Tuesday, September 18, 2012

शब्दहरूको उत्सव

 
यो त्यति बेलाको कुरा हो जब बेलायती लेखक पिको आयर 'टाइम' म्यागजिनमा सहायक सम्पादक थिए। काठमाडौंबाट त्यति बेला निस्कने नेसन विक्लीका पत्रकार अजित बरालले पिकोको इमेल ठेगाना भेटेछन्।
विश्व साहित्य र यससम्बन्धी गतिविधिमा चासो राख्ने अजितले पिकोलाई इमेल लेख्न थाले। उनीहरूको ई–संवाद बाक्लियो। अजितले पिकोसँग इमेलमै गरेको अन्तर्वार्ता आफ्नो कृति 'इन्टरभ्यु एक्रस टाइम एन्ड स्पेस' मा छापेका छन्।
ई–संवाद लामो समयपछि अजित र पिकोबीच भारतको एउटा साहित्यिक कार्यक्रममा भेट भयो। त्यति बेला अजितको संयोजनमा साहित्यिक गतिविधिसम्बन्धी 'रिड' म्यागजिन छापिने तयारी हुँदै थियो। उनले पिकोलाई नेपाल आमन्त्रण गरे। जवाफ पाए, 'काठमाडौंमा साहित्य उत्सव गर न, आउँछु।'
यही एउटा विन्दु थियो जहाँबाट एनसेल लिटरेचर फेस्टिभलको खाका कोरिएको थियो।
पिको त आएनन्, अजितले आफ्नो प्रकाशन गृह फाइनप्रिन्टका निरज भारीसहितका साथीहरूसँग मिलेर पोहोर भदौमा आयोजना गरेको  'नेपाल लिटरेचर फेस्टिभल' ले काठमाडौंमा नयाँ शैलीको साहित्य मेला भिœयायो। त्यसको दोस्रो संस्करण राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबारबाट चार दिन हुँदैछ।   
जर्मनीमा हरेक वर्ष आयोजना गरिने 'फ्र्यांकफर्ट बुक फेयर' संसारकै सबैभन्दा ठूलो पुस्तक मेला मानिन्छ। अजितसँग त्यो मेलाको अनुभव थियो। छिमेकी भारतको चर्चित जयपुर लिटरेचर फेस्टिभलका त उनी नियमित सहभागी नै थिए। जति त्यस्ता मेला हेर्दै गए, उति फेस्टिभलको सपनाले आकार लिँदै गयो।
त्यसअघि नै निरज–अजित फाइन प्रिन्ट बुक क्लबको ब्यानरमा मासिक छलफल कार्यक्रम गर्थे। मञ्जुश्री थापा, सम्राट उपाध्याय, नारायण ढकाल, शारदा शर्माजस्ता लेखक वक्ता हुन्थे। साना भोल्युमका कार्यक्रम गर्दै जाँदा उनीहरूमा ठूलो आकारको सम्मेलन गर्ने भूत चढ्यो। परीक्षणका लागि पोहोर नै फेस्टिभलअघि उनीहरूले बुकवर्म फेयर गरेका थिए। फेस्टिभल आयोजक बुकवर्म ट्रस्ट खोलेका उनीहरूको फाइन प्रिन्ट आइएनसी नामक प्रकाशन गृह छ जहाँबाट ३४ किताब छापिइसकेका छन्, छवटा अंग्रेजीमा।  
एनसेलले फेस्टिभल आयोजनामा सघाएको छ। ठूलो कर्पोरेट हाउसलाई विश्वासमा लिन सके पनि पोहोर उनीहरूलाई फेस्टिभल राम्रो होला/नहोला भन्ने चिन्ता थियो तर अहिले एक वर्षे अनुभवका धनी यो जोडी कसरी आयोजना अझ चम्काउने भन्ने ध्याउन्नमा छन्।
अघिल्लो वर्षको फेस्टिभल पत्रकार मार्क टली र सुन्दरी उपन्यासकार इरा त्रिवेदी आउँदा बढी चर्चित भयो भने सधैं विवादमा तानिने बंगलादेशी लेखिका तसलिमा नसरिनले नआएरै मसला थपिन्। काठमाडौं आउन पासपोर्ट बोक्नुपर्छ भन्ने सामान्य हेक्कासमेत भएन उनलाई! नेपाल छुट्टै देश भएको आफूलाई थाहा नभएको ट्वीट उनले गरेकी थिइन्। त्यसपछि त हंगामा। विदेशी मिडियाले तसलिमाको नाम जोड्दै फेस्टिभललाई कभरेज दिए। आयोजकलाई के चाहियो!
चर्चा, विवाद र आकर्षणको केन्द्र बनेका भारतीय पत्रकार विनोद मेहता, कवि तथा उपन्यासकार सुनील गंगोपाध्याय, उपन्यासकार अमिश त्रिपाठी यो वर्ष आउँदैछन्। त्यसैगरी कहानी, अन्जाना–अन्जानीजस्ता चलचित्रकी स्त्रि्कप्ट लेखक तथा 'अल्मोस्ट सिंगल' उपन्यासकी लेखक अद्वैता कला, अकादमी पुरस्कारबाट सम्मानित कवि मनप्रसाद सुब्बा पनि आउँदैछन्। तसलिमा त यो वर्ष पनि आउँदिनन् तर फेस्टिभलसँग जोडिइसकेकी छिन्। बिट कवि एलेन गिन्सबर्गको सान्निध्यबाट आएका साहित्य अकादमी अध्यक्ष गंगोपाध्यायलाई उनै तसलिमाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। विनोद मेहता सम्पादकीय बोर्डका अध्यक्ष रहेको चर्चित भारतीय म्यागजिन आउटलुकले यसबारे गंगोपाध्यायको अन्तर्वार्ता पछिल्लो अंकमा छापेको छ। तसलिमा नेपाल नआए पनि उनको तनाव बोकेर गंगोपाध्याय आउँदैछन्।  

