Sunday, March 31, 2013

गुडबाई अचेबे : अफ्रिकाको लोकबोली

Chinua Achebe
सन् १९९९। अमेरिकाको बोस्टनमा अर्नेष्ट हेमिङ्वेको जन्मशताब्दी उत्सव चल्दै थियो। 'लेखनमा अफ्रिका' विषयक सत्रमा एक प्रौढ बोले, 'हेमिङ्वेले अफ्रिकाको परिवेश उतारेका कृति पढ्दा मैले मेरो अफ्रिका भेटिनँ, किनकि हेमिङ्वेका अफ्रिकीहरू मैलेझैं बोल्दैनथे, व्यवहार गर्दैनथे।'
विख्यात अमेरिकी आख्यानकारमाथि अफ्रिकाबाट आएको कालो वर्णको बूढोले गरेको कटाक्ष हेमिङ्वे–उपासकहरूलाई कसरी पचोस्! हलमा खासखुस सुरु भयो, खिसिट्युरीमा पुगेर टुंगियो। छलफलका लागि फ्लोर ओपन भएपछि एक महिलाले सोधिन्, 'अफ्रिकामा त्यस्तो के नै छ र, गतिलो साहित्य लेख्नलाई?'
छिटफुट संख्यामा आएका अफ्रिकीहरू प्रश्नकर्ताविरुद्ध हुटिङ बर्साउन थाले। शालीन विद्रोही छवि बनाएका बाबैले चर्को प्रतिवाद गर्ने कुरै थिएन। थपक्क माइक्रोफोननेर गए। प्रत्येक शब्दका अघिल्ला अक्षरमा दबाब दिँदै फगत यत्ति बोले, 'रिड, वर्, बुक्स।' (प्रश्न गर्नुपहिले हाम्रा किताब पढ्नूस्।'
'त्यही त, म तपाईंलाई प्रश्न सोधिरहेकी छु।'
'त्यही त, म तपार्ईंकै प्रश्नको जवाफ फर्काइरहेको छु। पहिले हाम्रा किताब पढ्नुस्, अनि टिप्पणी गर्नूस्।'
हेमिङ्वे, जोसेफ कोन्राडलगायत महामनिषीका किताबमा वर्णित अफ्रिका भनेको असभ्य, पशुतुल्य मानिसहरूको जंगला मुलुक हो। कुनै मानवीय मूल्य नभएकाहरू भनी चित्रित अफ्रिकीबारे पहिलोपल्ट कसैले यति बुलन्द प्रतिवाद गरिरहेको थियो।
उनी चिनुआ अचेबे थिए, जो अघिल्लो बिहीबार बिते।
अचेबे, जसको उपन्यास 'थिङ्स फल अपार्ट' एक करोड प्रतिभन्दा बढी बिक्री भयो। विश्वका ४५ भाषामा अनुवाद भयो। अचेबे, जो अंग्रेजी भाषामा अफ्रिकी लोकबोली उतार्थे। नोबेल पुरस्कारको सर्टलिस्टमा कयौंपल्ट चुनिए पनि 'हार्ट अफ् डार्कनेस' का उपन्यासकार जोसेफ कोन्राडविरुद्ध तिख्खर आलोचना गरेकै कारण अस्वीकृत भए। नोबेलको दुर्भाग्य! अचेबे सबै महादेशका पाठकबाट धुमधाम पुरस्कृत भए।
... 
अचेबे सम्झनेबित्तिकै धेरैको मनमा एक प्रसिद्ध उपन्यासकारको छवि आउँछ। कसैलाई कविको विम्ब आउँछ, कसैलाई समालोचकको। बाँकी केहीलाई एक प्रोफेसरको। अचेबे यी सबै हुन्। अचेबे एक समयका बायफ्रेली नाइजेरियाली नेता पनि हुन्। एक आन्दोलनकारी, एक अभियन्ता।
अचेबेमा त्यस्तो के छ, जसलाई विश्वभरि सम्भि्करहनुपरोस्?
