Wednesday, December 28, 2011

वयस्कहरूको प्लट


'चञ्चल मनकी रुपसी' लेख्दैगरेका प्रौढ पत्रकार तथा 'युवा' आख्यानकार किशोर नेपाललाई उनकै च्याम्बरमा सोधेको थिएँ, 'दाइले रुपसीबारे लेख्दिएपछि अब हाम्ले चैं के लेख्ने?'
'तिमी यस्तो लेख्न सक्दैनौ बाबु।'
'किन दाइ, किन म सक्दिनँ?' मैले सोधें।
'किनकि तिमी बुढा भइसक्यौ।'
वयस्कहरूका प्लट लेख्ने यी बुढाले आफ्नो उमेरमा मलाई पो प्रतिस्थापन गरिदिए।

..........
जमानामै निबन्ध लेखेर लोकप्रियता आर्जेका किशोर नेपालका रचना विश्वविद्यालयमा पनि पढाइ हुन्छन्। तिनै 'किशोर' लेखक नेपाल दुईहप्ताअघि  'शहरको कथा' नामक तेस्रो उपन्याससहित साहित्यकार हुन फेरि आइपुगेका छन्।
परम्परागत लेखन, विषय र शैलीबाट नेपाल सुदूर छन्। रिपोर्ताज शैलीमा लेखिएको उपन्यास भनेर 'फेस सेभिङ' का लागि ठाउँ राख्ने कर्म पनि उनीबाटै भएको छ। इपिसेन्टरमा अरोजा छे। सिंगै किताब उसका रहर र 'सीमाहीन अनुभूति' वरिपरि फन्का मारिरहन्छ। वैजेन्ती थारु छे। कानुनकी विद्यार्थी उदार मानुषी छे। अनि छे अरोजालाई जलन गराउने सारिका। उपन्यासकारजस्तै 'म' छ। त्यसलाई भेट्दा लेखकलाई भेटेझैं लाग्छ। आत्मकथाको खण्डजस्तो लाग्छ उपन्यास।
......
प्रेम र सेक्सका प्रसंगबीच देशको राजनीति घुसेको छ। आख्यानकारको गहिरो अनुभूति पात्रहरूको मुखबाट सुन्दा यस्तो लाग्छ– उनी तीनै क्षेत्रमा 'राम्रै' दख्खल राख्छन्। शब्दका जादुगर भनी सराहना गरिएका उनको भाषा पनि 'किशोर' नै छ। उनकै भाषामा 'सेक्सिलो' छ। 'अरोजा मेरासामू आफूलाई बढी नै फ्र्यांक देखाएर इम्प्रेसन दिन खोजिरहेकी थिई।... बोलीवचन र बडी ल्यांग्वेजका हिसाबले उ शहरका सबै रेस्टुराँमा सजिलै पाइने इन्स्ट्यान्ट कफीजस्तै थिई।' (पृष्ठ ४०) 'ल्याक अफ् एलआईसीसी। अर्थात् लक, लेबर चाकडी र चान्स' (६१)। उपन्यासभरि नेपाली शहरमा बोलिने अंग्रेजी प्रयुक्त छ। 'कहिँकहिँ' नेपाली पनि पाइन्छ।
..........
'प्रौढ किशोर' का पात्र र प्लट वयस्क हुन्छन्। त्यसो त उनी हिजोआज वयस्ककै लागि पत्रिका पनि निकाल्छन्। अघिल्लो उपन्यास 'पाताल' देखि 'शहरको कथा' सम्म आइपुग्दा उनको 'एडल्ट–चिन्तन' निरन्तर चिन्तनशील छ। लाग्छ, उनको संगत वयस्कहरूसँगै बढी छ। त्यसैले उनी एकातिर उमेरका युवालाई च्यालेन्ज गर्छन्। अर्कातिर आफ्नै उमेरलाई पनि।
......
नेपाल सेक्सलाई केन्द्रमा राख्ने लेखक त हुन् तर उनका कतिपय पात्रको सेक्स अनुभव असाध्यै पीडामय छ। प्यूठानको खलंगामा भेटिएकी उमा सशस्त्र द्वन्द्वबीच हराएको सेनाको सुवेदार दाजुको रिक्तता पूरा गर्न परिवार गुजाराको बाटो खोज्छे। जवान उमासँग उसकै दाजुको साथी सांसदले नै कोरियादेखि क्यासिनोसम्म जागिरको आश्वासन दिएर उमेरको फाइदा उठाउँछ। मानुषीको जीवन बन्धनबाट उन्मुक्तिको यात्रा हो। सेक्स पनि उसका लागि भने बाध्यताबाट छनोटको विषय हुनपुग्छ।
.......
वयस्क पात्रका थुप्रै संवाद ननभेज छन् तर यो पल्प फिक्सन् होइन। 'शहरको कथा' नेपाली युवाहरूको दुःखवर्णन हो। विषय र शैलीका हिसाबले लेखनमा नयाँ मार्ग आविष्कारका लागि यो लेखक नेपालको एक किसिमको प्रस्तावना पनि हो।
उपन्यास सुन्दर छ किनकि यथार्थ कुरुप छ। समय, सत्य र पात्रलाई चिन्ने सवालमा उपन्यासकार गलत रहेछन् भने यसको जिम्मा तिनले लिनुपर्छ। उनले स्थापित गरेका पात्र गलत रहेछन् भने त्यसको जिम्मा चाहिँ समाजले लिनुपर्छ। शहरको कथा उपन्यासकारकै भाषामा द्वन्द्वकाल र त्यसपछि पनि देशको भ्रमणमा जाँदा अनुभूत गरेका सत्यहरूको विवरण जो हो।
........
तीन दशकअघि पत्रकारितामा छिर्दैगर्दा साहित्यकार नेपाल लेखकहरूका आँखामा 'पत्रकार भएर बिग्रियो' भएका थिए। पत्रकारितामा सुनाम कमाइसकेका उनी केही समययता फेरि 'आख्यानकार भएर किशोर बिग्रियो' भएका छन्। उनी निरन्तर 'बिग्रिरहन सकून्'।
   (पुस १४ गते, २०६८ को शुक्रवार साप्ताहिकमा प्रकाशित)







 



No comments:

Post a Comment