फेस्टिभल आयोजना गर्न र कार्यालय चलाउनका लागि धुम्बाराहीमा सिंगै घर भाडामा लिएका छन् यी दुईले। केही किताब, केही खानेकुरा, केही थान कम्प्युटर र आफ्ना ल्यापटप राखेर उनीहरुले कार्यालय धानेका छन्। जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधि गर्दैगरेका दिनेश काफ्ले फेस्टिभलकै लागि केही महिनायता शोध छाडेर काठमाडौं आएका छन्। अफिसमा बसेर लेखकहरुसँग सम्पर्क गर्नु, फेस्टिभलको चाँजोपाँजो मिलाउनु नै उनको दिनचर्या भएको छ। डिजाइनर सुवर्ण हुमागाईं फेस्टिभलका लागि आवश्यक रिड म्यागजिनलगायत सामग्री आकर्षक बनाउन खटिरहेछन्। प्रदीप बस्यालले सोसल मिडियामा फेस्टिभलको निरन्तर सन्देश फिँजाइरहेका हुन्छन्। पर्दापछाडि दर्जनौं सहकर्मीको लर्को छ जसले आवश्यक सल्लाह र सहयोग प्रदान गर्छ। 'प्रत्येक दिन राति १२ बजेसम्म खट्छौं,' कार्यालयमा भेटिएका दिनेशले भने।  