५० को दशक अचेबेले लेख्न थालेको दशक हो। स्थानीय संस्कृति र जीवन लेखेर के हुन्छ, सार्वभौम हुनसक्ने विषयमात्रै लेख्नुपर्छ भन्ने धङधङी बोकेको दशक। अचेबेले त्यही 'युनिभर्सालिटी' माथि प्रहार गर्ने जोखिम लिए। उनले 'सार्वभौमिकता' लाई ब्रिटिश राजद्वारा पालितपोषित बालकहरूले गाउने औपनिवेशिक गीत भनी उडाए। तर सँगसँगै, आफू अफ्रिकी लेखकमात्रै हुँ भन्ने पहिचानमा खुम्चेर बस्न पनि अस्वीकार गरे।
'बस, मलाई लेखक भन्दिए पुग्छ, अफ्रिकी लेखक भनिरहनुपर्दैन,' अचेबे भन्ने गर्थे। जब कि, पाश्चात्य वर्चस्व रहेको विश्वसाहित्यमा पहिलो पटक कालो महादेशको सग्लो परिचय दिने शक्तिशाली कृति 'थिङ्स फल अपार्ट' उनैले लेखेका थिए। मातृभाषामा लेख्नुपर्छ भन्नेहरूसँग उनी सधैं लडे। अचेबे भन्थे, 'उपनिवेशवादी शासकहरूको शोषण, दमनको प्रतिरोध गर्ने हो भने उनीहरूले बु‰ने भाषामा लेख्नुपर्छ। जुन भाषा उनीहरू बु‰न सक्दैनन्, त्यस भाषामा लेखेर के हुन्छ?'
अचेबे विचारको अफ्रिकाभरिका लेखक र संस्कृतिकर्मीमाझ विरोध भयो। पछि उनीहरूले थाहा पाए, अचेबेले यसो किन भनेका थिए।
अफ्रिकाका बहुमूल्य खानीहरू, प्राकृतिक स्रोतहरूमा वर्षौंदेखि एकछत्र रजाइँ गरिरहेको ब्रिटिश शासकको गालामा पहिलो पटक यति धेरै दुख्नेगरी कसैले प्रहार गरिरहेको थियो। त्यो पनि भौतिक होइन, सिर्जनात्मक। त्यो पनि अरुले होइन, लेखकले। त्यो पनि अफ्रिकी 'असभ्य' हरूको भाषामा होइन, पहिलो विश्वको 'सभ्य र सुपठित' ले बोल्ने अंग्रेजी भाषामा।
बस्, अचेबे संसारभरि हाइहाइ भए। अरु त अरु, उनको कृति स्वयं उपनिवेशवादको घाम नअस्ताउने साम्राज्यका नागरिकले पनि मन फुकाएर पढे। आज पनि पढ्दैछन्। अचेबेका कृतिको ऐनामा अफ्रिका हेर्दैछन्। प्रिय पाठक, थाहा पाउनुभयो, अचेबे कति शक्तिशाली थिए!
...
सन् १९३० नोभेम्बर १६ मा जन्मे अचेबे। उनको बाल्यकालीन नाम अल्बर्ट चिनुआलुमोगु अचेबे थियो। दक्षिणपूर्वी नाइजेरियाको ओगिडी प्रान्तस्थित इग्बो शहरमा उनी हुर्के। सानैदेखि तीक्ष्ण अचेबे स्कुलमा सधैं उत्कृष्ट हुन्थे। उनले स्कुलकै छात्रवृत्ति पाएर पछि अन्डरग्र्याजुएसन गरे। त्यही बेलादेखि उनले विश्वका मुख्य धर्म, परम्परागत अफ्रिकाली संस्कृतिमा दिलचस्पी राख्न थाले। कथा लेख्न सुरु गरे। उनी स्नातक बनेपछि नाइजेरियन ब्रोडकास्टिङ सर्भिसमा जागिर खान थाले।
२८ वर्षको छँदा अचेबेले पहिलो उपन्यास 'थिङ्स फल अपार्ट' लेखे। यही किताब हो, जसले उनलाई रातारात विश्वप्रसिद्ध बनायो। धेरैका लागि अचेबेको छलाङ अद्वितीय र नाटकीय थियो। जे होस्, त्यो अचेबेले रचेको जादुगरी यथार्थ थियो। यो सन् १९५८ को कुरा हो। त्यसको तीन वर्षपछि अर्थात्, सन् १९६१ मा उनले क्रिस्टी चिनुअे ओकोलीसँग बिहे गरे। क्रिस्टीबाट दुई छोरी र दुई छोरा जन्मिए।   

