Tuesday, December 20, 2011

एमाले : अभि नहीँ तो...

अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेपछि बसेको एमाले संसदीय दल बैठकमा मन्त्री बन्न खुट्टो उचाल्नेको लस्कर देखेर सभासद् रामनाथ ढकालले कटाक्ष गरेका थिए– 'साथीहरू अभि नहीँ तो कभि नहीँ भनेझैं जुनसुकै हालतमा पनि सरकारमा जान सम्पुर्ण शक्ति लगाइरहनुभएको छ।'
ढकालको आशय थियो– एमाले नेतालाई आफ्नो दलले फेरि सत्ता नपाउनसक्छ भन्ने लागेको हुनसक्छ। त्यसैले यसपटक पाइएन भने मन्त्री बन्ने अवसर फेरि कहिल्यै नआउनसक्छ भन्ने तिनले ठानेका हुँदाहुन्।
पार्टी बलियो भएन भने सत्ता टाढा हुनु अस्वाभाविक होइन। पार्टी सुधार्नचाहिँ कुनै पनि नेता गम्भीर देखिन्नन्। ढकालको कटाक्षमा दम छ।
वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष खनालले बालुवाटार छाडेयता एमालेले आफूलाई राष्ट्रिय समाचार बनाउन सकिरहेको थिएन। त्यस्तो समाचार, जुन जनता तथा स्वयं एमालेकै कार्यकर्ता र शुभचिन्तकको बीचमा सम्प्रेषण गर्न लायक होस्। समाचार बन्न छाड्नु कुनै पनि पार्टीका लागि सुखद होइन। दोस्रो पुस्ताका नेताले एमाले (एकीकृत मार्क्सवादी लेनिनवादी) पार्टीमा फेरि 'एकता अभियान' को प्रयत्न गरेको त्यसैकारण हुनसक्छ।
तर दोस्रो पुस्ताले थालेको प्रयास सफलताउन्मुख हुँदाहुँदै अग्रिम पटाक्षेप भएको छ। किनकि मुख्यालय मदननगर बल्खुमा मंसिर २८ गते बुधबार आयोजित 'तीनमहिने सुदृढीकरण र जनपरिचालन अभियान' मा नै खुलिसकेको छ– एमालेमा सिद्धान्त, कार्यक्रम र संगठनका आधारमा मेलमिलाप हुन गइरहेको छैन। स्थायी कमिटी सदस्य केपी शर्मा ओलीलाई सभासद् बनाउने सर्तमा एमालेको 'वैचारिक संघर्ष' टुंगिन लागेको छ। खनालको पक्षको प्रस्तावमा पार्टीमा 'सन्तुलन मिलाउन' उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य अमृतकुमार बोहरा पनि सभासद् बन्नेछन्। यसरी एमाले नेताले भन्ने गरेको जनताको बहुदलीय जनवाद (जबज) प्रतिको बुझाइ, माओवादीलाई हेर्ने दृष्टिकोण आदि 'वैचारिक मतभेद' सभासद् पदसँगै तुहिने भएको छ। मेलमिलापका लागि बाँड्न लागिएका सभासद् पद संविधान निर्माणका लागि होइन, सत्तामा पुग्ने सिँढीका रुपमा मात्रै प्रयोग गरिन लागेका छन्।
ओली सभासद् पदलाई आफूले प्राथमिकता नदिएको भाषण गर्दैछन्। सभासद् हुन नसकिए प्रधानमन्त्री बन्न नसकिने भएकाले अब कुर्न नसकिने बुझाइमा ओली रहेको निकटस्थले नै बताएका छन्। यो खुलासाले जनतालाई मुख्य राजनीतिक दलका नेताप्रति समान समझदारी बनाउन सहयोग गरेको भने पक्कै छ। माओवादी महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री प्रस्ताव गर्ने उपाध्यक्ष मोहन वैद्यको तयारी, कांग्रेसमा पालो नै नआई सुरु प्रधानमन्त्री पदको किचलो, एमालेमा नेपाल–खनाल–ओली विवादको जरो सिद्धान्त र कार्यक्रमको होइन रहेछ। जुनसुकै दलका नेताले बाहिर जे बोल्दै हिँडे पनि जरो कुर्सी न रहेछ!
राजनीतिकर्मीले पदका लागि प्रयास गर्नु सारतः नराम्रो होइन। पद उसका लागि नेतृत्व कौशल प्रमाणित गर्ने अवसर हो। नेतृत्व वास्तवमा राजनीतिको परीक्षा नै हो। तसर्थ त्यसका लागि संघर्ष चल्नु अनुचित होइन। तर एमालेमा जारी टकरावका उठान र बैठानको गुह्य बुझिनसक्नु छ। मनले खाएका मान्छे छानेर सभासद् बनाइएका एकाध अपवाद होलान्। यथार्थमा सभासद् भनेका संविधान निर्माण गर्न …चुनिएर आएका' जनप्रतिनिधि हुन्। उनीहरूसँग संविधान बनाउने उत्तरदायित्व छ। ओली, गौतम, महासचिव ईश्वर पोखरेल, बोहरा एमालेको उच्च तहका नेता हुन्। उनीहरूले संविधान सभा बैठक हलबाहिरै बसेर संविधान निर्माणका तगारा हटाउन राजनीतिक सहमतिको पहल गर्न सक्थे, सक्छन्। संविधान सभामा गएका नेताले पनि उनीहरूलाई त्यो ऐतिहासिक भूमिकाका लागि आग्रह गर्न सक्छन्। तर जब तिनै नेता नै अभि नहीँ तो कभी नहीँ शैलीमा अघि बढ्छन्, त्यसले एमालेको समाचार एकपटकमात्रै बन्छ सधैं बन्दैन। एमालेलाई सदाबहार समाचार बन्नु छ कि छैन?