नयाँ शैलीको साहित्य सम्मेलन थाल्ने बुकवर्म ट्रस्ट पहिलो संस्था हो तर एक्लो होइन। पहिलो लिटरेचर फेस्टिभल सकिए लगत्तै पाटनमा काठमान्डु लिटरेरी जात्रा आयोजना भएको थियो। फेस्टिभल र जात्राका कार्यक्रम गर्ने शैली लगभग उस्तै थिए। दुवैले साहित्य सम्मेलनमा नयाँ पुस्ताको माया पाए। पुरानो र नयाँ पुस्ता जोड्ने उनीहरूको प्रयासलाई अग्रज लेखकहरूले स्याबासी दिएका थिए।
फेस्टिभलका लागि खटिरहेका यी अक्षर उद्यमीहरू लेखकको ब्रान्डिङ गर्छन्। लेखक भन्नेबित्तिकै कतिपयको मस्तिस्कमा आउने झुत्रेझाम्रे विम्बको विनिर्माण गर्दैछन् उनीहरू। अजित भन्छन्, 'हिरोहिरोइनलाई मात्रै किन साँस्कृतिक आइकन बनाउने? मिडियामा उनीहरूको मात्रै फोटो आउनु उचित होइन। समाज बनाउन र बदल्न लेखकको योगदान कम छैन।'
लेखकलाई 'ग्ल्यामरस पर्सनालिटी' का रुपमा चिनाउने उनीहरूको योजना 'रिड' का पछिल्ला अंक हेरे थाहा लाग्छ। यसपालि उनीहरूले साठी वर्ष काटेका लेखक वैरागी काइँला, हिरण्यकुमारी पाठक, धु्रवचन्द्र गौतम, दुर्गालाल श्रेष्ठ, गीता केशरीलाई चोभारमा लगेर फोटो खिचाए। पुस्तकप्रति रुचि भएकाहरूका लागि पनि रोलमोडल चाहिने उनीहरू ठान्छन्। लेखक त लेखेर पो रोलमोडल हुन्छ, फोटोले हुन्छ? तिनको जवाफ छ – नयाँ पुस्तालाई लेखन र पठनप्रति आकर्षित गराउन पनि यसो गरेका हौं। लेखक पनि हामीसँग खुसी छन्।
फेस्टिभल आयोजक अजित र निरज दुवै पोखराका हुन्। रंगकर्मी तथा अजितका दाइ अनुप बरालमार्फत् उनीहरूको भेट भयो। अजित सिर्जनात्मक माहोलमा हुर्के भने निरजको पृष्ठभूमि व्यापारको थियो।  उद्यमी बन्ने निरजको चाहना मरिसकेको छैन। उनलाई लाग्छ –  'पुस्तक प्रकाशन उद्यम, साहित्यिक सम्मेलन आदिले गरिखाने बाटो बनाइसकेका छैनन्। यसले मलाई टिकाउँछ भन्ने पनि छैन।' अनि टिक्न गाह्रो छ भन्ने बुझिबुझी किन हात हालेको त? निरजको एक लाइन सिद्धान्त छ– 'मैले पाउने सुखभन्दा मैले चाहेको दुःख प्यारो छ।' फेस्टिभलले पनि गरिखाने बाटो बनाउने होइन। अजित थप्छन्, …यो भनेको घरमा बिहे गरेजस्तै हो। बिहे गर्दा नाफा हुँदैन, तर गर्ने इच्छा र गरिसकेपछिको आनन्दै बेग्लै।'
अजितलाई लेखक–लेखक सम्बन्धका उहापोह थाहा छ। निरजको सम्बन्ध साहित्यकारसँग खास छैन। निरजका अघिल्तिर प्रज्ञा प्रतिष्ठानमा केही लेखकले पोहोरको फेस्टिभलको प्रशंसा गरेछन्। निरजलाई पछि थाहा भएछ– उनीहरू प्राज्ञ सनत रेग्मी र बेन्जु शर्मा रहेछन्।  साहित्यको राजनीति बुझिनसक्नु हुन्छ। अजित र निरजको टिमका आफ्नै कमजोरी होलान्। तिनका खुट्टा तान्नेको गणित पनि ठूलै होला। तै पनि सोधिहालूँ कति होला?  'ओहो, यसको त कुरा नगरुँ, समावेशी बनाऊँ भन्दा त मिलाउन पनि झन् गाह्रो हुने। धेरैका कुरा सुन्नुपर्ने। तै पनि  सबैको भावना कहिल्यै अटाउन नसक्ने। त्यसपछि कोही न कोही त रिसाइहाल्ने।'
