Thursday, December 29, 2011

बेथानचोकमा कवि जमघट



काठमाडौं, पुस १४
महाभारत पर्वतमालाकै उच्च शिखर अर्थात् बेथानचोक। समुद्र सतहदेखि ३ हजार १८ मिटर उचाइमा रहेको बेथानचोकमा मुलुकका झन्डै सय लेखक, कलाकार र पत्रकारले पाइला राखे।
काभ्रेपलाञ्चोक जिल्लाको ढुंखर्क–१ मा रहेको डाँडोमा कोही काव्य पाठ गरिरहेका थिए भने कोही गाइरहेका। कोही कापीमा कलम डोबिरहेका थिए भने कोही फोटोग्राफीमा रमाउँदै। पर्यटन वर्षको आखिरी महिनामा साहित्य सञ्जाल नेपालद्वारा आयोजित तीनदिने साहित्यिक यात्रामा नयाँ–पुराना लेखकको जमघट थियो।

ती कार्यक्रममा साहित्यकार भिष्म उप्रेती, युवराज नयाँघरे, ज्ञानुवाकर पौडेल, श्रीओम रोदन, रोशन शेरचन, अभय श्रेष्ठ, राजकुमार बानियाँ, तुलसीहरि कोइराला, राधेश्याम लेकाली, हरिहर तिमल्सिना, पदम गौतम, जयन्ता पोखरेललगायत लेखक, कलाकार सहभागी थिए।
कांग्रेस नेता मधु आचार्य, लेखक तुलसी भट्टराई, प्रतीक ढकाल, सुमनराज ताम्राकार आदिको सहभागिता अझ उत्साहजनक रह्यो। नमोबुद्ध, शिव गुफा, नारायणथान, चलाल गणेशस्थान, कामीडाँडा, ढुंखर्क, पनौती र बनेपामा लेखकहरूले साहित्य र समाजबारे प्रशस्त विमर्श गरे। 'हाम्रो मिसन नयाँ नयाँ पर्यटकीय गन्तव्य चिनाउँदै जाने हो, हामी ती ठाउँलाई साहित्यको माध्यमबाट चिरस्थायी बनाउन चाहन्छौं,' सञ्जालका अध्यक्ष दीपक कथितले भने, 'यस्ता कार्यक्रमले लेखकलाई समाजसँग सेतुका रुपमा जोड्दो रहेछ।' यसअघि सञ्जालले लिगलिग पर्यटकीय साहित्य यात्रा गरिसकेको छ।
यात्राको पहिलो दिन साँगास्थित नेपाल प्रहरी उच्च मावि आगन्तुकको स्वागतमा चियापान कार्यक्रम राखेको थियो भने बनेमामा जनमत प्रकाशनले स्वागत गरेको थियो।
कार्यक्रममा साहित्यकार तथा जनमत साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवालले देशभरिका लेखकहरूलाई काभ्रेबाट जोड्न चाहेकामा आयोजकको प्रशंसा गरे। यात्राभरि विभिन्न ठाउँमा स्थानीयले फूलमाला, अबिर र फलफूलले स्वागत गरेका थिए।
कामीडाँडामा शुक्रबार स्थानीय तामाङ समुदायले साँस्कृतिक पहिचान झल्कने नृत्य तथा संगीतले पाहुनालाई मनोरञ्जन प्रदान गरेका थिए। विश्व साइकलयात्री पुष्कर शाहले साहित्यिक पर्यटकसँग आफूसमेत जोडिन पाएकामा खुसी व्यक्त गरे।
ढुंखर्कमा आइतबार आयोजित कार्यक्रममा स्थानीयले भगवान श्रीकृष्णको जीवनीमा आधारित रामत नृत्यसमेत प्रस्तुत गरे। स्थानीय ८८ वर्षीय ओतबहादुर खड्काले समेत स्रष्टाहरूलाई हौस्याउन जोसिलो नृत्य प्रस्तुत गरे।
ढुंखर्ककै पार्वती उच्च माविमा राजधानीको कलाकार समूह डिमाक्सले  संयुक्त चित्रकला प्रदर्शनी गर्‍यो। डिमाक्सका जयराम महर्जन, योगेश महर्जन, निर्भय श्रेष्ठ, ओम गुरुङलगायत आठ कलाकारले स्थानीय जनजीवन झल्काउने दर्जनौं चित्र कोरेका थिए। उनीहरुले त्यहाँ छ दिन बसेर ती चित्र बनाएका हुन्।
'पर्यटन भनेको प्रकृति हेरेर रमाउने कुरामात्रै होइन,' स्थानीय ज्ञानप्रसाद तिमिल्सिनाले भने, 'लेखकहरूले यहाँका बस्ती र जनजीवनलाई अवश्य उतार्नेछन्।'
Published on Nagarik Daily, Push 15, 2068

1 comment:

  1. Kathmandu ma 1 day agadi nai Samaya chha ki k ho ? 14th Poush ko lai 15th Poush bhanne??

    ReplyDelete