पहिलो जन्म- 'मुनामदन' खण्डकाव्यमा । दोस्रो जन्म- 'शाकुन्तल' महाकाव्यमा । तेस्रो जन्म- 'पागल' कवितामा ।
'आफ्नै आँखाको लयमा' कृतिभित्र निबन्धकार खगेन्द्र संग्रौला लेख्छन्, देवकोटाको पुनर्जन्म यत्तिमा सकिँदैन । उनी चौथो पटक जन्मे- 'कृषिबाला' खण्डकाव्यमा । पाँचाैं जन्म- तासकन्द सम्मेलनमा ।
'मुनामदन' मा देवकोटाले लोकबोलीमा तत्कालीन नेपाली समाजको नियतिसँग गाँसेर शक्तिशाली प्रेम-कथानक लेखे । 'शाकुन्तल' मा पौराणिक कथाभित्र अनुभूति र बुद्धिको कलात्मक सन्धि गरे । 'पागल' मा जीवनको वास्तविक यथार्थ र झट्ट बाहिरबाट देखिने यथार्थबीच गहिरो भेद देखाइदिए । 'कृषिबाला' मा उनले युगचेतनाको माइकमा मानवता र सामाजिक न्यायको नयाँ आहान सुनाए । तत्कालीन सोभियत संघको तासकन्दमा आगो ओकल्ने भाषण गरे । उनले भने, 'साहित्य-कला सामन्त, ठालुहरूका सोख र विलासका साधन होइनन्, यी त जनसाधारणका लागि आनन्द र जागृतिका साधन हुन् ।' निबन्धकार संग्रौलाका शब्दमा, 'तासकन्दमा पुगेर उनले आफ्नो साहित्यिक मान्यतालाई सिद्धान्तको धरातलमा उभ्याउने चेष्टा गरेका थिए ।'
शंकर लामिछानेले परिचयात्मक निबन्ध संग्रह 'विम्ब-प्रतिविम्ब' मा देवकोटामाथि दुई रचना लेखेका छन् । 'लक्ष्मीप्रसाद देवकोटा' शीर्षकको पहिलो निबन्धमा उनी महाकविको घर गएको प्रसंग उप्काउँछन्, 'एउटा बर्नाड शा छन्, जसका प्रत्येक शब्दको मोल एक रुपियाँ छ र एउटा देवकोटा छन्, जसका... । साँच्ची, नेपालीहरू मानिस चिन्दैनन् । नेपालीहरू कलाको पूजा गर्न जान्दैनन् । आफ्नो गौरव पनि बुझ्दैनन् ।' शब्द स्मरणीय छ, लामिछानेले स्रष्टा होइन, सिर्जनाको परख गर्नुपर्ने आवश्यकतातर्फ संकेत गरेका छन् ।
समालोचक ईश्वर बरालले 'केही रचनाहरू पठाइदिनुस् न' भनी लेखेको चिठीको जवाफमा देवकोटाले लेखेका रहेछन्, 'महाशय, मलाई अहिल्यै पुस-माघ लागेको छ । माघे झरीझैं मेरो जीवन नै कठयांगि्रइरहेछ । मन मगजमा तुषारो जमेझैं दुःख जमेका छन् । आज मैले लेखेका साहित्य के साहित्य होलान् र ?'
निजात्मक अनुभूतिलाई कुन लक्ष्मणरेखासम्म अभिव्यक्त गर्ने भन्नेमा देवकोटा सचेत थिए । कस्तो रचना साहित्य हो र कस्तो होइन भन्नेमा उनको गाम्भीर्य जुन स्तरमा थियो, त्यसले नै उनलाई अरू कवि, निबन्धकारको बजारमा परैबाट छुट्टनिे बनाइदियो । अमर बनाइदियो । भलै उनको जीवन र सिर्जनाको बीचमा दुःखद् अन्तर थियो । उनी गरिब थिएनन्, तर गरिबीको विम्ब आजपर्यन्त कोरिएको छ । जेजति दुःख थिए- उनी, उनको स्वभावका कारण आमन्त्रित थिए ।
यसबारे प्रशस्तै लेखिसकिएको छ । तीमध्ये भूपी शेरचनको यो कवितांश सर्वाधिक मार्मिक छ ः
'जहाँ रिन तिर्नका लागि
महाकविले असमयमै मर्नुपर्दछ
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ ।'
पूर्वीय अध्यात्मका थुप्रै धाराहरू मानिसको पुनर्जन्ममा विश्वास गर्छन् । सायद त्यसमा पर्याप्त विवाद गर्न सकिन्छ । साहित्य क्ष्ाेत्रमा त स्रष्टा अजम्बरी हुन्छ, त्यो मर्दैमर्दैन भन्ने अतिवादी
धारणा व्याप्त छ । तर विश्व साहित्यमा मात्रै होइन, नेपाली साहित्यकै सय वर्षअघिका कत्ति नामहरू जीवनहीन पुस्तकका खातमा पुरिएर बिलाइसके । मानिसहरू तिनलाई फर्केर हेर्दैनन् । दोहोर्याएर पढदैनन् । के तिनीहरू मरिसके ? के तिनीहरू अब कहिल्यै पढिँदैनन् ?