एमालेमात्रै होइन, कुनै पनि दल एकढिक्का हुनु सम्बन्धित दलमात्रै होइन, सिंगो राष्ट्रकै जीवनका लागि पनि सुखद् पक्ष हो। एमालेमा जारी एकता–प्रयासलाई भने सन्देह गर्न थालिएको छ। नेपाल पक्षले एकीकरणलाई नयाँ समीकरणका रुपमा बुझेको छ। नेता नेपालले यसलाई अँध्यारो कोठामा गरिएको सहमतिका रुपमा रुपमा अर्थ्याएका छन्। महासचिव पोखरेलको यसमा समर्थन छ।
नेता नेपालको अभिव्यक्तिबाट दुई निश्कर्ष निकाल्न सकिन्छ। एक, आफू सामेल हुने हो भने जुनसुकै समीकरण उज्याला हुन्छन्, जस्तो कि यसअघि उनी र ओली पक्ष एक ठाउँ थिए। उक्त गठजोडको उद्देश्य अध्यक्षलाई ठिकठेगान लगाउनु थियो। दुई, सभासद् बन्नु भनेको प्रधानमन्त्री र मुख्य ओहदाकै लागि हो किनकि उनी आफैं त्यसको दृष्टान्त हुन्। प्रधानमन्त्री भ्याएका नेता नेपाल वास्तवमा संवैधानिक समितिको नेतृत्वका लागि संविधान सभा पठाइएका थिए। सभासद् सुशीलचन्द्र अमात्य त्यसै सर्तमा फिर्ता बोलाइएका थिए।

खनाल–ओली हेलमेल र आउजाउको पनि नियत सफा देखिन्न। जसरी नेपाल–ओली गठजोड खनाललाई तह लगाउन बनेको थियो, त्यसरी नै अहिले खनाल–ओली एकता राष्ट्रिय राजनीतिक बहसबाट नेता नेपाललाई किनारामा हुत्याउन बनेको देखिन्छ। नेता नेपालबाट एमाले र आफू दुवैको 'जय' हुन सक्दैन भन्ने खनाल–ओली निश्कर्ष हो भने त्यो तात्कालिक र प्रत्युत्पादक हुनेछ। इतिहासलाई कसैले अस्वीकार गर्न मिल्दैन। इतिहासले पनि कसैलाई पनि अन्याय गर्न सक्दैन। तीनै नेतासहित सिंगो नेतृत्व र कार्यकर्ताले खर्चेको पसिनाले एमाले राष्ट्रिय राजनीतिको एक हिस्सा भएको हो। नेपाललाई मात्रै होइन, कुनै पनि नेतालाई पाखा लगाउने काम एकीकरण हुनसक्दैन, बरु समीकरणमात्रै।
अब एमाले कसरी अघि बढ्छ हेर्न बाँकी छ। अध्यक्ष खनालले राष्ट्रिय सहमतिको किताब भर्खरै लेखेका छन्। किताबदेखि व्यवहारसम्म उनको यात्राका सारथी दोस्रो पुस्ताका नेता छन्। यो प्रयत्नको पनि परीक्षा हुँदैछ। एमालेले थालेको अभियान राष्ट्रिय राजनीति र स्वयं एमालेका लागि हितकर छ।
कार्यकर्ताका लागि एमाले सुदृढीकरण अभियान एउटा पिरलो भने पक्कै भएको हुनुपर्छ। मतमतान्तर हुँदाहँुदै पनि माओवादी अन्य घटकसँग एकता गर्दैछ। एमालेचाहिँ आफैंसँग पटकपटक एकता गर्दैछ। यसपटकको एमालेको 'एकता' के का लागि होला। बल्खुमा आयोजित समारोहमा भनिएझैं एमालेको सृदृढीकरणका लागि? कि सभासद् ढकालले भनेझैं फेरि सत्ताका लागि 'अभि नहीँ तो कभि नहीँ' भनेझैं? हेर्न बाँकी छ। हेरिनेछ।

                         नागरिक दैनिकमा २०६८ पुस ३ गते सोमबार प्रकाशित













No comments:

Post a Comment