ब्यारीलाई मैले फेवाताल किनारमा भेटेको हुँ। ऊ दुई साथीहरूसँग बिहान छ नबज्दै बियर दन्काइरहेको थियो।
आइतबार बिहान पोखरामा कुहिरो थिएन। आकाश सफा देखिन्थ्यो। पोखरा पारिका गाउँ, स्तुपा सबै छर्लंग देखिन्थे। माछापुच्छ्रे हिमालको फेद अलिअलि छेलिएजस्तो देखिन्थ्यो। माछापुच्छे्रकै भाग हो झैं लाग्ने गरी कुहिरो हिमालमा मिल्न गयो।
कानमा आइपडको ठेंडी घुसारेको छ ब्यारीले। उसका साथीहरू आराम बेन्चमा बसिरहेका छन्। ऊचाहिँ पक्की गोरेटोमा गुनगुन गर्दै झुमिरहेको।
ब्यारीले मलाई बोलायो र आफ्नो नाम भन्यो। मैले पनि मेरो नाम भनें र उसको देश सोधें। उसले साउथ क्यारोलिना बतायो। अमेरिकीहरू किन देशको नाम नभनेर राज्यमात्रै भन्छन्!
संविधानसभा विघटन हुनुपूर्व 'अखण्ड नेपाल राज्य' माग्दै आन्दोलन चल्यो। सुदूरपश्चिमदेखि आन्दोलन सुरु भएसँगै सोसल मिडियामा आफ्नो पहिचान नेपाली भन्ने भनाउने क्रम सुरु भयो। ब्यारीले देशको नाम त भनेन, भनेन। उसको थर सोध्दा थर बताउनै अस्वीकार गर्यो। 'मैले थर बताएर तिमीलाई के हुन्छ र?' उल्टै सोधेको थियो।
जिम्मी र निकोलस छन् ब्यारीसँग। उसले मलाई परिचय गरायो। उनीहरूले खासै महत्व नदिएजस्तो गरे। खासमा ब्यारी नै मसँग कुरा गर्न किन आयो, थाहा छैन। मैले सुनेको – अमेरिकीहरू अरुको मामलामा खासै चासो दिन मन गर्दैनन् रे।
'ल, तिमी र म सँगै हिडौं,' उसले प्रस्ताव गर्यो। हामी दक्षिणतिरको बाटो हिँड्न थाल्यौं।
डुंगा चलाउने बाराही मन्दिर अघिल्तिरको भाग पानीले भरिएको छ। पानीको सतह बढेजस्तो छ। किनाराको डुंगाभित्र पानी पसेको छ। काठको फल्याकमा फुृत्रुक फुत्रुक उफ्रँदै चराहरू चारो ठुँग्न थालेका छन्। ब्यारीले तिनलाई मुग्ध भएर हेर्यो। माथिसम्म झाँगिएका जलकुम्भीका बोटहरूसँग उसको असहमति थियो। भन्यो, 'यो ताल जोगाउन स्थानीयहरू सचेत छैनन् भन्ने प्रमाण हो यो।'
म जिस्कें, 'त्यसो होइन, फेवाताल वातावरणीय हिसाबले सफा र उर्वर ताल हो भन्ने प्रमाण हो यो। नत्र कसरी बोटबिरुवा उम्रन सक्थे?'
ब्यारी फिस्स हाँस्यो। पत्याएन कि क्या हो!
हामी हिँडिरहेका छौं। छेउमा रिसोर्टहरू छन्। मानिसहरू खासै उठेका छैनन्। हिजो लेकसाइड मध्यरात पछिसम्म पनि जागै थियो। कसरी यति बिहानै ब्युँझन सकोस्। केही कामदार महिला खरेटो चलाउँदैथिए। कोहीचाहिँ घरबाहिरै कुर्सीमा निदाइरहेका। ब्यारीले एकछिन उभ्भिएर हेर्ने रहर गर्यो।
'त्यो फूलको नाम के हो?'
'रातो पात,' मैले नेपालीमै सुनाएँ।
'रातो पात,' मैले नेपालीमै सुनाएँ।
'उल्था गर्न सक्छौ?'
मैले रेड लिफ भन्देको। ऊ त मरिमरी हाँस्यो, 'त्यो त भन्नै पर्दैन नि, हेर्दै त्यही हो।'
'अनि तिमी यसअघि कहाँ थियौ?' गोरेटोमा मैले सोधें।
'लन्डन, मस्को र बेइजिङ घुम्दै आएको।'
'सबैभन्दा मन परेको सहर चाहिँ कुन पर्यो नि?'
