Wednesday, September 26, 2012

पत्रिकाको चाबी लक्ष्मीकै हातमा

Photo courtesy : Nagarik/Bijaya Rai
दुई ठूला दैनिकका सम्पादकलाई 'चाबी बुझाइसकेका' पत्रकार नारायण वाग्लेले सम्पादकहरुलाई सोधे, 'देशको चाबी त अन्तै रहेछ भनी प्रधानमन्त्री भन्दै हुनुहुन्छ, पत्रिकाको चाबी चाहिँ कोसँग हुन्छ?'
नागरिकका प्रधान सम्पादक किशोर नेपालले एक लाइन फर्काए, 'सम्पादकको हात कति बलियो छ, त्यसमा भर पर्छ।' पालो आयो कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माको। 'सम्पादकको हातमा हुन्छ, कम्तीमा सम्पादकको हैसियतमा मैले यति भन्नैपर्छ,' उनले बिस्तार गरे, 'प्रकाशकसँग पनि साझेदारी हुन्छ, संक्रमणकाल भएर होला, दलहरुमा पनि चाबी पुग्न थालेको छ।'
दि हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनालले थपे, 'उद्योगका रुपमा मिडिया विकास नहुन्जेल यसको जवाफ दिन गाह्रो छ।'

एनसेल नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन शुक्रबारको पहिलो सत्र मोडरेटर वाग्लेले सुरुमै गरेको दाबीझैं तातियो। 'मिडियास्पिक :  हाउ मिडिया टक्स टु अस' शीर्षक बहसका खचाखच सहभागीअघिल्तिर बसेका तीन प्यानलिस्टमाथि अर्को अस्त्र फ्याँकियो, 'अखबारले राजनीति चलाउँछ कि राजनीतिले अखबार?'
'हुन त अखबारले राजनीति चलाउनुपर्ने हो,' बीचमा बसेका नेपालले पहिले माइक्रोफोन टिपे, 'तर हामीले आफ्नो एजेन्डा सेट गर्न सकेका छैनौं, सेट त के त्यसको  आवश्यकता पनि महसुस गर्न सकेका छैनौं।' अनि  थपे, 'अखबार चलाउँछु भनेर धाक देखायो, बस्यो।'
वाग्लेले शर्मातिर इशारा गरे। शर्माले हाँस्दै सकारे, 'अलिअलि धाक पनि लगाइयो होला, दबाबको भूमिका कम भएको पनि होला, तर निस्त्रि्कयप्रायः सेना समायोजन विशेष समितिका बैठक पत्रकारले लेखेकै कारण बस्न थालेका उदाहरण पनि छन्।'
खनालले दुई दशक अघिको समाजसँग तुलना गरे, '२०४६ सालताका नेताले पत्रकार गन्दैनथे, आज प्रायः नेता मिडियामा निर्भर छन्।' मिडियाले भने पार्टीहरुलाई अपेक्षाकृत डोर्‍याउन नसकेको उनको बुझाइ थियो।
अंग्रेजी दैनिकका सम्पादक खनालले अर्को सन्दर्भमा भने, 'हामी विदेशीलाई पढाउँछौं, अनि उनीहरुले नेपालका नेतालाई दबाब दिन्छन्।' नेपालले खनालको टिप्पणीमा आपत्ति जनाए।  'केही अंग्रेजी स्कुल पढेकाबाहेक अधिकांश पाठक त के, पत्रकारले पनि अंग्रेजी बुझ्दैनन,' उनले भने, 'हाम्रो मिडिया आफैं निरक्षर छ, निरक्षर मिडियाले लोकतन्त्र जीवन्त राख्न सक्दैन।'

खनालले समाजका द्वन्द्वहरुलाई अर्थपूर्ण रुपमा प्रतिविम्बित गर्नुपर्नेमा मिडियाले भ्रमपूर्ण रुपमा प्रतिविम्बित गरिराखेको बताए। 'अभिव्यक्ति स्वतन्त्रता पाउने मामिलामा नेपाल अरु देशभन्दा अगाडि छ,' उनले भने, 'तर विश्वसनीयता आर्जन गर्न भने अझै बाँकी छ।' शर्माले भने राज्यका सुरक्षा र कानुनी निकायभन्दा मिडिया नै बढी विश्वसनीय देखिएको सर्वेक्षण सम्झाए। 'सत्यको खोजी गर्नुपर्ने पत्रकारहरु आफैं सतही र छिपछिपे हुँदै गएको भने सही हो,' उनले सकारे। नेपालले सीमित राजनीतिक वृत्त र कर्मचारीतन्त्रबाहेक जनमानसमा अझै पनि अखबारले प्रभाव देखाउन नसकेको तर्क गरे। 'सीमित राजनीतिक घरानामा हामी जबर्जस्ती आफ्नो स्पेस बनाइरहेका छौं,' उनले भने।   

अखबारहरुले अझै पनि राजनीतिक समाचार र विचारलाई बढी प्राथमिकता दिएको सहभागीहरुले गुनासो गरे। पत्रकार धर्म अधिकारीले बहस विषयभन्दा बाहिर केन्द्रित भएको भनी आलोचना गरे। लेखक जगदीश शमशेरले प्रतीकात्मक आलोचना गरे, 'सरस्वतीका छोराहरुले चाबी लक्ष्मीसँग छ कि कहाँ छ भन्नेतिर ध्यान दिनुभएन।' नेपालले तुरुन्तै फर्काए, 'चाबी लक्ष्मीकै हातमा हुन्छ, लक्ष्मी नहुनेसँग त त्यही चाबी किन्ने पैसा पनि हुँदैन।'
Nagarik, Asoj 8, Saturday..




No comments:

Post a Comment