अचेबेले त्यसपछि 'एरो अफ् गड', 'म्यान अफ् पिपुल', 'नो लंगर एट इज', 'एन्टहिल्स अफ् सबाना' जस्ता थुप्रै्र किताब लेखे। उनका कथाहरू संग्रहित तथा प्रकाशित छन्। त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यका स्नातकहरूले अचेबेलिखित 'म्यारिज इज अ प्राइभेट अफेयर' र 'सिभिल पिस' कथा पढेका छन्। नेपालका अरु विश्वविद्यालयमा पनि उनी प्राथमिकतासाथ पढिन्छन्।
विशुद्ध कलाको पक्षमा कहिल्यै उभिएनन् अचेबे। उनी कला र साहित्य दुवैले सामाजिक समस्या सम्बोधन गर्नुपर्छ भन्ठान्थे। 'कलाले आफ्नोमात्रै सेवा गरेर पुग्दैन,' उनी भन्थे, 'यसले मान्छेको सेवा गर्नुपर्छ। प्रत्येक साहित्यिक विधासँग आफ्नै एउटा उद्देश्य हुनुपर्छ। निरुद्देश्य लेखनको कुनै अर्थ छैन।'
अचेबेले आफूलाई सधैं आन्दोलनसँग जोडिरहे। संघर्ष, संघर्ष र संघर्ष नै उनको लेखनको अभीष्ट बन्यो। भन्थे, 'परोपकारी भावना राखेर क्यै हुँदैन, संघर्ष गर्नुपर्छ। परोपकार भन्ने कुरा त खाइपाइ आएकाहरूले मन बहलाउन सेवन गर्ने अफिमजस्तै हो।'
अंग्रेजीमा लेखे पनि त्यसमा लोकलवज मिसाउँथे अचेबे। उनका उपन्यास र कथाभरि अफ्रिकी लवजहरूको स्वाद पाइन्छ। उनी नै पहिलो लेखक हुन्, जसले लेखनमा अफ्रिकीहरूले बोल्ने शैली भिœयाए। त्यसैले अफ्रिकीहरू उनलाई आफ्नो साहित्यका पिता मान्छन्। कोही भन्छन्, 'फादर भनेर पुग्दैन, उहाँ हाम्रो गडफादर हो।'
१९६७ मा नाइजेरिया टुक्रियो। त्यसबाट बायफ्रा नामक क्षेत्र छुट्टै देशका रूपमा स्वतन्त्र भयो। अचेबेले उक्त स्वतन्त्रता संग्रामको खुलेर समर्थन गरे। बायफ्राली जनता उनलाई आफ्नो अभिभावक मान्थे। लगत्तै त्यस सानो देशमा हिंसा भड्कियो। जनता भोकमरीमा पर्न थाले। पश्चिमा शोषणविरुद्ध चर्को लेखेर विश्व हल्लाएका यिनै लेखकले अमेरिका र युरोपसँग हात पसार्न जानुपर्‍यो। जनताको जीवन रक्षाको सवाल जो थियो।

तीन वर्षपछि नाइजेरिया सरकारले बायफ्रालाई फेरि आफ्नो मानचित्रमा गाभ्यो। त्यसपछि अचेबेमा नेता बन्ने भूत सवार भयो। केही वर्ष जमेर लागे पनि। जब राजनीतिक नेतृत्वमा कुलीनहरू हावी हुन थाले, भ्रष्टाचार र अराजकता मौलाउँदै गयो। अचेबेले हात झिके, त्यसपछि अमेरिका हानिए। त्यहाँ बस्दा ब्राउन युनिभर्सिटीमा प्रोफेसर भएर काम गरे। २० वर्षपछि उनी नाइजेरिया फर्के। अमेरिकामै भोगेको कार दुर्घटनामा अचेबे घाइते थिए। फर्कदा उनको शरीरका केही पाटाहरू नचल्ने भइसकेका थिए। 
...