काठमाडौंको लेखक जमातमा अरुको प्रगतिले आफ्नो स्पेस खाइदियो भनठान्नेहरु रहेछन।
निरजकी आमाले स्कुल पढ्दाताक महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे थाहा पाउनुभएछ। उहाँका आँखामा लेखक चुरोट पिउने, माग्नेलाई कोट खोलेर दिने, झुत्रो, मायालाग्दो विम्ब बनेर बसेको छ। …झोला बोकेर लेखकको पछिपछि हिँड्ने छोरा' को अक्षर उद्यमप्रति उदासीन हुँदै भन्नुभएछ, …छोरा, तैंले पैसा नकमाउने भइस्।' निरजले आमालाई बुझाउनै केका छैनन्– पुस्तक प्रकाशन व्यावसायिक गृहका रुपमा विकास हुनसक्छ भनेर। साहित्यमा पैसा छैन, त्यो निरजलाई थाहा छ।  'तर पैसामा पनि त साहित्य छैन, यसरी किन नबुझ्ने?' उनले आमालाई भनेछन्।
उमेर धेरै छिप्पिएको छैन दुवैको। प्रकाशक र साहित्यिक इभेन्टमा लागेर पाँच वर्ष बिताए। अक्षर उद्यम नछाड्नेे, बरु यसलाई अझै बृहत् बनाउने योजना छ उनीहरूसँग।  'एउटी हिरोइन फिल्म खेलेर कार चढ्न सक्छे भने हामी पनि किताब छापेरै कमाऔं,' उनीहरू भन्छन्।
मिलेर काम गर्न सजिलोमात्रै हुँदैन, गाह्रो पनि छ। निरज र अजितका पनि कतिपय कुरा मिल्दैनन्। …अजित दाइ वर्तमानका लागि काम गर्नुहुन्छ,' निरज भन्छन्,  'जबकि म भविष्यका लागि संस्था बनाइरहेको छु, यसैमा हामो ठाकठुक परिरहन्छ।'
अजित रहेछन् एक बिन्दास। कसैको मातहतमा काम गर्न नसक्ने। निरजको भनाइमा इरेजर चलाउँछन्, 'ठाकठुक पर्ने भए त हामी सँगै यतिन्जेल हुँदै हुँदैनथ्यौं, तै पनि उनको मार्केटिङ आइडिया मलाई चित्त नबुझ्न सक्छ, यसमा विवाद भइरहन्छ।'
यिनलाई मिलाउने दुई कुरा छन्। एक, उनीहरू एक अर्कालाई राम्रैगरी चिन्छन्। दुई, उनीहरू नाफाका लागि काम नगरेको जिकिर गर्छन्। जारी लिटरेचर फेस्टिभलको दोस्रो संस्करणका लागि उनीहरू दुई महिनायता राति सुत्ने समयबाहेकको समय भोलिन्टियरिङ गरिरहेका छन्।  
र, सहरमा फेरि एक पटक अक्षरको उत्सव चल्दैछ। यसका दुई सारथी मसँग छन्। अन्तर्वार्ताका लागि केही प्रश्न सोध्छु। निर्दोष देखिने निरज यस्सै लजाउँछन्। अजित जिस्क्याउँछन्,  'जवाफ देऊ न, किन लजाएको?'
निरज रातो हुँदो भन्छन्, 'भन्नलाई उत्तर पनि आउनुपर्‍यो नि।'
हामी हाँस्छौं। नेवारी लवजमा निरज फेरि लजाउँछन्,  'अब मैले के भन्नु, डाइले नै भन्नु न।'

