Sunday, September 9, 2012

एमाले एकताका आठ महिना


आठ महिनाअघि आन्तरिक एकताको उद्घोष गरेको नेकपा (एमाले) को घरझगडा अझै साम्य हुन सकेको छैन।
लामो समयदेखि गुटउपगुटमा अल्झेको र त्यसकै कारण विभाजन भोगिसकेको एमालेले साढे तीन वर्षअघि बुटवलमा 'एकताको महाधिवेशन' गरेको थियो जहाँ नवनिर्वाचित अध्यक्ष झलनाथ खनालले पार्टीको गुटबन्दी तिनाउ नदीमा सेलाउने दाबी गरेका थिए। त्यही दिनदेखि एमाले संस्थागत गुटबन्दीको सिकार बन्यो।


गत पुस १५ गते स्थायी कमिटी बैठकमा एमालेले आन्तरिक एकताका लागि बाह्रबुँदे अवधारणापत्र अनुमोदन गर्‍यो। खनालनिकट मानिने दोस्रो पुस्ताका नेताहरू घनश्याम भुसाल, प्रकाश ज्वाला, योगेश भट्टराई, विजय पौडेल, अरुण नेपाल तथा खनालका प्रतिद्वन्द्वी केपी शर्मा ओली पक्षका कर्णबहादुर थापा, खगराज अधिकारी, देवी ज्ञवाली, गणेश तिमल्सिनालगायतको पहलमा एकता प्रयास भएको थियो। 'मूलतः अध्यक्षनिकटका साथीहरू नै लाग्नु भो,' पोलिट्ब्युरो सदस्य प्रदीप ज्ञवाली भन्छन्, 'संस्थागत पहलकदमी लिनुपर्थ्यो, त्यसको अभावमा आन्तरिक एकता भावनात्मक तहमा विकसित भएन।'
ज्ञवालीका अनुसार केन्द्रीय कमिटीमा पहिलेजस्तो द्वन्द्व र स्थायी कित्ताबन्दी नरहे पनि मातहत कमिटी र भ्रातृ संगठनमा अहिले पनि गुटबन्दी छ। 'तल्लो तहसम्म समेत आठौं महाधिवेशनताकाको विभाजित मनस्थिति अझै कायम छ,' उनले भने, 'अस्वस्थ र तिक्ततापूर्ण सम्बन्धको सिकार तल्ला कमिटीका कार्यकर्ता र भ्रातृ संगठन बनिरहेका छन्।' समूहगत प्यानल बनाएर अधिवेशन नगर्ने भने पनि विभिन्न जिल्लामा गुटबन्दी नरोकिएको उनले बताए। गुटबन्दीको सबैभन्दा चर्को असर अनेरास्ववियुमा छ। विद्यार्थी नेतृत्वको गुटबन्दी समाधान भएको छैन। 'पार्टी केन्द्रका नेताले च्याप्दा गुटबन्दी समाधान नभएको हो,' एक नेताले बताए।

एकता प्रक्रियाका सक्रिय पहलकर्ता तथा एमाले केन्द्रीय सदस्य घनश्याम भूसाल आफूहरूको प्रयासले पूर्णता प्राप्त नगरेको सकार्छन्। पार्टीका कतिपय नेताहरूले प्राविधिक पक्षतिर बढी जोड दिँदा एकता कमजोर भएको उनको बुझाइ छ। 'आन्तरिक एकता प्रयास असाधारण अवसर थियो,' उनी भन्छन्, 'तर हामीले आफूलाई साबित गर्न सकेनौं।'

किन कमजोर भयो एकता?

स्थायी कित्ताबन्दी र जड अडान राख्ने दुई गुटका कारण क्षय भएको एमालेको शक्ति संचित गर्ने प्रयत्न दोस्रो पुस्ताका नेताहरूले गरे पनि सफल भएनन्। खनाल–ओली मेलअघि मुद्दाका आधारमा भन्दा कित्ताका आधारमा निर्णय हुने गलत प्रथा बसेको सम्झन्छन् पोलिट्ब्युरो सदस्य ज्ञवाली। 'आन्तरिक एकतापछिका केन्द्रीय कमिटी बैठकहरु बिल्कुलै फरक भए, मुद्दाका आधारमा केन्द्रीय सदस्यहरू पहिलेभन्दा फरक लाइनमा देखिन थाल्नुभयो,' उनले भने। स्थायी गुटबन्दी तोड्ने प्रयास सराहनीय भए पनि संस्थागत पहलकदमीको अभावमा नै एकता अभियान कमजोर बनेको उनको ठहर छ।

