि छाडिसके। सायद यो शब्द सुन्दै उनीहरूलाई लाज लाग्न थालिसक्यो होला। हेर्नुस् न, वर्गीय कुरा गर्न कम्युनिस्टहरूलाई नै लाज लाग्ने स्थिति पनि आइसक्यो (हाँसो)। हामीचाहिँ वर्गहरूको उन्मुलन होइन, वर्गीय विभेद कम गर्दै गर्दै लगेर अन्त्य गर्नुपर्छ भन्ठान्छौं।

जातीय राज्यप्रति तपाईंहरूको टिप्पणी के छ?
ठूलठुला नेता त्यसमा पनि लाल कामरेडहरू पनि जात र जातीय एउटै हो भन्छन् । कास्ट र नेसनालिटी एउटै होइनन्। पहाडमा केही खास जनजातिहरूले राज्य मागे। ठूला दलका नेताहरू राई, लिम्बु, मगर, गुरुङ हरूलाई एकै ठाउँ बस भन्छन्। पहाडका जनजातिहरूले अलग राज्य माग्दा एक ठाउँ बस्नुपर्छ भन्ने तिनै नेताहरू मधेसमा हामी एक ठाउँ बस्छौं भन्दा पाँच टुक्रामा बस्नुपर्छ भन्छन्। हामी एकै ठाउँ बस्छौं भन्दा त्यसो होइन, तिमीहरू थारुवानका नाममा एक टुक्रा हौ, अवधीका नाममा एक टुक्रा हौ भनी तिनै नेताले भन्ने। उता माथि चाहिँ हामी अलग बस्छौं भन्दा एकै ठाउँ बस भन्ने। यो दोहोरो चरित्र कांग्रेेस कम्युनिस्टका नेताले देखाए। जातिका आधारमा पहाडमा राज्य माग्दा यति धेरै जातिहरूलाई कहाँ जातीय राज्य दिएर सम्भव हुन्छ भन्ने नेताहरू नै मधेसमा हामी एक ठाउँ मिलेर बस्छौं भन्दा कहाँ त्यसरी हुन्छ, तिमीहरू थारु छौ, मुस्लिम छौ भन्न थाल्छन्। यो छेपारोझैं रंग बदल्ने राजनीतिक विचार हो।

जातीय राज्य बन्छ?
जातीय राज्य नेपालमा बन्दैन। पहिचान र सामर्थ्यका आधारमा मात्रै राज्य बन्छ भनेर किटान नै गरिएको छ। पहिचान भनेको जातीय सांस्कृतिक पहिचान नै हो।

मधेसमा कोही पनि सर्वस्वीकार्य नेता नदेखिएकाले अब पुरानो पुस्ताको महन्थ ठाकुरलाई अघि बढाउनुपर्छ भन्ने पनि छन् नि?
संसारभर कोही पनि सर्वस्वीकार्य नेता भन्ने हुँदैन। नेपालमा जन्मियो भने त्यो गौरव नै हुन्छ। मधेस आन्दोलन हुँदैगर्दा उहाँ कहाँ हुनुहुन्थ्यो? सरकारमा बसेर मधेस आन्दोलनलाई दमन गर्दैहुनुहुन्थ्यो होइन? त्यही भएर त पछि मधेसका जनताले चुनावमा हराइदिए उहाँलाई। धन्न गिरिजाप्रसाद कोइरालाले क्याबिनेटबाट मनोनित गराइदिए। उहाँबारे अब अरु केही भन्नुपर्छ? यति हो, सोझासाझा हुनुहुन्छ, केही बोल्नुहुन्न।

त्यसो भए मधेसी दलबीच अब कार्यगत एकता पनि हुँदैन?
राजनीतिमा एकता विचार, नीति र कार्यक्रमका आधारमा हुन्छ, अनुहारका आधारमा हुँदैन। विचार केही नमिल्ने, तर अनुहारमात्रै उस्ताउस्तै भयो भने त्यसले केही काम गर्न सक्दैन।

भारतमा मातृका यादव र सुरश आले मगरलाई पक्राउन तपार्इंले सहयोग पुर्‍याएको रे!
त्यो आरोप लगाउनेले नै हिजोआज दस्तावेजमा के लेखेको छन् भने 'हामीले मधेस आन्दोलनलाइ बुझ्न नसक्नु ठूलो गल्ती भयो।' मातृका र सुरेशले नै पत्रकार सम्मेलन गरेरै माओवादी नेताहरूले लगाएको आरोप गलत हो, हामी अर्कै कारणले पक्राउ परेको हो भनिसकेपछि त्यस आरोपको अर्थ के छ?