'थिङ्स फल अपार्ट' भित्र अफ्रिकामा क्रिश्चियन मिसिनरीको प्रभाव कसरी बढ्यो भन्ने घटना सविस्तार व्याख्या गरिएको छ। अफ्रिकी लोकसभ्यता निल्नेगरी बढेको इसाई दबदबाबारेको त्यो कथानक अचेबेले आफ्नै बाल्यकालमा भोगेको सत्य घटना थियो।
अचेबेका पिता इसाइयाह ओकाफो र आमा जेनेट अनाइनेची दुवै प्रोटेस्टेन्ट चर्च मिसन सोसाइटीसँग आबद्ध थिए। बाइबलको मायाजालमा परेर मातापिता मौलिक परम्परालाई बाल नदिने भइसकेका थिए। अचेबे भने आफ्नो सभ्यता नबिर्सन अभिभावकलाई तारन्तार सम्झाउँथे।
एकातिर अचेबेको हुर्काई बिर्सिइँदै गरेको मौलिक परम्पराबाट निर्देशित थियो, अर्कातिर त्यसमा इसाई धार्मिक प्रभाव मिसिँदै थियो। उनको बौद्धिक र साँस्कृतिक अभ्यास स्वयं संक्रमित थियो।
किशोरवयसम्म पुग्दा अचेबे किताबका पोथाहरू निल्न, उग्राउन थालिसकेका थिए। त्यसैले उनलाई कसैले 'मिस्लिड' गर्न सकेन। पिताको झोला बोकेर उनी महिनाको एक दिन इसाई कक्षा लिन पुग्थे। स्वाध्यायनले तिखारिएका अचेबेले एक दिन क्रिश्चियानिटीका विसंगति र अफ्रिकाभर धर्मका नाममा भइरहेको शोषण औंल्याउँदै जोडदार तर्क पेश गरे। अनि त के चाहियो, कक्षा चल्दाचल्दै विवाद उछालियो। अचेबेले यो दृश्यलाई पनि सोही उपन्यासमा चित्रण गरेका छन्।
१२ वर्षको उमेरमा अचेबेको परिवार नेकेडे भन्ने गाउँमा बसाइँ सर्‍यो। त्यहाँको केन्द्रीय स्कुलमा उनले भर्ना लिन चाहे। तर प्रशासनले दिएन। पछि ब्रिटिश पब्लिक स्कुल गए। नाइजेरियाका कुलीनहरूलाई पढाउन खोलिएको स्कुलको माध्यम भाषा अंग्रेजी थियो। स्कुल प्रशासनले अचेबेलाई भन्यो, 'गोराहरूले जस्तै उच्चारण गर्न सक्छौ भने आऊ।'
अचेबेले गोरे काइदामै इङ्लिश हाँके। छिट्छिटो कक्षा चढे। उनको बुझाइ, लेखनशैली र हस्ताक्षर सबै उत्कृष्ट थिए। अचेबेले आफूलाई सानो छँदै प्रमाणित गरिसकेका थिए। स्कुलताक आर्जेको बोध र लेखनशैली नै उनको सफल लेखकीय जीवनको विरासत थियो।
...
अचेबेका गैरआख्यान र कथा पनि चर्चित भए। 'थिङ्स फल अपार्ट'ले भने अफ्रिका हेर्ने युरोपेली लेन्स बदलिदियो। उपन्यास लेख्ने परम्परागत ढाँचा र 'थिम' पुनर्व्याख्या गर्‍यो। त्यसको कारण थियो, उनले आख्यान लेखनमा स्थापित गरेको 'अफ्रिकन ओरल ट्रेडिसन।' उनी अंग्रेजी लेखनमा अफ्रिकी जिब्रो पछ्याउँथे।
अचेबेले एकातिर अंग्रेजीलाई आफ्नो सिर्जना प्रवाह हुने माध्यम बनाए, अर्कातिर त्यही भाषामा मौलिक इग्बो संस्कृतिको सुगन्ध छरिरहे। त्यसो गर्दा भाषा नै नयाँ खालको देखिन गयो। उनले अफ्रिकी स्फटिकमा अंग्रेजीको लाहा लगाइदिए। उनको शैली यति बेजोड र प्रभावकारी थियो कि, 'स्ट्यान्डर्ड इङ्लिश' का पक्षपातीहरूले उनको लेखन स्तरीय साहित्य होइन भन्ने ल्याकत नै राख्न सकेनन्।
अचेबेमार्फत् साँस्कृतिक लेखनले दह्रो जरा गाड्यो। त्यसपछि 'युनिभर्सलिस्ट' हरूभित्र कुनै ह्याङओभर बाँकी रहेन। परिणाम, साँस्कृतिक विम्बहरू राखेर लेख्ने चलन अफ्रिकाबाट बाँकी विश्वमा फैलिँदै गयो। आज नेपाल, दक्षिण एसियालगायत तेस्रो विश्वमा जारी सबाल्टर्न मुभमेन्टजस्ता साँस्कृतिक लेखनहरूको नेपथ्यमा प्रवेश गर्‍यो भने त्यहाँनेर अचेबे भेटिन्छन्, हाँसिरहेका।
अचेबेलाई नाइजेरियाली सरकारले 'कमान्डर अफ द फेडेरल रिपब्लिक' नामक उच्च सम्मान दिने निर्णय सन् २००४ र २०११ मा गरेको थियो। अचेबेलाई यसका लागि मनाउन कैयन् प्रयास गरियो। उनले दुवै पटक अस्वीकार गरे। 'नाइजेरियामा हिंसा अन्त्य भएको छैन, मेरो गाउँ जाने बाटाहरूमा अहिले पनि रगतका छिर्काहरू भेटिन्छन्,' उनले भावुक हुँदै जवाफ दिएका थिए, 'रगतले लत्पतिएको यस्तो देशको कमान्डर हुन म कसरी सक्छु?'
