Saturday, December 17, 2011

मार्क्सका दाह्रीजँुगा!

कार्ल मार्क्सका अन्धसमर्थकले 'सपनामा मार्क्स' लेख्नुपरेको भए सायद यस्तो लेख्थेहोलान्–
ओहो, मार्क्सका दाह्रीजुँगा नै कति सैद्धान्तिक। जुँगै दार्शनिक। अनुहार हेर्र्दै क्रान्तिकारिता झल्कने।
मार्क्सका आग्रही पक्षधरझैं पूर्वाग्रही आलोचक पनि छन्। लेखक राजेन्द्र पराजुलीले पछिल्लो कथासंग्रह 'सपनामा मार्क्स' को शीर्षकथामै लेखेका छन्–
'मार्क्सको खुइलिएको तालु, नमिलाइएका जस्ता लाग्ने दाह्रीजुँगा र उसैगरी नकोरिएका कपालसँग लालप्रसाद एकदमै विमोहित भयो (भूमिगत राजनीतिमा रहेका बेला लालप्रसादले मार्क्सकै जस्तो दाह्री र कपाल बनाउने प्रयत्न गरेको थियो)। (पृष्ठ ४)
राजनीतिक टिप्पणी गर्दा होस् या साहित्य लेख्दा, मार्क्समात्रै होइन, थुपै्र विषय र व्यक्तिबारे सतही टिप्पणी हुने गरेका छन्। लेखनमा समालोचकीय चेत अभाव छ। आफूलाई प्रगतिशील लेखक हुँ भन्ने थुप्रैमा यो समस्या छ, कम्युनिस्टविरोधी भन्नेमा पनि। यो कथासंग्रहका शीर्ष कथासहित अन्य राजनीतिक कथा यसका दृष्टान्त हुन्।
पराजुलीका तीन कथाकृति, एक उपन्यास र एक कविताकृति छापिइसकेका छन्। अक्सर नेपाली लेखक सुरुमा बढ्तै मेहनत गर्छन्। स्थापित भइसकेपछि तिनै लेखक किन पाठकलाई हेप्न थाल्छन्?
अघिल्लो वर्ष आख्यानकार राजवको 'भूमिगत लीला :  दुई हजार बत्तीस' शीर्षक लघुउपन्यास छापिएको थियो। स्तरीय राजनीतिक कथा लेख्ने राजवका पात्र मूलतः वामपन्थी आन्दोलनसँग जोडिएका हुन्थे। औधी हौसिएर हो वा निर्मित विचारको विघटनछेउ पुगेर, राजवको त्यो उपन्यास कमजोर थियो। त्यसले पात्रहरूको चरित्र होइन, उनकै पूर्वाग्रही र एकपाखे दृष्टिकोण उद्घाटन गर्‍यो। 'सपनामा मार्क्स' का यी लेखकको पनि ताल उही छ। पराजुलीले नेपालका मार्क्सवादीको चरित्र  'पर्दाफास' गर्न नखोजेका होइनन्। प्रयत्न भने यति साह्रो अवास्तविक र विरूप भइदियो : 'सपनामा मार्क्स' र 'डर' लगायत कथाले उनको आफ्नै सांस्कृतिक मनोविज्ञानको स्तरमात्रै उद्घाटन गरिदियो। 'डर' कथामा उनी लेख्छन् :  'मार्क्सको दास क्यापिटल कसले उडाएछ? मलाई असाध्यै रिस उठेको छ त्यो मान्छेसँग जसले मेरो उक्त पुस्तक उडायो। मलाई कम्तिमा पनि दिनको एक पटक त्यो पुस्तक नछोई निद्रा लाग्दैन।' (पृष्ठ ५२)
फेरि कथाकारको नेता पात्र चित्त बुझाउँछ, 'ठिकै छ, पुस्तक मौका मिलेको खण्डमा अर्को किनौंला र कोठामा सजाएर राखुँला, हरेक दिन पूजा गरुँला।' (पृष्ठ ५२)
शीर्ष कथा 'सपनामा मार्क्स' मा पराजुली लेख्छन्, 'एउटा मार्क्सवादी विचार बोकेको राजनीतिज्ञ र पार्टीको केन्द्रीय तहको नेता अनि सत्तासाझेदारीमा अर्थमन्त्री पद पाएको मान्छेको हातमा मार्क्सको दास क्यापिटल नभएर के हुन्छ त? बिपीको मोदिआइन वा नरेन्द्रदाइ अथवा तीन घुम्ती कि जेलजर्नल? आफैंलाई प्रश्न गर्‍यो लालप्रसादले। आफ्नो मनसँग भन्यो– कोही कार्यकर्ता वा सुरक्षा गार्डले देखेको भए कति राम्रो हुन्थ्यो यो दृश्य, म आफूमात्र असली मार्क्सवादी र अध्ययनशील अरू सबै नक्कली मार्क्सवादी र अध्ययनहीन भन्ने प्रमाणलाई मद्दत पुग्थ्यो।' (पृष्ठ १)