भ्रष्टाचारको मुद्दामा किन मधेसी नेता नै बढी मुछिएका?
भ्रष्टाचारीको जात, क्षेत्र लिंग के हुन्छ? भ्रष्टाचारीको कुनै जात हुँदैन। उसको कुनै विचार र सिद्धान्त हुँदैन। भ्रष्टाचार मुद्दामा थुप्रै पहाडी पनि गएका छन्। (यसो नेर उनले १०-१२ जनाजति जेल परेकाहरूको नाम दिए।) गन्ने हो भने अझै मधेसका मान्छे कम छन्। त्यसैले हामीले भ्रष्टाचारी र अपराधीको जात, क्षेत्र छुटयाउनु हुँदैन।

सबै नेतामा सत्तालोभ छ, मधेसी नेतामा अझै बढी छ भन्ने आरोपबारे के भन्नुहुन्छ?
केही मधेसी नेता जसको कुनै विचार र लक्ष्य नभएपछि सत्ताको लोभमा पर्छन्। मधेसी नेताहरू यस्तो लोभमा पछि परेका छैनन्। तर सत्ताको रिङमास्टर चाहिँ को बनेको छ? कहिले कोइराला, कहिले भट्टराई, कहिले दाहाल, कहिले भट्टराई, नेपाल, खनाल, देउवा। यस्तै न छ।

किङमेकर त फेरि तपाईंहरू नै हो नि?
किङमेकरको कुरा होइन। मास्टरले जब चाबी घुमाउँछ, अनि स। मधेसका केही भ्रष्टाचारी त सेकेन्ड र थर्ड क्लासका भ्रष्टाचारी हुन्।

फर्स्ट क्लासका चाहिँ को हुन्?
तिनै रिङ मास्टरहरू (हाँसो)।

सत्तामा छँदा तपाइंको क्लासचाहिँ कुन थियो?
आफूले त न त्यसो गरियो, न चाहना नै राखियो।

अरु पार्टी पनि फुट्छन्, तर मधेसी पार्टी नै किन बढी फुट्छन्?
कांग्रेस कम्युनिस्ट सबै फुट्या छन्। माओवादी फुट्यो, तर मिडियाले तिनले केही पनि नभएजस्तो रुपमा लिए। मधेसआधारित पार्टी फुट्दा त त्यसलाई नकारात्मक रुपमा लेखिदिने, फूलबुट्टा भरिदिने मिडिया कति धेरै थिए। माले फुट्यो, चुरे भावर फुट्यो, त्यसको केही चर्चै नगर्ने। हामी फुटेको मात्रै चर्चा गर्ने। त्यसरी चर्चित बनाउने पहलकदमी मिडियाको बढी देखिन्छ।

तै पनि किन फुट्छन् भन्ने प्रश्न त छँदैछ।
विचार र मूल्य मान्यताका आधारमा राजनीति गर्ने बानी नबसेकाले यस्तो भएको हो। हाम्रामा राजनीतिक परम्परा विकसित भएको छैन। विचार विहीनता, अवसरवादिता बढी भएकाले फुट भएको हो।

तपाईंको सेकेन्ड म्यान भएर आएका विजयकुमार गच्छदारले कहाँ पछाडि छाडिदिए हगि राजनीतिको खेलमा?
उसको बाटो बेग्लै थियो, हाम्रो बाटो बेग्लै। त्यसैले अलग्गिनु पनि स्वाभाविक बन्यो।

अघि भनेझैं क्लास नमिलेर त होइन? आर्थिक आम्दानीको क्लास?
उनले जे गरेका छन्, सबैका सामू छ। त्यो सबैले बुझेकै कुरा हो। तपाइहरूले पनि बुझ्नु भएकै छ। त्यसैले जति कोटयायो, त्यति गन्हाउँछ।

पहाडतिर संगठन नबनाउने?
बनाउने, बनि पनि राख्या छ।

मधेसी फोरम नाम राखेर पहाडीको मन जित्न सकिएला?
हाम्रो पार्टीमा लाग्नुभएका पहाडीहरूले पनि मधेस भनेको नेपालकै पाटो हो भन्ने राम्ररी बु‰नुभएको छ। जर्मनीको मार्क्सको नाममा पार्टी छ, चीनका माओका नाममा छ। त्योचाहिँ राख्न हुने। मधेस आफ्नै भूभाग, जसले पुरै नेपाली जीवनको आधार हो, त्यसको नाममा पार्टी बनाउँदा किन आपत्ति? कुनै पनि पार्टीको नाम होइन, विचार महत्वपूर्ण हुन्छ।

अन्त्यमा, अबको नेपाली राजनीतिको बाटो के हो?
संविधानसभाको पुनर्स्थापना गरेर जनताको अधिकारको अपहरण गर्नु हुँदैन।
सहमतिबाट उच्चस्तरीय राजनीतिक निर्णयका आधारमा संसदको निर्वाचन गरौं। त्यो संसदले अहिलेसम्म संविधानसभाले गरेका काम र अबका सहमतिलाई अनुमोदन गर्नेछ। पहिलेको संविधानसभाले संसदको पनि काम गर्थ्यो। अबको संसदले संविधानसभाको पनि काम गर्नेछ। संविधान त्यसरी बनाउन सकिन्छ।

तपाइं त लेखक, नयाँ केही लेख्दै हो?
सोसल डेमोक्रेसीमाथि किताबको तयारी गर्दैछु। सिद्धान्तको किताब हो ।
Nagarik Saun 5, 2069 friday. 

No comments:

Post a Comment