तर देवकोटा आज पनि निर्विवाद पढिन्छन् । महाकाव्य र खण्डकाव्य पढ्ने प्रवृत्ति घटेका बेला निबन्धकार देवकोटा 'लक्ष्मी निबन्ध संग्रह' र 'दाडिमको रूखनेर' आफ्नो पाइन् देखाइरहेका छन् । 'मुनामदन' को चर्चा गर्नै परेन । 'कुन मन्दिरमा जान्छौ यात्री' कविताले देखाउँछ, महाकविको चेतनास्तर कता हो कता माथि छ । नाटक, उपन्यासकार देवकोटामाथि चर्चा गर्न थाल्यो भने मोटो पोथा तयार हुन सक्छ । सायद तपाईंले चूडामणि बन्धुको 'देवकोटा' नामक बृहत् कृति पढेका वा त्यसको बारेमा थाहा पाएको हुनुपर्छ ।
अँ, देवकोटा खुबै पढिन्छन् । फरक यत्ति हो, उनको पठनको तुलनामा तिनको पूजाको मात्रा बढी चल्दो छ । ठीकविपरीत, असिर्जनशील शिविरमा अर्कोखाले अतिवाद हावी छ । उत्कृष्ट सिर्जनाका लागि बेहद् पागलपन देखाउने र 'अफबट' जीवन बाँच्ने उनै देवकोटाई उदाहरण बनाएर कविहरूलाई उडाउने क्रियाकर्म आजसम्म जारी छ ।
महाकविको जपना कुन स्तरमा हुन्छ भने, 'महाकवि यस्ता हुनुहुन्थ्यो । उस्ता हुनुहुन्थ्यो । लेख्दालेख्दै चुरोटले औंला सल्केको, राढी डढेको पत्तै पाउनुहुन्नथ्यो । रातभरि लेख्नसक्ने उहाँबाहेक नेपाली साहित्यमा अर्को को छ ? जागिरको महिनावारी कमाइले घरको खाँचो टार्न छाडेर भिखारीलाई दिन सक्ने दोस्रो कोही छ ? जाडोमा लगाइराखेको कोट झिकेर सडकछापलाई दिन सक्ने उहाँबाहेक को छ ?'
यस्ता अनगिन्ती फूलझडीहरू देवकोटाको नामपछाडि गाँस्ने चलन उनको निधनको साढे पाँच दशक बित्दासम्म जारी छ । यी सबै आधा तथ्य र आधा मिथकहरूभन्दा पर कतै देवकोटा चुपचाप बसिरहेछन् । मण्डी ओढेर धुम्धुम्ती बसिरहेका, पीपलपाते टिप्पणीहरूको सतहीपना छामेर ओभरकोटमाथि चुपचाप हाँसिरहेका ।
लेखनको अमरत्व उसको शैलीले मात्रै कायम गर्न सक्दैन । उसको स्थानीय निकटता र गहिरो विश्वदृष्टि, सुदूर भविष्यको समाजलाई आकलन गर्न सक्ने क्षमतामा सर्जकको अमरता छुपेको हुन्छ ।
सरदार यदुनाथ खनालका शब्दमा देवकोटाले धेरै पाठकहरूलाई झसंग पारेका छन्, तर स्वस्फूर्त प्रधान भएका उनका कृतिले भरंग पारेका छैनन् । 'उनको जीवनको निर्मल पारदर्शिता र कृतिहरूको सात्त्विक शुद्धता परस्परमा पूरक छन्,' नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको 'समकालीन साहित्य' मा प्रोफेसर खनालले कुनै बेला लेखेका थिए, 'गतिशील, नटुंगिने, सजीव, रहस्यमय, प्रभावशाली आकर्षण नै देवकोटाको उच्चतम उपलब्धि हो ।'
देवकोटाकृत 'के नेपाल सानो छ ?' निबन्ध पढेपछि खगेन्द्र संग्रौलाको खँदिलो अनुभूति 'पठन संस्मरणमा देवकोटा' निबन्धका रूपमा यहाँ उल्लेख्य छ:
'प्रचण्ड वेगमा हुर्रिने नदीका छालहरूजस्ता शब्दहरूको प्रवाहमय तरेली परेको त्यो निबन्ध पढदा सुरुमा मलाई कतैको घनघोर रानीवनमा पसेर हराएझैं लाग्यो । भाषाको त्यो प्रवाहमा कल्पनाको त्यो कल्पनातीत उडान, त्यो मेरा लागि एक तमासको चमत्कार थियो ।'
समालोचक अभि सुवेदीले 'साहित्य र आमवृत्त' पुस्तकमा लेखेका छन्, देवकोटाले भाषामा आन्तरिकताको बोध गर्न कविता सबभन्दा बलियो माध्यम हो भन्ने देखाए । 'शाकुन्तल' देखि 'प्रमिथस' सम्मका पूर्व र पश्चिमका साँस्कृतिक संरचनालाई काव्यको विषय बनाए । देवकोटाले बहन गरेको द्वैतता नेपाली काव्यको सबैभन्दा बलियो सामथ्र्यको रूपमा अगाडि आयो ।