अजित बराल र निरज भारीसँग कुराकानी'सबैलाई  समेट्छौँ'
 
मूलधारका लेखकलाई मात्रै स्पेस दिनुभएको हो? निरज :  सबैलाई समेट्ने कुरामा हाम्रो कमजोरी भएको हुनसक्छ। पोहोर केही लेखक छुट्नुभएछ। हामीलाई त्यस्तो मान्छे देखाइदिनूस् जसलाई यो वर्ष नसके पनि अर्को वर्ष समेट्न सकौँ। प्राविधिक कारणवश पहुँचमा भएका भनिएकाहरू नै छुटेका छन्। कुनै पनि राजनीतिक विचार राखेको भरमा वा हामीसँग असहमति राखेकै भरमा कसैलाई राख्ने र छुटाउने केही गरेका छैनौँ।  
अजित :  पोहोर कवि विमल निभा र श्यामललाई प्यानलमा राख्न खोजेका थियौं। निभाले मञ्चमा बसेर बोल्ने बानी खासै नभएको भन्दै त्यहाँ पनि असजिलो मान्नुभयो। श्यामलको काठमाडौँबाहिर जाने योजना पहिल्यै तय भइसकेको थियो। यसपालि पनि गरिमाका सम्पादक अविनाश श्रेष्ठले फेस्टिभलमा सहभागी हुने तर प्यानलमा नबस्ने भन्नुभएको छ। अब हामीले यसलाई कसरी बुझाउने? अरु पनि थुप्रै लेखकले आउन नसक्ने बताउनुभयो। 
काठमाडौंबाहिरका लेखकलाई कम स्थान दिनुभएको हो?   निरज :  बाहिरबाट लेखक बोलाएका छैनौं भन्ने आरोप निराधार हो। यसपालि मात्रै होइन, पोहोर पनि केही लेखक ल्याएकै हो।
अजित :  पोहोरका सबैलाई यसपल्ट दोहोर्‍याएका छैनौं।  नयाँ लेखक भित्र्याएका छौँ। आगामी फेस्टिभलमा अझै थप्दै जान्छौँ। कतिलाई प्यानलमा राख्न मन लाग्छ तर बहसका लागि उपयुक्त विषय र पात्र मिल्दैन। यसपल्ट गणेश रसिक, रमेश क्षितिज, सीमा आभास, भूपिन व्याकुल आदिलाई बोलाएका छौं।
मिडियाले बढी ठाउँ दिएका लेखकलाई बढी मौका दिएको भन्ने अर्को आरोप पनि छ। निरज :  मिडियाले ठाउँ दिने भनेकै राम्रो लेखेर हो। मिडियाले पनि राम्रो लेखक खोज्दै जाने हो। मिडियाले उचालेका लेखकलाई मात्रै च्यापेको भन्नु कुण्ठा हो। यसपल्ट हाम्रो रिड म्यागजिनको फेस्टिभल विशेषांकको कभरमै ६० वर्ष काटेका लेखक ल्याउँदैछौँ।  
एक घण्टाका सत्रहरू राख्नुभएको छ। कति नै छलफल हुन पाउला?अजित :  प्रस्तोताले कसरी बहस चलाउँछ, त्यसमा भर पर्छ। त्यहाँबाटै केही निचोड ल्याउने होइन, बहस थालनी गर्ने उद्देश्य हो। 
निरज :  टीभीमा पनि आधा घण्टाको बहस हेर्दा विभिन्न जिज्ञासा उठ्छन्। फेस्टिभलको काम पनि जिज्ञासा उत्पन्न गराउने हो।
त्यसो भए त टीभी सो र फेस्टिभलका सत्रमा के फरक?निरज :  फेस्टिभल बढी प्रजातान्त्रिक र सहभागितामूलक छ। उपस्थित जोसुकैले तुरुन्तै अतिथिलाई प्रश्न सोध्न पाउँछ। पुरानो शैलीमा एकोहोरो कार्यपत्र पेस गर्दा सहभागीलाई बोर हुन्छ। फेस्टिभल भनेको लेखकसँग पाठकले सिधा सम्बन्ध बनाउने, फोन नम्बर र ठेगाना आदानप्रदान गर्ने थलो हो।
साहित्य सम्मेलनमा किन सञ्चार, अर्थशास्त्र, राजनीति, समाजशास्त्र प्रवेश गराउनुभएको?  अजित :  हेर्दा यी विषय गैरसाहित्यिक लागे पनि साहित्यसँग यिनको प्रत्यक्ष सम्बन्ध हुन्छ।  गोविन्द वर्तमानको 'सोह्र साँझहरू' र मञ्जुश्री थापाका 'ट्युटर अफ हिस्ट्री' किताबलाई नै लिऊँ। दुवै साहित्यिक किताब हुन् तर समाज, राजनीति र इतिहासबारे बोलेका छन्। अबको साहित्य केवल साहित्य हुन्न, अरु पक्षसँग पनि जोडिएको हुन्छ। 
जयपुर लिटरेचर फेस्टिभलको सिको गर्नुभएको हो? अजित :  हुँदै होइन। त्यसरी खोज्न थाल्ने हो भने त जयपुरले पनि अरुको सिको गरेको होला। हामी जयपुरमात्र होइन, थुप्रै अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन्छौँ। राम्रो कुराको सिको गर्नुुहुन्न भन्ने त छैन। यति हुँदाहुँदै पनि हाम्रो पृष्ठभूमि मौलिक छ। फेस्टिभल गर्नुअगावै किताबसम्बन्धी हाम्रा गतिविधि जारी छन्। 