'मस्को इज द फकिङ ब्युटिफुल।' उसले 'एफ–वर्ड' लाई पहिलोपल्ट वाक्यमा प्रयोग गर्यो।
गोरेटोमा वाइसिएल नेपाल लेखेको थुप्रै ठाउँ फेला पारेछ ब्यारीले। सोध्यो, 'यो वाइसिएल भनेको के हो?'
'योङ कम्युनिस्ट लिग हो।'
'यसले के गर्छ?'
'हिजोआज केही गर्दैन, तिमी नडराए हुन्छ।'
ब्यारीलाई कम्युनिस्ट शब्दले खुबै तर्साउँछ रे।
हामी उसका साथीहरूकहाँ आइपुग्यौं। उसलाई बियर थप्न इशारा गरे। 'तिमी बियर पिउँछौ?' मतिर फर्क्यो।
'हाम्रो देशमा यो बेला चिया पिउँछन्,' फर्काएँ।
'त्यसो भए तिमी एक छिनका लागि मेरो देशमा आऊ।'
बियर पिइन्जेललाई भिसा दिन्छ कि क्या हो! मैले अवज्ञा गरें र हिँड्न खोजें।
'पख, म तिमीलाई अलि परसम्म पुर्याउन जान्छु।'
'पर्दैन, यहाँबाट म बसेको होटल नजिकै हो।'
ब्यारीलाई कुन्नि के लाग्यो। अलि वरसम्म आयो। बार घुमाउँदै छिर्नेखालको ढोकानेर उसका साथीहरूलाई बोलायो। फोटो खिच्न लगायो। हेर्दै महँगो खालको लाग्ने विदेशी क्यामरा चलाएँ र पाँच–छ स्न्याप लिइदिएँ। उसले पनि मेरो फोटो खिच्यो। साथीहरूलाई फर्काएर बार घुमाउँदै ब्यारी मसँग आयो।
'वाइसिएल लेखेको बाटो अब सकियो, एक्लै फर्कन सक्छौ?' अलि वर आएपछि मैले सोधें।
ऊ खित्का छाड्न थाल्यो। मैले काँतर ठानेर व्यंग्य गरेको उसले बुझ्यो कि!
ऊ खित्का छाड्न थाल्यो। मैले काँतर ठानेर व्यंग्य गरेको उसले बुझ्यो कि!
'तिमीसँग अब भेट हुँदैन,' उसले मलाई हेर्दै भन्यो।
'किन?'
'म पर्सि फेरि लन्डन जाँदैछु।'
'तिमीसँग अब भेट हुन्न भन्ने कुरा ठूलो होइन, तिमीसँग आज भेट भयो भन्ने कुरा ठूलो हो,' मैले एक पेग बराबरको दर्शन दिएँ कि! उसले आँखा घुमायो र मलाई हेर्यो।
'कल्पना गर त– के हुन्छ, जब दुई फरक महादेशका मान्छे एक अर्कालाई बाहुपाशमा बाँध्छन्!' उसले मलाई च्याप्प समात्यो र भन्यो। उसको मुखबाट बियरको गन्ध ह्वास्स गन्हाइरहेको थियो।
'अरु के हुनु नि, दुई फरक विश्वहरू एउटै हुन्छन्,' मैले उसलाई थप मताएँ।
'अरु के हुनु नि, दुई फरक विश्वहरू एउटै हुन्छन्,' मैले उसलाई थप मताएँ।
ब्यारीले के सोच्यो! एकछिन मौन बस्यो। एक छिनपछि दैत्यझैं चर्को भोल्युममा हाँस्यो। कम्युनिस्टविरोधी ब्यारीले कट्टरपन्थी कम्युनिस्ट नेता झैं कसिलो हात मिलायो। बार उसैगरी घुमायो र बाहिरियो। म ऊ गएको बाटोतिर एकछिन हेरिबसें। वाइसिएल लेखिएको भागमाथि खसेको अम्बालाई जोरले लात्ती हान्दै ऊ गयो।
साँच्चि, ब्यारीले रातो पातचाहिँ मन परायो कि पराएन होला!
नागरिक अक्षरमा भदौ १६, २०६९ मा प्रकाशितPic : Basanta |
An interesting piece. It reminded me of Coffee Guff by Narayan Wagle. His column culminated into Palpasa Cafe, one of the bestbestbest-seller Nepali fictions.Looking forward to your writing in a book form!!
ReplyDelete