Monday, October 20, 2014

टिफिनपछिका मित्र सर

बाह्रखरी सिकेदेखि विश्वविद्यालय छाड्दासम्म्को छात्र-जीवनमा मैले धेरै शिक्षक पाएँ। तीमध्ये केही शिक्षक विशिष्ट प्रतिभासहित शिक्षणमा आएका थिए। कतिपय जीवन निर्वाहका लागि केही न केही गर्ने सिलसिलामा पाठशाला र  विश्वविद्यालय छिरेका थिए। ती जस्तो दृष्टिकोणसहित आए, त्यस्तै दिएर गए। विगतको बहीखातामा स्कुलभित्रका शिक्षक र स्कुलबाहिरका साथी मित्र सरको सम्झना अलि बेग्लै लाग्छ। मित्र सर कुनै विशिष्ट क्षमताको शिक्षक हुनुहुन्नथ्यो  तर उहाँसँगका सम्झना विशिष्ट छन्।

फुएतप्पा-४, इलामका मित्रप्रसाद थापा छेवैको पाँचथर सराङडाँडा गाविस-९ को मझुवा प्राविमा पढाउनुहुँदो रहेछ। हामी ४ कक्षामा पढ्दै गर्दा हाम्रो सप्तमी बजारमा सरुवा भएर आउनुभयो। न्यानो बस्ती मझुवाबाट उहाँ वर्षमा आठ  महिनाजति हुस्सु र कुहिरोले छोपिरहने त्यो लेकाली बजारमा आउनुभएको थियो। सर्ट, पाइन्ट र ढाकाटोपीमा ठाँटिएर सप्तमी छिर्ने त्यो हँसिलो मगर अनुहारको कद ठिक्कैको थियो। तर, मित्र सरलाई खसोखास चिन्न अलिक समय लाग्यो।

दिउँसो १ बजेसम्म कक्षाकोठामा कडा मिजास देखाउने मित्र सर टिफिन टाइमपछि अकस्मात् नौनीझैँ कमलो मन भएर स्कुल र्फकनुहुन्थ्यो। छुकछुके केटाकेटीको कक्षामा अरू के हुन्थ्यो ! हरक्षण होहल्ला भइरहन्थ्यो। पढाउँदै गर्दा पनि  त्यो जारी रहन्थ्यो। टिफिनअघिसम्म उहाँ हामीलाई दप्काउनुहुन्थ्यो, 'चुप लाग है मरेका स्यालहरू !'

केटीहरूलाई झनै लघार्नुहुन्थ्यो, 'पर जाओ छाउरीहरू !'

टिफिनपछि भने बाल कार्यक्रम बज्ने रेडियोझैँ मखमली शब्दले फुल्याउनुहुन्थ्यो, 'मेरा नानीबाबुहरू !'

ज्यान त मित्र सरको एउटा थियो तर त्यसभित्र दुईखाले मिजास थिए। उहाँको प्रस्तुतिलाई छुट्याउने सानो समयरेखा त्यही एकघन्टे टिफिन थियो, जुन बेला उहाँको घाँटी सप्तमी बजारको दुई गिलास रक्सीले भिज्न पाउँथ्यो। त्यसपछि  मित्र सरको पढाइ अकस्मात् 'विशिष्ट कोटी'को अनुभूत हुन्थ्यो। टिफिनअघिसम्म नबुझिएका कुरा टिफिनपछि सहजै अर्थ खुलेजस्तो हुने। के मित्र सरका लागि ज्ञान भन्ने चीज गिलासभित्रै जमेर बसिरहेको हुन्थ्यो?


हामी कक्षामा दोहोरो बात गर्न डराउँथ्यौँ। फुएतप्पाबाट एक घन्टा हिँडेर स्कुल आइपुग्दा मित्र सरसँग बर्खायामका जुका पनि सँगै टाँसिएर आउँथे। पढाउँदा पढाउँदै जुकाले खाएको थाहा पाउनुहुन्थ्यो। गमबुटभित्र हात छिराएर जुकालाई  एकछिन हातमा लिनुहुन्थ्यो। अनि, हेरबिस्नुहुन्थ्यो। जब जुको उहाँको हत्केलो नाप्न चुमुक्क पथ्र्यो, अर्को हातको औँलाले आँगन कट्ने गरी उछिट्टयाउनुहुन्थ्यो। हामीलाई यो सब प्रक्रिया हेररिहन मन पथ्र्यो।

सामाजिक शिक्षा पढाउने मित्र सरले स्कुल निमावि भएसँगै ६ कक्षामा स्वास्थ्य र शारीरकि शिक्षा पढाउन थाल्नुभयो। पढाइमा खासै पारा आउँथेन तर उहाँको प्रस्तुतिले पिरयिड रोचक हुन्थ्यो। स्वास्थ्य पढाउँदा उहाँले सुषुम्ना भन्ने शब्द  कहिल्यै ठीकसँग उच्चारण गर्न जान्नुभएन। सुषुम्ना उहाँको जिब्रोबाट निस्कँदा 'सुकुस्ना' भइसक्थ्यो।

कक्षामा सधैँ प्रथम हुन्थेँ म। त्यसैले मेरो मनोबल सधैँ माथि हुन्थ्यो। सम्झाउँथेँ, सुकुस्ना होइन सर सुषुम्ना।

'बड जान्ने हुन्छस्। तँ सर कि म सर?' मित्र सरसँग बोलेर कसले सक्ने?