नेताहरूबीच पटकपटकका छलफल र वार्तापछि निर्माण भएको सहमतिअनुसार आठौं महाधिवेशनमा पराजित नेता ओलीलाई तेस्रो बरियतामा राख्ने सहमति भएको थियो। यो निर्णयसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष खनाल–ओली मेलमिलापप्रति सशंकित भएको थियो। 'एकातिर माधव र ईश्वर (पोखरेल)  कमरेडहरू यस्तो सहमतिबाट झस्कनु भो,' ज्ञवालीले थपे, 'अर्कातिर पहिलेदेखि नै पार्टीभित्र समझदारी बनाउन लाग्नुभएका कमरेड प्रदीप नेपाल, मुकुन्द न्यौपानेलगायत हामीलाई उपेक्षा गरेझैं गरी एकता प्रयास भएको देखिएकाले पनि थप शंका उत्पन्न भयो।' केही नेताहरु खुल्लमखुल्ला एकता प्रक्रियाको जस लिन अघि सरेकाले पनि इमानदार कार्यान्वयनप्रति शंका उत्पन्न भएको उनले खुलाए।

नेपाल–पोखरेल पक्षधरहरूले सुरुदेखि नै एकता अभियानलाई आफूविरुद्ध खनाल–ओली गठजोडका रूपमा बुझे। माधव नेपालसँग सहकार्य गरेर जान नसकिने संस्थापन पक्षको बुझाइ र नेपालसँगको लामो सहकार्यबाट आफूले कुनै उपलब्धि पाउन नसकेको ओलीको निष्कर्षका कारण पछिल्लो मेल सम्भव भएको उनीहरूको बुझाइ थियो।
साउन तीन गते स्थायी कमिटीले एकता अभियानका सुत्रधारलाई 'पन्छाउने गरी' जिम्मेवारी बाँडफाँड गरेको भन्दै अध्यक्ष खनालसँग उनीनिकटले असन्तुष्टि जाहेर गरेका थिए। 'स्थायी कमिटीले गरेको जिम्मेवारी विभाजनको निर्णयमा विवाद छ,' खनालनिकट मानिने केन्द्रीय सदस्य योगेश भट्टराईले नागरिकसँग भनेका थिए, 'कामकाजी ठाउँमा आफ्ना मान्छेहरू राख्न खोजिएको छ, क्षमतावान साथी कमजोर भूमिकामा छन्।' 
पहिलेको ओली पक्षलाई बढी महŒवका भूमिकामा स्थापित गराएको भनी खनालसँग उनीहरूले आक्रोश पोखे। …त्यो एकता त बाँडिचुँडी खाउँ भन्नेमा मात्रै सीमित रहेछ नि,' खनाल–ओली मिलापप्रति असन्तुष्ट एक केन्द्रीय सदस्यले भने, 'भनेअनुसारको पद नपाउँदा अहिले असन्तुष्टि चुलिनु स्वाभाविक हो।' केन्द्रीय सदस्य भूसाल भने विशुद्ध पदीय बाँडफाँड र प्राविधिक हिसाबबाट एकतालाई बुझे फेरि नोक्सानी बेहोर्नुपर्ने बताउँछन्। 'संविधानसभा चुनावपछि रक्षात्मक देखिएको एमालेलाई शक्तिशाली र राष्ट्रिय राजनीतिमा निर्णायक हैसियतको बनाउन मूलभूत मुद्दामा नेतृत्व एक ठाउँ उभिनु जरुरी हुन्थ्यो,' उनले भने।

'धुलो टक्टक्याउँदै'