                    
=====================


को–को आउँदैछन्?
विनोद मेहता
भारतीय अंग्रेजी साप्ताहिक आउटलुकका पूर्वसम्पादक विनोद मेहता आउटलुक सम्पादीय बोर्ड अध्यक्ष छन्। पाकिस्तानको रावलपिन्डीमा जन्मेका मेहता तीन वर्षको उमेरमा भारतको लखनउ गए। उनल सञ्जय गान्धी, मीनाकुमारीलगायत थुप्रैको जीवनी लेखेका छन्। पुरुषका लागि तयार डेबोनायर नामक पत्रिकासमेत चलाएका मेहता नयाँ दिल्ली बस्छन्। उनको 'लखनउ ब्वाइ' नामक आत्मकथात्मक किताब चर्चित छ।
सुनिल गंगोपाध्यायबिट कवि एलेन गिन्सबर्गको संगतबाट लेख्न थालेका बंगाली कवि तथा आख्यानकार सुनिल गंगोपाध्याय बहुविधाका लेखक हुन्। उनका नियात्रा, बालआख्यान, कथा, निबन्ध, उपन्यास गरी दुई सय कृति प्रकाशित छन्। उनका केही उपन्यासमाथि प्रख्यात सिनेकर्मी सत्यजित रेले चलचित्रसमेत बनाएका छन्। भारतको अकादमी पुरस्कारलगायत थुप्रै सम्मान पाएका गंगोपाध्याय अहिले साहित्य अकादमीका अध्यक्ष छन्। गंगोपाध्यायले यौन दुर्व्यवहार गरेको भनी तसलिमा नसरिनले ट्वीटरमा लेखेपछि उनी विवादमा परेका थिए।
अमिश त्रिपाठीद इम्मोर्टल्स अफ मेलुहा र सेक्रेट अफ द नागाज उपन्यासका लेखक हुन् अमिश त्रिपाठी। उनले अघिल्लो उपन्यासबाट नसोचेको सफलता पाए। पहिलो उपन्यास ५ लाख ५० हजार बिक्री भइसकेको पहिलो उपन्यासले साता नबित्दै रेकर्ड तोडेको थियेा। भारतका चलचित्र निर्देशक करण  जौहरले इम्मोर्टल्स अफ मेलुहा'माथि चलचित्र बनाउँदैछन्।
अद्वैता कला 
'अल्मोस्ट सिंगल' का कारण चर्चामा अद्वैता कला चर्चामा आएकी उपन्यासकार हुन्। पश्चिमा पाठकबीच उनको किताबको चर्चा बढी छ। इन्डियन एक्सप्रेसको परिशिष्टांक …आई' मा उनी लेख्छिन्। उनले लेखेका चलचित्र 'अञ्जाना अञ्जानी' र विद्या बालन अभिनित कहानीले राम्रो व्यवसाय गरे। उनले काठमाडौँमा पाँच वर्ष बाल्यकाल बिताएकी थिइन्।
मनप्रसाद सुब्बाभारतीय नेपाली लेखक मनप्रसाद सुब्बा लोकप्रिय कवि हुन्। भारतको अकादमी पुरस्कार पाइसकेका सुब्बाका 'आदिम बस्ती' लगायत कवितासंग्रह प्रकाशित छन्। उनी सिक्किममा बस्छन्। 

======= Published on Nagarik, Saturday, Bhadau 30 2069 ======= 

No comments:

Post a Comment