ठाकुरजंग, मुस्कान, गंगा, नरेश र म कक्षाको पहिलो बेन्चमा बस्थ्यौँ। अलि बढ्तै चकचके थियौँ। मित्र सरले कतिपल्ट कान मोल्नुभयो ! हामीले हिसाब राखेनौँ।

एक दिन। टिफिन समयमा बजारतिर रङि गुडाउँदै गर्दा हामीले मित्र सरलाई रक्सीको गिलास उठाउँदै गरेको बेला भेट्यौँ। हामी एकछिन त अक्क न बक्क पर्‍यौँ। तर, मित्र सर मुस्कुराउनु मात्रै भयो। अब के भन्ने !

'स्वास्थ्य शारीरकि पढाउने मान्छेले नै यसरी रक्सी खाने हो सर?'

'हेर केटा हो। तिमीहरू स्कुलमा पो विद्यार्थी हौ। यहाँ त मेरा साथी हौ नि !'

'पढाउँदा रक्सी खानुहुन्न, ज्यान लिन सक्छ भन्नुभएको होइन सर?

सर कति सजिलै हामीलाई अलमल्याउनुहुन्थ्यो, 'त्यो पाठको कुरा हो नाथु, मेरो होइन। त्यो लेख्नेले पनि यतिखेर कतै भट्टीमा दिइरहेको होला।'

हामी पक्क पथ्र्यौं। यी सरका कुरै नबुझिने। जस्तोसुकै अप्ठ्यारो प्रश्नले अत्याए पनि बूढा हाँसेरै टारििदने। हुँदा हुँदा मित्र सरले हामीलाई साथी बनाइछाड्नुभयो। अब साथी भएपछि साथीत्व पनि त निर्वाह गर्नैपर्‍यो। इलाम र पाँचथरको  सिमानाले जोडेको त्यो पहाडमा हामीलाई आपसमा जोड्ने एउटै कडी थियो, उही तरल तत्त्व।

त्यो वर्ष ७ र ८ कक्षा मिलेर हिलेडाँडामा पिकनिक आयोजना गरेका थिए। हामी ७ कक्षामा पुगिसकेका थियौँ। मेरा अरू साथी प्रायः मतवाली नै थिए। पल्लो कुनामा नाचगान चल्दै थियो। यता मित्र सर मलाई हौस्याउँदै हुनुहुन्थ्यो, 'यसले  जाडोमा दबाई गर्छ केटा !'

रक्सीले राम्रो गर्दैन भन्ने मैले पढेको थिएँ। सुनेको थिएँ। हाम्रो परविारमा यो वर्जित थियो। रक्सी पिउनेहरू सबै खराब मानिस हुन् भन्ने मैले दीक्षा पाएको थिएँ। अब मैले यो अछुत जिनिसलाई कसरी छुने ! म डराएँ। मैले नपिउने फैसला  सुनाएँ।

तर, मानिसको जीवनमा कसरी मित्रहरू आउँछन्। उनीहरू आइसकेपछि मात्रै थाहा हुन्छ, अहो कत्तिखेर आइसकेछन्। भित्रैसम्म छिरसिकेछन्। नामका मित्र सरसँग वास्तविक मित्रता सुरु हुनेवाला थियो।

विद्यार्थी जीवनमा शिक्षकले भनेको कुरो ध्रुवसत्यझैँ लाग्छ। जीउमा काँडा उमार्ने हिउँदको हिले डाँडामा मित्र सरले जाडोको दबाई ग्यारेन्टी गर्दै थिए। कुन्नि के सोचेर, मैले फैसला उल्टाएँ। मित्र सरको हातबाट जीवनको पहिलो पेग दन्काए ँ। म अग्र्यानिक क्षेत्री, अब उहाँजस्तै अछुत भएँ।

पहिलो पेगको सम्झना त्यति सुखद छैन। त्यसले घाँटी खिर्‍यायो। पेट हुँडल्यो। बान्ता आउला जस्तो भयो। लोकल रक्सीले आफ्नो पहिलो परचिय दिँदै थियो। एकछिनपछि सबै तिरमिर हुन थाल्यो। कहाँ कहाँ उडेजस्तो। बोल्दाबोल्दै  शब्दहरू स्केटिङ खेल्दै ओरालो झरेजस्तो। अगाडिपट्ट िटेबुल माथिसम्म उडेर भासिएजस्तो।

म कत्तिखेर हो, त्यही डाँडामा निदाएछु। धन्न केही भएन। त्यही तोडमा सुँगुरको मासु पनि चाखियो। बस्, अब समुदायमा परयिो।