एकता अभियान संस्थागत नभए पनि थुप्रै सकारात्मक परिणाम हासिल गरेेको दाबी गर्छन् एमाले नेताहरू। नेताहरूबीच औपचारिक कार्यक्रममा सकेसम्म सँगै नदेखिने, देखिए पनि औपचारिक रूपमा हात मिलाउने र बोल्ने, बैठकबाहेक अन्य समयमा भेट नहुने पीडाबाट गुज्रेको एमालेमा त्यो अवस्था अन्त्य भएको उनीहरू बताउँछन्। 'एकताकै स्पिरिटमा फागुन २१ गते पार्टीले राजधानीमा विशाल प्रदर्शन र सभा गर्‍यो,' ज्ञवाली भन्छन्, 'एमाले मुलुकको शक्तिशाली पार्टी कायमै रहेको सन्देश कार्यकर्ता र जनतामा दिन सक्यौं।'

दोस्रो पुस्ताका नेताहरूका थुपै्र चरणका वार्ताको परिणाम अध्यक्ष खनाल संवादहीनता अन्त्य गर्न गत पुसको पहिलो साता ओली निवास बालकोट गए। उनले सोही भेटमा ओलीलाई तेस्रो बरियता दिन आफू सहमत भएको बताए। खनालको प्रस्तावले ओली अचम्भित भएको स्रोत बताउँछ। त्यसपछि दुई नेताबीच एक अर्काको निवासमा ओहोरदोहोर चल्न थाल्यो। महाकाली अञ्चलस्तरीय प्रशिक्षणका क्रममा उनीहरू दुवै माघ १७ गते कञ्चनपुरमा एउटै मञ्चमा देखिए। उक्त कार्यक्रममा माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र विद्या भण्डारी तथा महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए। २० वर्षपछि सुदुरपश्चिमको एउटै मञ्चमा एमालेका शीर्ष नेता देखिएको भनी चर्चासमेत भएको थियो। 

पुस १५ गते स्थायी कमिटीमा खनालले एकता प्रस्ताव लगे। आफूहरुलाई थाहा नदिई गरिएको भन्दै माधव नेपाल  र ईश्वर पोखरेल पक्षले त्यसलाई आफुहरुविरुद्धको मोर्चाबन्दी ठान्यो। उपाध्यक्ष अशोक राई पक्ष पनि सशंकित भएका थिए। 'संस्थागत रुपमा एकता प्रयास नगरिनुको परिणाम थियो त्यो,' ज्ञवालीले भने, 'तर नेताहरु पछि सहमत हुनुभयो।'

पुस १५ को स्थायी कमिटी बैठकले एकताको सन्देश दिन देशभर आमसभा गर्ने निर्णय गर्‍यो। खनालको प्रतिबद्धताबमोजिम फागुन ५ गतेको केन्द्रीय कमिटी बैठकबाट ओली ११ औं बाट तेस्रो वरियतामा उक्लिए। 'ओलीलाई तेस्रो बरियतामा लैजानुका पछाडि कुनै  गलत नियत थिएन, केवल एकताबाहेक,' एक नेताले बताए, 'तर उपाध्यक्ष बामदेवले भने ओलीका लागि आफूले तेस्रो सिट खाली गरेको भनी चलाखीपूर्ण अभिव्यक्ति दिनु भो, यसले एकता अभियानका पहलकर्तामाथि सन्देह जन्मायो।' 

सबल पक्ष

–नेताहरूबीच तिक्ततापूर्ण सम्बन्ध अन्त्य
–गुट समाप्त भएको कार्यकर्तामा सन्देश
–केन्द्रीय कमिटीमा स्थायी कित्ताबन्दी अन्त्य
–राजधानी र देशभर शक्ति प्रदर्शन
–राजनीतिक इस्युमा अडान, मूलभूत मुद्दामा एकरूपता 

दुर्बल पक्ष
–संस्थागत पहलको अभावमा नेतामा नै सन्देह 
–भावनात्मक एकताको सन्देश नजानु
–मातहत कमिटी र भ्रातृ संगठनमा अझै गुटबन्दी
–नेताले कार्यकर्ता च्याप्ने क्रम निरन्तर
–विगतको समीक्षा नहुनु 
–ओलीनिकट संस्थाको समानान्तर गतिविधि कायमै


(नागरिक दैनिकमा २०६८ भदौ २३ गते शनिबार …एमाले अझै गुटबन्दीमा' शीर्षकमा प्रकाशित)

No comments:

Post a Comment