'इलोक्वेन्ट हिल्स ः एस्सेज् अन् नेपाली लिटरेचर' मा नेपाल अध्येता माइकल हट सूक्ष्म ढंगले देवकोटाको रचनाकारितालाई ठम्याउँछन्, 'शिक्षित ब्राहमण पुरुषहरूको प्रभुत्व रहेको कट्टर शास्त्रीय छन्दमा जकडिँदो नेपाली कवितालाई देवकोटाले थोरै गद्य, थोरै लोककथा र गीति शैलीमा ढालेर मौलिकता प्रदान गरे । सम्भ्रान्तहरूको पकडभन्दा बाहिरको स्वरलाई समेत कवितामा लेख्ने काम उनैले गरे । नेपाली साहित्यलाई आधुनिक रूप दिने श्रेय उनैलाई जान्छ ।'
बेलायतबाट नेपाली साहित्य अन्वेषण गर्न आएका हटको बुझाइ सही थियो । राजधानी काठमाडौंको कुलीन बाहुन समुदायमा जन्मेका देवकोटाको शिक्षादीक्षा दरबार हाइस्कुल हुँदै त्रिचन्द्र कलेजमा भएको थियो । आफ्नो समयका सर्वोच्च मस्तिष्कहरूसँग उनको उठबस थियो । सीमित नेपालीले अक्षर चिनेको त्यो समयमा ती पठित मस्तिष्कहरू उच्च घरानाहरूभित्र सीमित रहनु पूरै स्वाभाविक हुन्थ्यो, थियो । तर देवकोटाले घेरा तोडे । 'भिखारी' का कविता लेखे, साग र सिस्नु खाएको बेस लेखे, सुनका थैलाहरू हातका मयलसरी बिलाएर जाने चुनौती दिए । 'सुनको बिहान' लेखे, 'नटिप्नु हेर कोपिला' लेखे । यो आजको समयको कुरा थिएन । तपाईंलाई थाहै छ, १९६७ साल लक्ष्मीपूजामा जन्मेका तीर्थमाधव देवकोटा २०१६ भदौ २९ गते बित्दा महाकवि भइसकेका थिए । यो बेग्लै कुरा हो, राँचीमा उनको उपचारमा खटिएका डाक्टर बर्कले हिलले नेपालजस्तो गरिब र महान् सर्जकको कदर नहुने मानचित्रमा देवकोटा जन्मनु 'जोग्राफिकल मिस्टेक' थियो भने । हामीभन्दा अगाडिको पुस्ताले त्यस भनाइलाई बुझेन । देवकोटाको 'महानता'मा गौरव गर्यो तर गुह्य बुझ्ने प्रयास गरेन ।
किंवदन्ती त देवकोटाकाबारे अझै पनि भेटिन्छन् । तर किंवदन्तीबाट छुट्टयाएर हेर्दा 'भोकै मर्ने महाकवि' भिन्न देखिन पनि सक्छन् । उनको समयमा विम्बित झुत्रे 'कवि' स्टाइलको पहिचान आज पनि 'तीतो सत्य' टेलिसिरियलले देखाइरहेछ । यथार्थमा आजको कवि 'देवकोटा टाइप' भन्दा बदलिइसकेको हुन सक्छ । अति आग्रह र अतिशयोक्तिबाट बाहिर निक्लेर पुनःपठन गर्ने जिम्मा नयाँ पुस्ताका पाठकको । निबन्धकार संग्रौलाका भाषामा, 'किंवदन्तीका नायक देवकोटाभन्दा देवकोटाको साहित्य ओझेलमा छ ।'
देवकोटासँग संवाद नगर्ने, केवल उनको पूजा गर्ने चलनले त महाकविको पुनर्जन्म के होला र खै ?
लाग्छ, हामी सबैले देवकोटाको जीवनलाई लोककथा झैं हालेर सुनाएर होइन, फेरि एकपल्ट पढेर सम्झना गर्यौं भने देवकोटाको अर्को पुनर्जन्म सम्भव छ ।
देवकोटा कहिले जन्मे, के के लेखे र कहिले बिते भन्नेबारेमा अघिल्ला जयन्तीहरूमा समुद्रसरी चर्चा भइसकेका छन् । यो आलेख त उनलाई नयाँ समयको आँखीझ्यालबाट चिहाउने सानो प्रयत्नमात्रै हो । आऊँ, हामी सबै मिलेर नेपाली साहित्यका महाकवि र महान् निबन्धकारलाई एकपल्ट फेरि पढौं । व्यक्ति त जन्मन्छ, मर्छ । तर स्रष्टाको जन्म, मृत्यु वा पुनर्जन्म हुने पाठकको अनुमोदनका आधारमा त हो ।
२०७१ कार्तिक ६
Kantipur
http://www.ekantipur.com/np/2071/7/6/full-story/397509.html
No comments:
Post a Comment