पराजुलीले उभ्याउन खोजेको पात्र …लालप्रसाद'ले वास्तविक लालप्रसादहरूलाई भने खुसी बनाएको हुनुपर्छ। किनकि, किताबको लालप्रसाद जीवनको लालप्रसादजस्तो छैन। जारी सत्ता र शक्तिको संघर्षमा लालप्रसादबराबरको ओहदा पाउन कुनै पनि कम्युनिस्टले दास क्यापिटल समातिरहनु पर्दैन। न त कांग्रेसले बिपीका किताब।
कथाकारले यथार्थ सघन देखाउन रात्रिको अन्तिम प्रहरमा दास क्यापिटल च्यापेर सुतिरहेको अर्थमन्त्री लालप्रसादको परिकल्पना गरेका छन्। दास क्यापिटल मोटो किताब हो। उक्त किताब पढ्नेले नै पनि सुत्ने बेला ओछ्यानमा नलैजान सक्छ। लेखकले पात्रलाई मार्क्सवादी देखाउन दास क्यापिटल नै समात्न लगाइरहनु पर्दैन।
नेपाली वाम नेताहरू आफूलाई अध्ययनशील देखाउन खोज्दा हुन्। मन्त्री भएको मान्छेले बिहान तीन बज्न लाग्दाको समयमा पक्कै पनि आफूलाई अध्ययनशील देखाउन पत्रकारको उपस्थिति अपेक्षा गर्दैन।
सपनामा आएर बिथोल्ने मार्क्सको भुत हटाउन लालप्रसादले गर्ने प्रयत्न पनि यथार्थपरक छैनन्। पुस्तकभरि यस्ता थुप्रै अवास्तविक प्रसंग छन्। यस्ता प्रसंगले उनका पात्रलाई त केही फरक नपर्ला तर कथाकारको प्रयासलाई भने असर पार्छ। कथाकारको नियतमाथि नै पनि प्रश्न उठ्न सक्छ। प्रायः सबै कथा राजनीतिमा आस्थाको विघटन र भग्न नेतृत्वबारे लेखिएका छन् र भन्नैपर्छ, कमजोर हिसाबले। सकारात्मक पाटा नजरअन्दाज गरिएको छ।
भिन्न विषयका २५ कथा संग्रहित कृतिको नाममा मार्क्सको नाम जोड्नुका पछाडि बलियो तर्क देखिन्न। मार्क्स वा यौनमध्ये कुनै एक नाम राखेर किताब छापे नेपाली बजारमा मारामार बिक्छ भन्ने सोचका सिकार पराजुली पनि भएका हुन् कि?
यो कथाकृतिमा कथाकारकै अघिल्लो संग्रहका चुनिएका रचनासमेत छन्। सबै कथाको मियो राजनीति हो। …राजनीति' कथाले नेपाली राजनीतिक दलभित्रका इमानदार नेताको अवस्था चित्रण गरेको छ। भलै यसको वर्णन वास्तविक राजनीतिभन्दा अल्छीलाग्दो हुन पुगेको छ। पार्टी अध्यक्ष निकै बुढो छ भनी पुनरुक्ति गर्नु कथामा आवश्यक हुन्न। निरस र एकोहोरो व्याख्याका कारण निबन्ध पनि हुन नसकेका कथामध्ये …राजनीति' एक हो।
…अयोग्य' पूर्वछापामारको कहानी हो। लडाकु …युद्धका लागि योग्य' तर प्रमाणीकरणमा अयोग्य घोषित हँुदाको अनुभूतिको तीव्रतालाई कथाकारले पक्रेका छन्। कथाकारले इतिहासको महŒवपूर्ण कालखण्डलाई कथानकमा खिचेका छन्। कथाको बैठानबारे बहस हुनसक्ला। …झ्वाम्लाङ्ङ...!! म त्रिशुलीमा खसेको आवाज मलाई निकै सुमधुर र लयबद्ध लागेको छ।' (पृष्ठ ४१)
आत्महत्या गर्दागर्दैको योद्धाको सोचबारे दुई कोणबाट बहस गर्न सकिन्छ। एउटा, विषयवस्तुमा अतिकाल्पनिकता भयो कि? अर्को, मर्दामर्दैको अनुभूति पनि लिपिबद्ध हुनु नाटकीय बढी भो कि? कथाको मार्मिकता र धारिलोपनमा भने सन्देह छैन।