हामीलाई हुस्सुले पुर्दै उडिरहेको थियो। निधारमा चिसो पानीले छम्किदिँदै मित्र सर सम्झाउँदै हुनुहुन्थ्यो, 'जीउलाई अलिकति अल्कोहल चाहिन्छ भनेर कोर्सकै पुस्तकमा लेख्या छ केटा। अर्को वर्ष पढ्लास्।'

म लिम्बू, मगर र राई बसेको समुदायमा सरले यही बिजुली सर्बतमार्फत मेरो अन्तरघुलन गराइदिनुभयो। आक्कलझुक्कल जाडोको दबाई गर्ने बानी लागेको थियो। ८ कक्षा पास गरेपछि स्कुल बदलियो। बिस्तारै मित्र सरसँग भेटघाट  पातलो भयो। उहाँको पिउने गति पहिलेभन्दा बढेको सुन्थ्यौँ। क्याम्पस जीवन सुरु भएपछि म इलाम आएँ। उहाँसँग भेट हुन छाड्यो।

केही वर्षअघि दसैँ-तिहारको समयमा घर जाँदा मित्र सर रक्सीले टिल्ल भएर नाचिरहनुभएको थियो। बजारका केही मानिस उहाँलाई चारैतिरबाट घेरेर मादल बजाइरहेका थिए। उहाँ चुड्के तालमा कम्मर भाँच्दै नाचिरहनुभएको थियो।  आफ्नो शिक्षकको त्यो हाल देखेर मन साह्रै दुख्यो तर केही भन्न सकिएन।मित्र सरसँग भेट हुन छाड्यो।

उहाँले दिएको 'ज्ञान'को उपयोग बेलाबखत भइरहन्थ्यो। बिस्तारै मैले अलिअलि चाख्न सिक्दै गएँ। आजसम्म सिक्दै छु। मेरो पिउने आफ्नै अनुशासन छ, आफ्नै साथीसंगत छ। स्वास्थ्य, सक्रिय र नियमित जीवनशैलीमा त्यसले कुनै फरक  पारेको छैन। बरू स्वास्थ्य विषयका शिक्षक मित्र सरले सिकाएको ज्ञानले जीवनमा केही न केही नयाँ रंग भरििदएकै छ। मित्र सरले कक्षाको पढाइमा त खास प्रभाव पार्नुभएको सम्झना छैन। तर, यी प्राथमिक गुरुले लिम्बुवानमा मेरो  सामाजिकीकरण सुरु गराउनुभयो। मित्र सरले जीवनको आखिरी दिनसम्म स्वास्थ्य पढाइरहनुभयो। मित्र सरले जीवनको त्यही आखिरी दिनसम्म रक्सी पनि पिइरहनुभयो। कुनै सीमा थिएन।

मित्र सरको देहान्त सुनेलगत्तै स्कुलकी प्रधानाध्यापिका पुष्पलता थापा गुरुआमालाई फोन गरेँ। २३ दिनअघिसम्म स्कुल आइरहनुभएको रहेछ सर। स्टाफहरूले नपिउन सम्झाइरहेको, कर गररिहेको मैले पहिले पनि सुनेको थिएँ। अघिल्ला वषर् हरूमा रक्सीले औधी बिरामी बनाएपछि के गर्ने होला भनेर घरपरविार, साथीहरू छटपटाइरहेथे। बजारमा भेटेका बखत मैले स्वास्थ्य सोधेको थिएँ।

मित्र सरले भूमिका नबाँधी फर्काउनुभएको थियो, 'मैले छाड्ने भएँ केटा, अब खान्नँ। डाक्टरले खाइस् भने मर्छस् भनेको छ।' गुरुआमासँग उहाँले दसैँको पेस्की खाएर जागिर छाड्ने भन्नुभएको रहेछ।

शैक्षिक चेतनास्तर माथि रहेको भनिएको इलाममा केही वर्षअघि एसएलसी परीक्षाको नतिजा देशभरकिै सर्वाधिक खराब आएको कारण खोज्न समीक्षा कार्यक्रम आयोजना भएको थियो। जिल्ला शिक्षा अधिकारी भन्दै थिए, 'इलामको शिक्षा  खस्कनुको मुख्य कारक टिफिन टाइममा रक्सी पिउनेहरू हुन्।'

उनले यसो भन्दै गर्दा मैले मित्र सरलाई झलझली सम्झेको थिएँ। मित्र सर त टिफिन समयपछि झन् राम्रो पढाउनुहुन्थ्यो। कमसे कम हामी चिचिलालाई यस्तै लाग्थ्यो।

रक्सीलाई अतिशय प्रेम गर्ने मेरा मित्र सर ५२ वर्षकै उमेरमा बित्नुभयो। सुनेको दिनभर िमन भारी भइरह्यो, सुसाइरह्यो।

कानमा गुन्जिइरह्यो, 'जीउलाई अलिकति अल्कोहल पनि चाहिन्छ केटा। अर्को वर्ष पढ्लास्।'

Nepal Magazine, 2071-7-2

http://www.ekantipur.com/nepal/article/?id=7568

No comments:

Post a Comment