सन् १९७५ को फेब्रुअरी। युनिभर्सिटी अफ् म्यासाचुसेट्समा बोल्दै अचेबेले 'हार्ट अफ् डार्कनेस' उपन्यासमार्फत् जोसेफ कोन्राडले उच्च जातिवादी अहंकार पेश गरेको जिकिर गरे। 'कोन्राडले अफ्रिका यही संसारभित्र छ भन्ने तथ्य जान्दाजान्दै उपेक्षा गरे, हामीलाई जंगली निग्रो भने,' उनले तर्क गरे, 'उनले हामीलाई अर्को विश्वका नागरिक ठाने। किताबको सुरुदेखि अन्त्यसम्म जातिवादी कुरा गरे।'
अचेबे अभिव्यक्ति अन्ततः विवादास्पद बन्न पुग्यो। उनीविरुद्ध अमेरिकामा प्रदर्शनहरू समेत भए। आलोचकहरूले उनका भनाइमा साहित्यिक मूल्य कम र राजनीतिक पूर्वाग्रह बेसी भएको आरोप लगाए। अचेबे मरेर गए, विवाद अझै जीवित छ। उनी कति अमर छन् भन्ने थाहा पाउन त्यही किचलो पनि एउटा प्रमाण हो।
प्रख्यात अमेरिकी पत्रिका 'फरेन पोलिसी' ले अघिल्लो वर्ष विश्वका सयजना महान चिन्तकहरूको सूची प्रकाशित गरेको थियो। अचेबे ६८ औं नम्बरमा परेका थिए। अचेबेले सन् २००७ मा प्रसिद्ध म्यान बुकर प्राइज पाएका थिए।
नेल्सन मन्डेला जेलमा छँदा अचेबे भेट्न गएका थिए। उनीसँगको भेटपछि मन्डेलाले ओजपूर्ण टिप्पणी गरे, 'चिनुआ अचेबे नाम गरेका एक लेखक छन्, जसलाई भेटेपछि मैले जेलका यी पर्खालहरू समेत भत्किएको अनुभूति गरेको छु।'
जस्तालाई तस्तै। अर्थात्, अचेबेले अंग्रेजी उपनिवेश खत्तम गर्न अंग्रेजी हतियार नै चलाए। अचेबेले अन्ततः त्यसैमार्फत् हतियार निर्माताहरूको औपनिवेशिक मानसिकतालाई छप्काए। कालाहरूको महादेश भनेर चिनिएको अफ्रिकालाई उनले उज्यालो दिए। लेखन उनका लागि एक साँस्कृतिक कर्म थियो, जसमार्फत् उनले नदेखिने अफ्रिकाको अनुहार खोजे। उनी त छैनन्, उनले बाँकी विश्वलाई दिएको अभूतपूर्व चिनो छँदै छ। साम्राज्यवादको जालोबाट मुक्त हुँदै गरेका देशहरूको आन्दोलनलाई उनले दिएका कृतिहरू आज संसारभरिका विश्वविद्यालयहरूमा 'पोस्टकोलोनियल स्टडिज', 'नन्वेस्टर्न/कल्चरल स्टडिज' अन्तर्गत पठनपाठन र अनुसन्धान गरिन्छ। फैलिँदै गरेका स्थानीय सभ्यताहरूका लागि त्योभन्दा ठूलो चिनो के हुन सक्छ!
वास्तविक लेखकहरू ती हुन्, जो लहडमा लेख्दैनन्। ती लेख्छन् र आफ्ना शब्दहरूको पूरै जिम्मेवारी लिन्छन्। अचेबे त्यस्तै थिए। उनी तटस्थ पाठकहरूलाई त्यति 'इन्टरटेन' गर्दैनथे।
प्रिय पाठक, के तपार्इंले यो एउटा लेख पढेको भरमा अचेबेका विचारहरूलाई समर्थन गर्नुभयो? अचेबे आफ्नो आलोचना गर्नेहरूलाई पनि 'पहिले मेरा किताब पढ्नूस्' भन्थे। त्यो त तपाईंलाई अघि नै थाहा भइसक्यो। 
त्यसैले यत्ति पढेको भरमा पुग्दैन। आउनुस्, सँगै मिलेर अचेबे पढौं। नपढीकन विरोध त के, समर्थनसमेत गर्न पाइँदैन।

(नागरिक अक्षर मा २०६९ चैत १७ गते प्रकाशित)




No comments:

Post a Comment