…खलनायकहरू' निश्चय नै रोचक छ। तर त्यो अर्धबेहोस …म' ले कति गहिरा चिन्तन गर्न सकेको? यति गम्भीर सोच त सामान्य मान्छेमा आउन पनि गाह्रो छ। कथाकारले अलि बढी नै …कथा' बनाएजस्तो छ।
…क्रम' अलि भिन्न छ। तर यो कसको कथा हो? आसकुमार कि कमलीको? दुई फरक सन्दर्भका पात्रको भेटघाट एउटै कथामा नगराइदिएको भए हुन्थ्यो। यसले कथानकको संगठन भत्काएको छ। काठमान्डुको यो दुःखवर्णन पठनीय भने छ।
…गुलियो' कथा तितो छ। त्यसैले नै यो …मिठो' छ। इन्धन आपूर्ति गर्न अक्षम विभागीय मन्त्रीको कथा हो यो। …एक सांसदले मट्टितेल अभावमा बल्न नसकेको स्टोभ प्रदीपको टेबुलमा राखिदिँदै भनेकी थिइन्– मन्त्री महोदय, यो रित्तो पेट हो, कसरी भरिदिनुहुन्छ यसलाई?' (पृष्ठ २३) यस्ता तिता तर स्वादिला प्रसंग कथाभरि छन्।
थुप्रै कथाका बनोट झर्कालाग्दा छन्। पात्रकै बोलीबाट आइसकेका प्रसंगलाई फेरि किन थप व्याख्या? यो पात्र यस्तो थियो/उस्तो थियो जस्ता वर्णन आवश्यक छैन। …नयाँ नेपाल' लगायत कैयन कथामा यस्तो भएको छ। साझा प्रकाशनले …प्रुफ'मात्रै हेरेर छापेछ। सम्पादनको अभाव छ।
२०६२ सालमा प्रकाशित …जाडोमा भोक' कृतिमा संग्रहित …मुस्तफा हुसेनको साइकल', …भोक' लगायत कथाको चर्चा पहिले पनि भइसकेकै छ। दोस्रो खण्डमा अघिल्ला संग्रहबाट चुनिएका केही कथाले किताबलाई …बेस्ट अफ राजेन्द्र पराजुली' बनाउन खोजेका छन्। प्रयत्न आंशिक सफल छ।
पराजुलीको दुर्भाग्य, उनले आफ्ना कथाका समीक्षकको योग्यता तोकिदिएका छन्। यसरी कथाकारले विकर्षित हुने ठाउँ पनि किताबमै राखिदिएका छन्। उनले अतिरिक्त झमेला निम्त्याएका छन्। किताबको समीक्षात्मक बहस हुनुपर्छ भन्नेमा उनको पनि फरक मत नहोला। एकदुई समीक्षक र भूमिकाकार हेरेर त्यसलाई सामान्यीकरण गर्न खोज्नु सुहाउने कुरा होइन। यो उनीजत्तिका स्थापित र पुराना लेखकलाई कसैले सुझाइरहनुपर्ने विषय होइन।
उनी लेख्छन्, …पछिल्लो समय नेपाली साहित्यमा मौलाएको कृतिलाई बाहिरबाट छामेर उत्कृष्ट र स्तरहीन भन्दै समीक्षा, पुस्तक परिचय, भूमिका वा समालोचना लेख्ने प्रचलनको म अग्घोर विरोधी हुँ। तिनले नेपाली साहित्यको मानमर्दन गरेका छन्, साहित्यको अस्तित्व लुटेका छन्। ...तिनले मलाई …महान कथाकार' भनुन् वा …झुर कथाकार' मेरो लेखनीमा कुनै असर पार्दैन।' (लेखकीय :  सिधा कुरा)
उनकै विचारमा सही थाप्ने हो भने एकपटक माथिको पहिलो वाक्य हेरौं। अति अप्ठ्यारो लाग्छ। मानौं त्यो सम्पादन नगरिएको भाषण हो। त्यसैको पहिलो वाक्यलाई यसरी लेखेको भए पनि हुन्थ्यो। अरू सजिला वाक्य चलाएको भए पनि हुन्थ्यो–
…नेपाली साहित्यमा पछिल्लो समय कृतिको बढाइँचढाइँ र मानमर्दन गर्दै समीक्षा, भूमिका र समालोचना आदि छापिन थालेका छन्। यस्तो प्रचलनको म अग्घोर विरोधी हुँ।'
सपनामा मार्क्स
कथाकार :  राजेन्द्र पराजुली
प्रकाशक :  साझा प्रकाशन
पृष्ठ :  १२८
मूल्य :  रु १९५
Published On Nagarik : 2068 09 02 Saturday

No comments:

Post a Comment